‘इन्काउन्टर’ मा तीन दिनभित्र सात माओवादी नेताको मृत्यु; अधिकार समूहद्वारा बर्बर यातनाको आरोप

सुरक्षा बल र माओवादीबीच भिडन्त छत्तीसगढको बीजापुर जिल्लास्थित इन्द्रावती राष्ट्रिय निकुञ्जमा जुन ५ देखि लगातार तीन दिनसम्म जारी रहेको छ। सात जना माओवादी नेताहरू मारिएका छन्।
मानव अधिकार संस्थाहरूले इन्द्रावती १,२५० वर्ग किलोमिटर क्षेत्रफल भएको राष्ट्रिय निकुञ्जभित्र पर्ने पर्शागढ गाउँबाट प्रहरीले १० जना माओवादीहरूलाई पक्राउ गरेको दाबी गरिरहेका बेला यी भिडन्तहरू भएका हुन्।
अधिकारवादी संस्थाहरूले भनेका छन् कि तीमध्ये सात जनालाई दिनहुँ अमानवीय यातना दिएर योजनाबद्ध रुपमा हत्या गरिएको हो - एक जनालाई जुन ५ मा, चार जनालाई जुन ६ मा र दुई जनालाई जुन ७ मा। बाँकी तीन जना माओवादीहरू प्रहरी हिरासतमा रहेको नागरिक स्वतन्त्रता समितिका तेलंगाना अध्यक्ष गड्डम लक्ष्मण, महासचिव एम. नारायण राव तथा अन्य पदाधिकारीहरूले बताएका छन्।
तर प्रहरीले अहिलेसम्म केवल दुई जनाको मात्र शव पहिचान भएको जनाएको छ । अधिकारकर्मीहरूले प्रहरी हिरासतमा रहेका १० जना माओवादीहरूको नाम सार्वजनिक गरेका छन्। ती नामहरूमा जुन ५ मा मारिएका सीपीआई (माओवादी) केन्द्रीय समितिका सदस्य तेंटु लक्ष्मी नरसिंह चलम उर्फ सुधाकर र जुन ६ मा मारिएका सीपीआई (माओवादी) तेलंगाना राज्य समितिका सदस्य मायलारापु अडेलु उर्फ भास्करको नाम समावेश छ। यी दुई नामहरू मात्र प्रहरीद्वारा पुष्टि गरिएका मृतकहरू हुन्।
यसका अतिरिक्त, लक्ष्मणले भनेका छन् कि उनीहरूले जुन ७ मा तेलंगाना राज्य समितिका अर्का सदस्य बाँडी प्रकाश र दण्डकारण्य विशेष अञ्चल समितिका सदस्य पापा रावको मृत्युबारे पनि थाहा पाएका छन्। प्रहरी हिरासतमा रहेका अन्य व्यक्तिहरूमा डिभिजनल कमिटी सदस्य रमण्णा, राष्ट्रिय निकुञ्ज क्षेत्रीय समिति सचिव दिलीप, दण्डकारण्य क्षेत्रीय समितिकी महिला सचिव सितु, तथा राष्ट्रिय निकुञ्ज क्षेत्रीय समितिका सदस्यहरू सुनीता, महेश र मुन्ना रहेका छन्।
फरक फरक कथनहरू
लक्ष्मणले जुन ५ मा बेलुकीपख प्रेस विज्ञप्ति जारी गर्दै प्रहरी हिरासतमा रहेका प्रकाशलगायत अन्यहरूको ज्यान जोखिममा रहेको आशंका व्यक्त गरेका थिए। उनले उनीहरूलाई कुनै हानि नगरी तुरुन्त अदालतमा उपस्थित गराउन माग गरे। उनले संघीय सरकारसँग युद्धविराम घोषणा गरी माओवादीहरूसँग शान्ति वार्ता थाल्न पनि आग्रह गरे।
बीजापुरका प्रहरी अधीक्षक जितेन्द्र कुमारले जारी गरेको प्रेस विज्ञप्तिमा मृतकहरूमा दुई जना अज्ञात महिला र तीन पुरुष रहेको उल्लेख गरिएको छ।
लक्ष्मणले सञ्चारकर्मीहरूलाई बताएअनुसार, जुन ५ मा हरियो पोशाक फालेर सर्वसाधारण लुगा लगाएका १० जना माओवादीहरू पर्शागढ गाउँमा शरण लिएका थिए, जुनबारे प्रहरीले आफ्नो सूचनादाताहरूको सञ्जालमार्फत थाहा पायो। गाउँलेहरूलाई उद्धृत गर्दै उनले ‘प्रहरी बिहान ७ बजे तिर उनीहरूलाई लिन आएको‘ बताएका छन्। त्यसपछि उनीहरूलाई पालैपालो गोली हानी मारिएको भनिएको छ। उनले राष्ट्रिय मानव अधिकार आयोग र सर्वोच्च अदालतलाई प्रहरीविरुद्ध स्वतःस्फूर्त रूपमा प्रक्रिया थाल्न आग्रह गरे।
द वायरसँग कुरा गर्दै एसपी यादवले अधिकारकर्मीहरूको आरोप असत्य प्रचार भएको भन्दै खारेज गरे। उनले भने कि सुधाकर, बाँडी प्रकाश र पापा रावसमेत माओवादीहरूको समूह राष्ट्रिय निकुञ्ज क्षेत्रमा भेला भएको भन्ने ठोस सूचना प्राप्त भएपछि अपरेशन सुरू गरिएको हो। विशेष कार्यबल, जिल्ला रिजर्भ गार्ड र कोब्रा फौजहरू संयुक्त रूपमा जंगलमा खोजबीन गर्न पठाइएको उनले जानकारी दिए।
सुधाकर पहिलो दिनको दोहोरो भीडन्तमा मारिएको र घटनास्थलबाट एके-४७ बन्दुक बरामद भएको प्रहरीद्वारा दाबी गरिएको छ। उनले यसलाई मे २१ मा नारायणपुर जिल्लामा माओवादी पार्टीका महासचिव नाम्बाला केसव रावको मृत्युपछि प्रहरीका लागि अर्को ठूलो सफलता भने।
एसपी यादवका अनुसार, जुन ६ को बिहान र राति थप चार माओवादीहरू मारिएका थिए, जसमा भास्कर पनि थिए। जुन ७ मा दुई जना मारिएका थिए। सुधाकर र भास्करबाहेक अन्य पाँच शवहरूको पहिचान प्रक्रिया चलिरहेको उनले बताएका छन्।
यादवले अधिकारवादी संस्थाहरूले माओवादी मृतकहरूको पहिचान सार्वजनिक गरेकोप्रति असन्तुष्टि जनाए। उनले आफूलाई समेत ती व्यक्तिहरूको पहिचान थाहा थिएन भनी बताए। उनका अनुसार केही सुरक्षा कर्मचारीहरू गोलीहानीको दोहोरो भिडन्तमा घाइते भएका थिए भने केही सर्पको टोकाइका कारण र केही डिहाइड्रेसनका कारण पीडित भएका थिए।
'संवैधानिक सङ्कट'
मध्यस्थकर्ता जी. हरगोपालसहितको शान्तिका लागि समन्वय समितिले भनेका छन् कि सीपीआई (माओवादी) का १८ जना वरिष्ठ नेताहरू प्रहरी हिरासतमा छन्। उनीहरूका अनुसार ती नेताहरूको ज्यानमाथि गम्भीर खतरा छ। "छत्तीसगढमा देखा परेको यो संवैधानिक सङ्कटले लोकतान्त्रिक मूल्यहरूको थप ह्रास र मौलिक अधिकारहरूको संरक्षणको पक्षमा अदालतको तत्काल हस्तक्षेप आवश्यक छ," उनीहरूले भनेका छन्।
हरगोपालले अघिल्ला वर्षहरूमा अपहरणमा परेका कलेक्टर एलेक्स पल र विनायल कृष्णाको रिहाइका लागि माओवादीहरूसँग मध्यस्थता गरेका थिए।
अहिले भएका हत्याहरू प्रहरीद्वारा सुरू गरिएको नयाँ द्वन्द्वको निरन्तरता भएको बताइएको छ।
सुधाकर २००४ मा विभाजित आन्ध्र प्रदेशमा वाई.एस. राजशेखर रेड्डी सरकारसँग माओवादीहरूद्वारा गरिएका शान्ति वार्तामा सहभागी प्रतिनिधिमण्डलको हिस्सा थिए। उनी सीपीआई (माओवादी) द्वारा सञ्चालित क्रान्तिकारी राजनीतिक विद्यालयको क्षेत्रीय ब्युरो प्रमुख पनि थिए।
सुधाकरलाई पार्टीबाट दुई तहको सुरक्षा व्यवस्था थियो। अधिकारकर्मीहरूका अनुसार यदि उनी साँच्चिकै भिडन्तमा मारिएका थिए भने, उनको सुरक्षा गार्डहरू पनि गोलीको शिकार हुने थिए। तर घटनास्थलमा उनको मात्र शव भेटिएको हो। उनी लडाकु कार्यकर्ताजस्तै सैनिक पोशाकमा नभई सर्वसाधारण लुगा लगाएर देखिएको स्मरण गराइएको छ। सुधाकर आयुर्वेद कलेज, विजयवाडाबाट पढाइ छोडेर ४० वर्ष भूमिगत जीवन बिताएका थिए।
अर्कोतर्फ, भास्कर पहिलेको आदिलाबाद जिल्लास्थित रामकृष्णपुरमा दर्ता भएका चिकित्सक थिए। उनले सन् १९९५ मा तत्कालीन जनयुद्धमा प्रवेश गरेका थिए।
बल्ला रविन्द्रनाथ नेतृत्वको राजनीतिक बन्दी मुक्ति समितिले पनि सुधाकर र भास्करको हत्या नक्कली भिडन्तमा भएको आरोप लगाएको छ। जनवादी कानुन व्यवसायीहरूको भारतीय संघका सदस्य पिचुक सुधाकरले छत्तीसगढ उच्च अदालतका प्रधान न्यायाधीशलाई पत्र लेख्दै अर्को पोष्टमार्टम नभएसम्म शवहरूको संरक्षणको लागि आदेश दिन अनुरोध गरेका छन्।
नागरिक स्वतन्त्रता समितिका महासचिव लक्ष्मण रावका अनुसार केन्द्र सरकारद्वारा सञ्चालन गरिएको अपरेशन कागरमा गत वर्ष जनवरी १ देखि अहिलेसम्म ५५० माओवादीहरूको ज्यान गएको छ। तीमध्ये करिब ४०० जना गरिब आदिवासीहरू रहेको समितिको दावी छ। यो अपरेशन छत्तीसगढको खनिज सम्पदालाई निजी कम्पनीहरूलाई सुम्पन आदिवासीहरूको संघर्षलाई दबाउने उद्देश्यले थालिएको उनीहरूको भनाइ छ।
thewire मा प्रकाशित एन राहुलको रिपोर्टको अनुवाद

फेरि मारिए माओवादीका अर्को वरिष्ठ नेता

रुसविरुद्ध युक्रेनको अपरेशन स्पाइडर: रुसको प्रतिशोध कस्तो होला ?

शान्तिवार्ताको प्रस्तावको जवाफ गोलीबाट दिनु राज्यद्वारा गरिने हिंसात्मक दमनको न…

शीर्षस्थ नेताको हत्याले भारतीय माओवादी आन्दोलनलाई गम्भीर धक्का !

पेरूका गाउँबाट भ्याटिकनसम्म: पोप लियो चौधौँको प्रेरणादायी यात्रा

वामपन्थी नेता प्रदीप नेपालको अन्त्येष्टि सामान्य नागरिक सरह

काश्मीरमा पर्यटकहरूमाथि आतङ्कवादी हमला : पुनः बल्झिएको हिंसाको डढेलो

प्रतिक्रिया