मार्क्सवादलाई विज्ञान भन्नुको तात्पर्य के हो?
गत असार १७ गते ‘के मार्क्सवाद विज्ञान नै हो ?’ शीर्षकमा दायित्वबोध अनलाइनमा विनोद लोहनीले ‘साइन्स (Science)’ र ‘विज्ञान’ शब्दका अनेकन परिभाषा र तिनका ऐतिहासिक अर्थहरु परिभाषित गर्दै मार्क्सवादलाई विज्ञान भनिदिनाले कसरी कम्युनिस्ट आन्दोलनमा जडसूत्रवाद हावी हुन पुग्यो भन्ने तर्क प्रस्तुत गरेका छन् ।
विनोद लोहनीले आफ्नो लेखमा ‘प्रगतिशील रुपान्तरण आन्दोलन’ द्वारा आयोजित एक कार्यक्रमका वक्ताले मार्क्सवादलाई विज्ञान भनेको भनी उल्लेख गरेका छन् । मार्क्सवाद विज्ञान हुन सक्दैन भनेर सिद्ध गर्न प्रयत्न गरिएको लेखलाई एक मार्क्सवादी र बहसको परम्परामा विश्वास गर्ने व्यक्ति हुनुको नाताले लोहनीको तर्क र अवधारणालाई बेवास्ता गर्न सकिँदैन । त्यसैले आजको समयमा मार्क्सवादलाई विज्ञान भनिँदा भएका त्रृटिहरुबारेको व्याख्या आफैमा चाहिँ के हो भनेर यस आलेखमा चर्चा गरिनेछ ।
‘न्युटोनियन मेकानिक्स’ तर्कको सहारामा मार्क्सवादमाथि हमला
लोहनीको तर्क छ, “आजको समयमा विज्ञानलाई जुन अर्थमा बुझिन्छ र प्रयोग गरिन्छ, त्यसै अनुरुप हेर्नुपर्दछ ।” उनले आजको समयको विज्ञानका विशेषताहरु पनि उल्लेख गरेका छन् । तर, उनले परिभाषालाई यसरी प्रस्तुत गरेका छन् कि त्यो नै सर्वमान्य परिभाषा हो । वास्तविकता भने त्योभन्दा भिन्न छ । आज पनि विज्ञान के हो भन्ने सवालमा विद्वानहरुबीच एकमत छैन । बुर्जुवा एकेडेमियामा समेत केही विद्वानहरु प्राकृतिक विज्ञानलाई मात्रै विज्ञान मान्दछन् भने केही सामाजिक विज्ञानलाई पनि विज्ञानको परिभाषाभित्रै समेट्दछन् । यहाँ लोहनीको परिभाषाले प्राकृतिक विज्ञानका पनि सबै शाखाहरुलाई समेत समेट्दैन । यस्तो अनैतिहासिक, सङ्कीर्ण र जडसूत्रवादी तरिकाले हेर्दा प्राकृतिक विज्ञानका धरै क्षेत्रहरु जस्तैः जियोलोजी, जेनेटिक्स, क्लाइमेटोलोजीलाई समेत शतप्रतिशत सटीक रुपमा पुनरुत्पादन र मिथ्याकरण गर्न मिल्दैन । वास्तवमा १८ औँ शाताब्दीको प्राकृतिक विज्ञान ‘न्युटोनियन मेकानिक्स’ मात्र लोहनीको यो सङ्कीर्ण परिभाषाको परिधिभित्र पर्दछ । प्राकृतिक विज्ञानमा पनि प्रयोगजन्य वा अनुभवजन्य (empirical) तथ्यहरूका साथ अमूर्तीकरण (abstraction) र सामान्यीकरण (generalization) को महत्वपूर्ण भूमिका हुन्छ, यहि प्रक्रियामा सिद्दान्तको प्रतिपादन हुन्छ । भौतिक विज्ञानमा अनुभवजन्य र सैद्धान्तिक दुवै शाखा छन् साथै दुवै महत्वपूर्ण मानिन्छन् । अल्बर्ट आइन्स्टाइनले पनि अनुभवजन्य तथ्यलाई मात्र अध्ययनको सम्पुर्ण विधि मान्दथे भने उनले सापेक्षताको सिद्धान्त प्रतिपादन गर्न सक्दैन थिए ।
आज पनि विज्ञान के हो भन्ने सवालमा विद्वानहरुबीच एकमत छैन । बुर्जुवा एकेडेमियामा समेत केही विद्वानहरु प्राकृतिक विज्ञानलाई मात्रै विज्ञान मान्दछन् भने केही सामाजिक विज्ञानलाई पनि विज्ञानको परिभाषाभित्रै समेट्दछन् ।
प्रश्न गर्नुपर्ने कुरा के छ भने प्रकृति विज्ञानका नयाँ खोजहरुको निष्कर्षलाई गौण बनाएर समाज विज्ञानको परिभाषा र मार्क्सवाद विज्ञान होइन भनेर सिद्ध गर्ने लहड लोहनीको दिमागमा कहाँबाट र किन आयो ? लोहनीका अनुसार विज्ञानको मुख्य विशेषतामध्ये एक हो– मिथ्याकरणीयता (Falsifiability) । मिथ्याकरणीयताको अवधारणा वास्तवमा मार्क्सवादविरोधी विचारक कार्ल पोपरले दिएका थिए । जो अनुभववाद (Empiricism) को सबैभन्दा प्रतिक्रियावादी धारा ‘तार्किक प्रत्यक्षवाद’ (Logical positivism) बाट प्रभावित थिए । यहाँ मिथ्याकरणीयताको अवधारणालाई अग्निपरीक्षाको रुपमा पेस गर्नुको कारण के हो ? विज्ञानलाई बुझ्ने सवालमा बुर्जवा जगतमा समेत यसलाई सर्वमान्य विशेषताको रुपमा ग्रहण गरिएको छैन । थोमस कुन र फ्राङ्कफर्र्ट स्कुलका विचारकहरुले त यसमाथि तिखो आलोचना पेस गरेका छन् । यस्तो अवधारणालाई कसी मानेर पेस गरिने तर्क विज्ञानलाई एकदमै सानो परिधिमा सीमित गर्ने कोसिसका अलावा अरु केही होइन ।
जब समाज विज्ञानको कुरा आउँछ तब बुर्जुवा शासक वर्गसामु ठूलो समस्या आइलाग्छ । किनकि, समाजको वैज्ञानिक विश्लेषण गरेपछि त्यहाँ शोषणकारी चरित्र, विभेद र अन्तर्विरोधहरुको भेद खुल्दछ र सत्य उजागर हुन्छ ।
बुर्जुवा वर्गलाई आफ्नो नाफा बढाउनका लागि निरन्तर विज्ञान तथा प्रविधिको विकासमा काम गर्नु अनिवार्य हुन्छ । अटोमेसन र निरन्तर उत्पादकत्व बढाउनका लागि प्रविधिको विकास गर्ने प्रक्रियामा प्रकृतिको बारेमा वैज्ञानिक अध्ययन गर्नैपर्ने हुन्छ । फलस्वरुप बुर्जुवा व्यवस्थामा प्राकृतिक विज्ञानको अध्ययनमा भरपूर लगानी गर्न प्रोत्साहित गरिन्छ । फेरि पनि नाफामा केन्द्रित व्यवस्था भएको हुनाले विशिष्ट र तत्कालीन नाफामूलक क्षेत्रबाहेक होलिस्टिक रुपमा प्राकृतिक विज्ञानको विकासमा जोड दिइँदैन ।
जब समाज विज्ञानको कुरा आउँछ तब बुर्जुवा शासक वर्गसामु ठूलो समस्या आइलाग्छ । किनकि, समाजको वैज्ञानिक विश्लेषण गरेपछि त्यहाँ शोषणकारी चरित्र, विभेद र अन्तर्विरोधहरुको भेद खुल्दछ र सत्य उजागर हुन्छ । यो पुँजीवादी व्यवस्था पनि इतिहासमा गुमेका सत्ताहरुजस्तै अन्तरिम र सङ्क्रमणकालीन सत्ता मात्र हो । कसै कसैले दाबी गर्नेजस्तो पुँजीवाद अन्य कुनै इतिहासको अन्त्य होइन र यो अजर अमर पनि छैन । यसको अन्त्य निश्चित छ । बुर्जुवा वर्गको स्वर्ग ढल्ने यस्तो निष्कर्ष उनीहरुका लागि सह्य हुने कुरै भएन । त्यसैले बुर्जुवा वर्ग जनतामा भ्रम छर्न अनेक प्रकारका तथाकथित दार्शनिकहरु उत्पादन गर्न ठूलो लगानी गर्छ । सगँसँगै पुरस्कार, पद अनि पपुलारिटीको पुलिन्दामा चढाउन तयार हुन्छ । उनै दार्शनिक तथा समाजशास्त्रीहरु अनेकौँ भ्रामक, अवैज्ञानिक तथा एकाङ्गी निष्कर्षहरु निकालेर पुँजीवादलाई अमरत्व प्रदान गर्न हरसम्भव कोसिस गर्दछन् ।
माथि उल्लेख गरिएका कारणहरुले गर्दा सामाजिक विज्ञानबारे बुर्जुवा समाज व्यवस्थामा वास्तविक रुपमा वैज्ञानिक दृष्टिकोणले विश्लेषण गरिँदैन । यति हुँदाहुँदै पनि सामाजिक यथार्थका केही आयामहरुबारे जानकारी बुर्जुवाहरुलाई पनि चाहिन्छ । जनसङ्ख्याको डाइनामिक्स अनुसार आफ्ना नीतिहरुको प्रभावलाई बुझ्न र नयाँ नीति निर्माणका लागि उनीहरुले पनि सामाजिक क्षेत्रको अध्ययनमा जोड दिएकै हुन्छन् । फरक यत्ति हो; बुर्जवा समाजशास्त्र, अर्थशास्त्र र मानवशास्त्रको प्रयोग पूर्णतः वस्तुगत परिस्थितिको अध्ययनमा भन्दा सतही अध्ययनमा केन्द्रित हुन्छ । समाज विज्ञानको बारेमा बुर्जुवा वर्गको उपेक्षा र डरलाई बोध गर्न कठिन छैन । तर, यहाँ लोहनी समाज विज्ञानसँग यसरी डराउनु पछाडिको कारण चाहिँ के हो ? यो आश्चर्यजनक छ ।
|
मार्क्सवाद र विज्ञानको संकथन: ऐतिहासिक रूपान्तरण र नेपाली वामपन्थी दृष्टिकोण |
व्युत्पत्तिशास्त्रको मोहमा रुमल्लिएको “विज्ञान”
लोहनीले विज्ञान शब्दको व्युत्पत्ति (Etymology) बारे धेरै माथापच्ची गरेका छन् । तर, मार्क्स–एङ्गेल्स विज्ञानलाई कसरी लिन्थे र उनीहरुको जोड विज्ञानमा किन थियो ? यसतर्फ प्रवेश नगरी उनी पुनः शब्दको व्यत्पत्तिकै सहारा लिएर झारो टार्ने कोसिस गर्दछन् । मार्क्सवाद विज्ञान हो कि होइन भन्ने प्रश्नको उत्तर दिनुभन्दा पहिला मार्क्स–एङ्गेल्सले समाज विज्ञान या ऐतिहासिक भौतिकवादको बारेमा जुन कुरा गरेका थिए, त्यसको मुख्य आशय के थियो भनेर जान्नुपर्ने हुन्छ । उनीहरुले समाज विज्ञान पनि हुबहु प्राकृतिक विज्ञानजस्तै हो भनेर नियतिवादी (Deterministic) निचोड दिएका थिएनन् । प्रकृति र समाजका मुख्य भिन्नताहरुबारे उनीहरु स्पष्ट थिए । उनीहरु समाज बदल्नका लागि चेतनाको भूमिकालाई सर्वस्वीकार गर्दथे र चेतनाकै भूमिकाका कारण मनोगतवादको सम्भावनालाई पनि आत्मसात् गर्दै प्रकृतिको तुलनामा समाजमा आकस्मिकता र अनिश्चितता रहने कुरालाई मान्दथे । एङ्गेल्स भन्दछन्–
मार्क्स–एङ्गेल्सले समाज विज्ञान पनि हुबहु प्राकृतिक विज्ञानजस्तै हो भनेर नियतिवादी (Deterministic) निचोड दिएका थिएनन् । प्रकृति र समाजका मुख्य भिन्नताहरुबारे उनीहरु स्पष्ट थिए ।
“तर, एउटा विन्दुमा समाज विकासको इतिहास प्रकृतिको विकासभन्दा सारभूत रुपमा भिन्न देखिन्छ । प्रकृतिमा (प्रकृतिमाथिको मानिसको प्रभावलाई बेवास्ता गर्दासम्म) त्यहाँ केवल दृष्टिहीन र अचेतन शक्तिहरु मात्र हुन्छन्, तिनले एकअर्कामाथि प्रभाव पारिराखेका हुन्छन् र तिनीहरुबीचको अन्तरक्रियाबाट सामान्य नियमहरु क्रियाशील हुन्छन् । चाहे सतहमा देखिने असङ्ख्य स्पष्ट संयोगहरु होऊन् वा ती संयोगहरुमा निहित नियमिततालाई पुष्टि गर्ने अन्तिम परिणामहरु नै किन नहोऊन् । जे जति घटित हुन्छन्, ती कुनै पनि कुरा सचेत रुपमा इच्छाइएका लक्ष्यका रुपमा हुँदैनन् । यसविपरीत समाजको इतिहासमा सबै पात्रहरु चेतनाले युक्त हुन्छन् । उनीहरु सोचविचार वा आवेगका साथ निश्चित लक्ष्यतर्फ काम गर्ने मानिस हुन् । यहाँ कुनै पनि कुरा सचेत उद्देश्य र निर्धारित लक्ष्यविना घटित हुँदैन ।” (एङ्गेल्स, लुडविग फायरबाख र क्लासिकीय जर्मन दर्शनको अन्त्य, १८८६)
एक अर्थमा, समाजको ऐतिहासिक विकासक्रम प्रकृतिको विकासक्रमभन्दा मुख्यतः भिन्न देखिन्छ । प्रकृतिमा यदि हामीले मानिसको हस्तक्षेपलाई बेवास्ता गर्ने हो भने त्यहाँ केवल अन्ध र अचेतन एजेन्सीहरु एकअर्कोको बीचमा काम गर्दछन् । उनीहरुबीचको यो अन्तरक्रियाबाट नै प्रकृतिको साधारण सिद्धान्त प्रयोगमा आउँछ । यी सबै जटिलता भए तापनि मार्क्स–एङ्गेल्सले समाजलाई पनि वैज्ञानिक अध्ययनको दायराभन्दा बाहिर रहेको मानेनन् । किनकि, विज्ञानको वास्तविक उद्देश्य यथार्थताको वस्तुगत अध्ययन गर्नु थियो ।
“यसरी हेर्दा ऐतिहासिक घटनाहरु पनि समग्र रुपमा संयोगद्वारा सञ्चालित भएजस्ता देखिन्छन् । तर, जहाँ सतहमा संयोगको बोलवाला भएजस्तो देखिन्छ, त्यहाँ वास्तवमा सधैं भित्री र अदृश्य नियमहरुद्वारा नियन्त्रित भइरहेको हुन्छ । विषय केवल ती नियमहरुलाई पत्ता लगाउने मात्र हो ।” (माथि)
वस्तुगत यथार्थ जस्तो छ, त्यस्तै अघ्ययन गर्ने क्षमता मानिसले ऐतिहासिक विकासको क्रममा प्राप्त गरेको हो । विकासक्रममै भौतिक जगत्को अन्तर्विरोध, नियमबद्धता र विभिन्न परिघटनाहरुको कार्य–कारण सम्बन्ध (Causality) पत्ता लगाउने क्रममा विज्ञानको व्यापक विकास भयो । पुँजीवादको विकासले विज्ञानको विकासमा अभूतपूर्व योगदान गरेको छ । गतिशील यथार्थलाई शोध र अनुसन्धानमार्फत व्यवस्थित तरिकाले नियमबद्ध गर्नुमा बुर्जुवा वर्ग स्वयंको हित त थियो नै, त्यो निहित उद्देश्य मात्र नभई सम्पूर्ण समाजका लागि पनि विज्ञान हितार्थ हुने सम्भावनाको अर्को ढोका खुलेको छ ।
यथार्थको वस्तुगत अध्ययन गर्ने मानिसको क्षमताको प्रयोग प्राकृतिक यथार्थलाई अध्ययन गर्ने दायरासम्म मात्र सीमित छैन, बरु सामाजिक यथार्थको अध्ययन गर्ने पाटो पनि यसैअन्तर्गत पर्न जान्छ । समाज प्रकृतिभन्दा भिन्न छ र यसका आफ्नै नियम एवम् विशिष्टताहरु छन् । तर, मानिस प्रकृतिबाट विशुद्ध रुपमा अलग वा स्वतन्त्र छैन । समाज प्रकृतिको एक विस्तारित अवयव हो र यही भौतिक जगत्को हिस्सा हो । यसर्थ सामाजिक यथार्थलाई वैज्ञानिक ढङ्गले विश्लेषण गर्नै नसकिने कुनै आधार छैन ।
कुनै पनि असल वैज्ञानिक सामाजिक यथार्थको जटिलताबाट डराएर मानिसले हजारौँ वर्षमा मिहिनेत गरेर बनेको विज्ञानको अस्त्रलाई छोडेर भाग्दैन । बरु जटिलताहरुलाई चिर्दै समाजको वस्तुगत अध्ययन गर्ने चुनौती स्वीकार गर्छ ।
प्रकृति विज्ञानले प्राकृतिक परिघटनाहरु एवम् उत्पादनको प्रक्रियामा मानिस र प्रकृतिबीच अन्तरक्रिया हुने उत्पादक शक्तिको बारेमा अध्ययन गर्दछ भने सामाजिक विज्ञानले उत्पादन सम्बन्ध, आर्थिक आधार तथा अधिरचनाबीचको मानवीय सम्बन्धको अध्ययन गर्दछ । त्यसैले दुवैको क्षेत्र अलग अलग भए तापनि दुवैलाई द्वन्द्वात्मक भौतिकवादी दृष्टिकोण र पद्धतिबाट अध्ययन गर्न सकिन्छ । कुनै पनि असल वैज्ञानिक सामाजिक यथार्थको जटिलताबाट डराएर मानिसले हजारौँ वर्षमा मिहिनेत गरेर बनेको विज्ञानको अस्त्रलाई छोडेर भाग्दैन । बरु जटिलताहरुलाई चिर्दै समाजको वस्तुगत अध्ययन गर्ने चुनौती स्वीकार गर्छ । मार्क्सले सत्यको मार्गमा आइपर्ने कठिनाईहरूका बारेमा औल्याउदै भनेका थिए । “विज्ञानको राजमार्ग हुँदैन, जो उकालो र कठीन बाटोसँग डराउँदैनन्, उनीहरूले मात्र शिखरको उज्यालो महसुस गर्ने अवसर प्राप्त गर्दछन् “ (पुँजी भाग – १, फ्रान्सेली भाषा संस्करणको प्राक्कथन, १८७२)। उनीहरुले समाजमा चेतनाको अवस्थितिबारे ज्ञात हुँदै गर्दा पनि यसको सम्पूर्ण गति अनियमित हुँदैन र समाजको गतिको पनि नियमबद्धता हुन्छ भन्ने खोजी गरे । समाजमा पनि कार्य–कारण सम्बन्ध हुन्छ र शासक वर्गको विचारधाराबाट पैदा भएका पूर्वाग्रहहरुसँग सङ्घर्ष गरेमा समाज विकासका नियमहरुको वस्तुगत अध्ययन गर्न सकिन्छ । एङ्गेल्सले मार्क्सवादलाई यही अर्थमा विज्ञान भनेका थिए ।
“जसरी डार्विनले जैविक प्रकृतिको विकासको नियम पत्ता लगाए, त्यसरी नै मार्क्सले मानव इतिहासको विकासको नियम पत्ता लगाए । उनले त्यो सरल तथ्य उजागर गरे, जुन विचारधाराको बाक्लो आवरणले लामो समयसम्म ढाकेर राखेको थियो । मानिसले राजनीति, विज्ञान, कला, धर्म आदि कार्यहरुमा संलग्न हुनुभन्दा पहिले खान, पिउन, बसोबास गर्न र लगाउन आवश्यक वस्तुहरुको व्यवस्था गर्नुपर्छ । त्यसैले तत्काल आवश्यक भौतिक जीवननिर्वाहका साधनहरुको उत्पादन र त्यससँग सम्बन्धित कुनै निश्चित जनसमुदाय वा निश्चित ऐतिहासिक युगले हासिल गरेको आर्थिक विकासको स्तर; त्यही आधार हो, जसको जगमा सम्बन्धित समाजका राज्य संस्था, कानुनी अवधारणा, कला तथा धर्मसम्बन्धी विचारहरुसमेत विकसित भएका हुन्छन् । त्यसकारण यी सबैलाई त्यही भौतिक–आर्थिक आधारको प्रकाशमा व्याख्या गर्नुपर्दछ । यसको उल्टो (अर्थात् विचार, धर्म वा राज्यलाई आधार मानेर आर्थिक जीवनलाई व्याख्या गर्ने चलनजस्तो) गर्नु हुँदैन ।” ( मार्क्सको समाधिमा एङ्गेल्सद्वारा दिएको मतव्यको अंश, लंडन, मार्च १७, १८८३)
ऐतिहासिक भौतिकवाद अथवा वैज्ञानिक दृष्टिकोणबारे मार्क्सको उपरोक्त खोजको सार्वभौमिक महत्त्व छ । यो विश्वभरि कुनै पनि समाजमा लागू हुन्छ । कुरा यति मात्र भिन्न हो कि यो सार्वभौमिक दृष्टिकोणको सहायतामा हरेक समाजका भिन्न भिन्न विशिष्टताहरुको पनि अध्ययन गर्नु अनिवार्य हुन्छ । यही वैज्ञानिक दृष्टिकोण अपनाएर मार्क्सले समाजको विस्तृत अनि गहन अध्ययन गरेका थिए र पुँजीजस्तो ग्रन्थमार्फत अतिरिक्त मूल्यको सिद्धान्त प्रतिपादन गरेका थिए, जसले शोषणका कारणहरुको रहस्यमाथिको पर्दा हटाएको थियो ।
“तर, कुरा यति मात्र होइन । मार्क्सले वर्तमान पुँजीवादी उत्पादन प्रणाली र यो उत्पादन प्रणालीले निर्माण गरेको बुर्जुवा समाजलाई निर्देशित गर्ने गतिको विशेष नियम पनि पत्ता लगाए । अतिरिक्त मूल्यको खोजले अचानक त्यस समस्यामाथि प्रकाश पा¥यो, जसलाई समाधान गर्ने प्रयासमा बुर्जुवा अर्थशास्त्री तथा समाजवादी आलोचकहरु दुवैका विगतका सबै अनुसन्धानहरु अँध्यारोमा अलमलिइरहेका थिए ।” (माथि)
सचेतन प्रयत्न र वर्गीय पक्षधरताको प्रश्न
लोहनीको अर्को तर्क छ, समाज विज्ञान यस अर्थमा विज्ञान हुन सक्दैन कि सचेतन मानवीय हस्तक्षेप हुने हुनाले त्यसमा वस्तुनिष्ठता रहँदैन । यहाँ लोहनी मानवीय हस्तक्षेपलाई वर्गनिरपेक्ष मान्ने भुल गर्दछन् । उनी मानवीय हस्तक्षेप कुन वर्गको हितमा गरिन्छ, त्यो कुरालाई नै गायब पारिदिन्छन् । यदि सचेतन वा अचेतन रुपमा मानवीय हस्तक्षेप गर्दा शासक वर्गको हितलाई ध्यानमा राखेर गरिन्छ भने निश्चित रुपमा त्यो वस्तुगत हुनै सक्दैन । किनकि, शासक वर्गलाई सामाजिक यथार्थताका सबै पक्षहरुलाई उजागर गर्नुमा होइन, लुकाउनुमा फाइदा हुन्छ र उसको शोषणकारी सत्ता लम्ब्याउन सकिन्छ । तर, यदि शोषित वर्गको पक्षमा मानवीय हस्तक्षेप हुन्छ भने पक्कै पनि त्यो वस्तुगत हुन्छ । किनकि, शोषित वर्गलाई सत्य लुकाउनुमा भन्दा उजागर गर्नुमा फाइदा छ । अझै भनौँ, सत्य त्यति बेला मात्र जगजाहेर हुन्छ जति बेला शोषित वर्गको पक्षबाट वस्तुगत अध्ययन गरिन्छ ।
समाज विकासका नियमहरुको अध्ययन गरेर मात्र समाजलाई आमूल परिवर्तन गर्ने भूमिका निर्वाह गर्न सकिन्छ । मार्क्सवादी विज्ञान अर्थात् ऐतिहासिक भौतिकवादको काम पनि यही नै हो ।
यहाँ ध्यान दिनुपर्ने कुरा के छ भने शोषकवर्गीय समाजमा शोषकवर्गीय विचार नै हाबी हुन्छ । शोषित श्रमिक/मजदुर वर्ग पनि त्यसबाट टाढा रहन सक्दैन । अझ कम्युनिस्टहरु पनि विभिन्न विचारधाराबाट प्रभावित हुन्छन्, जसले गर्दा वस्तुनिष्ठ अध्ययन गर्ने क्षमता प्रभावित हुन पुग्छ । फेरि पनि यसको अर्थ वस्तुगत अध्ययन गर्नै सकिँदैन भन्ने हुँदै होइन । बरु वस्तुगत अध्ययन गर्नका लागि बुर्जुवा वर्गको विचारधाराबाट आफूलाई मुक्त गर्नुपर्ने चुनौतीको सामना गर्नुपर्छ भन्ने हो । वास्तवमा वस्तुगत र मनोगत अवस्थाबीच द्वन्द्वात्मक सङ्घर्ष हुन्छ र त्यसको सही परीक्षण प्रयोगमा जान्छ । यही सम्बन्धबीचको अन्तर्विरोध र सङ्घर्षलाई बुझेर मात्र समाजको वास्तविकता जान्न सकिन्छ । समाज विकासका नियमहरुको अध्ययन गरेर मात्र समाजलाई आमूल परिवर्तन गर्ने भूमिका निर्वाह गर्न सकिन्छ । मार्क्सवादी विज्ञान अर्थात् ऐतिहासिक भौतिकवादको काम पनि यही नै हो । मानव चाहना, इच्छा र सचेतन प्रत्यत्नले मात्र समाज बदल्छौँ भन्ने काल्पनिक समाजवादीहरुलाई उत्तर दिँदै एङ्गेल्सले आफ्नो पुस्तिका ‘समाजवाद: काल्पनिक र वैज्ञानिक’ मा उल्लेख गरेका छन्, समाज विकासको गति र परिस्थितिको ठोस आँकलनविना काल्पनिक समाजवादीहरुले गरेका पहल मननयोग्य र मानवीय भए पनि प्रर्याप्त छैनन् । बरु समाज विज्ञानका आफ्नै नियमहरु हुन्छन्, जो मार्क्सवादले वैज्ञानिक विधि र दृष्टिकोणसहित उजागर गरेको छ । त्यसलाई आत्मसात् गर्नु जरुरी छ ।
मार्क्सले प्रुधों तथा अन्य बुर्जुवा समाजशास्त्रीहरुमाथि गरेको आलोचनाको प्रङ्सगबारे लोहनीले जसरी उल्लेख गरेका छन्, त्यो दाबी गलत छ । त्यहाँ वास्तवमा मार्क्सले सबै खाले सामाजिक विज्ञानलाई समेटेर एकमुष्ट रुपमा त्यसको विरोध गरेका थिएनन् । बरु उनले सामाजिक विज्ञानको आवश्यकता र भूमिकाबारे जोड दिएका थिए । बुर्जुवा समाजशास्त्र तथा अर्थशास्त्रले सामाजिक सम्बन्धको बाह्य स्वरुपको मात्र अध्ययन गर्दछ । यस्तो अध्ययनका आधारमा प्रतिपादित सिद्धान्त सतही हुन्छ भन्दै त्यसको आलोचना गरेका थिए । त्यसैले पुँजीको तेस्रो खण्डमा उनले भनेका छन्, “यदि वस्तुहरुको बाहिरी स्वरुप र त्यसमा अन्तर्निहित सार प्रत्यक्ष रुपमा मिल्दछ भने समस्त विज्ञान निरर्थक हुने थियो ।” तर, यसो भन्नुमा उनको आशय समाजको विज्ञान हुँदैन भन्ने होइन, न त उनले समाजको वैज्ञानिक तरिकाले अध्ययन अनुसन्धान गर्नै सकिँदैन भन्ने दाबी गरेका हुन् । यसविपरीत मार्क्सले कुनै पनि विज्ञान प्रतीयमान यथार्थ (Apparent reality) सम्म मात्र सीमित रहन नहुने कुरामा जोड दिएका हुन् । बुर्जुवा समाजशास्त्र र अर्थशास्त्रमा प्रत्यक्षवाद (Positivism) को पद्धति अपनाइने हुनाले यस विधिबाट गरिने अध्ययनले प्रतीयमान यथार्थसम्म सीमित राख्दछ, जुन सतही बुझाइ निर्माणमा मात्र सहयोगी हुन्छ । मार्क्सवादी सामाजिक विज्ञानले प्रतीयमान यथार्थभन्दा गहिराइमा गई सारभूत यथार्थ (Essential reality) सम्म पुगेर सिद्धान्त प्रतिपादन गर्दछ । यस प्रक्रियामा वैज्ञानिक पद्धतिको प्रयोग अनिवार्य हुन्छ ।
जहाँसम्म नैतिकता र तटस्थताको प्रसङ्ग छ, त्यसबारे मार्क्सले स्पष्ट पार्दै भनेका छन्, वर्गीय समाजमा वर्गनिरपेक्ष कुनै पनि किसिमको तटस्थता तथा नैतिकता हुँदैन । प्रत्येक नैतिकताको वर्गीय चरित्र हुन्छ । यस दृष्टिले हेर्दा श्रमिक वर्गको नैतिकतासँग समाज विज्ञानको कुनै वैमनस्यता वा अन्तर्विरोध छैन । किनकि, श्रमिक वर्गको भलाइ समाजका सत्यहरुको उजागर गर्नुमा छ, त्यसलाई लुकाउनुमा होइन । सही अर्थमा सामाजिक वैज्ञानिक त्यो हो, जो सामाजिक यथार्थलाई श्रमिकवर्गीय दृष्टिकोणबाट हेर्न र विश्लेषण गर्न सक्छ । श्रमिकवर्गीय दृष्टिकोणबाट समाजमा सचेतन हस्तक्षेप गर्नु वस्तुनिष्ठता र वैज्ञानिकताको निषेध होइन । वास्तवमा यस्तै सचेतन हस्तक्षेपको प्रक्रियामा नै सामाजिक यथार्थतालाई अझै सटीक ढङ्गबाट बुझ्न सकिन्छ ।
तसर्थ, लोहनीले फायरवाखमाथिको आलोचनाको हवाला दिएर जे कुरा उल्लेख गरेका छन्, त्यो मार्क्सको आशयभन्दा धेरै भिन्न छ । जहाँ मार्क्सले संसारको व्याख्यामा मात्र सीमित रहनुमा होइन, बदल्नुमा जोड दिएका थिए, त्यहाँ उनको आशय विज्ञानको तिलाञ्जली दिएपछि मात्र समाज बदल्न सकिन्छ भन्ने थिएन । बरु समाज बदल्ने कार्य (प्राक्टिस) बाट समाजको वास्तविकता थाहा हुन्छ भन्नेमा उनले जोड दिएका थिए । मार्क्स स्वयंले गरेको पनि यही नै हो । अध्ययनकक्षबाटै मार्क्सले सम्पूर्ण नतिजा निकालेका होइनन् । त्यति बेलाको राजनैतिक–सामाजिक जीवनमा सहभागी भएर नै उनी पुँजीवादलाई बुझ्ने सवालमा सटीक निष्कर्षमा पुग्न सफल भएका हुन् । त्यसैले लोहनी पनि ‘डायलेक्टिक सोसाइटी’ भन्दा पर पुगेर प्राक्टिसमा सहभागी हुन डराउनु भएन । विज्ञानलाई आत्मसात् गरी गरिने अभ्यासबाटै वास्तवमा गतिमान यथार्थबारे जान्न तथा अवस्तुगत र अवैज्ञानिक पक्षसँग सङ्घर्ष गरी वस्तुगत र वैज्ञानिक सार प्राप्त गर्न सकिन्छ र पुनः त्यसलाई प्रयोगमा लैजान सकिन्छ । यो प्रक्रिया निरन्तर वर्तुलाकार गति (Spiral motion) मा चलिरहन्छ ।
विज्ञानलाई आत्मसात् गरी गरिने अभ्यासबाटै वास्तवमा गतिमान यथार्थबारे जान्न तथा अवस्तुगत र अवैज्ञानिक पक्षसँग सङ्घर्ष गरी वस्तुगत र वैज्ञानिक सार प्राप्त गर्न सकिन्छ र पुनः त्यसलाई प्रयोगमा लैजान सकिन्छ ।
कम्युनिस्ट आन्दोलनमा व्याप्त जडसूत्रवाद एवम् अन्धनक्कलको परम्परा वा एक किसिमको कट्टरतालाई पनि लोहनी नेपाली कम्युनिस्टहरुले मार्क्सवादलाई विज्ञान भनेकाले यस्तो भएको हो भनी प्रस्तुत गरिदिन्छन् । यहाँ लोहनी हेगेलले जसरी आन्दोलनमा देखिएका समस्याहरुलाई टाउकोको बलमा टेकेर हेरिरहेका छन् । यदि उनी वस्तुगत तरिकाले हेर्दथे भने समस्या मार्क्सवादलाई विज्ञान भन्नुमा होइन, विज्ञानको प्रयोग र विधिलाई सटीक रुपमा नबुझेर र त्यसलाई एक प्रकारको जडसूत्र मान्नु हो भन्ने ज्ञात हुन्थ्यो । विज्ञानलाई ग्रहण गरेर होइन, ग्रहण गर्न नसकेको स्थितिमा जडसूत्रवादी होइन्छ । ठोस परिस्थितिको ठोस अध्ययनको कमी र हरेक भौतिक पदार्थ एवम् परिस्थिति र समाजको गतिमानलाई संश्लेषण गर्न नसक्दा यस्तो भइरहेको छ । त्यसैले समस्या विज्ञानमा होइन, त्यसलाई रचनात्मक ढङ्गले लागू गर्ने सवालमा छ ।
अन्तिममा लोहनी मार्क्सवाद आजको समयमा कसरी विज्ञान हुँदै होइन र यो मात्र समाजमा विद्यमान अन्तर्विरोधहरु बुझ्ने एक विधि (Method_) हो भन्ने निष्कर्षमा पुग्दछन् । यसबाट उनले गर्न खोजेको सङ्केतलाई कसरी बुझ्ने ? के उनका लागि द्वन्द्वात्मक भौतिकवाद पनि अन्य विधिहरुजस्तै एउटा अर्को विधि मात्र हो त ? यदि लोहनीले पूर्वाग्रहरुलाई हटाएर मनन गरे भने मार्क्सवाद र द्वन्द्वात्मक भौतिकवाद विधि मात्र नभई दृष्टिकोण पनि हो भन्ने थाहा हुन्छ । यो वास्तवमा सुसङ्गत वैज्ञानिक भौतिकवादी दृष्टिकोण हो । यो दृष्टिकोणलाई ग्रहण गरेको खण्डमा प्राकृतिक मात्र होइन, सामाजिक यथार्थको पनि नजिकै पुगेर वस्तुपरक बुझाइ निर्माण गरी व्यवहारमार्फत आमूल परिवर्तन गर्न सकिन्छ ।
मार्क्सवादमाथि दुनियाँभरि अनेकन हमला भएको र क्रान्तिकारी आन्दोलन आत्मरक्षाको चरणमा पुगेको बेलामा मार्क्सवादलाई अवैज्ञानिक साबित गर्न कम्मर कसेर लाग्नुभन्दा लोहनी आफैले मान्ने दाबी गर्ने द्वन्द्वात्मक विधिमा भएको विकासको आधारमा अनुप्रयोग (Praxis) मा गई द्वन्द्वात्मक तरिका मात्र होइन, विकसित द्वन्द्वात्मक भौतिकवादी विधि र दृष्टिकोणले विज्ञानलाई बुझ्न सुझाव दिन चाहन्छु ।
(यो लेख साभार छाप्नेले अनिवार्य रुपमा मूल लेखकको नाम र दायित्वबोधको हाइपरलिङ्कसहित स्रोत खुलाउनुहोला । –दायित्वबोध)
|
दायित्वबोधको विशेष अनुरोध |
|
वाम वैचारिकीको रक्षा र प्रबर्द्धनका लागि दायित्वबोध अनलाइन निरन्तर रहनु जरुरी छ भन्ने तपाईंलाई लाग्छ ? के दायित्वबोधमा प्रकाशित भइरहेका सामग्रीहरु उपयोगी र पठनीय छन् भन्ने तपाईं ठान्नुहुन्छ ? दायित्वबोधको निरन्तरताको लागि तपाईंको सहयोगले ठूलो अर्थ राख्छ ! |
|
तपाईंले कसरी सहयोग गर्न सक्नुहुन्छ ? |
|
–सामर्थ्यअनुसारको आर्थिक सहयोग गरेर । –विचारप्रधान लेखरचनाहरु उपलब्ध गराएर । –दायित्वबोधमा छापिएका लेखरचनाहरु शेयर गरेर । दायित्वबोधको फेसबुक पेज, युट्युब, ट्विटर, टिकटक लगायतका सामाजिक सञ्जाल पेजहरु लाइक–शेयर–सब्स्क्राइब गरेर । |
|
दायित्वबोधलाई आर्थिक सहयोग गर्नका लागि |
पास्ता: फासीवाद विरुद्धको एक हतियार
दक्षिण एसियामा भारतको जल रणनीतिः एक प्रभुत्ववादी दृष्टिकोण
आत्ममुग्ध महाशक्ति
आत्मदाहको शृङ्खला र राज्यको क्रूर नवउदारवादी अनुहार
२५० वर्षमा अमेरिका: विवादित विगतबाट फासीवादी भविष्यतर्फ?
नेपाल चीनको सम्बन्ध र सम्पर्क
जैविक विविधताको विनाशप्रति मैले किन चासो राख्ने?
प्रतिक्रिया