के मार्क्सवाद विज्ञान नै हो ?

मार्क्सवाद र विज्ञानको संकथन: ऐतिहासिक रूपान्तरण र नेपाली वामपन्थी दृष्टिकोण

नेपालका अधिकांश वामपन्थीहरू मार्क्सवादलाई विज्ञान मान्छन् र यसलाई विज्ञान भनेरै बुझ्छन्/बुझाउँछन् । ०८३ असार ६ गते शनिवार प्रगतिशील रूपान्तरण आन्दोलनको आयोजनामा ‘वामपन्थी आन्दोलनको पुनर्जागरण कसरी ?’ शीर्षकमा एक अन्तरक्रिया कार्यक्रम भयो । उक्त कार्यक्रममा  उपस्थित वक्ता मित्रहरूले पनि सहज ढङ्गले मार्क्सवादलाई ‘क्रान्तिको विज्ञान’ भनेरै व्यक्त गर्नुभयो । स्वाभाविक रूपमा  यो पदावली सही ढङ्गले बुझ्न सुरुमा ‘विज्ञान’ भनेकै के हो भनेर बुझ्न जरुरी हुन्छ ।

‘विज्ञान’ शब्द संस्कृत स्रोत बाट नेपाली भाषामा आएको हो र यो ‘ज्ञान’ शब्दमा ‘वि’ उपसर्ग लागेर बन्दछ । यसको शाब्दिक अर्थ हुन्छ:  विशिष्ट ज्ञान वा भिन्न तरिकाले प्राप्त ज्ञान अथवा विश्लेषणात्मक ज्ञान । बृहत् नेपाली शब्दकोशले अझैसम्म यसको एउटा अर्थ ‘विशिष्ट ज्ञान, प्रज्ञा’ भनेरै लगाएको छ । तर आजको जनबोलीमा विज्ञान शब्दको सबैभन्दा प्रचलित अर्थ यो होइन ।

संस्कृत साहित्यमा ‘परम् ज्ञानको अनुभूति ‘ भन्ने अर्थमा विज्ञान शब्दको व्यापक प्रयोग भएको छ । परम ज्ञानको स्वरूपबारे विभिन्न दर्शनमा मतभेद भए पनि, मानिसलाई परम् ज्ञानको अनुभूतितर्फ उन्मुख गराउने बोध वा ज्ञानलाई विज्ञान भनिएको छ। इसाको सातौँदेखि नवौँ शताब्दीको बिचमा रचना गरिएको भन्ने मानिएको काश्मिरी शैव सम्प्रदायको ‘विज्ञान भैरव तन्त्र’ नामक साधना-ग्रन्थमा विज्ञान शब्दको प्रयोग यसै अर्थमा भएको हो ।

वामपन्थी साथीहरूले भने  यी दुवै अर्थमा मार्क्सवादलाई विज्ञान भनेका होइनन् ।

मार्क्स तटस्थता होइन वर्ग पक्षधरताको वकालत गर्दथे र वर्ग-समाजको नियम त्यस समाजमा अन्तर्निहित वर्गीय अन्तरविरोधहरूको प्रतिबिम्ब हो भन्दथे । त्यस यता समाज-विज्ञानको चरित्रमा केही आधारभूत फेरबदल भएका छन् तर  समाज विज्ञानको चरित्र माथि मार्क्सका आलोचना अझै उत्तिकै सान्दर्भिक छ । अर्थात् समाज विज्ञानका जुन चरित्रमाथि मार्क्सले आलोचना गरे , समाज विज्ञानको त्यो चरित्र अझ बलशाली भएको छ ।

के मार्क्सवादलाई समाज-विज्ञान भन्ने अर्थमा विज्ञान भनिएको हो त ? मार्क्स आफैले बुर्जुवा समाजवादीहरूको आलोचना गर्दा अथवा प्रुधोंको आलोचना गर्दा समाज-विज्ञान भन्ने अवधारणाकै आलोचना गरेका छन् ।अनि समाज-विज्ञानमा अन्तर्निहित तटस्थता र नैतिकताको जगमा ‘समाजको नियम’ निर्माणको प्रयत्न यो आलोचनाको केन्द्रमा छन् । मार्क्स तटस्थता होइन वर्ग पक्षधरताको वकालत गर्दथे र वर्ग-समाजको नियम त्यस समाजमा अन्तर्निहित वर्गीय अन्तरविरोधहरूको प्रतिबिम्ब हो भन्दथे । त्यस यता समाज-विज्ञानको चरित्रमा केही आधारभूत फेरबदल भएका छन् तर  समाज विज्ञानको चरित्र माथि मार्क्सका आलोचना अझै उत्तिकै सान्दर्भिक छ । अर्थात् समाज विज्ञानका जुन चरित्रमाथि मार्क्सले आलोचना गरे , समाज विज्ञानको त्यो चरित्र अझ बलशाली भएको छ । यस अर्थमा प्रस्ट भन्न सकिन्छ, वामपन्थी मित्रहरूले ‘समाज-विज्ञान’ भन्ने अर्थमा पनि मार्क्सवादलाई ‘विज्ञान’ भनेका होइनन् ।

बरु अङ्ग्रेजीको ‘साइन्स’ भन्ने अर्थमा मार्क्सवादलाई विज्ञान भनेका हुन् भन्ने मेरो बुझाइ छ । यो जनबोलीमा विज्ञानको सबैभन्दा प्रचलित अर्थ समेत हो ।विज्ञान शब्दको यो अर्थ  भारतमा बेलायती शिक्षा प्रणाली भित्रिने क्रममा सन् १८४० देखि १८८० को बिचमा  स्थापित भएको हो ।  तर अङ्ग्रेजीको ‘साइन्स’ शब्दको अर्थ पनि सधैँ एउटै रहेको छैन ।

साइन्स शब्दको ऐतिहासिक जरा भारोपेली (प्रोटो-इन्डो-युरोपियन) मूल रूप *skei- सम्म पुग्छ, जसको अर्थ "टुक्राउनु" वा "विभाजन गर्नु" भन्ने हुन्छ । ल्याटिन क्रियापद scire ("to know / जान्नु") यसै बाट बन्यो ।  स्वभाविक रूपमा  सत्यलाई भ्रमबाट छुट्याउन सक्दा अथवा विभिन्न वस्तुहरू बिचको भिन्नता ज्ञात भएपछि मात्रै कुनै कुरा जान्न सकिन्छ । यही क्रियापदबाट scientia बन्यो, जसको सामान्य अर्थ "ज्ञान" हुन्थ्यो। यही 'scientia' शब्द फ्रेन्च भाषा हुँदै अङ्ग्रेजीमा साइन्स बनेको हो । मध्य युगसम्म आइपुग्दा पनि यस शब्दले आफ्नो यो व्यापक अर्थ गुमाएको थिएन; व्यवस्थित ज्ञानको  सबै विधाका लागि यो शब्दको प्रयोग हुन्थ्यो। त्यो समयमा धर्मशास्त्र (थियोलोजी) लाई  'विज्ञानकी रानी' (Queen of the Sciences) नै भनिन्थ्यो । अनि अक्सफर्ड र क्याम्ब्रिज जस्ता विश्वविद्यालयका पाठ्यक्रमहरूमा गणित र खगोलशास्त्र जस्ता विषयहरू कम महत्वका विज्ञान (Lesser Sciences) अर्थात् धर्मशास्त्रको सेवा गर्ने सहयोगी मात्रै थिए ।

आज साइन्स शब्दले जुन अर्थ ग्रहण गरेको छ, त्यो गहिरो सांस्कृतिक र वर्गीय अन्तरविरोधहरू सहितको  एक शताब्दी लामो जटिल संघर्षको परिणाम हो ।

हामी आज जसलाई साइन्स भन्छौँ,  ग्यालिलियो, डेकार्ट र न्युटनको समयसम्म पनि त्यसलाई "प्राकृतिक दर्शन" (नेचुरल फिलोसोफी) भनिन्थ्यो र यो  अन्य ज्ञानका अन्य विधाहरू जस्तै 'सिएन्सिया' (Scientia) को एउटा शाखा मात्रै थियो ।  साइन्स शब्दको यो अर्थ फेरिने क्रम १९औँ शताब्दी सँगै सुरु भयो । बेलायतको औद्योगिक क्रान्तिका चरणमा बनेका प्रयोगशालामा रसायनहरू सँग अथवा विद्युतीय उपकरणहरूसँग अथवा अनेक औजारहरू सँग दिन बिताउने अनुसन्धानकर्ताहरूलाई ‘दार्शनिक’ मान्न परम्परागत कवि/चिन्तकहरू तयार भएनन् ।  यस कारण ती अनुसन्धानकर्ताहरूलाई  जनाउन नयाँ शब्द आवश्यक पर्‍यो । सन् १८३३ मा विलियम ह्विवेल (William Whewel) ले तिनका लागि ‘scientist’ शब्द प्रस्ताव गरे र १८३४ मा यो शब्दलाई लिखित रूपमा प्रयोग गरे । यससँगै साइन्स शब्दको अर्थ फेरिन सुरु भयो । शब्दको अर्थमा आएको यो बदलाव रातारात सम्पन्न भएको होइन । आज साइन्स शब्दले जुन अर्थ ग्रहण गरेको छ, त्यो गहिरो सांस्कृतिक र वर्गीय अन्तरविरोधहरू सहितको  एक शताब्दी लामो जटिल संघर्षको परिणाम हो ।

दोस्रो विश्वयुद्धको क्रममा जब अमेरिकी सत्ताले राज्यकोषबाट सञ्चालित औद्योगिक संयन्त्रहरूको व्यापक विस्तार गर्‍यो र विश्वयुद्धमा अमेरिकी विजयको यो एउटा प्रमुख कारण बन्न पुग्यो, साइन्स शब्दको नयाँ अर्थ र सायन्टिस्ट शब्दले विश्वव्यापी मान्यता प्राप्त गर्‍यो ।

पुस्तौँदेखि प्रकृतिको अध्ययनमा रोबर्ट बोयल वा चार्ल्स डार्विन जस्ता सम्भ्रान्त घरानाका मानिसहरू संलग्न थिए र उनीहरू आफूलाई ब्रह्माण्डको चिन्तन गर्ने "प्राकृतिक दार्शनिक" मान्थे ।  माइकल फराडे,  थोमस हक्स्ली, अल्बर्ट गुन्थर जस्ता  थुप्रैले आफूलाई सायन्टिस्ट भनेर चिनाउन अस्वीकार गरे । सन् १८६७ मा प्रकाशित भौतिकशास्त्रको आधारशिला मानिने  लर्ड केल्भिनको पुस्तकको नाम सोच विचार गरेरै 'ट्रीटाइज अन नेचुरल फिलोसोफी’ राखिएको थियो र यो पुस्तक अक्सफोर्ड युनिभर्सिटी प्रेसले प्रकाशित गरेको थियो । सायन्टिस्ट शब्दलाई एउटा भद्दा अमेरिकी प्रभावको रूपमा ग्रहण गरियो र  रोयल सोसाइटी जस्ता बेलायती संस्थाहरूले यो प्रतिरोध १९२० को दशकसम्मै कायम राखे । क्याम्ब्रिज युनिभर्सिटी प्रेसले त सन् १९२४ सम्म यो शब्दलाई आधिकारिक रूपमा स्वीकार गरेन । यसरी यति बेला सम्म बेलायती प्रभाव रहेको ठाउँमा  साइन्सको पुरानै अर्थ कायम रह्यो ।

दोस्रो विश्वयुद्धको क्रममा जब अमेरिकी सत्ताले राज्यकोषबाट सञ्चालित औद्योगिक संयन्त्रहरूको व्यापक विस्तार गर्‍यो र विश्वयुद्धमा अमेरिकी विजयको यो एउटा प्रमुख कारण बन्न पुग्यो, साइन्स शब्दको नयाँ अर्थ र सायन्टिस्ट शब्दले विश्वव्यापी मान्यता प्राप्त गर्‍यो ।

अव म साइन्सको नेपाली अनुवादका रूपमा विज्ञान शब्दकै प्रयोग गर्नेछु ।

एक पटक आज विज्ञान शब्दले व्यक्त गर्ने नयाँ अर्थ के हो  भनेर हेरौँ  । विज्ञान ज्ञान आर्जन गर्ने निम्न विशेषताहरू सहितको पद्धति हो ।

१) प्रयोगसिद्ध आधार (Empirical Basis): कुनै पनि वैज्ञानिक ज्ञान भौतिक जगतसँगको अन्तरक्रियाद्वारा प्राप्त गरिने अवलोकनयोग्य र मापनयोग्य तथ्याङ्कमा आधारित हुन्छ। वास्तविकतालाई परिभाषित गर्न विज्ञान केवल अनुभवपूर्व शुद्ध तर्क (a priori pure reason) मा मात्र निर्भर हुँदैन।

२) वस्तुनिष्ठता र अन्तर-वैयक्तिक अनुभूति (Objectivity & Intersubjectivity) : वैज्ञानिक अनुसन्धानहरूले व्यक्तिगत वा सांस्कृतिक पूर्वाग्रहहरूलाई कम गर्ने प्रयास गर्छन्। अवलोकन र प्रयोगहरू यसरी तयार गरिन्छन् ताकि कुनै पनि योग्य अन्वेषकले समान घटना अवलोकन गर्दा समान तथ्यहरू अनुभूत गर्न सकोस्, जसले निष्कर्षहरू  सामूहिक रूपमा प्रमाणित  हुने कुरा सुनिश्चित गर्दछ। वैज्ञानिक सत्य व्यक्ति अनुसार बदलिँदैन ।

३ ) पुनरावृत्ति (Reproducibility):  वैज्ञानिक प्रयोग र अवलोकनहरूमा पुनरावृत्ति (दोहोऱ्याउन मिल्ने गुण) हुनु आवश्यक छ। उही विधि प्रयोग गर्दा स्वतन्त्र अनुसन्धानकर्ताहरूले पनि उस्तै र एकरूप नतिजाहरू निकाल्न सक्ने हुनुपर्छ।

४) मिथ्याकरणीय (Falsifiability) :  कुनै पनि दाबी वैज्ञानिक हुनका लागि, यदि त्यो गलत छ भने, त्यसलाई गलत प्रमाणित गर्ने स्पष्ट तरिका हुनुपर्छ।

५) निरन्तर संशय (Continuous Scepticism) : प्रश्न वैज्ञानिक विधिको प्राण हो । नयाँ संशय र त्यसको हल खोज्ने क्रममा हासिल हुने नयाँ प्रमाणहरूले यदि गल्ती देखायो भने उक्त गल्तीलाई स्विकार्ने र बदलिने गुण विज्ञानको अनिवार्य तत्त्व हो ।

एकातिर लेनिन र माओका योगदानलाई बुझ्ने दृष्टिकोणमा  र अर्कातिर  युवा मार्क्स र प्रौढ मार्क्सका रचना मध्ये कुन बढी महत्वका रचना हुन् भन्ने विषयमा भएका बहस र विमतिका कारण मार्क्सवादको परिभाषामा भिन्नताहरू देखिन्छन् ।

अब एकछिन मार्क्सवाद के हो भन्ने चर्चा गरौँ । यो किन जरुरी छ भने मार्क्सवादीहरू बिच मार्क्सवादको कुनै सर्वस्वीकार्य परिभाषा छैन ।मुख्य गरी एकातिर लेनिन र माओका योगदानलाई बुझ्ने दृष्टिकोणमा  र अर्कातिर  युवा मार्क्स र प्रौढ मार्क्सका रचना मध्ये कुन बढी महत्वका रचना हुन् भन्ने विषयमा भएका बहस र विमतिका कारण मार्क्सवादको परिभाषामा भिन्नताहरू देखिन्छन् । मार्क्सवाद  कुनै धार्मिक सूत्र नभएर  एउटा जिउँदो सैद्धान्तिक अवधारणा (Living Ideological Framework) भएकाले यो स्वभाविक पनि छ । तर सबै परिभाषाहरूमा निम्न साझा विशेषताहरू छन् ।

१) मार्क्सले समाजको गति निर्धारण गर्ने अन्तरविरोधी पक्षहरूको सही निर्क्यौल  गरे ।  आफ्ना आवश्यकताहरूको पूर्तिका लागि उत्पादन बढाउने क्रममा मानिसले प्रविधि, औजार र आफ्नो सीपको  अर्थात् उत्पादक शक्तिको निरन्तर (मात्रात्मक) विकास गर्दछ। यो विकास प्रक्रिया सधैँ सामूहिक प्रयत्न र सामाजिक श्रमको जगमा मात्रै सम्भव हुन्छ । तर उत्पादन सम्बन्ध र यसलाई वैधानिकता दिने कानुन, सत्ता र नैतिकता जस्ता मानव निर्मित मान्यताहरू (super structure) भने उत्पादक शक्तिको विकासकै गतिमा विकसित हुँदैनन् अर्थात् तुलनात्मक रूपमा स्थिर रहन्छन् । यसकारण समाजमा सधैँ उत्पादक शक्ति र उत्पादन सम्बन्धका बिचमा अन्तरविरोध रहिरहन्छ । यहाँ उत्पादन सम्बन्ध भन्नाले  उत्पादनका साधन(प्राकृतिक स्रोत साधन, प्रविधि र औजार)माथिको वास्तविक स्वामित्व, उत्पादन प्रक्रियामा मानिसको स्थान/भूमिका र  अधिशेष उत्पादनलाई (पुँजीवादको सन्दर्भमा नाफाको) वितरण गर्ने तरिका मिलेर बनेको मानिसहरूबिचको वास्तविक आर्थिक-सामाजिक सम्बन्ध भन्ने बुझ्न पर्छ ।

२) मार्क्सले वर्ग समाजमा श्रमको विनिमयका क्रममा हुने संरचनागत शोषणलाई वस्तुपरक ढङ्गले व्यक्त गरेका छन् ।समाजमा वर्गहरू छन् र उत्पादनका साधनमाथि कसको कस्तो स्वामित्व छ भन्ने आधारमा वर्गहरूको पहिचान हुन्छ । यस्तो समाजमा आफ्नो जीवन निर्वाहका लागि श्रममा आश्रित वर्गले पैदा गरेको अधिशेष उत्पादन (Surplus Product) वा श्रमको प्रतिफलमा  शासक वर्गको एकलौटी नियन्त्रण रहन्छ । यसरी एउटा वर्गले अर्को वर्गको श्रमको फल सित्तैमा कब्जा गर्ने हुनाले यी विपरीत वर्गहरू बिच हित र स्वार्थको स्थायी टकराव पैदा हुन्छ ।  वर्ग-समाजमा विद्यमान उत्पादनको यो शोषणकारी ढाँचा र विपरीत वर्गहरू बिच कहिल्यै नमिल्ने विरोधाभाषी स्वार्थ नै समाजमा वर्ग सङ्घर्षको मूल कारण हो ।

३) यी दुई संरचनागत अन्तरविरोधहरू त्यतिबेला उत्कर्षमा पुग्छन् , जब विद्यमान उत्पादन सम्बन्धले उत्पादक शक्तिको निरन्तरको विकासमा अवरोध सिर्जना गर्छ । यसपछि अनिवार्य रूपले नयाँ र गतिशील उत्पादक शक्तिले पुरानो र स्थिर उत्पादन सम्बन्ध फेर्छ , अनि  आफू अनुकूलको नयाँ उत्पादन सम्बन्ध र नयाँ सत्ता, कानुन र नैतिकता जस्ता उपरीसंरचनाको निर्माण गर्छ । पुरानोको निषेध र नयाँको निर्माणको यो क्रममा एकसाथ पुरानो व्यवस्थाका शोषणकारी र मक्किएका सम्बन्धहरूको निषेध हुन्छ , पुराना युगले आर्जन गरेका सकारात्मक उपलब्धिहरू, ज्ञान र उन्नत प्रविधिलाई जोगाएर आफूमा समाहित गराउँछ र आधारभूत रूपमै समाजलाई थप उन्नत बनाउँछ । पुरानो व्यवस्थाको ऐतिहासिक निषेध, उपलब्धिहरूको संरक्षण र नयाँ आधारको निर्माण हुने यो द्वन्द्वात्मक प्रक्रिया अर्थात्  'क्रान्ति' ले  अन्ततः उत्पादनको नयाँ तरिका सञ्चालन गर्ने नयाँ मानिसको निर्माण गराउँछ र पुरानो शासक वर्गलाई इतिहासको रङ्गमञ्चबाट अप्रासङ्गिक बनाइदिन्छ ।

इतिहास मानिसहरूले नै बनाउने हुन्, तर आफूखुसी वा काल्पनिक जगमा होइन, इतिहासले दिएको वस्तुगत परिस्थितिको जगमा उभिएर मात्रै  नयाँ इतिहासको निर्माण हुन्छ । अर्थात् क्रान्तिका लागि मानिसको  'सचेतन हस्तक्षेप' अनिवार्य छ । यही बुझाइका कारण मार्क्सले आफ्नो जीवनको महत्त्वपूर्ण हिस्सा  यो सचेतन हस्तक्षेपमा लगाए र क्रान्तिकारी सङ्गठनको महत्त्व स्थापित गरे । 

४) यसरी सारमा यी दुई संरचनागत अन्तरविरोधहरूको उत्कर्षले क्रान्तिको वस्तुगत परिस्थिति (दैलो) त तयार पार्छ, तर त्यो दैलो नाघेर नयाँ समाजको निर्माण स्वतः हुँदैन। यसका लागि मानिसहरूको सचेतन प्रयत्न आवश्यक पर्छ । अर्थात् इतिहास मानिसहरूले नै बनाउने हुन्, तर आफूखुसी वा काल्पनिक जगमा होइन, इतिहासले दिएको वस्तुगत परिस्थितिको जगमा उभिएर मात्रै  नयाँ इतिहासको निर्माण हुन्छ । अर्थात् क्रान्तिका लागि मानिसको  'सचेतन हस्तक्षेप' अनिवार्य छ । यही बुझाइका कारण मार्क्सले आफ्नो जीवनको महत्त्वपूर्ण हिस्सा  यो सचेतन हस्तक्षेपमा लगाए र क्रान्तिकारी सङ्गठनको महत्त्व स्थापित गरे ।  यो यस्तो सर्त हो जसले मार्क्सवादलाई अर्थनिर्धारणवाद (Economic determinism )अथवा स्वतःस्फूर्त क्रान्तिको अवधारणा(spontaneism)बाट भिन्न बनाउँछ ।

यो मार्क्सवादी विधिलाई सारमा ‘समाज बुझ्न र बदल्न द्वन्द्वात्मक भौतिकवादको प्रयोग गर्ने विधि’ मात्रै पनि भन्न सकिन्छ । अर्थात् मार्क्सवादका  यी चार विशेषता एक अर्का सँग अन्तरसम्बन्धित र एक अर्काबाट अभिन्न छन् । यी विशेषताहरूलाई एक अर्काबाट अलग्याउने बित्तिकै त्यो मार्क्सवादी विधि रहन्न ।

मार्क्सका कतिपय निष्कर्षहरू उनकै समयमा गलत साबित पनि भयो र त्यसबाट मार्क्सले झन् गहिरा शिक्षाहरू हासिल गरे । मार्क्सका कृतिहरूमा भेटिने पुँजीवादको विषद् व्याख्या, उनका प्रयत्नहरू र उनी र उनीपछिका मार्क्सवादीहरूले हासिल गरेका अनुभव र शिक्षाहरू पनि मार्क्सवाद कै हिस्सा हुन् ।

यही विधि प्रयोग गरेर मार्क्सले आफ्नो समयको पुँजीवादको विषद् व्याख्या गरे र त्यसलाई बदल्न सक्दो प्रयत्न गरे । मार्क्सका कतिपय निष्कर्षहरू उनकै समयमा गलत साबित पनि भयो र त्यसबाट मार्क्सले झन् गहिरा शिक्षाहरू हासिल गरे । मार्क्सका कृतिहरूमा भेटिने पुँजीवादको विषद् व्याख्या , उनका प्रयत्नहरू र उनी र उनीपछिका मार्क्सवादीहरूले हासिल गरेका अनुभव र शिक्षाहरू पनि मार्क्सवाद कै हिस्सा हुन् । माथि नै भनियो - यी व्याख्या , अनुभव र शिक्षाहरूलाई कसरी ग्रहण गर्ने भन्नेमा हाम्रा बिचमा एकरूपता छैन । तर मार्क्सवादी विधिका  यी चार अभिन्न र अन्तरसम्बन्धित विशेषताहरू बारे भने संसार भरीकै मार्क्सवादीहरू का बिचमा साझा  बुझाइ छ ।

अब मार्क्सवाद विज्ञान हो कि होइन भन्ने प्रश्नमा प्रवेश गरौँ ।

मार्क्सवादले सचेत मानवीय हस्तक्षेपलाई क्रान्तिको अनिवार्य पक्ष बताउँछ। यो आज हामीले परिभाषा गरेको  वैज्ञानिक विधिमा अनिवार्य रूपले विद्यमान रहने वस्तुनिष्ठतासँग नमिल्ने कुरा हो । जब कुनै कुरामा मानवीय प्रयत्नले प्रभाव पार्छ, त्यो सधैँ सबै मानिसका लागी समान रहँदैन । अर्थात् त्यो विज्ञान हुन सक्दैन ।

आज कुनै पनि विधि वैज्ञानिक हुन त्यसमा सामान्यतः पुनरावृत्तिको गुण जरुरी छ ।  तर एकातिर समाजमा विद्यमान अन्तरविरोधहरू र तिनको घनत्वको पुनरावृत्ति सम्भव छैन अर्कातिर क्रान्तिकै पनि पुनरावृत्ति हुन सक्दैन । किनभने हरेक क्रान्ति आफैमा नयाँ हुन्छ र यसले सचेत मानवीय प्रयत्नको सापेक्षतामा विद्यमान अन्तरविरोधहरूको नयाँ समाधान दिन्छ । 

भूगर्भ शास्त्र अथवा उद्विकासका नियममा द्रष्टा (observer) ले कुनै प्रभाव पार्न सक्दैन । तर मार्क्सवादले अनिवार्य रूपमा सचेत मानवीय हस्तक्षेपको वकालत गर्छ र यस्तो हस्तक्षेपले अध्ययन गरिरहेको समाजलाई एकसाथ फेर्ने काम पनि गर्छ भन्ने बिर्सन्छन् ।

केही मानिसहरू मार्क्सवादलाई भूगर्भशास्त्र (Geology) अथवा उद्विकासको(Evolution) सिद्धान्त जस्तै विज्ञान हो भन्ने दाबी गर्छन् । जसरी भूगर्भ शास्त्र अथवा उद्विकासको सिद्धान्तले देखाएका वैज्ञानिक तथ्यहरूको पुनरावृत्ति गर्न सकिँदैन त्यसै गरी मार्क्सवादले देखाएका सामाजिक तथ्यहरूको पनि पुनरावृत्ति गर्न सकिँदैन । तर जसरी भूगर्भशास्त्रले अथवा उद्विकासको सिद्धान्तले परिवर्तनको ढाँचा (pattern) देखाउँछ जो निरन्तर दोहोरिन्छ, त्यस्तै गरी मार्क्सवादले पनि समाजको गतिको pattern देखाउँछ जो निरन्तर दोहोरिन्छ भन्ने उनीहरूको दाबी हुन्छ । तर यस्तो दाबी गरिरहँदा उनीहरू के बिर्सन्छन् भने भूगर्भ शास्त्र अथवा उद्विकासका नियममा द्रष्टा (observer) ले कुनै प्रभाव पार्न सक्दैन । तर मार्क्सवादले अनिवार्य रूपमा सचेत मानवीय हस्तक्षेपको वकालत गर्छ र यस्तो हस्तक्षेपले अध्ययन गरिरहेको समाजलाई एकसाथ फेर्ने काम पनि गर्छ भन्ने बिर्सन्छन् । अझ मार्क्सवादी सिद्धान्तले त कुनै द्रष्टा आफै कर्ता भएन भने उसलाई ठिक त्यही जवाफ दिन्छ जुन जवाफ मार्क्सले फायरवाखलादिएका थिए-  पहिलो, मुख्य कुरा संसार बदल्नु हो । दोस्रो, मानिसले आफ्नो चिन्तनको सत्यतालाइ व्यवहारले प्रमाणित गर्नुपर्छ । यस अर्थमा द्रष्टाबाट निरपेक्ष र स्वतन्त्र वस्तुगत सत्यको  अध्ययन मार्क्सवादको कार्यक्षेत्र होइन । 

अरू केही मानिसहरू आधुनिक विज्ञानले प्रमाणित गरेको observer’s effect अथवा quantum decoherence को उदाहरण दिँदै समाजमा द्रष्टाले कर्ताका रूपमा पार्ने प्रभाव विज्ञानसम्मत छ भन्ने तर्क गर्छन् । तर उनीहरू नाप/माप लिने प्रक्रियाको प्राविधिक सीमा र मानिसले निश्चित उद्देश्यसहित समाजमा पार्ने प्रभावका पछाडि रहेको राजनीतिक र नैतिक हस्तक्षेपलाई  एकै ठान्ने गल्ती गरिरहेका हुन्छन् । यस्तो गर्नुका पछाडि कि आधुनिक विज्ञानका जटिल विषयहरू प्रतिको अज्ञानताले काम गरेको हुन्छ अथवा कुनै निहित स्वार्थ रहन्छ । तर यसले मार्क्सवादलाई विज्ञान प्रमाणित गर्न सक्दैन ।

चिकित्सा विज्ञानको उदाहरण दिँदै  सचेत मानवीय हस्तक्षेप भएकै कारण मार्क्सवाद विज्ञान होइन भन्न नमिल्ने तर्क पनि गर्ने गरिएको छ । तर चिकित्सा विज्ञानमा चिकित्सकको हस्तक्षेपको प्रभाव मुख्यतः औषधिको जैविक गुण र शरीरका वस्तुगत प्रक्रियाबाट निर्धारित हुन्छ । यहाँ चिकित्सकको राजनीतिक वा नैतिक उद्देश्यले औषधिको असर वा प्रभाव परिवर्तन गर्दैन। समाजमा भने मानिसको हस्तक्षेप स्वयं कर्ताको हित, स्वार्थ, उद्देश्य, मूल्य-मान्यताबाट निर्देशित हुन्छ, र यिनै तत्त्वहरू सामाजिक परिणाम तय गर्ने प्रक्रियाको अभिन्न हिस्सा बन्छन्। यसकारण सामाजिक हस्तक्षेप र चिकित्सा विज्ञानमा हुने हस्तक्षेपलाई एउटै प्रकृतिको मान्न सकिँदैन।

मार्क्सले आफ्नो विधिलाई ‘साइन्स’ भन्दा त्यसको अर्थ आजको विज्ञान थिएन । उनले समाज र इतिहासको वस्तुनिष्ठ र नियम-सङ्गत अध्ययन भन्ने अर्थमा अर्थात् पुरानो अर्थमा ‘साइन्स’ शब्दको प्रयोग गरेका थिए । 

मार्क्सवादलाई विज्ञान होइन भन्न यी कारणहरू पर्याप्त छन् ।

मार्क्स आफैले पनि आफ्नो विधिलाई ‘साइन्स’ भनेका छन् । तर यस सम्बन्धमा के ख्याल गर्नु जरुरी छ भने मार्क्सको समयमा ‘साइन्स’ शब्दले आजको अर्थ ग्रहण गरिसकेको थिएन ।मार्क्सले आफ्नो जीवनको सबैभन्दा धेरै समय (सन् १८४९ - १८८३) बेलायतमा बिताए । अनि  बेलायती संस्थाहरूले ‘साइन्स’ शब्दको अर्थमा आउँदै गरेको परिवर्तनको अन्तिम सम्म प्रतिरोध गरिरहे ।  यस सम्बन्धमा हामीले माथि चर्चा गरिसकेका छौ ।  जर्मन भाषामा लेख्दा भने मार्क्स Wissenschaft भन्ने शब्द प्रयोग गर्छन् । यसको अर्थ आजको विज्ञान होइन । खासमा यो शब्द दुई भाग मिलेर बनेको छ ।  wissen को अर्थ ज्ञान वा थाहा पाउनु हुन्छ । schaft अङ्ग्रेजीको -ship ( friendship, scholarship) जस्तै एउटा प्रत्यय हो जसको अर्थ कुनै कुराको अवस्था वा स्वरूप भन्ने हुन्छ । यसरी Wissenschaft को शाब्दिक अर्थ ‘ज्ञानको व्यवस्थित र सङ्गठित रूप’ भन्ने हुन्छ । अनि जर्मन भाषामा यसले कुनै पनि विषयको व्यवस्थित र वस्तुनिष्ठ अध्ययन भन्ने बुझाउँछ । आज पनि जर्मन भाषामा यसको व्यापकता कायम नै छ । जर्मन भाषामा आजको विज्ञान शब्दको अर्थ जनाउन भने Naturwissenschaften भन्ने संयुक्त शब्द प्रयोग हुन्छ । यसले के प्रस्ट पार्दछ भने मार्क्सले आफ्नो विधिलाई ‘साइन्स’ भन्दा त्यसको अर्थ आजको विज्ञान थिएन । उनले समाज र इतिहासको वस्तुनिष्ठ र नियम-सङ्गत अध्ययन भन्ने अर्थमा अर्थात् पुरानो अर्थमा ‘साइन्स’ शब्दको प्रयोग गरेका थिए ।  मार्क्सलाई आफ्नो विधि जीवविज्ञान वा भौतिक विज्ञान जत्तिकै नियममा आधारित छ भन्ने विश्वास थियो । तर यसको अर्थ मार्क्सले आफ्नो विधिलाई आजको अर्थ लाग्ने गरी विज्ञान भनेका हुन् भन्ने अर्थ भने कसैगरी लगाउन सकिँदैन ।

के आज मार्क्सवादलाई विज्ञान भन्ने वा नभन्ने विषयको बहस बुर्जुवा बुद्धीविलास मात्रै हो ? होइन । निम्न कारणहरूले गर्दा यो बहस जरुरी भएको छ । 

मार्क्सवादी कित्ता बाहिरबाट मार्क्सवादको आलोचना गर्दा प्रस्तुत गरिने एउटा मुख्य तर्क यस्तो छ -  मार्क्सवाद विज्ञानका पुराना नियमहरूको आधारमा सङ्गठित थियो । तर मार्क्सपछि विज्ञानमा भएको विकासका कारण हिजोका वैज्ञानिक निष्कर्षहरू अपूर्ण र कतिपय अर्थमा गलत समेत प्रमाणित भैसके । यसकारण हिजोको विज्ञानमा आधारित मार्क्सवाद पनि गलत प्रमाणित हुन्छ । यी आलोचकहरूका दुई मुख्य समस्याहरू छन् ।

एकातिर यिनीहरू विज्ञानलाई ‘भौतिक जगतको सत्य अन्वेषणको विधि’ मान्न छोडेर ‘वैज्ञानिक विधि’ले दिएका निष्कर्षहरू लाई विज्ञान भनेर पक्रन्छन् । यसकारण उनीहरूलाई ती  वैज्ञानिक निष्कर्षहरूमा आएको फेरबदल वा विकास र वैज्ञानिक विधिमा आएको फेरबदल एउटै लाग्छ । जबकि यथार्थ के हो भने जुन स्तरमा वैज्ञानिक निष्कर्षहरूमा फेरबदल आएको छ, विज्ञानको अथवा वैज्ञानिक विधिको परिभाषामा त्यही स्तरको परिवर्तन भएको छैन ।

मार्क्सवादीहरूले मार्क्सवादलाई विज्ञान भन्ने गल्ती गर्नु हुँदैन । जब ‘मार्क्सवादीहरू’ले नै मार्क्सवादलाई विज्ञान भन्न थाल्छन् , त्यसपछि समाज बुझ्ने र बदल्ने प्रक्रिया पनि “वैज्ञानिक निष्कर्ष” जसरी नै सूत्रहरूमा बुझिने खतरा हुन्छ ।

अर्कोतिर यिनीहरू मार्क्सवादलाई आधुनिक अर्थमा विज्ञान हो भनेर व्याख्या गर्छन् । जबकि यो सत्य होइन । यसकारण उनीहरूले गर्ने आलोचना वास्तविक अर्थमा  मार्क्सवादको आलोचना नै हुँदैन । अनि जब सही अर्थमा मार्क्सवादको आलोचना हुँदैन,  मार्क्सवादले आफूलाई समृद्ध गर्ने अवसर गुमाउँछ । 

यसर्थ मार्क्सवादीहरूले मार्क्सवादलाई विज्ञान भन्ने गल्ती गर्नु हुँदैन । जब ‘मार्क्सवादीहरू’ले नै मार्क्सवादलाई विज्ञान भन्न थाल्छन् , त्यसपछि समाज बुझ्ने र बदल्ने प्रक्रिया पनि “वैज्ञानिक निष्कर्ष” जसरी नै सूत्रहरूमा बुझिने खतरा हुन्छ ।

विज्ञानका नियमहरू आफै लागू हुन्छन् र त्यसका लागी कुनै सचेत मानवीय हस्तक्षेप जरुरी हुँदैन । उदाहरणका लागि  गुरुत्वाकर्षणको नियम लागू हुने कुरा कुनै मानिसको हस्तक्षेप सँग सम्बन्धित छैन । यसैलाई आधार बनाएर ‘मार्क्सवादी’हरू पनि उत्पादक शक्ति र उत्पादन सम्बन्धको अन्तरविरोध उत्कर्षमा नपुगेको अर्थात् वस्तुगत परिस्थिति तयार नभएको बेला क्रान्ति हुन सक्दैन भन्छन् र सम्पूर्ण रूपमा क्रान्तिकारी प्रयत्नहरूबाट एक वा अर्को तरिकाले आफूलाई अलग बनाउँछन् । नेपालका सन्दर्भमा वरिष्ठ कामरेड मोहन विक्रम सिंह नेतृत्वको मसाल यसको सबभन्दा बलियो उदाहरण हो ।

पुनरावृत्ति सामान्यतः विज्ञानको एउटा आधारभूत विशेषता हो । उदाहरणका लागि हरेक पटक हरेक ठाउँमा हावाको मानक चाप (standard atmospheric pressure) मा पानी १०० डिग्री सेल्सियसमा उम्लन्छ । ठिक त्यसै गरी चीनमा जसरी नै अथवा रुसमा जसरी नै अथवा अन्यत्र कतै जसरी नै नेपालमा पनि क्रान्ति हुन्छ भन्ने ठानेर अन्धनक्कल गर्ने प्रवृत्ति ‘मार्क्सवादी’हरूमा देखिन थाल्छ । नेपालको सन्दर्भमा ‘झापाली विद्रोह’ यस्तै अन्धनक्कलको एउटा बलियो उदाहरण हो ।

जब मार्क्सवादलाई विज्ञान भन्न थालिन्छ,  ‘मार्क्सवादी’हरूले  ठिक यसरी नै कुनै सन्दर्भमा कुनै समाजको खास अवस्थामा निकालिएका निष्कर्षहरूलाई जस्ताको तस्तै अर्को समाजमा लागू गर्ने प्रयत्न गर्न थाल्छन् । यसरी यो जडसूत्रवादको आधारभूत कारण बन्न थाल्दछ ।

वैज्ञानिक निष्कर्षहरू एक पटक पत्ता लागिसकेपछि त्यो एक स्तरमा सूत्रबद्ध हुन्छ ।  उदाहरणका लागी न्युटनका चालसम्बन्धी नियमहरू सन् १६८७ मा प्रकाशित भए यता जस्ताको तस्तै छन् । आज हामीलाई असाध्यै सानो पदार्थका हकमा अथवा असाध्यै तीव्र गतिको पदार्थको हकमा अथवा असाध्यै धेरै गुरुत्वाकर्षण भएका बेला न्युटनका चाल सम्बन्धी तिन नियमहरूले पदार्थको चाललाई  ठिक सँग अभिव्यक्त गर्दैनन् भन्ने थाहा छ । तर अझै पनि विद्यालयहरूमा न्युटनका चाल सम्बन्धी नियमहरू जस्ताको तस्तै पढाइन्छ । किनभने सामान्य अवस्थामा यिनले अझै पदार्थको चाललाई ठिक सँग अभिव्यक्त गर्छन् । जब मार्क्सवादलाई विज्ञान भन्न थालिन्छ,  ‘मार्क्सवादी’हरूले  ठिक यसरी नै कुनै सन्दर्भमा कुनै समाजको खास अवस्थामा निकालिएका निष्कर्षहरूलाई जस्ताको तस्तै अर्को समाजमा लागू गर्ने प्रयत्न गर्न थाल्छन् । यसरी यो जडसूत्रवादको आधारभूत कारण बन्न थाल्दछ । सन् १९३०-१९४० को दशकमा माओले चिनियाँ समाजलाई अर्ध सामन्ती र अर्ध औपनिवेशिक भनेर विश्लेषण गरे । नेपालमा पुष्पलालले कम्युनिस्ट पार्टी स्थापना गर्दै गर्दा नेपाली समाजलाई अर्ध सामन्ती र अर्ध औपनिवेशिक भने । नेपालमा अझै यस्ता कम्युनिस्ट पार्टी र नेताहरू छन् जसले आजको नेपाललाई पनि अर्ध सामन्ती र अर्ध औपनिवेशिक भनेरै व्याख्या गरिरहेछन् । जडसूत्रवादको यो एउटा बलियो उदाहरण हो ।

जब मार्क्सवादलाई विज्ञान भनेर लागू गर्न प्रयत्न गरिन्छ , प्रशंसनीय क्रान्तिकारी स्पिरिटका बाबजुद आन्दोलन अन्ध नक्कल वा जडसूत्रवादको भड्खालोमा जाकिने बलियो सम्भावना हुन्छ । अनि यस प्रक्रियामा असफल भएपछि ‘मार्क्सवादी’हरू मार्क्सवाद नै गलत र काम नलाग्ने भएको निष्कर्षमा पुग्छन् । यसले अन्ततः समाज रूपान्तरणको प्रक्रियामा नै अवरोध ल्याउँछ । आज राष्ट्रिय स्वतन्त्र पार्टीको छेउमै पुगेका पूर्व कामरेड लालध्वज यसका बलिया उदाहरण हुन् ।

अव स्वभाविक रूपमा एउटा प्रश्न उठ्छ - मार्क्सवाद विज्ञान होइन भने के हो त ? यसलाई उत्तरित गर्नु अघि एक पटक फेरी मार्क्सवादका आधारभूत र सर्वस्वीकार्य विशेषताहरूलाई सम्झौँ । मार्क्सवादले हामीलाई समाजमा अन्तरविरोधहरू के के हुन् र ती  कस्ता छन्  भनेर बुझ्ने विधि दिन्छ । अनि  ती अन्तरविरोध हल गर्ने हाम्रो दिशा (orientation) कता हुनुपर्छ भन्ने कुरा पहिचान गर्न सघाउँछ ।  त्यो विधि कसरी लागू गर्ने र मार्क्सवाद ले देखाएको दिशा (orientation) कसरी दृढतापूर्वक पक्रने भन्ने विषय हाम्रो सापेक्षतामा हामी आफैले तय गर्नु पर्छ । अर्थात् हामीलाई इतिहासले दिएको वस्तुगत परिस्थितिको सीमाभित्र रहेर हाम्रो सचेतन हस्तक्षेप कस्तो हुन्छ भन्ने तय गर्न हामी स्वतन्त्र छौं । यस अर्थमा मार्क्सवाद पथप्रदर्शक सिद्धान्त हो अनि यसले देखाएको बाटोमा कसरी कुन गतिमा यात्रा गर्ने भन्ने विषयको निर्क्योल हामीले आफ्नै सिर्जनशीलतामा उभिएर गर्नुपर्नेछ ।

 दायित्वबोधको विशेष अनुरोध

वाम वैचारिकीको रक्षा र प्रबर्द्धनका लागि दायित्वबोध अनलाइन निरन्तर रहनु जरुरी छ भन्ने तपाईंलाई लाग्छ ?

के दायित्वबोधमा प्रकाशित भइरहेका सामग्रीहरु उपयोगी र पठनीय छन् भन्ने तपाईं ठान्नुहुन्छ ?

दायित्वबोधको निरन्तरताको लागि तपाईंको सहयोगले ठूलो अर्थ राख्छ !

तपाईंले कसरी सहयोग गर्न सक्नुहुन्छ ?

सामर्थ्यअनुसारको आर्थिक सहयोग गरेर ।

विचारप्रधान लेखरचनाहरु उपलब्ध गराएर ।

दायित्वबोधमा छापिएका लेखरचनाहरु शेयर गरेर ।

दायित्वबोधको फेसबुक पेजयुट्युबट्विटरटिकटक लगायतका सामाजिक सञ्जाल पेजहरु लाइक–शेयर–सब्स्क्राइब गरेर ।

दायित्वबोधलाई आर्थिक सहयोग गर्नका लागि

https://dayitwabodh.com/page/support-us/