पृथ्वीबाट टाढा जाँदैछ चन्द्रमा !

पृथ्वीको एकमात्र प्राकृतिक उपग्रह हो चन्द्रमा । यो पृथ्वीबाट निश्चित औसत दूरीमा अवस्थित छ। तर वैज्ञानिकहरुका अनुसार चन्द्रमा पृथ्वीबाट वर्षेनी परपर सर्दै गइरहेको छ ।

अहिलेसम्मको विज्ञानको सर्वमान्य मान्यताअनुसार ब्रम्हाण्डको सिर्जना एउटा भयानक महाविस्फोटबाट भएको थियो । आजभन्दा १३ अरब ८० करोड साल पहिला घटित उक्त घटनाबाट वर्तमान ब्रम्हाण्ड अस्तित्वमा आएको थियो । उक्त घटनाको २० करोड वर्ष पछि अर्थात आजभन्दा १३ अरब ६० करोड साल अगाडि खरबौं आकाशगंगाहरु पनि निर्माण भएका थिए । तीमध्ये हाम्रो आकाशगंगा (मिल्की वे) पनि एक थिए । त्यही आकाशगंगाको एउटा सानो हिस्सामा रहेको हाम्रो सौर्यमण्डल चाहिँ 'मिल्कीवे' निर्माणको लामो समयावधि पछि अर्थात् आजभन्दा ४ अरब ५७ करोड साल पहिला मात्र बनेको थियो। सौर्यमण्डल निर्माणकै क्रममा क्रमशः यसका अन्य सदस्य ग्रहहरुको निर्माण हुँदै गए ।

सौर्यमण्डल निर्माणको प्रारम्भिक कालमा पृथ्वीसँग कुनै उपग्रह अर्थात चन्द्रमा थिएन । वैज्ञानिक अवधारणाअनुसार त्यसबेला सौर्यमण्डलमा अहिले विद्यमान ग्रह - उपग्रह बाहेकअन्य थुप्रै स-साना ग्रह-उपग्रह लगायतका अन्य पिण्डहरु पनि रहेका थिए । तिनै मध्येको एक, अहिलेको मङ्गल ग्रहको आकारको 'थिइया' नाम गरेको ग्रह पनि विद्यमान थियो । उक्त ग्रह र हाम्रो पृथ्वी सौर्यमण्डलको परिक्रमा गर्ने क्रममा एकापसमा ठोक्किन पुगे । त्यस दौरानमा एउटा ठूलो भयानक विस्फोट भयो ।

थिइया र पृथ्वी एकापसमा समाहित भए भने एउटा ठूलो हिस्सा चाहिँ चोइटिएर गयो । त्यो चोइटिएको हिस्सा टुक्राटुक्रा थियो । तिनलाई पृथ्वीको गुरुत्वाकर्षणले आफूतिर तान्यो र बाँधेर राख्यो । फलतः ती टुक्राहरुले पृथ्वीलाई परिक्रमा गर्न थालें । पृथ्वीलाई घुम्ने क्रममा ती टुक्राहरु एकापसमा जोडिन र विलय हुन पुगेँ । कालान्तरमा ती टुक्राहरु एकापसमा जोडिँदै जाँदा अहिलेको चन्द्रमा अस्तित्वमा आयो ।

चन्द्रमा निर्माणको यो सैद्धान्तिक परिकल्पनालाई 'जाइन्ट इम्प्याक्ट हाइपोथेसिस' (Gaint Impact Hypothesis) भनिन्छ। वैज्ञानिक मान्यताअनुसार सौर्यमण्डलको उत्पत्तिको झण्डै ६ करोड वर्षपछि मात्रै चन्द्रमा उत्पत्ति भएको हो । यस अनुसार चन्द्रमाको उत्पत्ति ४.५१ अर्ब वर्ष पहिला भएको मानिन्छ ।

वैज्ञानिक अवधारणाअनुसार त्यसबेला सौर्यमण्डलमा अहिले विद्यमान ग्रह - उपग्रह बाहेकअन्य थुप्रै स-साना ग्रह-उपग्रह लगायतका अन्य पिण्डहरु पनि रहेका थिए । तिनै मध्येको एक, अहिलेको मङ्गल ग्रहको आकारको 'थिइया' नाम गरेको ग्रह पनि विद्यमान थियो । उक्त ग्रह र हाम्रो पृथ्वी सौर्यमण्डलको परिक्रमा गर्ने क्रममा एकापसमा ठोक्किन पुगे । त्यस दौरानमा एउटा ठूलो भयानक विस्फोट भयो ।

टाढा भाग्दैछ चन्द्रमा !

वैज्ञानिकहरुका अनुसार हाम्रो एक मात्र प्राकृतिक उपग्रह पृथ्वीबाट टाढा हुँदै गइरहेको छ । अहिले औसत रुपमा चन्द्रमा पृथ्वीदेखि ३ लाख ८४ हजार ४ सय किमी टाढा छ । तर त्यो दूरीमा बढोत्तरी हुँदै गइरहेको छ । अर्थात् वर्षेनी चन्द्रमा र पृथ्वीबीचको दूरी बढ्दै गइरहेको छ । यसअनुसार कम्तिमा पनि चन्द्रमा पृथ्वीबाट वर्षेनी १.५ इन्चको दरले पर पर सर्दै गइरहेको छ ।

पृथ्वीबाट चन्द्रमा पर हुँदै गइरहेको यस परिघटनालाई 'लुनार रिसेसन' (Lunar recession) भनिन्छ ।

यसका पछाडि विभिन्न कारणहरु हुन सक्छन् । तर, वैज्ञानिकहरुका अनुसार चन्द्रमा पृथ्वीबाट यसरी पर सर्दै जानुको मुख्य कारण चाहिँ चन्द्रमा र पृथ्वीको गुरुत्वाकर्षण बल नै हो । चन्द्रमाको गुरुत्वाकर्षण बलका कारण पृथ्वीका समुद्रमा ठूला ठूला ज्वारभाटाहरु आउने गर्छन् । सबैलाई थाहा भएकै कुरा हो, हरेक अन्तरिक्षीय पिण्ड आफ्नो कक्षमा परिक्रमारत रहँदा आफ्नै अक्षमा पनि घुमिरहेको हुन्छ । पृथ्वी पनि आफ्नो अक्षमा घुमिनै रहेको हुन्छ । तर चन्द्रमाका कारण पृथ्वीका समुद्रमा पैदा हुने ज्वारभाटाहरुको शक्तिले पृथ्वीको त्यो घुम्ने गतिलाई प्रभावित पारिरहेको हुन्छ । सोही कारण पृथ्वीको घुम्ने गतिमा केही सुस्तता आउने गर्छ । यस दौरान पैदा हुने क्रिया - प्रतिक्रिया तथा कोणीय गतिका कारण चन्द्रमालाई तान्ने पृथ्वीको गुरुत्वाकर्षण बल पनि केही मात्रामा क्षीण हुन्छ। फलतः चन्द्रमा आफ्नो अक्षमा पृथ्वीबाट केही पर सरेर जाने क्रम चलिरहन्छ ।

अपोलो मिसनको दौरानमा चन्द्रमामा राखिएका परावर्तकमा लेजर किरण पठाएर चन्द्रमा र पृथ्वीबीचको दूरीलाई निगरानी गरेर यो कुराको निर्क्यौल गरिएको हो ।

पृथ्वी र चन्द्रमा बीचको ज्वारभाटीय क्रिया - प्रतिक्रिया जटिल खालको हुने गर्छ । ध्यान दिनुपर्ने कुरा के हो भने मानवीय समय गणनाको आधारमा हेर्दा पृथ्वी र चन्द्रमाबीचको यो बढ्दो दूरी अति सुस्त वा धीमा गतिमा भइरहेको हुन्छ ।

पृथ्वीबाट चन्द्रमा टाढा भाग्ने प्रक्रिया अहिले र भरखरै मात्र शुरु भएको प्रक्रिया होइन । चन्द्र निर्माणको शुरुवाती कालदेखि नै यो नियमित रुपमा चलिरहेको प्रक्रिया हो । चन्द्रमा र पृथ्वीबीचको अहिलेको औसत दूरी ३,८४,४०० किलोमिटर रहेको छ । यी दुई अन्तरिक्षीय पिण्डहरुका बीच यो दूरी कायम हुन पनि अरबौं वर्ष लागेको हो । वैज्ञानिक मान्यताअनुसार निर्माणको शुरुवाती चरणमा पृथ्वी र चन्द्रमाबीचको दूरी अहिलेकोभन्दा २२,५०० किलोमिटर कम थियो । अर्थात् चन्द्रमा पर - पर भाग्दै जाने प्रक्रिया निरन्तर चलिरहेको छ र चलिनै रहनेछ ।

यस प्रक्रियाको निरन्तरताले कालान्तरमा एउटा यस्तो समय पनि आउने छ जब चन्द्रमा पृथ्वीको गुरुत्वाकर्षण प्रभाव र बन्धनबाट मुक्त हुनेछ । अर्थात् त्यसले आफ्नो कक्षमा रहेर पृथ्वीलाई परिक्रमा गर्न छाड्नेछ । त्यस बेला चन्द्रमा सूर्यको गुरुत्वाकर्षण बलको परिधिमा पुग्नेछ । त्यस अवस्थामा चन्द्रमा पृथ्वीको उपग्रह हैन वरु सौर्यमण्डलको एउटा स्वतन्त्र पिण्डको रुपमा सूर्यलाई परिक्रमा गर्ने खगोलीय पिण्डमा परिणत हुनेछ ।

के हुनेछ असर ?

तत्काल र तुरुन्तै त्यसको असर भइहाल्दैन । तर पृथ्वी र चन्द्रमाबीचको दूरी बढ्दै जाँदा कालान्तरमा निम्न असर हुनेछन् –

दिन रात छोटिनेछः चन्द्रमाको गुरुत्वाकर्षणले पैदा हुने ज्वारभाटीय गतिविधिले पनि पृथ्वीको अक्षमा घुम्ने गतिलाई एक तरिकाले नियन्त्रण गरिरहेको हुन्छ । अहिलेको पृथ्वीको घुम्ने गतिका आधारमा मोटामोटी २४ घण्टा बराबरको दिन -रात हुने गर्छ । तर चन्द्रमा पर जाँदै गर्दा विस्तारै उसको गुरुत्वाकर्षण बल कमजोर बन्दै जाने र त्यसको असर पृथ्वीको समुद्रमा उत्पन्न हुने ज्वारभाटामा पनि पर्नेछ । अर्थात् ज्वारभाटाहरु कम हुने र त्यसको शक्ति समेत कमजोर हुन्छ । फलतः ज्वारभाटीय गतिविधिमार्फत् पृथ्वीको घुम्ने गतिमाथिको चन्द्रमाको प्रभाव पनि कमजोर हुँदै जान्छ । त्यो कमजोर हुँदा पृथ्वीको अक्षमा घुम्ने गतिमा वृद्धि हुन्छ । गति वृद्धि हुँदा दिन रात पनि छोटिएर जान्छ ।

 वातावरणमा परिवर्तनः विज्ञानमा रुचि भएका सबैलाई थाहा भएकै कुरा हो, पृथ्वी आफ्नो अक्षमा केही ढल्किएर रहेको हुन्छ । यो ढल्काइ करिब २३.५ डिग्री रहेको छ । चन्द्रमाको गुरुत्वाकर्षणले पृथ्वीको यो ढल्काइलाई स्थिर राख्न केही मद्दत गरिरहेको हुन्छ । चन्द्रमा पृथ्वीबाट टाढा हुँदै जाँदा यो ढल्काइमा पनि परिवर्तनमा आउन सक्छ । त्यसको परिणामले पृथ्वीको मौसममा पनि परिवर्तन आउन सक्छ ।

पृथ्वीको चुम्बकीय क्षेत्रमा असरः पृथ्वीको आफ्नै चुम्बकीय क्षेत्र (Magnetic field) रहेको छ । यो चुम्बकीय क्षेत्र निर्माणमा चन्द्रमाले पनि सहयोगीको भूमिका निर्वाह गरिरहेको हुन्छ । चन्द्रमा पृथ्वीबाट टाढिँदै जाँदा पृथ्वीको चुम्बकीय क्षेत्र पनि कमजोर बन्दै जान सक्छ ।

त्यसो त यस्तरी प्रभाव पार्ने अवस्था सिर्जना हुनको लागि चन्द्रमा पृथ्वीबाट निक्कै टाढा पुगेको हुनुपर्छ। अहिले जुन गतिले चन्द्रमा टाढा गईरहेको छ त्यसले हाम्रो त के भविष्यमा आउने २० -३० पुस्तासम्म कुनै प्रभाव पर्ने छैन। 

Picture: britannica

दायित्वबोध

दायित्वबोधको समकालीन समाजमा देखापरेका आर्थिक, सामाजिक र राजनीतिका अस्पष्टतालाई चिरेर एउटा प्रष्ट र ताजा दृष्टिकोण निर्माण गर्ने लक्ष्यका साथ सञ्चालित अनलाइन हाे ।