सुनाखरीलाई फेरि बन फर्काउँदै
प्रकृतिसँगको सन्तुलित सहयात्राको असल प्रयास
आजको युगमा 'प्रकृतिले दिन्छ' भन्ने एकतर्फी सोचले धेरै गहिरो जरा गाडेको छ । हामी प्रायः सोच्छौं, जंगलले अक्सिजन दिन्छ, पानी दिन्छ, सुन्दरता दिन्छ, जीवन दिन्छ - अनि त्यही सोचमा अडेस लागेर हामी लिने मात्रै गरिरहन्छौं। यो लिन क्रममा हामी कतिसम्म स्वार्थी र एकपाखे हुन्छौं भने, प्रकृतिबाट हामीले लिएको वा दोहन गरेका कुराहरु फेरि पुनरभरण गर्नका लागि प्रकृतिलाई पनि एउटा निश्चित समय चाहिन्छ भन्ने कुरा सोच्न पनि चाहँदैनौं । त्यो पुनरभरणको लागि हामीले प्रकृतिलाई समय दिने, त्यसका लागि हाम्रो तर्फबाट आवश्यक पहल र कार्यहरु पनि गर्नु जरुरी छ भन्ने कुरा हामीले बिर्सन्छौं । हामी के कुरा पनि बिर्सन्छौं भने हामी प्रकृतिसँगको सहकार्यमा बाँचेका हौं । प्रकृतिसँग सहकार्य नगर्ने र सधैं अत्यधिक दोहन मात्र गरिरहेन हो भने त्यसले निम्त्याउने भनेको महाविनाश मात्रै हो । त्यसैले हामीले लिने मात्र हैन, प्रकृतिलाई फर्काउन पनि जान्नुपर्छ । प्रकृति र मानवजाति सँगै जीवन यात्रा गर्ने सहयात्री हो - प्रकृतिलाई हामीले फर्काउनु पनि पर्छ।
यसै भावनालाई मूर्तरूप दिँदै अर्किड फ्लोरिकल्चर ग्रुप (Orchids Floriculture Group (OFG))ले एउटा असल कामको शुरुवात गरको छ । त्यो कामले 'सामाजिक उत्तरदायित्व' को अमूर्त अवधारणालाई जीवन्तता दिएको छ ।

गत २२ जेठ २०८२, विश्व वातावरण दिवसका अवसरमा, ग्रुपका संयोजक दुर्गा प्रसाद श्रेष्ठ र अन्जनी जोशीको नेतृत्वमा करिब ३०-३५ जनाको समर्पित टोलीले काठमाडौंको रानीबारी सामुदायिक बनमा सयभन्दा बढी सुनाखरीहरू (Orchids) पुनःस्थापित गर्यो। घरघरमा जोगाइएका अथवा रूख काट्दा उपेक्षित बनेका, तर अब पनि बाँच्छु भन्ने अभिलाषा बोकेका ती सुनाखरीहरू अब फेरि बन फर्काइएका छन्।
यो कार्यक्रम केवल बिरूवा रोपण मात्र थिएन - यो एक जीवनशैलीप्रतिको पुनर्विचार थियो। यो स्मरण थियो कि हामीले केवल वातावरणको चर्चा गर्नुभन्दा अगाडि, वातावरणसँगको आफ्नो सम्बन्धलाई पुनर्स्थापित गर्न आवश्यक छ।
रोपिएको सुनाखरीहरूमा सिम्बिडियम अलोफोलियम, रिङ्कोस्टायलिस रिटुसा (पाङ्ग्रे सुनाखरी), डेन्ड्रोबियम, सिलोजिनी, भान्डा, एरिडिज ओडोराटा, अनसिडियम आदि जातहरू समावेश थिए । ती जातका सुनाखरीहरू जुन नेपालका मौलिक जैविक सम्पत्तिहरू हुन् र अन्धधुन्ध दोहन र वनविनाशका कारण क्रमशः हराउँदै गइरहेका छन्।
अन्नपूर्ण रिसर्च सेन्टरका वरिष्ठ वनस्पति वैज्ञानिक डा. बिजया पन्तको सक्रिय सहभागिता र मार्गदर्शनले यस अभियानलाई अझै वैज्ञानिक गम्भीरता र उद्देश्य दिएको थियो। साथमा अनुसन्धान अधिकारीहरू अनिल शाह, पुष्पराज जोशी, महेन्द्र श्रेष्ठले पनि कार्यक्रमलाई बौद्धिक ऊर्जा थपेका थिए। अन्नपूर्ण रिसर्च सेन्टरको ल्याबमा उत्पादन गरिएका केही बिरूवाहरू पनि बनमा पुनर्स्थापित गरिएकोले अनुसन्धान र समाजबीचको सजीव सम्बन्ध स्पष्ट देखिएको थियो।

ग्रुपका संयोजक अन्जनी जोशीले आशा र विश्वास प्रकट गरेका छन् - "आज हामीले जुन प्रयास गर्यौं, त्यसले यिनी सुनाखरीहरूलाई संरक्षित मात्रै होइन, हाम्रा भावी पुस्ताहरूले पनि प्रत्यक्ष देख्न पाउनेछन् ।" वास्तवमा यो मनोगत चाहना मात्र होइन, त्यो एक दीर्घकालीन सोच हो, जसले वातावरण संरक्षणलाई केवल भाषणको विषय होइन, कर्मको यात्रामा परिणत गर्छ।
हाम्रो समाजले अझै पनि विकास भन्नासाथ केवल कंक्रिट र स्टिलको संरचनाहरुलाई ठड्याउनुलाई सम्झिइन्छ। तर अर्किड फ्लोरिकल्चर ग्रुपको यो कामले याद दिलाउँछ - प्रकृतिलाई फेरि फर्काउन सकिन्छ, जीवनलाई फेरि रोप्न सकिन्छ। हामीले केवल लिने मात्र होइन, फर्काउने पनि सक्दछौं।
सामाजिक उत्तरदायित्व भनेको केवल दातव्य कार्यक्रम वा कार्पोरेट घोषणाहरूमा सीमित हुने होइन। त्यो भनेको यस्ता स-साना तर प्रभावशाली कर्महरू हुन् - जहाँ प्रकृति, विज्ञान, समुदाय र चेतनाको सुन्दर संगम हुन्छ।
हामीले भुल्न नहुने कुरा के हो भने, हामी प्रकृतिको ऋणी हौं। समय आएको छ - केही तिर्न थालौं।
अर्किड फ्लोरिकल्चर ग्रुपले आफूसँग सरोकार राख्ने सवालमा निक्कै असल कामको शुरुवात गरेको छ।
अमेरिकामा तीब्र रुपमा फैलिइरहेको साइक्लोस्पोरा संक्रमण के हो ?
विश्वव्यापी जनस्वास्थ्य र मृत्यु तथा रोगको असमान वितरण
खाद्य अपव्यय: खेर फ्याँक्ने खानेकुराको विषय मात्र होइन, एउटा प्रणालीगत समस्या
जलवायु परिवर्तन: हाम्रा शासकहरूले धान्नै नसक्ने गरी बढेको गर्मी
चरम गर्मी अब स्वास्थ्य संकट: पूर्वाधार र ज्यान दुवै जोखिममा
कब्जियतबाट छुटकारा पाउनका लागि फाइबरयुक्त उत्तम पाँच खानेकुराहरू
सन्तान सपार्ने कोसिसः सन्तुलन कता बिग्रेको छ त ?
प्रतिक्रिया