जैविक विविधताको विनाशप्रति मैले किन चासो राख्ने?

केही महिनाअघि म एकजना साथीसँग कुरा गर्दै थिएँ–  जैविक विविधताको विनाश सायद जलवायु परिवर्तनभन्दा पनि विश्वका लागि ठूलो खतरा हो। मेरो कुरा सुनेर उनले सोधे, “जैविक विविधताको यो ह्रासप्रति मैले किन चासो राख्ने?” उनले आफ्नो कुरा थप प्रष्ट्याउँदै भने । अत्यधिक गर्मी र खडेरीका कारण बालीनाली नष्ट हुनु, ठूलो संख्यामा मानिसहरूको विस्थापन हुनु, र स्रोतसाधनका लागि निरन्तर द्वन्द्व निम्तिनु जस्ता कुराले जलवायु परिवर्तनका विनाशकारी परिणामहरूको कल्पना गर्न उनका लागि निकै सहज थियो । तर, विशुद्ध मानव-केन्द्रित दृष्टिकोणबाट सोच्दा, मानवेतर (मानिसबाहेकका) प्रजाति र पारिस्थितिक प्रणाली (ecosystem) को क्षयले हाम्रो दैनिक जीवनमा कसरी ठूलो असर पार्न सक्छ भन्ने कुरा उनले बुझ्न सकेका थिएनन्। उनको तर्क थियो–  के हाम्रो आधुनिक संसार प्राकृतिक पर्यावरणको पतन र विनाशबाट जोगिनका लागि पर्याप्त सुरक्षित र प्रविधिको हिसाबले उन्नत छैन ? के मानव चेतना, कल्पनाशिलता र प्राविधिक सामर्थ्यको बलमा हामीले प्राकृतिक संसारमाथि गरिरहेको निरन्तर अतिक्रमण, दोहन र विनाशका परिणामहरूलाई जित्न सक्दैनौँ र? वास्तवमा, मेरो साथी मानव सभ्यताद्वारा जल र थल दुवैतिरका विशाल प्राकृतिक जीवचक्रको समूल नष्ट भइरहेको विषयमा आफू किन बढी चिन्तित हुनुपर्छ भन्ने एउटा ठोस र चित्तबुझ्दो कारण खोज्दै थिए।

त्यस बखत, विशुद्ध स्वार्थी र मानव-केन्द्रित दृष्टिकोणबाटै हेर्दा पनि यो विनाश किन यति गहिरो र प्रलयकारी क्षति हो भनेर मैले उनलाई चित्तबुझ्दो जवाफ दिन सकिनँ। तर, मैले उनीसँग एउटा वाचा गरेको थिएँ–  म यस विषयमा घोत्लिनेछु र यसको स्पष्ट उत्तर खोज्ने प्रयास गर्नेछु।

 ”जैविक विविधताको विनाशप्रति मैले किन चासो राख्ने?” भन्ने प्रश्न आफैँमा एउटा इमानदार र निकै महत्त्वपूर्ण प्रश्न हो। मानव जातिले पृथ्वीमा ५४ करोड वर्षअघि सुरु भएको तथा वनस्पति र जीवजन्तुहरूको तीव्र विकास र विस्तार 'फ्यानरोजोइक कल्प' (Phanerozoic Eon)  को छैटौँ ठूलो महाविनाश (mass extinction) निम्त्याइरहेको वर्तमान समयमा यस प्रश्नको उत्तर खोज्नु अपरिहार्य भइसकेको छ। औद्योगिक कृषि, प्राकृतिक स्रोतको दोहन, र हाम्रा फोहोरमैला विसर्जनका लागि मानव जातिले जसरी तीव्र गति र विशाल स्तरमा प्राकृतिक संसारमाथि कब्जा र विनाश गरिरहेको छ, त्यसलाई हेर्दा यो महाविनाश इतिहासकै सबैभन्दा प्रलयकारी साबित हुने सम्भावना छ। तर, अन्य प्रजाति र जीवका साम्राज्यहरूलाई नामेट पार्नु वा गुमाउनु कसरी हामी मानव र हाम्रो आधुनिक संसारका लागि विनाशकारी बन्न सक्छ? अन्ततः, धेरैजसो मानिसहरू यस विनाशलाई आफ्नो अस्तित्वमाथिकै संकट मानेर केही कदम चाल्न प्रेरित हुनुअघि, जैविक विविधताको पतनले उनीहरू आफैँलाई कति गहिरो असर पार्नेछ भन्ने कुरा बुझ्न चाहन्छन्।

हामीमध्ये धेरैजना वैज्ञानिक र विज्ञहरूले जैविक विविधता जोगाउनका लागि दिने गरेका परम्परागत तर्कहरूसँग परिचित छौँ। त्यस सूचीको सबैभन्दा माथि 'खाद्य सुरक्षा' आउँछ–  हामीलाई थुप्रै फलफूल र तरकारीहरू फलाउन माहुरी, पुतली र अन्य परागसेचक (pollinators) जीवहरूको आवश्यकता पर्छ, त्यसैले तिनीहरूको अन्त्य हुनुको अर्थ कालान्तरमा विश्वव्यापी अनिकाल निम्तिनु हो। त्यस्तै, जैविक विविधताले भरिपूर्ण र अक्षुण्ण पारिस्थितिक प्रणालीले कार्बन सोस्ने र सञ्चय गर्ने काम गर्छ । त्यसको विनाशले हरितगृह ग्यासहरूलाई सोस्ने र सन्तुलनमा राख्ने पृथ्वीको क्षमतालाई क्षतविक्षत बनाइदिन्छ। हामी नयाँ औषधिहरूको विकासका लागि पनि जैविक विविधतामाथि नै निर्भर छौँ–  हाम्रा आधुनिक औषधिहरूमध्ये २५ प्रतिशत त केवल उष्णप्रदेशीय वर्षावन (rainforest) का वनस्पतिहरूबाट मात्र बन्ने गर्छन्।

अर्को आम रूपमा दिइने तर्क के हो भने, प्राकृतिक वनजङ्गलले विश्वका झन्डै २ अर्ब आदिवासी तथा ग्रामीण मानिसहरूलाई भोजन र अन्य आवश्यक स्रोतहरू प्रदान गरेर, एवं पर्यटकहरूलाई आकर्षित गरेर उनीहरूको जीविकोपार्जन र संस्कृतिलाई धानेका छन्। अझ कतिपय अवस्थामा त प्रकृति र जैविक विविधताको हानिलाई मौद्रिक मूल्यमा दाँजिन्छ, जस्तै: “विश्वको आधा जीडीपी (कुल गार्हस्थ्य उत्पादन) जोखिममा छ।” यसले के देखाउँछ भने, हाम्रो सबैभन्दा ठूलो चिन्ता र प्राथमिकता केवल आफ्नो अर्थतन्त्र र आम्दानीको रक्षा गर्नु मात्र बनिसकेको छ।

 यद्यपि, पर्यावरण पतनको यो तीव्र गतिलाई देख्दा पनि यदि अझै धेरै मानिसहरू यसप्रति उदासीन छन् भने, स्पष्ट छ कि यी बारम्बार दिइने तर्कहरू पर्याप्त साबित भएका छैनन्–  वास्तवमा, यस घडीसम्म त हामी भयभीत र सचेत भइसक्नुपर्ने हो। मलाई लाग्छ यसको एउटा कारण के हो भने, जैविक विविधता ह्रासका यी प्रभावहरूलाई त्यसको जगमा रहेको भू-भौतिक (biophysical) विनाशको पाटो नखुलाई केवल एउटा सूचीका रूपमा मात्र प्रस्तुत गरिँदा मानिसहरूले यसलाई सायद छुट्टाछुट्टै रूपमा समाधान गर्न सकिने अलग-अलग समस्याका रूपमा बुझ्छन्। सम्भवतः हामीलाई लाग्दो हो–  परागसेचनका लागि साना उड्ने रोबोटहरू बनाउन सकिन्छ, नयाँ औषधिहरू पत्ता लगाउन कृत्रिम बुद्धिमत्ता (AI) को प्रयोग गर्न सकिन्छ, र हावाबाट कार्बन डाइअक्साइड सोस्नका लागि ठूला मेसिनहरू खडा गर्न सकिन्छ। अनि हामीले यस्ता प्राविधिक समाधानहरू आविष्कार गरिसकेपछि  जैविक विविधताको विनाशप्रति चिन्ता गरिरहनु पर्दैन, किनकि हामीले प्रकृतिमाथिको हाम्रो निर्भरतालाई अझ कम गरिसकेका हुनेछौँ। तर, यी प्रभावहरू एकअर्काबाट अलग छैनन्; र जब हामी यसको अन्तर्निहित भू-भौतिक (तापगतिकीय वा thermodynamic) कारणलाई बुझ्नेछौँ, तब मात्र हामी आधुनिक औद्योगिक मानवले प्राकृतिक संसारमाथि पुर्‍याइरहेको क्षतिको वास्तविक रूपलाई महसुस गर्न थाल्नेछौँ। यसले मात्र हामीमाथि आइपर्ने परिणामहरूको सही आकलन गर्न मद्दत गर्नेछ। यस लेखमा मेरो उद्देश्य नै तपाईंलाई जैविक विविधता विनाशको समस्यालाई एउटा आधारभूत भू-भौतिक दृष्टिकोणबाट बुझ्न सघाउनु हो, ताकि तपाईंले हाम्रो आधुनिक सभ्यताका लागि यसले निम्त्याएको अभूतपूर्व अस्तित्वगत संकटलाई महसुस गर्न सक्नुहोस्।

यसका लागि, सबैभन्दा पहिले जीवित जीवहरू जीवित रहनका लागि के गर्छन् भन्ने कुराको बोध हुन जरुरी छ। जीवित जीवहरू अत्यन्त व्यवस्थित र सुगठित संरचनाहरूले बनेका हुन्छन्। श्वासप्रश्वास, वृद्धि, प्रजनन, कोषहरूको मर्मत, र अन्य चयापचय (metabolic) प्रक्रियाहरू सञ्चालन हुनका लागि विशिष्ट अणुहरू र कोषीय संयन्त्रहरू आवश्यक पर्छन्, जसले जटिल एवं विशिष्ट जैव-रासायनिक मार्ग र चक्रहरू मार्फत सँगै मिलेर काम गर्छन्। यी जीवन प्रक्रियाहरू वातावरणबाट ऊर्जा र पोषक तत्वहरू (सूर्यको प्रकाश, कार्बन डाइअक्साइड, पानी, खनिज, भोजन) केन्द्रित र उपभोग गरेर निरन्तर चलिरहन्छन्। यी अत्यन्त व्यवस्थित संरचना र प्रक्रियाहरूलाई कायम राख्न नसक्नु नै मृत्यु हो, जसलगत्तै त्यो जीव बाहिरी वातावरणसँग जैव-रासायनिक रूपमा अव्यवस्थित सन्तुलनको अवस्थामा फर्किन थाल्छ। यो प्रकृतिको एउटा आधारभूत नियम हो कि भौतिक प्रणालीहरू समयसँगै बढी अव्यवस्थित हुँदै जान्छन्–  'थर्मोडायनामिक्सको दोस्रो नियम' (Second Law of Thermodynamics) ले हामीलाई भन्छ कि कुनै पनि पृथक प्रणाली (isolated system) को 'एन्ट्रोपी' (entropy - अव्यवस्थाको मापक) सधैं बढ्छ। तर, ऊर्जाको प्रयोग गरेर कुनै पनि प्रणालीको एन्ट्रोपीलाई बाहिरी संसारमा धकेल्न सम्भव छ; यसो गर्दा त्यो प्रणाली आफैँमा बढी व्यवस्थित बन्छ भने त्यसको वरपरको वातावरण बढी अव्यवस्थित हुन पुग्छ। भौतिकशास्त्री एर्विन श्रोडिङ्गरले जीवनलाई एउटा यस्तो तापगतिकीय (thermodynamic) प्रक्रियाका रूपमा वर्णन गरेका छन्, जसले आफ्नो वातावरणबाट उच्च-गुणस्तरको ऊर्जा (जसको अन्तिम स्रोत धेरैजसो जीवका लागि सूर्यको प्रकाश हो) र पोषक तत्वहरू उपभोग गरेर आफ्नो आन्तरिक अवस्थालाई अत्यन्त व्यवस्थित (वा न्यून एन्ट्रोपीयुक्त) राख्छ, र बाँकी रहेको कमसल (उच्च एन्ट्रोपीयुक्त) ऊर्जालाई ताप र फोहोरमैलाका रूपमा बाहिर निष्कासन गर्छ।

 सजीव प्राणी र पारिस्थितिक प्रणालीहरू ऊर्जा एवं पोषक तत्वहरूको प्रवाह र चक्र सञ्चालनका लागि बनेका अत्यन्त व्यवस्थित र न्यून-एन्ट्रोपी (low-entropy) युक्त संरचनाहरू हुन्। जीवित जीवहरूले आफ्नो आन्तरिक चयापचय (metabolic) प्रक्रियालाई सुचारु राख्न ऊर्जा र पोषक तत्वहरूलाई संकुचित र संचित गर्छन्; र जब तिनीहरूको मृत्यु हुन्छ, तिनीहरूका आणविक एवं कोषीय अवयवहरू क्षयीकृत र छरपस्ट हुँदै पुनः बाहिरी वातावरणमै फर्किन्छन्। स्वपोषी जीवहरू (autotrophs) सूर्यको प्रकाशजस्ता प्राथमिक ऊर्जाका स्रोतहरूलाई आफैँ ग्रहण गर्न सक्षम हुन्छन्, तर अन्य जीवहरूले भने ऊर्जाले भरिपूर्ण ती व्यवस्थित अणुहरू (जस्तै: कार्बोहाइड्रेट, प्रोटिन, लिपिड, सेलुलोज र लिग्निन) उपभोग गर्नका लागि अन्य जीवहरूमाथि नै निर्भर हुनुपर्छ। भू-गर्भीय कालखण्डसँगै पृथ्वीको सतहमा जीवनको विस्तार हुँदै जाँदा, जैविक पिण्डका रूपमा सञ्चित ऊर्जा र पोषक तत्वहरूको भण्डार पनि निरन्तर बढ्दै गयो। अनि यो भण्डार जसरी बढ्दै गयो, जीवनलाई धान्न सक्ने यसको क्षमता पनि त्यसरी नै सबल बन्दै गयो।

उच्च-गुणस्तरको रासायनिक ऊर्जाले भरिपूर्ण प्राङ्गारिक कार्बन (organic carbon) को यो भण्डारका कारण पृथ्वीको जैविक मण्डल (biosphere) वास्तवमा एउटा रासायनिक ब्याट्रीको 'इलेक्ट्रोड' जस्तै हो, जुन अर्बौँ वर्षको सौर्य ऊर्जा र जैविक पिण्डको सञ्चयमार्फत अत्यन्तै सुस्त गतिमा 'ट्रिकल-चार्ज' (trickle-charge) भएको थियो। पृथ्वीको जैविक पिण्डमा केन्द्रित रासायनिक ऊर्जाको यो मात्राले के देखाउँछ भने–  यसको जैविक मण्डल यस प्रणालीको अर्को इलेक्ट्रोड अर्थात् अन्तरिक्षको त्यो शून्य र कठोर सन्तुलन (equilibrium) को अवस्थाभन्दा थर्मोडायनामिक्सका हिसाबले कति टाढा छ, जहाँ ऊर्जा इन्फ्रारेड विकिरण (अवरक्त विकिरण) वा तापका रूपमा बाहिरिन्छ। पृथ्वी र अन्तरिक्षबीचको यो रासायनिक ब्याट्रीमा विद्यमान ऊर्जाको स्तरगत भिन्नता (energy gradient) ले नै पृथ्वीलाई मानिसलगायत सम्पूर्ण जीवका लागि बस्न योग्य बनाएको हो। पृथ्वीको जलवायु र पोषक तत्वहरूको भू-जैवरासायनिक चक्रलाई सन्तुलनमा राख्न यी जैविक पिण्डका भण्डारहरू अपरिहार्य छन्। यति ठूलो मात्रामा सञ्चित ऊर्जा र पोषक तत्वहरूको अनुपस्थितिमा पृथ्वीले करोडौँ वर्षदेखि धान्दै आएका विविध जीव र पारिस्थितिक प्रणालीहरू, विशेष गरी जटिल र बहुकोषीय जीवनलाई कुनै पनि हालतमा निरन्तरता दिन सक्ने थिएन।

तर, पृथ्वीमा मानव वर्चस्व रहेको यस आधुनिक युगमा परिस्थिति निकै भयानक ढंगले बदलिएको छ। पृथ्वीले अर्बौँ वर्ष लगाएर जम्मा गरेको जैविक पिण्डको यो भण्डारलाई हामीले त्यसको सञ्चय गतिभन्दा कयौँ गुणा तीव्र गतिमा रित्याउँदै लगिरहेका छौँ। रोमन साम्राज्यको समय र इसा मसिहको जन्मताका, पृथ्वीमा जीवित जैविक पिण्डका रूपमा झन्डै १,००० अर्ब टन कार्बन सञ्चित थियो, जुन मुख्य रूपमा जङ्गलका रुखहरूका रूपमा रहेको थियो। तर, बितेका मात्र २,००० वर्षमा मानव जातिले यसलाई करिब ४५ प्रतिशतले घटाएर ५५० अर्ब टनमा सीमित गरिदिएको छ। समयसँगै यो विनाशको गति विशेष गरी औद्योगिक क्रान्तिपछि झन् तीव्र बन्दै गयो र हालका दशकहरूमा त यसले आकाश नै छोएको छ। हालैका वर्षहरूको औसत तथ्याङ्कलाई हेर्ने हो भने, हामीले जीवित जैविक पिण्डमा बाँकी रहेको ५५० अर्ब टन कार्बनलाई वार्षिक करिब १.५ अर्ब टनको खुद दरमा कटानी गरिरहेका छौँ–  र त्यसलाई ताप एवं कार्बन डाइअक्साइडका रूपमा वायुमण्डलमा विसर्जन गरिरहेका छौँ।

जीवाश्म इन्धन (fossil fuels) का रूपमा करोडौँ वर्ष पुरानो जैव-रासायनिक ऊर्जाको विशाल भण्डारको खोजीले जैविक मण्डलमाथि मानव वर्चस्व र यसका स्रोतहरूको दोहनलाई निकै तीव्र (turbocharged) बनाइदिएको छ। आधुनिक मानव सभ्यताको ऊर्जा उपभोगको स्तरलाई बुझ्न एउटा उदाहरण हेरौँ–  एक सामान्य मानिसलाई जीवित रहन र आफ्नो चयापचय प्रक्रिया चलाउन आफूले खाने खानाबाट करिब १०० वाट (W) ऊर्जा आवश्यक पर्छ। तर, आजको एक औसत मानिसले आफ्ना विविध गतिविधिहरू सञ्चालन गर्न प्रतिसेकेन्ड २,३७० वाट बाह्य ऊर्जा (exosomatic energy) उपभोग गरिरहेको छ, जुन हाम्रो अस्तित्व जोगाउन चाहिनेभन्दा २४ गुणा बढी हो। अझ अति धनाढ्य व्यक्तिहरूको उपभोग त योभन्दा पनि कयौँ गुणा (अर्थात् सयौँ गुणासम्म) बढी छ। हाम्रो जीवाश्म ऊर्जा उपभोगको ठूलो हिस्सा जङ्गल, माटो, महासागर र ताजा पानीमा रहेका पृथ्वीका जैविक पिण्ड (biomass) का भण्डारहरू निकाल्न र तिनलाई रूपान्तरण गर्नमा खर्च भइरहेको छ। यसको परिणामस्वरुप भइरहेको वनविनाश, मरुभूमीकरण, स्थलचर र जलचर जीवहरूको सामूहिक संहार, एवं बढ्दो प्रदूषण यस्ता विशाल भू-मण्डलीय परिवर्तनहरू हुन्, जसले पृथ्वीको रासायनिक ऊर्जाको भण्डारलाई द्रुत गतिमा रित्याउँदै (discharge) लगेका छन्। यसको तापगतिकीय (thermodynamic) परिणाम निश्चय नै निकै भयानक र भयावह हुनेछ।

आज हामी मुख्य रूपमा जीवाश्म इन्धन, र यसका साथै आणविक एवं नवीकरणीय ऊर्जाजस्ता बाह्य ऊर्जाका स्रोतहरूको विशाल र निरन्तर बढ्दो परिमाण प्रयोग गरिरहेका छौँ। यिनै स्रोतहरूले नै हाम्रा प्राविधिक र औद्योगिक समाजहरूलाई प्राकृतिक संसारबाट अत्यन्त व्यवस्थित रासायनिक ऊर्जा र कच्चा पदार्थहरू निचोर्न सक्षम बनाएका छन्। हामीले यी सबै शक्तिलाई मानव साम्राज्य फैलाउनमा केन्द्रित गरेका छौँ; र हाम्रा अर्थतन्त्र र जनसङ्ख्या जसरी बढ्दै गइरहेका छन्, तिनीहरूले बाँकी रहेका ऊर्जा र स्रोतका भण्डारहरूको मागलाई अझ बढाउँदै लगेका छन्। यी उच्च-गुणस्तरका, न्यून-एन्ट्रोपी (low-entropy) युक्त स्रोतहरू उत्खनन र उपभोग गरिसकेपछि पछाडि जे बाँकी रहन्छ, त्यो केवल एउटा क्षयीकृत र उच्च-एन्ट्रोपीयुक्त (high-entropy) वातावरण मात्र हो। यस्तो वातावरण जहाँ ऊर्जा र पोषक तत्वले भरिपूर्ण जैविक पिण्डका भण्डारहरू रित्तिएका र ध्वस्त पारिएका हुन्छन्, जबकि उत्खनन र उपभोगबाट निस्किएका पृथ्वीलाई तताउने हरितगृह ग्यासहरू र जीवनका अत्यन्त व्यवस्थित संरचना एवं प्रक्रियाहरूलाई छिन्नभिन्न पार्ने विषाक्त प्रदूषकहरू जस्ता फोहोरमैलाहरू भने पृथ्वीभरि थुप्रिएर फैलिइरहेका छन्। छैटौँ महाविनाशको रुपमा जीवनको यो महाजालमा भइरहेको निरन्तर र तीव्र विनाश वास्तवमा पारिस्थितिक प्रणाली (र जैविक मण्डल) मा मानव जातिले सिर्जना गरेको चरम अव्यवस्थाको प्रत्यक्ष परिणाम हो। जीवित जीवहरूले जुन गतिमा व्यवस्थित संरचनाहरूको निर्माण र सञ्चय गरेका थिए, हाम्रो प्रविधि-औद्योगिक सभ्यताले त्योभन्दा कयौँ गुणा बढी गतिमा प्राकृतिक संसारबाट त्यो व्यवस्था र सन्तुलनलाई लुटिरहेको छ र नष्ट गरिरहेको छ।

आज विशाल औद्योगिक स्तरमा भइरहेका वनविनाश, आधुनिक कृषि, पशुपालन, र मत्स्यपालन वास्तवमा पृथ्वीको ऊर्जाले भरिपूर्ण र अत्यन्त व्यवस्थित जैविक पिण्डको भण्डारलाई रित्याउने हाम्रा माध्यमहरू हुन्। यी गतिविधिहरूले जीवित जीवहरूलाई समूल नष्ट मात्र गरिरहेका छैनन्, बरु जैविक मण्डलमा चरम अव्यवस्था पनि थपिरहेका छन् । त्यसले जीवहरू र तिनीहरूद्वारा निर्मित वातावरणबीच ऊर्जा र पोषक तत्वहरू प्रवाह हुने एवं चक्र बन्ने संरचना र मार्गहरूलाई पूर्ण रूपमा ध्वस्त पारिदिन्छ। जुन प्रजातिको सङ्ख्या ह्वात्तै घट्छ वा लोप भएर जान्छ, त्यो जीवनको महाजाल (web of life) बाट हामीले चुँडेर फालेको एउटा अर्को कडी (node) हो। जब यी कडीहरू एक-एक गर्दै समाप्त हुन्छन्, तिनीहरूसँग जोडिएका अन्य कडीहरू पनि खडा रहन सक्दैनन् र अन्ततः यो सम्पूर्ण महाजाल नै छिन्नभिन्न हुन पुग्छ। यसरी पृथ्वीमा जीवनलाई निरन्तरता दिने ऊर्जा र पोषक तत्वहरूको प्रवाह एवं चक्र नै ठप्प हुन पुग्छ। जीवित प्रणालीहरूले विशाल भू-गर्भीय कालखण्डमा जम्मा गरेको त्यो व्यवस्थित सन्तुलन कौडीको भाउमा लिलाम (liquidated) भइरहेको छ–  उदाहरणका लागि, ऊर्जाले भरिपूर्ण जटिल प्राङ्गारिक अणुहरू कार्बन डाइअक्साइडमा परिणत भइरहेका छन्, जसले हाम्रो ग्रहलाई दिनानुदिन तताइरहेको छ।

जैविक विविधताको विनाश र पृथ्वीको जैविक पिण्डको यो क्षयीकरणले मानव जाति र हाम्रो आधुनिक सभ्यतासहित पृथ्वीका सम्पूर्ण जीवहरूका लागि दूरगामी र दीर्घकालीन संकट निम्त्याउनेछ। हाम्रो प्राविधिक एवं औद्योगिक विकास र भौतिक समृद्धिको जग नै ती ऊर्जा र पोषक तत्वका भण्डारहरू हुन्, जसलाई जीवित जीव र पारिस्थितिक प्रणालीहरूले हाम्रो मानव प्रजातिको विकास हुनुभन्दा धेरै पहिलेदेखि सञ्चय गर्दै आएका थिए। वास्तवमा माटो आफैँमा एउटा जीवन्त पारिस्थितिक प्रणाली र वनस्पति वृद्धिको प्राथमिक माध्यम हो; यो पनि लाखौँ वर्ष लगाएर बनेको त्यस्तै एउटा ऊर्जा र पोषक तत्वको भण्डार हो, जुन हाम्रो यो विशाल जनसङ्ख्यालाई पाल्नका लागि अन्न उब्जाउन अपरिहार्य छ।

 हामी हाम्रो यो अमूल्य र उच्च-गुणस्तरको जैव-रासायनिक विरासतलाई अत्यन्तै डरलाग्दो गतिमा रित्याउँदै छौँ। हामी जीवित जीवहरू र तिनीहरूका ऊर्जा एवं पोषक तत्व प्रवाहका पारिस्थितिक महाजालहरूलाई तहसनहस पार्दै पृथ्वीको यो जीवनदायिनी जैव-रासायनिक ब्याट्रीलाई द्रुत गतिमा 'डिस्चार्ज' (discharge) गरिरहेका छौँ। ऊर्जा र पोषक तत्वहरूलाई संकुचित र केन्द्रित गर्ने, तथा तिनीहरूका जटिल एवं अत्यन्त व्यवस्थित चक्रहरूलाई सन्तुलनमा राख्ने जीवित जीवहरू र तिनीहरूका पारिस्थितिक सञ्जालहरू नै बाँकी रहेनन् भने यो सम्पूर्ण जैविक मण्डल तापगतिकीय अव्यवस्था (thermodynamic disorder) को सिकार हुन पुग्छ। यसको परिणामस्वरूप, पृथ्वीमा रहेका जैव-रासायनिक ऊर्जा र पोषक तत्वका संरचना एवम् भण्डारहरू क्षयीकृत हुँदै अन्तरिक्षको शून्यतामा बिलाएर जानेछन्, र जीवित प्राणीहरूका लागि पुनः कहिल्यै उपलब्ध हुने छैनन्। करोडौँ वर्षको भू-जैवरासायनिक प्रक्रिया (biogeochemical processes) बाट निर्मित पृथ्वीको यो जीवन-धान्न सक्ने क्षमता (carrying capacity) दिनानुदिन संकुचित हुँदै गइरहेको छ, जसका कारण यो ग्रह अब पहिलेको तुलनामा निकै कम जीवनलाई मात्र आश्रय दिन सक्ने अवस्थामा पुग्दै छ।

आज संसारमा रहेका ८ अर्ब मानिसहरू र भविष्यमा जन्मने अर्बौँ पुस्ताका लागि यसको अर्थ के हो त? हरितगृह ग्यासको उत्सर्जन, वातावरणीय विषाक्तता र प्रदूषण, प्राकृतिक बासस्थानको विनाश, र जैविक विविधताको ह्रास–  यी सबै औद्योगिक मानव समाजले आफ्नो जीवनलाई थप सुविधायुक्त बनाउन र अर्थतन्त्र विस्तार गर्नका लागि प्राकृतिक संसारको सन्तुलनलाई लुटेका परिणामहरू हुन्। जब हामी पारिस्थितिक प्रणालीबाट यो सन्तुलन र यसको जटिलतालाई निचोरेर फ्याँकिदिन्छौँ, तब हामीले ऊर्जा र पोषक तत्वहरूलाई सञ्चय गर्ने ती भू-भौतिक एवं जैव-रासायनिक संरचना र चक्रहरूलाई पनि समाप्त पारिदिन्छौँ । फलस्वरूप, यो जैविक मण्डल सम्पूर्ण जीवनका लागि बस्न अयोग्य र मानव जनसङ्ख्यालाई धान्न असमर्थ बन्दै जान्छ। यसको सबैभन्दा भयानक परिणाममध्ये एक हो–  माटो बन्ने प्रक्रिया (soil formation) नै सदाका लागि रोकिनु (जब कि हामीले अहिले नै माटो बन्ने गतिभन्दा एक हजार गुणा तीव्र गतिमा मलिलो माटो गुमाइरहेका छौँ)। यसको सीधा अर्थ के हो भने, तीव्र रूपमा तातिरहेको यस ग्रहमा पर्याप्त अन्न उब्जाउनका लागि हामी पूर्ण रूपमा कृत्रिम मल र उच्च-ऊर्जा एवं अत्यधिक सामाग्री खपत हुने प्रविधिहरूमाथि निर्भर हुनुपर्नेछ। यस्तो अवस्थाले हामीलाई ती स्रोत र प्रविधिहरूको उपलब्धतामा आउने सामान्य अवरोधप्रति पनि निकै संवेदनशील र असुरक्षित बनाइदिनेछ, जुन वर्तमान जलवायु, ऊर्जा, कच्चा पदार्थ र भू-राजनीतिक यथार्थताका कारण अवश्यम्भावी छ। पृथ्वीको वन्यजन्तु र जैविक विविधताको यो विनाशले अन्ततः कृषि प्रणालीको पतन र विश्वव्यापी खाद्य असुरक्षाको रूपमा निकै ठूलो मूल्य माग्नेछ। जब विशाल जनसङ्ख्या भोकले छटपटाएर हताश हुनेछ, तब हाम्रा समाजहरूको हविगत के होला र त्यसपछि निम्तिने अस्थिरता र हिंसा कस्तो होला–  त्यो म तपाईंहरूकै कल्पनामा छोडिदिन्छु।

जोनाथन कुकले सही भनेका छन् “सीमित स्रोत र साधन भएको यो सीमित ग्रहलाई अनन्तकालसम्म लुट्न सकिँदैन। अर्बौँ वर्ष लगाएर विकास हुँदै उच्च कोटीका जीवहरू बाँच्न योग्य अवस्थामा आइपुगेको यो संवेदनशील र सन्तुलित जैविक मण्डललाई सधैँभरि यसरी थिचोमिचो गर्न र हाम्रा विषाक्त फोहोरहरूले भर्न कदापि सम्भव छैन।”

(यो लेख साभार छाप्नेले अनिवार्य रुपमा लेखकको नाम र दायित्वबोधको हाइपरलिङ्कसहित स्रोत खुलाउनुहोला ।  –दायित्वबोध)

 दायित्वबोधको विशेष अनुरोध

वाम वैचारिकीको रक्षा र प्रबर्द्धनका लागि दायित्वबोध अनलाइन निरन्तर रहनु जरुरी छ भन्ने तपाईंलाई लाग्छ ?

के दायित्वबोधमा प्रकाशित भइरहेका सामग्रीहरु उपयोगी र पठनीय छन् भन्ने तपाईं ठान्नुहुन्छ ?

दायित्वबोधको निरन्तरताको लागि तपाईंको सहयोगले ठूलो अर्थ राख्छ !

तपाईंले कसरी सहयोग गर्न सक्नुहुन्छ ?

सामर्थ्यअनुसारको आर्थिक सहयोग गरेर ।

विचारप्रधान लेखरचनाहरु उपलब्ध गराएर ।

दायित्वबोधमा छापिएका लेखरचनाहरु शेयर गरेर ।

दायित्वबोधको फेसबुक पेजयुट्युबट्विटरटिकटक लगायतका सामाजिक सञ्जाल पेजहरु लाइक–शेयर–सब्स्क्राइब गरेर ।

दायित्वबोधलाई आर्थिक सहयोग गर्नका लागि

https://dayitwabodh.com/page/support-us/