आदतको सत्ता र क्रान्तिकारी रूपान्तरण
आजको मुख्य समस्या भनेको नै रूपान्तरणको समस्या हो, तर यो रूपान्तरण कसरी हुने भन्ने विषय नै सबैभन्दा पेचिलो बनेको छ। वामपन्थी र दक्षिणपन्थी शब्दावलीको उत्पत्ति सन् १७८९ पछि फ्रान्सेली संसद्मा समानताका पक्षपातीहरू बायाँतर्फ र शासकवर्ग दायाँतर्फ बस्ने अभ्यासबाट सुरु भएको हो। यसर्थ, शासनसत्तामा रहेका विरोधीहरू पनि वामपन्थी हुन सक्छन् भन्ने कुरालाई बुझ्नु जरुरी छ। लेनिनले पनि एक ठाउँमा सबै कम्युनिस्टहरू वामपन्थी हुन्छन्, तर सबै वामपन्थीहरू कम्युनिस्ट हुँदैनन् भन्नुभएको छ।
यसरी ऐतिहासिक सन्दर्भलाई हेर्दा आजको परिवेशमा 'वामपन्थी' शब्द कम्युनिस्टको पर्यायवाचीजस्तो बन्न पुगेको छ। विशेष गरी नेपालको सन्दर्भमा 'वामपन्थी' भन्नाले कम्युनिस्ट नै बुझिने भएकाले, अबको मूल प्रश्न कम्युनिस्टहरू कसरी रूपान्तरण हुने भन्ने नै हो। तसर्थ, वामपन्थी आन्दोलनको पुनर्जागरणका लागि वामपन्थी र कम्युनिस्टबीचको यो सैद्धान्तिक र व्यावहारिक जटिलतालाई आत्मसात गर्दै रूपान्तरणको ठोस मार्गचित्र तय गर्नु आवश्यक देखिन्छ।
नेपालका कम्युनिस्टहरूले मार्क्सको मूल कृति 'दास क्यापिटल'को अध्ययन नै गरेका छैनन् र उनीहरूले लेनिन वा माओका सिद्धान्तहरूलाई पनि सही अर्थमा पछ्याउन सकेका छैनन्।
वामपन्थी आन्दोलनलाई कसरी ऊर्जाशील, क्रान्तिकारी र पुनर्जागरणयुक्त बनाउने भन्ने प्रश्न आजको प्रमुख सरोकार हो। यस सन्दर्भमा मेरो ठम्याइ के छ भने, नेपालका कम्युनिस्टहरूले मार्क्सको मूल कृति 'दास क्यापिटल'को अध्ययन नै गरेका छैनन् र उनीहरूले लेनिन वा माओका सिद्धान्तहरूलाई पनि सही अर्थमा पछ्याउन सकेका छैनन्। माओले लेनिनको वैचारिक जगमा टेकेर सांस्कृतिक क्रान्तिजस्तो व्यावहारिक प्रयोगमार्फत मार्क्सवादी सिद्धान्तलाई अगाडि बढाउनुभएको थियो।
तर, अबको आन्दोलनमा माओकै शैलीलाई पछ्याउँदै १९४९ मा जनवादी क्रान्ति, १९५६ मा वैज्ञानिक समाजवादी क्रान्ति र १९६६ देखि सांस्कृतिक क्रान्ति गर्नेजस्ता कुराहरूलाई जस्ताको तस्तै लागू गर्न खोज्नु जडसूत्रवाद मात्र हुनेछ। ऐतिहासिक कालखण्डका निश्चित प्रयोगहरूलाई वर्तमानमा यान्त्रिक रूपले थोपर्न खोज्नु आन्दोलनको पुनर्जागरणका लागि घातक हुनसक्छ।
त्यसकारण, सृजनशील हुने हो भने नेपालका वामपन्थीहरूले राजनीतिक क्रान्तिलाई केन्द्रबिन्दुमा राख्दै सोही समयमा सांस्कृतिक र आर्थिक क्रान्तिलाई पनि सँगसँगै लैजानुपर्ने आवश्यकता छ। केवल बहस र सिद्धान्तमा मात्रै सीमित नभई अब हामीले व्यावहारिक अभ्यासमा जानैपर्छ। यी तीनवटै क्रान्तिलाई सँगै लैजाँदा राजनीतिक क्रान्तिलाई प्रधान बनाउनैपर्छ, किनकि यसले नै दिशा निर्देश गर्दछ। यसको आर्थिक आधारमा विभिन्न मोडेलहरू खडा गर्नुपर्छ, तर सबैभन्दा चुनौतीपूर्ण पाटो 'आदतको सत्ता' वा संस्कारको सत्तालाई रूपान्तरण गर्नु हो।
राजनीतिक क्रान्तिलाई प्रधान बनाउनैपर्छ, किनकि यसले नै दिशा निर्देश गर्दछ। यसको आर्थिक आधारमा विभिन्न मोडेलहरू खडा गर्नुपर्छ, तर सबैभन्दा चुनौतीपूर्ण पाटो 'आदतको सत्ता' वा संस्कारको सत्तालाई रूपान्तरण गर्नु हो।
हामी जतिसुकै प्रगतिशील वा कम्युनिस्ट भए पनि हामीभित्र लामो समयदेखिको संस्कारगत सत्ता जरा गाडेर बसेको हुन्छ, जसले हामीलाई रूपान्तरित हुन दिँदैन। यो केवल भनाइले मात्र परिवर्तन हुँदैन; उदाहरणका लागि, समाजमा जातीय विभेदको प्रभाव अझै पनि गहिरो छ। दलितलाई हेर्ने दृष्टिकोण होस् वा स्वयं दलितभित्र रहेको दमित चिन्तन, यस्ता कुराहरू आदतको सत्ताभित्र पर्छन्। मैले आफ्नै घर र वरपरका मानिसहरूसँगको व्यवहारमा पनि यो जटिलता महसुस गरेको छु, जहाँ निकै प्रयासपछि मात्र मानिसहरूमा सोच परिवर्तन हुन थालेको छ।
हामीले हाम्रो संस्कृतिलाई विकास गर्न खोज्ने हो भने त्यहाँ संघर्ष अनिवार्य छ। अहिले पनि कम्युनिस्ट भनाउँदाहरू मृत्यु संस्कार वा अन्य रीतिरिवाजमा पुरानै जडतामा रमाइरहेका छन्। आमाबुबा मरेपछि परम्परागत काजकिरियामा बस्नु वा पुरानै धार्मिक संस्कार पछ्याउनुले हाम्रो भौतिकवादी अडानलाई कमजोर बनाउँछ। माओले सांस्कृतिक क्रान्तिको अवधारणा अघि सारे पनि त्यो अधुरो नै रह्यो, त्यसैले हामीले अब त्यहीँबाट रूपान्तरणको सुरुवात गर्नुपर्छ। आफ्ना अभिभावक वा समाजले मान्दैनन् भन्दै बहाना बनाउने हो भने कहिल्यै परिवर्तन सम्भव छैन; रूपान्तरणको सुरुवात हामी आफैँबाट गर्नुपर्दछ।
सबैभन्दा पहिला हामी आफैँभित्र रहेको यस 'आदतको सत्ता' वा संस्कारको जञ्जाललाई भत्काउन सुरु गर्नुपर्छ। क्रान्तिको मुख्य लक्ष्य वा निशाना सबैभन्दा पहिले आफैँ हुनुपर्छ भन्ने माओको भनाइलाई हामीले गम्भीरतापूर्वक आत्मसात् गर्नुपर्छ।
यदि हामीले यस्तो संस्कारगत जडतालाई तोड्न सकेनौँ भने, भोलि भैँसी पूजा गर्ने, ग्रह-दशाको पछि लाग्ने वा काल्पनिक मन्दिरहरू खोज्नेजस्ता कर्मकाण्डमा नै रुमल्लिनुपर्ने हुन्छ। यसले गर्दा हाम्रो राजनीतिक र वैचारिक धरातल कमजोर हुन्छ। त्यसैले, सबैभन्दा पहिला हामी आफैँभित्र रहेको यस 'आदतको सत्ता' वा संस्कारको जञ्जाललाई भत्काउन सुरु गर्नुपर्छ। क्रान्तिको मुख्य लक्ष्य वा निशाना सबैभन्दा पहिले आफैँ हुनुपर्छ भन्ने माओको भनाइलाई हामीले गम्भीरतापूर्वक आत्मसात् गर्नुपर्छ। जबसम्म हामी आफू रूपान्तरित हुँदैनौँ, तबसम्म न त हामी अरूलाई बदल्न सक्छौँ, न त दुनियाँ नै परिवर्तन गर्न सक्छौँ।
नैतिक बलविना क्रान्ति सम्भव छैन। आजका नेतृत्वकर्ताहरू जस्तै प्रचण्ड, केपी ओली वा माधव नेपालजस्ता नेताहरूसँग अब त्यो नैतिक धरातल बाँकी छैन। उनीहरू वैचारिक रूपमा पछाडि फर्किसकेका छन् र अब उनीहरू वामपन्थी आन्दोलनको प्रतिनिधित्व गर्दैनन्। उनीहरूको अहिलेको एकमात्र ध्येय सत्तामा पुग्ने र त्यही सत्ताको आडमा शासन गर्ने मात्र देखिएको छ।
तसर्थ, हामीले यो कुरा बुझ्नुपर्छ कि आर्थिक आधारमा परिवर्तन ल्याउन नसकेसम्म राजनीतिक क्रान्तिले निर्णायक भूमिका खेल्न सक्दैन। विचारले निश्चित रूपमा प्रभाव पार्छ, तर जनताका बीचमा हामीले भ्रम नभई विज्ञानलाई लिएर जानुपर्छ। बाह्य शक्तिबाट निर्देशित भएर वा अरूका भ्रमहरू बोकेर हिँड्ने हो भने कुनै पनि हालतमा समाज रूपान्तरण गर्न सकिँदैन; त्यस्तो अवस्थामा हामी केवल अरूको गाइडअनुसार बोल्ने पात्र मात्र बन्छौँ। त्यसैले, हामी पूर्णतः आत्मनिर्भर बन्दै देशको अर्थतन्त्रलाई सही दिशामा विकास गर्ने मोडेलबाट अघि बढ्नुपर्ने खाँचो छ।
हाम्रो अबको मूल बाटो भनेको प्रश्न सोध्ने बानीको विकास गर्नु हो। प्रश्नले उत्तरको खोजी गर्छ र उत्तरले नै दर्शनलाई जन्म दिन्छ। इतिहासलाई फर्केर हेर्ने हो भने, उपनिषद् कालमा प्रश्न उठाउने प्रक्रियाले नै या त भौतिकवादी या त आदर्शवादी दर्शनको जग बसालेको थियो। त्यसैले, वैचारिक पुनर्जागरणका लागि हामी आफैँले प्रश्न सोध्ने हिम्मत गर्नुपर्छ र त्यसैमार्फत हामीले आफ्नो दर्शनलाई प्रशिक्षित र स्पष्ट पार्दै अघि बढ्नुपर्दछ।
अहिलेका कम्युनिस्टहरू फेरि पनि चुनावमै केन्द्रित हुने र त्यसलाई 'लोकतन्त्रको सुन्दरता' भन्दै रमाउने जुन प्रवृत्ति छ, त्यसलाई पुँजीपतिहरूले कहिल्यै अघि बढ्न नदिने गरी समाप्त पारिसकेका छन्। निर्वाचनको यस चक्रमा जाँदा जनताले परिवर्तनको अनुभूति गर्न पाउनु त परको कुरा हो, उल्टै थप भ्रमित हुँदै गएका छन्। निर्वाचनको माध्यमबाट जनताको भ्रम हटाउन सकिने कुनै स्थिति छैन।
त्यसैले मार्क्सवाद-लेनिनवाद-माओवादको सिद्धान्त आफैँमा वैज्ञानिक छ, तर आजको सन्दर्भमा लेनिनले मात्रै भनेका कुराले पर्याप्त हुँदैन। अहिलेका कम्युनिस्टहरू फेरि पनि चुनावमै केन्द्रित हुने र त्यसलाई 'लोकतन्त्रको सुन्दरता' भन्दै रमाउने जुन प्रवृत्ति छ, त्यसलाई पुँजीपतिहरूले कहिल्यै अघि बढ्न नदिने गरी समाप्त पारिसकेका छन्। निर्वाचनको यस चक्रमा जाँदा जनताले परिवर्तनको अनुभूति गर्न पाउनु त परको कुरा हो, उल्टै थप भ्रमित हुँदै गएका छन्। निर्वाचनको माध्यमबाट जनताको भ्रम हटाउन सकिने कुनै स्थिति छैन।
इतिहासलाई हेर्ने हो भने, चुनावको बाटो समातेका संसारका कुनै पनि वामपन्थी शक्तिहरू पछि फर्केर क्रान्तिको बाटोमा लागेको उदाहरण छैन। हाम्रो देशका साना दलदेखि प्रचण्डसम्मको अवस्था यही हो। प्रचण्डले मसँग पटक-पटक हामी क्रान्तिमा नै जाने हो भन्नुहुन्थ्यो, तर उहाँले ढाट्नुभयो। उहाँले १२ बुँदे सम्झौतामै क्रान्ति नजाने बाटो तय गरिसक्नुभएको थियो, र त्यहीँ नै आन्दोलनको दिशामा गम्भीर गल्ती भएको हो।
संसदीय व्यवस्थामा जानु र यसबाटै समाजवाद प्राप्त हुन्छ भन्ने सोच्नु वामपन्थी आन्दोलनको ठूलो भ्रम हो। मार्क्सले घोषणापत्रमा उल्लेख गरेबमोजिम कम्युनिजमको सार भनेको नै निजी सम्पत्तिको अन्त्य र सामूहिक श्रम तथा सम्पत्तिको स्थापना हो। संसदीय चुनाव त उल्टै व्यक्तिलाई निजी सम्पत्ति जोड्ने होडबाजीतिर धकेल्छ, जसको प्रमाण स्वरूप आज वडाध्यक्षहरूले समेत काठमाडौँमा घर जोडेको र तिनकै वरिपरि हिँड्ने इमानदार कार्यकर्ताहरूको अवस्था नाजुक बन्दै गएको स्थिति छ। त्यसैले, हामीले यहीँका यथार्थ उदाहरणहरूबाट सिक्दै अब भ्रमको राजनीति छोड्नुपर्छ।
कम्युनिजमको सार भनेको नै निजी सम्पत्तिको अन्त्य र सामूहिक श्रम तथा सम्पत्तिको स्थापना हो। संसदीय चुनाव त उल्टै व्यक्तिलाई निजी सम्पत्ति जोड्ने होडबाजीतिर धकेल्छ ।
हामीले जनताको बीचमा रहेर वैज्ञानिक विचारलाई भौतिक शक्तिमा परिणत गर्नुपर्छ, किनकि पुरानो सत्ता भौतिक शक्तिमार्फत मात्रै ढल्छ र नयाँ सत्ता स्थापना हुन्छ। हामीभित्र रहेको निम्न पुँजीवादी अधैर्यताले आन्दोलनलाई टुक्रा-टुक्रा बनाइरहेको छ, यसलाई रोक्न आवश्यक छ। साथीहरूलाई धैर्य गर्दै क्रान्तिकारीहरूको पुनर्गठन गरी नयाँ बाटोबाट अघि बढ्न मेरो आग्रह छ। अबको यात्रा पाण्डित्यपूर्ण छलफलमा मात्र सीमित नभएर निष्कर्षमा पुग्ने हुनुपर्छ। मार्क्सले भनेझैँ विश्वको व्याख्या मात्र होइन, यसलाई बदल्नु नै मुख्य कुरा हो; केहीले यसलाई 'सुधार' भनी अर्थ्याएर क्रान्तिकारी मर्मलाई नै सिध्याउन खोजिरहेका छन्, त्यसतर्फ सचेत हुनुपर्छ।
अन्त्यमा, रूसलगायत १५ वटा देशमा सत्तामा रहेका वामपन्थीहरू किन र कसरी प्रतिक्रान्तिको सिकार भए, यो प्रश्नको उत्तर खोज्नु आजको आवश्यकता हो। मेरो अनुसन्धान यसै विषयमा केन्द्रित छ र यसका लागि सबैको सामूहिक प्रयत्न जरुरी छ। साथै, अरूको आलोचना वा व्याख्यामा मात्र भर नपरी मार्क्स, एङ्गेल्स र माओका मौलिक कृतिहरूको गहिरो अध्ययन गर्नुपर्छ। यद्यपि, त्यतिले मात्र पुग्दैन; मार्क्सपछि लेनिन र लेनिनपछि माओको जन्म हुनुको अर्थ नै सिद्धान्तको विकास निरन्तर हुनुपर्छ भन्ने हो। १९७६ मा माओको मृत्युपछि संसारमा क्रान्ति सफल नहुनुको मुख्य कारण नै हामीले आजको बदलिँदो परिस्थिति र विज्ञान-प्रविधिको विकासलाई विचारमा संश्लेषित गर्न नसक्नु हो। हामी प्रविधिको विकासको पछि-पछि घिस्रिरहेका छौँ, त्यसलाई विचारधारामा रूपान्तरण गर्न सकेका छैनौँ। नेपालमा वामपन्थीहरू पछि पर्नुको मुख्य कारण यही वैचारिक जडता हो, त्यसैले अब हामीले नयाँ खोज र संश्लेषणको बाटो समात्नै पर्छ।
प्रगतिशील रुपान्तरण आन्दोलनले मूलप्रवाह मासिकसँगको सहकार्यमा असार ६ गते सिनामङ्गलस्थित यात्रीकुञ्ज होटेलमा आयोजना गरेको ‘वामपन्थी आन्दोलनको पुनर्जागर कसरी ?’ शीर्षकको विमर्श कार्यक्रममा व्यक्त विचारको सम्पादित/संश्लेषित उतार । कथ्यलाई लेख्यमा रुपान्तरण गर्दा यथासम्भव वक्ताको मूल वाक्य संरचनालाई यथावत राख्ने कोशिश गरिएको छ । –दायित्वबोध)
नेपालमा टेक्नो-फासीवादको विनिर्माण
विकास आयोजनामा सामाजिक तथा वातावरणीय सुरक्षण र अनुपालन
पढाइको राजनीति
इलोन मस्कको स्टारलिंक नेपालमा सञ्चालन गर्ने चाहना र यसको भूराजनीतिक असरहरूको…
नेपालमा पीडाको पुस्तान्तरणको चक्र
दुई चरणको समाजवादी कार्यदिशा
मुक्तिको मतलब
प्रतिक्रिया