विचार प्रधान महाधिवेशन जिन्दावाद!
नयाँ विचार निर्माण र समाजवादी ध्रूवीकरण तथा सडक आन्दोलन हुँदै संविधान संशोधनद्वारा संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा, विकास र कार्यान्वयन प्राथमिकता
मार्क्सवाद सर्वहारा श्रमिकवर्गको वैचारिक हतियार हो भने सर्वहारा श्रमिकवर्ग मार्क्सवादका भौतिक हतियार हुन्।
- फ्रेडरिक एङगेल्स
२०८३ मंसीर ११-१५ गते काठमाडौं उपत्यकामा नेपाली कम्युनिस्ट पार्टीको एकता महाधिवेशन तोकिएको छ। पार्टी केन्द्रीय कार्य संयोजन समितिको निर्णयमा त्यसतर्फ संगठनात्मक कार्यप्रति जिम्मेवार कमरेडहरु केन्द्रित भइरहेका छन्। कम्युनिस्ट पार्टीको महाधिवेशनले सामान्यतः दुई कार्यभार उठान गर्दछ। त्यो हो, विचार निर्माण र संगठन निर्माणको कार्यभार। हाम्रो विचारमा, देशको वर्तमान अर्थराजनीतिक परिस्थितिमा पार्टी महाधिवेशनले नयाँ विचार निर्माणमा मुख्य जोड दिनैपर्छ। तब नेपालमा समाजवाद, तर कस्तो र कसरी? प्रश्नको वस्तुगत जवाफ हासिल गर्न सकिन्छ। जसले, विसर्जनको कठघरामा उभिएको नेपाली कम्युनिस्ट आन्दोलन र वर्ग, लिङग, जातजाति, क्षेत्र एवं देशभक्तहरुको न्यायपूर्ण आन्दोलन फेरि एक पटक कोशी, गण्डकी र कर्णालीको गड्गडाहट ऊर्जामा बदल्न सक्छ।
हामीलाई विस्वास छ, समाजवादी लोकतन्त्रको नयाँ विचारले जनसमुदाय आधारित संगठन निर्माण, विस्तार र सुदृढीकरणमा स्वचालित भूमिका स्वत: उठान गर्दछ।
अत: हाम्रो पार्टीका संगठित कमरेडहरु र समर्थक जनसमुदाय कोही कतै निराश र हतास बन्न जरुरी छैन। बरु सदावहार बग्ने नदी झैं निरन्तर लक्ष्यमा अग्रसर रहने इच्छाशक्ति आर्जनतर्फ डट्नु पर्दछ। अन्तर्विरोधको व्याख्याक्रममा अन्तर्राष्ट्रिय गुरु माओले भनेकै छन्- अँध्यारो नभए उज्यालो हुँदैन, रात नभए दिन हुँदैन, मृत्यु नभए जीवन हुँदैन। त्यसरी नै निराशा नहुँदो हो त आशाको पनि अस्तित्व हुँदैनथ्यो। परन्तु, प्राथमिकता के भन्ने प्रश्नमा जो कोही भौतिकवादीले उज्यालो, दिन र जीवन रोज्दछन्; अँध्यारो, रात र मृत्यु होइन। ठीक त्यसरी नै मार्क्सवादी क्रान्तिकारीले आशालाई प्राथमिकता दिन्छन, निराशालाई होइन।
जसले क्रान्तिकारी आशावादलाई प्राथमिकता दिने गर्छ, ऊ मात्र मार्क्सवादी कम्युनिस्ट ठहर्छ। किनभने, कम्युनिस्टले आफ्नो समाजको, आफ्नो देश र अन्ततः दुनियाँभरका मानवजातिकै न्याय र मुक्तिको लडाइँ लड्ने दायित्व लिएको हुन्छ। परन्तु, लडाइँको भूमिका र तरिका विभिन्न हुन सक्दछन्। मुख्यतः विचार हो।
ध्यान रहोस्, विचार अन्तर्गत विचारधारा/दृष्टिकोण, सिद्वान्त, कार्यदिशा (रणनीति र कार्यनीति), कार्यक्रम, योजना र उपाय आदि पर्दछन्।
प्रस्तुत पृष्ठभूमिमा, खासगरी आशन्न महाधिवेशनका जिम्मेवार नेपाली कम्युनिस्ट पार्टीका सदस्य तथा समर्थकजनमा गम्भीरता र विनम्रतापूर्वक यो आलेख समर्पित छ। साथै, युवा कमरेडहरुमा मार्क्सवाद परिचय, स्वतयारी अपील र आफ्ना वैचारिक मतवारे संक्षेप प्रस्तुतिहरु छ्न।
मार्क्सवाद- जिन्दावाद!
औद्योगिक पुँजीवादको जोड्दार विकास गरिरहेको यूरोपेली समाज, १९ औं शताब्दीको मध्यान्तरसम्ममा दर्शन, अर्थशास्त्र र वर्गसंघर्षको केन्द्र बन्दै थियो। जर्मनले हेगेल र फायरबाख जस्ता दार्शनिक, बेलायतले एडम स्मिथ र डेबिट रिकार्डो जस्ता अर्थशास्त्री तथा फ्रान्सले सेन्ट साइमन र चार्ल्स फुरिय जस्ता समाजवादीहरु जन्माइसकेका थिए। बेलायतका रोबर्ट ओबेन त्यत्तिकै समाजवादी भावमा थिए। त्यसैले समाजवादी भावमा सेन्ट साइमन र चार्ल्स फुरियसंगै रोबर्ट ओबेनको नाम प्रत्यक्ष जोडिएर आउँछ।
परन्तु, उपरोक्त दार्शनिकहरुको दर्शन, अर्थशास्त्री र वर्ग समाधानका हिमायतीहरुको प्रयास विश्लेषणको तहमा थियो, संश्लेषण होइन। अत: तिनको विचारले मानव मुक्तिको वैज्ञानिक बाटो ठोस, मूर्त र सुस्पष्ट पार्न सकिरहेको थिएन।
ठीक त्यो पृष्ठभूमिमा कार्ल मार्क्स र फ्रेडरिक एङगेल्स इतिहास मञ्चमा उदाए। सन १८४८ मा कम्युनिस्ट पार्टीको घोषणापत्र जारी गर्दै अघि बढेका मार्क्स- एङगेल्सले कार्यकारण ठम्याए:
१. दर्शनको क्षेत्रमा द्वन्दवादको महान खोजकर्ता हुँदा हुँदै भौतिकवाद अस्वीकार गर्नुको परिणाम हेगेल सफल थिएनन्। त्यसरी नै भौतिकवादको महान खोजकर्ता हुँदा हुँदै द्वन्दवाद अस्वीकार गर्नुको परिणाम फायरबाख सफल थिएनन्। अथवा हेगेल र फायरबाखको खोजको ट्रूटी अंशमा सीमित हुनुमा थियो। यो तथ्य मार्क्स- एङगेल्सले खुट्याए। उनीहरुले त्यस्तो योग्यता प्रदर्शन गरे; हेगेलको द्वन्दवाद अंशमा सही थियो, तर समग्रमा होइन र फायरबाखको भौतिकवाद अंशमा सही थियो, तर समग्रमा होइन।
अन्ततः मार्क्स-एङगेल्स त्यो निष्कर्षमा पुगे; जसले द्वान्दात्मक भौतिकवाद, अझ विस्तारमा द्वन्दात्मक तथा ऐतिहासिक भौतिकवादको वैज्ञानिक दृष्टिकोण निर्माण गर्यो। यहिँनिर कार्ल मार्क्सले भनेका हुन्- हेगेल र फायरबाखले टाउकोले टेकाएको दर्शनलाई मैले खुट्टाले टेकाइदिएको हुँ।
जसको अर्थात द्वन्दात्मक भौतिकवादको वैज्ञानिक सारतत्व- दार्शनिकहरुले दुनियाँको व्याख्या मात्र गरे, मुख्यत: यसलाई बदल्नु हो। (यहाँ "यसलाई" को अर्थ "दुनियाँ" माने "विश्व समाजलाई हो" भन्ने प्रष्ट छ।)
कार्ल मार्क्स अघि दर्शन विषय ब्याख्यामा सीमित थियो। मार्क्सयता बल्ल समाज बदल्ने क्रान्तिकारी भूमिकातर्फ दर्शनले आफ्नो क्षेत्राधिकार बढायो।
यसरी दर्शनको जर्मन विश्लेषणलाई मार्क्सले वैज्ञानिक संश्लेषण गरे। जुन, दर्शनशास्त्र विकासमा मार्क्सको मौलिक योगदान रह्यो।
२. राजनीतिक अर्थशास्त्रको क्षेत्रमा एडम स्मिथलाई अर्थशास्त्रको जग बसाउने पिता भनेर सम्मान गर्दै, तर डेबिट रिकार्डोले नै पुँजी निर्माणमा वर्गहरुको अस्तित्व स्वीकार गरेका भए पनि वर्गसंघर्षको अपरिहार्यतावारे मौन रिकार्डोको मौनता भङग गर्दै मार्क्सले पुँजी निर्माणमा "अतिरिक्त मूल्यको सिद्वान्त" पत्ता लगाए। जसले, विज्ञानमा आधारित राजनीतिक अर्थशास्त्रीय संश्लेषण गर्यो। त्यसका निमित्त मार्क्सले आफ्नो जीवनको सम्पूर्ण समय र शक्ति केन्द्रित गरेर तीन खण्डमा प्रकाशित "पुँजी" को खोज अनुसन्धान र लेखन गरे। (भनिन्छ, पुँजीको तेस्रो खण्ड चाहिँ मार्क्सको नाममा एङगेल्सले लेखेका हुन्।)
र, बेलायती अर्थशास्त्रको अध्ययनबाट मार्क्सले राजनीतिक अर्थशास्त्रलाई वर्गसंघर्षको शाश्वत इन्जिन तुल्याइदिए।
३. वर्गसंघर्षको क्षेत्रमा सेन्ट साइमन, चार्ल्स फुरिय र रोबर्ट ओबेनको समाजवाद काल्पनिक भएको ठहर गर्दै त्यस विरुद्ध्व मार्क्सले वैज्ञानिक समाजवादको नयाँ संश्लेषण गरे। जसका आधारमा मानवजाति वैज्ञानिक समाजवाद हुँदै राज्यविहीन विश्व साम्यवादतर्फ अघि बढ्न सकियोस।
यसरी मूलतः फ्रान्सेली समाजवाद अर्थात वर्गसंघर्षलाई मार्क्सले सार्वभौम सिद्वान्तमा स्थापित गरिदिए।
उपरोक्त छलफलको निष्कर्ष हुन आउँछ; जर्मन दर्शन, बेलायती अर्थशास्त्र र फ्रान्सेली समाजवादको एकीकरणबाट निर्माण भयो, मार्क्सवाद। (यद्यपि मार्क्सवाद पदावली भने दोस्रो कम्युनिस्ट अन्तर्राष्ट्रियका बखत मार्क्सका महान सहायक फ्रेडरिक एङगेल्सको पहलमा स्थापित गरियो।)
उपरोक्त पृष्ठभूमिमा बन्न आयो- मार्क्सवादको तीन संघटक अंग। ती हुन्:- दर्शनशास्त्र, राजनीतिक अर्थशास्त्र र वैज्ञानिक समाजवाद। जसलाई, संक्षेपमा निम्नानुसार बुझ्न सकिन्छ:
१. दर्शनशास्त्र बृहत्तर विज्ञान हो। जसले प्रकृति, समाज र चिन्तनवारे अध्ययन गर्छ। दर्शनको प्रयोगात्मक क्षेत्र वस्तु र घटनालाई हेर्ने, बुझ्ने र बदल्ने कायदामा अभिव्यक्त छ।
प्रष्ट छ, अवैज्ञानिक दर्शनको हेराइ र बुझाइले वस्तु र घटना अथवा समाजलाई प्रगतिशील दिशामा बदल्न सक्दैन। त्यसैले मानव समाजको सम्यक विकासमा वैज्ञानिक दर्शन- द्वान्दात्मक तथा ऐतिहासिक भौतिकवादी दर्शन- अख्तियार गर्नुपर्ने हुन्छ।
दर्शन सम्बन्धमा प्राय: लौकिक र अलौकिक तथा पदार्थ र चेतना जस्ता शब्दहरु आइरहन्छन। लौकिक र अलौकिक शब्द अध्यात्मवाद र भौतिकवादकावीच बहशमा प्रयोग गरिन्छन। अध्यात्मवाद त्यो हो, जसले अलौकिक सत्तालाई मान्दछ। अर्थात अध्यात्मवादले अलौकिक माने लोक बाहिरको कुनै अदृश्य शक्तिले सृष्टि र संचालन गरिरहेको छ, भन्ने मान्दछ। तर, भौतिकवादले लोक अन्तर्गत तथ्यको आधारमा सत्य स्थापित गर्दछ। तथ्य त्यो हो, जसलाई पदार्थ भनिन्छ।
पदार्थ र चेतनामध्ये चेतना प्राथमिक भन्नेहरु आदर्शवादी हुन् भने पदार्थ प्राथमिक भन्नेहरु भौतिकवादी। आदर्शवाद पुँजीपतिहरुको दर्शन हो। जसले विज्ञान मानेको ढोङ त गर्छ, तर सामाजिक डार्विनवादमा तिनले सचेतहरु मात्रको राज्य कायम राख्ने अपराध गर्छन। मार्क्स अनुसार द्वन्दात्मक भौतिकवादले पदार्थ प्राथमिक ठान्दछ। लेनिन अनुसार मानिसको विचार, भावना, चेतना र समवेदनाहरु पदार्थकै उच्च विकसित रुपहरु हुन्।
माओ अनुसार जसलाई अथवा विचार, भावना, चेतना र समवेदनाहरुलाई विपरीतहरुवीच एकता र एकको दुईमा विभाजन प्रक्रियाका रुपमा हेर्नू, बुझ्नु र बदल्नु पर्दछ।
साथसाथै, आदर्शवादीहरु अध्यात्मवादको सहारा लिने गर्छन। त्यसर्थमा ती अध्यात्मवादकै संस्करण हुन्। अत: जसरी अध्यात्मवादीहरु अलौकिक सत्ताको डर पैदा गरेर जनसाधारणमाथि दमन गर्दछन्, त्यसरी नै आदर्शवादी/ प्रत्ययवादीहरु चेतनाको हाँक देखाएर जनसाधारणमाथि राज्य गर्न खोज्दछन्। ठीक त्यस विपरीत हुन्छन, भौतिकवादी दर्शनका समाजवादीहरु। जसले, पदार्थलाई प्राथमिक मान्दछन्।
पदार्थ प्राथमिकताको सैद्वान्तिक निरुपण मार्क्स- लेनिनले गरिसक्दा पनि पदार्थ प्राथमिक कि चेतना प्राथमिक भन्नेमा अस्वस्थ बहश चल्यो। त्यसको निरुपण गर्दै स्टालिनले भनेका छन्, यी दुवै अथवा पदार्थ र चेतना आपसवीच पूरक हुन्।
जस्तो कि २० औं शताब्दीको वैज्ञानिक खोजले प्रमाणित गरेको छ कि महाविष्फोट घटनाद्वारा, आज भन्दा १३ अर्ब ७० करोड बर्ष अघि ब्रम्हाण्डको उत्पति भएको हो। पाँच अर्ब बर्ष अघि सूर्य, साँढे चार अर्ब बर्ष अघि पृथ्वी, ३ अर्ब ७० करोड बर्ष अघि पृथ्वीमा पानी संगसंगै जीवाणु उत्पति भए। ५४ करोड बर्ष अघि जलचर प्राणी, ४६ करोड बर्ष अघि वनस्पति र ३१ करोड बर्ष अघि सरिस्रीप अर्थात घिस्रेर हिँड्ने प्राणी तथा २५ करोड बर्ष अघि स्तनधारी प्राणी उत्पति भएका हुन्। छ करोड बर्ष अघि मेमलका रुपमा मानव बंशानुका पूर्खा देखा परे। मानवजातिले २२ लाख बर्षयता आगो पत्ता लगाए भने दुई लाख बर्षयता भाषा निर्माण गरे। ७० हजार बर्षयता संज्ञान क्रान्तिद्वारा तर्क-विचार गर्न थाले भने १२ हजार बर्षयता कृषि र पशुपालन गर्न थाले। ३०० बर्षयता औद्योगिकरण र भर्खरै मात्र विज्ञान-प्रविधि क्रान्ति गर्दैछन्।
उपरोक्त विवरणले स्पष्ट पार्छ, पदार्थ प्राथमिक थियो र हो तथा चेतना द्वितीयक। पदार्थ प्राथमिक नहुँदो हो त मानवजाति कहाँबाट आउँथ्यो? मानव अस्तित्व नभएपछि यसको चेतनाको प्रश्न किन र कसरी पो उठ्दथ्यो? दर्शनको भाषामा मानिस पनि वस्तु हो। वस्तुबाट अझ गहिराइमा जाँदा भनिन्छ, पदार्थ। अत: प्राथमिक पदार्थ र द्वितीयक चेतना मानव समाज विकासयताको द्वन्दात्मक सम्बन्धमा पूरक हुन्।
चेतनाको कर्तव्य प्रकृति, समाज र चिन्तनवारे वैज्ञानिक खोज अनुसन्धानद्वारा जीवन र जगतको बोध एवं सेवा गर्नु हो।
२. राजनीतिक अर्थशास्त्र राज्य-समाजका आर्थिक नियम- सम्बन्धहरुको अध्ययन गर्ने विज्ञान हो। जसले, वर्गराज्य अन्तर्गत दास-मालिक युगमा अतिरिक्त श्रम, सामन्ती युगमा अतिरिक्त कूत र पुँजीवादी युगमा अतिरिक्त मूल्य सिर्जना गरेर मानव विरुद्ध्व मानवले उत्पीडन थोपर्दै आयो। त्यस अर्थात अतिरिक्त मूल्य सिद्वान्तकै अन्त्यका लागि वर्गसंघर्षद्वारा वैज्ञानिक समाजवाद हुँदै, जसले उत्पादनका साधनहरुमाथि श्रमिकवर्गको स्वामित्व स्थापित गरोस्, साम्यवादतर्फको समाजव्यवस्था प्रक्षेपण गर्यो।
३. मार्क्सवादी राजनीतिशास्त्र वर्गसंघर्षको माध्यम वैज्ञानिक समाजवाद हुँदै राज्यविहीन साम्यवाद स्थापनाको विज्ञान हो। द्वन्दात्मक तथा ऐतिहासिक भौतिकवादी विश्वदृष्टिकोणबाट अध्ययन गर्दा मानव समाजमा हिजो राज्य भन्ने कुनै संयन्त्र थिएन। वीचमा देखा पर्यो। जो, इतिहासमा जुन अनिवार्यताका साथ जसरी देखा पर्यो, भविष्यमा त्यही अनिवार्यताका साथ त्यो लोप हुनेछ।
जबसम्म राज्य रहने छ, तबसम्म दास-मालिक युगमा मुट्ठिभर मालिक, सामन्ती युगमा मुट्ठीभर जमिनदार र पुँजीवादी युगमा मुट्ठीभर पुँजीपतिले शासन गर्दै आए। त्यस विरुद्ध्व वैज्ञानिक समाजवादी राज्यमा मुट्ठीभर पुँजीपति, वर्तमान नेपालको सन्दर्भमा त केही हजार दलाल पुँजीपतिमाथि विशाल जनसमुदायको शासन हुनेछ।
मार्क्सवाद आफ्नो सार्वभौम रणनीतिमा अखण्डनीय छ। जसको कार्यान्वयनमा स्थान- समयको विशिष्टता पहिचान खुबी भने राख्न सक्नु पर्दछ।
निष्कर्ष हुन आउँछ, मार्क्सवाद वर्ग प्रधानता अन्तर्गत समाजमा रहेका सबै खाले अन्याय र उत्पीडन विरुद्ध लड्ने विज्ञान हो।
मार्क्सवादका आधारभूत सिद्वान्त र विकास शर्त
मार्क्सदेखि लेनिन हुँदै माओसम्मको खोजमा, खासगरी राजनीतिक कार्यदिशाको क्षेत्रमा मार्क्सवादका आधारभूत सिद्वान्तहरु सामान्यतः छ वटा निर्माण भएका छन्। त्यसमध्ये एकदेखि तीनसम्म मार्क्स-एङगेल्सद्वारा विकास गरिएका हुन् भने चौथो र पाँचौं लेनिन र छैठौँ सिद्वान्त माओद्वारा विकास गरिएको हो। जो, निम्न अनुसार छन्:
१. वर्गसंघर्ष र बल प्रयोगको सिद्वान्त,
२. सर्वहारावर्गको अधिनायकतत्वको सिद्वान्त,
३. सर्वहारा अन्तर्राष्ट्रवादको सिद्वान्त,
४. संगठनमा लोकतान्त्रिक केन्द्रीयताको सिद्वान्त,
५. साम्राज्यवाद विरुद्ध्व देशभक्तिपूर्ण राष्ट्रिय स्वाधीनता आन्दोलनको सिद्वान्त र
६. निरन्तर क्रान्तिको सिद्वान्त।
उपरोक्त छ वटा सिद्वान्तहरुको स्वीकार्यतासहित अभ्यास गर्नेहरु मार्क्सवादी हुन् भने स्वीकार र अभ्यास नगर्नेहरु संशोधनवादी हुन्। अर्को, औपरिकतामा स्वीकार गर्ने, तर व्यवहारमा लागू नगर्नेहरु छद्म संशोधनवादी हुन्।
उपरोक्त सिद्वान्तहरुको संक्षेप व्याख्या गर्नु पर्दा राज्यसत्ता भनेको निश्चित वर्ग र त्यस मातहत निश्चित लिङग वा जातजातिको अधिनायकत्व हो। जसका संयन्त्र निम्न रहेका हुन्छन:
१. संसद,
२. सरकार,
३. अदालत,
४. सेना,
५. प्रहरी,
६. कर्मचारीतन्त्र र
७. कारागार।
उपरोक्त सात संयन्त्रको एकीकृत प्रयोगाधिकार भएको राज्यलाई हिंसामाथिको एकाधिकारी संस्था भनेर बुझ्ने गरिन्छ। अझ स्पष्ट हुनु पर्दा उक्त सात संयन्त्रको उपस्थिति बिनाको संस्था राज्य हुन सक्दैन। अत: दास-मालिक र सामन्ती युग हुँदै पुँजीवादीसम्मका वर्ग राज्यहरुको अर्थ जनसाधारणमाथि दमनको साधन हो।
पहिलो, साम्यवादी विचारको अन्तिम लक्ष्य त्यसैले राज्यविहीन समाजव्यवस्था हुने गर्छ। परन्तु, त्यहाँसम्म पुग्नका लागि सर्वहाराले पनि राज्यसत्ता लिनुपर्ने हुन्छ। किनभने, आफ्नो हातमा सत्ता नलिएसम्म सर्वहारावर्गले दुस्मन वर्गलाई बेदखल गर्न र उत्पीडित जनवर्गलाई न्याय र मुक्ति दिलाउन सकिँदैन।
मार्क्स-एङगेल्स अनुसार त्यही राज्यसत्ता लिनलाई गरिने संघर्ष वर्गसंघर्ष हो। खासगरी यहाँ समाजमा वर्ग विभाजनयताको इतिहास सन्दर्भमा कम्युनिस्ट पार्टी घोषणापत्रको पहिलो हरफमै लेखिएको छ- आजसम्म अस्तित्वमा रहेका समाजहरुको इतिहास वर्गसंघर्षको इतिहास हो। यसरी आफ्नो सारतत्वमा वर्गसंघर्षलाई समाज विकासको इन्जिन मानिन्छ।
जसरी शोषकवर्गले राज्यको बल प्रयोगद्वारा जनसाधारणमाथि उत्पीडन गर्छ, राज्याधिकार खोस्न त्यसरी नै सर्वहारा श्रमिकवर्गले बल प्रयोग सिद्वान्त अख्तियार गर्नुपर्ने हुन्छ। यद्यपि बल प्रयोगका स्वरुपहरु सशस्त्र र शान्तिपूर्ण हुन सक्दछन्।
दोस्रो, सर्वहारावर्गको अधिनायकत्व अर्थात नेतृत्वको राज्यलाई नै वैज्ञानिक समाजवादी राज्य भनिन्छ। जस अन्तर्गत मुट्ठीभर वर्ग दुस्मनमाथि अधिनायकत्व कायम गरिन्छ भने विशाल जनसाधारणको लोकतन्त्र सुनिश्चित गरिन्छ।
वैज्ञानिक समाजवादी राज्यका दुई ऐतिहासिक कार्यभार हुन्छन: पहिलो, राज्य अन्तर्गत समाजमा रहेका सबै खाले अन्याय र उत्पीडनको अन्त्य र दोस्रो, राज्य विलोपीकरण दिशामा अग्रसरता।
सिद्वान्तत: सर्वहारावर्गको मुक्ति चाहिँ राज्यकै विलोपीकरणबाट मात्र हुनेछ।
तेस्रो, मार्क्सवादी सिद्वान्तले भन्छ, सर्वहारा अन्तर्राष्ट्रवाद जिन्दावाद! यसको अर्थ वर्गीय सम्बन्धका दृष्टिले संसारका, जुनसुकै जाति, भाषा- संस्कृतिका होउन, सर्वहारा श्रमिकहरु वस्तुतः श्रमिक हुन्। उनीहरुका वीच भाइचारा अपरिहार्य छ। अन्यथा उनीहरुलाई मुक्तिसंघर्षमा जीत हासिल गर्न गाह्रो पर्छ। अत: जसरी पुँजीवादी वर्ग अनेक सञ्जाल मार्फत संसारभरि अत्याचारी शासन थोपर्छन, त्यसरी नै आफ्नो वर्गहितमा सर्वहाराले पनि संसारभर वर्गीय साथी खोजेर सुदृढ सहकार्य बढाउन सक्नु पर्छ। जसबाट आफ्नो देशीय क्रान्ति र अन्ततः मानव मुक्तिको दिशामा एकसाथ अघि बढ्न सकियोस्।
चौथो, युगौंदेखि दुस्मनवर्ग पीरामिड संरचना खडा गरेर जनसाधारणमाथि शोषण गरिआएका छन्। उत्पीडनकारी शासकसंग भिडेर राज्यसत्ता कब्जा गर्दै अघि बढ्न त्यसर्थ सर्वहाराको संघर्षका निमित्त स्वस्फुर्त र अस्थायी संरचनाले मात्र सम्भव छैन, संगठित अग्रदस्ता नै चाहिन्छ। जुन, कम्युनिस्ट पार्टी हो। यसरी मुख्यतः राज्यशक्ति हासिल तथा संचालन गर्दै अघि बढ्न सर्वहाराको पनि पीरामिड ढाँचामा संगठन खडा गर्नुपर्ने हुन्छ। जसको लेनिनद्वारा विकसित संगठनात्मक सिद्वान्त हो, लोकतान्त्रिक केन्द्रीयता।
जसका संरचनागत पद्वति निम्न अनुसार हुन्छन:
१. प्रत्येक सदस्य संगठन मातहत रहन्छ,
२. तल्लो संगठन माथिल्लो संगठन मातहत रहन्छ ,
३. सबै संगठन केन्द्रीय संगठन मातहत रहन्छ,
४. केन्द्रीय संगठन महाधिवेशन मातहत र
५. अल्पमत बहुमहतको मातहत रहन्छ।
उपरोक्त पद्वतिमा लोकतन्त्र (जनवाद) का आधारमा विचार र संगठन अर्थात नीति र नेतृत्व सम्बन्धी निर्णय लिने र एकताबद्व स्वरुपमा कार्यान्वयन गर्ने हुनु पर्दछ। जसलाई, छलफलमा स्वतन्त्रता र कामकार्वाहीमा एकरुपता भनिन्छ।
पाँचौँ, साम्राज्यवाद विरुद्ध्व राष्ट्रिय स्वाधीनता आन्दोलन स्वत:स्पष्ट छ। मात्र प्रष्टता के भने सन १८७२ मा आयरल्याण्डवारे मार्क्सको वैचारिक संश्लेषणमा लेनिनले जोड्दार राष्ट्रिय मुक्ति आन्दोलनको विकास र प्रयोग गरे। (यहाँनिर सावधानी अत्यावश्यक ठहर्छ कि नेपाल जस्तो बहुजातीय देशमा राष्ट्रियताको दोहरो सिद्वान्त अख्तियार गर्नुपर्छ। त्यो हो, बाह्य र आन्तरिक राष्ट्रियता आन्दोलनवीच समायोजन सिद्वान्त। जातिहरुको आन्तरिक राष्ट्रिय पहिचान आन्दोलनमा सर्वहारा श्रमिकवर्गले विश्वसनीय अगुवाइ गर्नु पर्दछ भने उत्पीडित जातिहरुले नेपालको एकीकृत राष्ट्रिय स्वाधीनता पक्षमा त्यत्तिकै दृढतापूर्वक उभिनु पर्दछ।)
छैठौँ, निरन्तर क्रान्ति सिद्वान्त त्यो हो, जस अन्तर्गत सर्वहारा श्रमिकवर्गले राज्यसत्ता लिनु अघि क्रान्ति गर्नुपर्छ र राज्यसत्ता लिएर जनसेवा, विकास तथा अर्थतन्त्र निर्माण र राष्ट्रिय प्रतिरक्षाको क्रान्ति गरिरहनु पर्छ। (राज्य लिएपछिको स्थितिमा मूलतः साँस्कृतिक-आर्थिक क्रान्ति गर्नु पर्दछ।) जबसम्म राज्य विलोपीकरणद्वारा मानवमाथि मानवको शोषण, उत्पीडन अन्त्य हुने छैन, तबसम्म क्रान्ति जारी राख्नु पर्दछ।
* * *
"विकास शर्त" को प्रश्नमा लेनिन संश्लेषण महत्वपूर्ण छ- मार्क्सवाद भनेको क्रान्तिको बाटो देखाउने पथप्रदर्शक सिद्वान्त हो न कि जडसुत्र। अर्को, मार्क्सवाद भनेको ठोस परिस्थितिको ठोस विश्लेषण हो न कि बुद्वि विलाश।
अत: क्रान्तिको पथप्रदर्शक सिद्वान्त मार्क्सवादको आलोकमा देश, काल, परिस्थिति पहिचानगरी वस्तुगत र आत्मगत स्थिति संयोजन खुबीका बलमा क्रान्तिको अर्थराजनीतिक कार्यदिशा निर्धारण स्वत: स्पष्ट छ।
परन्तु, विकास गर्दा रणनीतिक दृष्टिले उल्लेखित मार्क्सवादका छ आधारभूत सिद्वान्तको परिधि बाहिर जानू हुँदैन।
* * *
अन्तिम प्रश्न कि मार्क्सवाद नै किन भन्नू पर्यो र फेरि मार्क्सवादमा लेनिनवाददेखि माओवादसम्म किन? कारण निम्न छन्:
स्पष्ट गरिसकियो, मार्क्सवादका तीन संघटक अंग छन्। त्यसलाई छुट्टा छुट्टै उच्चारण गर्दा दर्शनमा द्वन्दात्मक भौतिकवाद, अर्थशास्त्रमा अतिरिक्त मूल्यको सिद्वान्त र वर्गसंघर्षमा वैज्ञानिक समाजवाद भन्नूपर्ने हुन्छ। त्यसले भारी असुविधा उत्पन्न गराउने स्थिति प्रष्ट छ। आखिर उपरोक्त तीनवटै संघटक अंगको खोजमा मूख्यतः कार्ल मार्क्सकै योगदान भएकोले तीनवटै अंगलाई एकसाथ उच्चारण सहजताका लागि "मार्क्सवाद" नामाकरण गरिएको बुझ्न सकिन्छ। त्यस्तै वैज्ञानिक खोज अनुसन्धान उपलब्धीको नामाकरण प्रचलनमा टोली नेताको नामबाट नामाकरण गर्ने परिपाटीले पनि उक्त तीन संघटक अंगलाई मार्क्सवाद भनिएको हो। जसको मुख्य नेता मार्क्स थिए।
यसरी मार्क्सवाद नामाकरणबाट मार्क्सवाद भनेको दर्शनमा यो, अर्थशास्त्रमा यो र वर्गसंघर्षमा यो भनेर एकसाथ भन्न वा बुझ्न सकिने भयो। मार्क्स जीवित रहँदासम्म उहाँ मार्क्सवाद नामाकरण विरुद्ध्व हुनु हुन्थ्यो। पुनश्च: मार्क्सको निधनपछि दोस्रो अन्तर्राष्ट्रियका बखत एङगेल्सको प्रस्तावमा बल्ल मार्क्सवाद नामाकरण गरियो।
जहाँसम्म मार्क्सवाद हुँदा हुँदै लेनिनवाद र माओवाद किन भन्ने प्रश्न छ, जान्ने इच्छाशक्ति हुनुपर्छ, समाधान टाढा छैन।
जस्तो कि मार्क्स-एङगेल्सले आफ्नो सामाजिक परिस्थितिमा तीन आधारभूत सिद्वान्त विकास गरे। तर, पुँजीवादको मरणाशन्न अवस्था साम्राज्यवादमा पतनको परिस्थितिमा मार्क्सका तम्तयार सिद्वान्तले मात्र क्रान्ति सम्भव भएन र आफ्नो ठोस परिस्थितिमा लेनिनले विकास गर्नु पर्यो। फेरि लेनिनद्वारा विकसित सिद्वान्त हिजोको मार्क्सवादमा थिएन र लेनिन विकसित सिद्वान्त मार्क्सवादको आधारभूत सिद्वान्त परिधिभित्रकै त थियो। तब लेनिन खोजयताको मार्क्सवाद मार्क्सवाद- लेनिनवाद बन्न पुग्यो भने माओ खोजयताको मार्क्सवाद मार्क्सवाद- लेनिनवाद- माओवाद बन्न आयो।
लेनिनको खोज दर्शनमा चेतना पदार्थकै विकसित रुप हो, राजनीतिक अर्थशास्त्रमा पुँजीवादको साम्राज्यवादमा पतन स्थितिमा स्वाधीन अर्थतन्त्र र वर्गसंघर्षमा एक देशमा समाजवाद हुँदै विश्वक्रान्ति हो। माओको खोज दर्शनमा विपरीतहरुवीच एकता र एकको दुईमा विभाजन नियम, अर्थशास्त्रमा दलाल पुँजीवाद विरुद्ध्व स्वाधीन अर्थतन्त्र र वर्गसंघर्षमा निरन्तर क्रान्ति हो। जसका आधारमा मार्क्सवादको मूल जगमा लेनिन र माओको खोज तथा प्रयोगले साम्राज्यवाद विरुद्द्ग्व देशभक्त समाजवादी युग निर्माणको वैचारिक नेतृत्व गर्दछ।
कोही कसैले मार्क्सवादको जगमा लेनिनवाद- माओवाद भनुन् या नभनुन्, लेनिन र माओयताको विश्व समाजमा लोकतान्त्रिक केन्द्रीयता र निरन्तर क्रान्तिको सिद्वान्त अख्तियार नगर्ने हो भने उसको कम्युनिस्ट पार्टी बन्न र चल्नै सक्दैन। पार्टी नै नचल्ने भएपछि तिनीहरुले क्रान्ति गर्ने कुरा त सोंच्नै भएन। ठीक त्यसरी नै मार्क्सवादको आधारभूत जग छोडेर लेनिनवाद- माओवाद मात्र अख्तियार गर्ने हो भने त्यसको उभिने धरातल नै हुँदैन।
अत: मार्क्सयता लेनिनको सर्वभौम विचारलाई मार्क्सवादको दोस्रो आयाम र माओसम्मको विचारलाई तेस्रो आयाममा विकास मानिन्छ। जसको समग्रतालाई, जगका आधारमा मार्क्सवाद भनिन्छ।
नेपालको सन्दर्भमा, दस वर्षीय महान जनयुद्धका दौरान तत्कालीन नेकपा (माओवादी) ले मालेमा (मार्क्सवाद-लेनिनवाद- माओवाद) को विकास प्रचण्डपथमा गरेको थियो। जसलाई, मालेमा र प्रचण्डपथ भनियो।
त्यो प्रचण्डपथ अब पुनर्स्थापना गर्ने कि नगर्ने? अहिल्यै भनिहाल्न हामी असमर्थ छौं। परन्तु, यो चाहिँ हामीले किटेर भन्न सक्छौं, नेपालमा समाजवादी क्रान्तिको मौलिक कार्यदिशा विकास गर्ने कि नगर्ने? स्पष्ट छ, विकास गर्नेहरु जिन्दावाद अनि नगर्नेहरु मुर्दावाद हुने नै छन्। यो तथ्य वर्तमान नेपाली राजनीतिको असाधारण पस्थितिले प्रष्ट गरिरहेकै छ!
* * *
ध्यान रहोस्, विसं २०७७ मा प्रकाशित हाम्रो पुस्तक "महान जनविद्रोहको दर्शन" मा समाविष्ट एक दस्तावेज, जुन २०७५ मा जारी गरिएको हो, लेखिएको छ- इतिहासमा सर्वहारावर्गको एक दलीय समाजवादी राज्यमा निजी सम्पतिको सिधै राष्ट्रियकरण गरियो। त्यसको परिणाम कम्युनिस्ट पार्टी गैरकम्युनिस्ट चरित्रमा विसर्जन हुँदै जाँदा सम्पतिको राष्ट्रियकरण पार्टी केन्द्रीय समितिकरण र केन्द्रीय समिति एकाध पदाधिकारी- व्यक्तिकरणमा पतन हुन पुग्यो। आम जनवर्ग कठिन जीवनदशातर्फ धकेलिए, एकाध नेता सम्पतिको ओइरोले मात्तिए। प्रतिक्रान्तिको एक कारण त्यो बन्यो। त्यसबाट शिक्षा लिएर तोकिएको सम्पतिलाई स्थानीय तहमा समुदायकरण नीति लिनु पर्दछ, राष्ट्रियकरण होइन।
दलाल तथा नोकरशाही पुँजीको चाहिँ राष्ट्रियकरणद्वारा शिक्षा, स्वास्थ्य र रोजगारी निर्माणको क्षेत्रमा लगानी गर्नु पर्दछ।
कम्युनिस्ट पार्टी र महाधिवेशन
१. राज्यसत्ताका निम्ति राजनीतिक संगठन वर्गका आधारमा बन्ने गर्दछन्। जुन समय कम्युनिस्ट पार्टीको घोषणापत्र जारी गरियो, त्यस समय मजदुर-किसानको होइन, पुँजीपतिका मात्र राजनीतिक दलहरु थिए। जो, श्रमिकवर्गमाथि शोषण-उत्पीडनका साधन बनेका थिए। त्यस विरुद्ध्व कम्युनिस्ट पार्टीलाई मजदुर-किसानवर्गको राजनीतिक दलका रुपमा प्रस्तुत गरियो। त्यसैले स्पष्ट हुन्छ, कम्युनिस्ट पार्टीको झण्डामा मजदुरको औजार हथौडा र किसानको औजार हसियाँवीच एकताको विचार प्रस्तुत गरियो।
यसरी कम्युनिस्ट पार्टी मजदुर-किसान श्रमिकर्गीय जनाधारमा सर्वहारावर्गको राजनीतिक संगठन हो। जसलाई, सर्वहारावर्गको संगठित अग्रदस्ता भन्ने गरिन्छ।
सर्वहारा त्यो हो, जो इतिहासको अन्तिम उत्पीडित वर्गमा पर्दछ। जससंग निजी सम्पति भन्ने केही नहोस। तब जिते संसार, हारे हथकडीको नारामा लड्न सम्भव हुन्छ। यस्तो वर्गीय चिन्तन, चरित्र र चेतनाका मानव योद्ध्वाहरुले मात्र राज्य विलोपीकरण लडाइँ लड्न सक्दछन्। किनभने, अन्तिम वर्ग सर्वहारासंग गुमाउनका लागि निजी सम्पति हुँदैन।
सर्वहारा योद्ध्वा दुई प्रक्रियाबाट निर्माण हुन्छ: पहिलो, भौतिक सर्वहारा, जोसंग निजी सम्पति हुँदैन र दोस्रो, वैचारिक सर्वहारा। जसको वर्गस्रोत निजी सम्पतिमा आधारित थियो, ऊ मार्क्सवादी चेतमा रुपान्तरण हुँदा वैचारिक सर्वहारा बन्न पुग्छ। इतिहासमा वैचारिक सर्वहारा मानिस भौतिक सर्वहारामा र भौतिक सर्वहारा मानिस वैचारिक सर्वहारामा रुपान्तरण भएका छन्। त्यसरी महान जनक्रान्तिहरु गरिएका छन्।
बजार पुँजीवादी समाजमा भौतिक सर्वहारा कठिन जीवनदशाको वास्तविकता हो। फेरि पनि निजी सम्पति नहुँदैमा कोही मानिस क्रान्तिकारी भइहाल्दैन। क्रान्तिकारी बन्नलाई त उसले क्रान्तिकारी विचार अख्तियार गरेको हुनुपर्छ। त्यसैगरी, क्रान्तिकारी विचारलाई व्यवहारमा उतार्न सक्नु पर्छ।
असंगठित व्यक्तिका रुपमा त अनेक वर्ग तप्काका मानिस स्वतन्त्र देखिएलान, तर समाजव्यवस्था परिवर्तनको क्रान्तिमा, खासगरी क्रान्तिकारी नेतृत्वमा चाहिँ उसले आफुलाई गुणात्मक रुपान्तरण गरेको हुनैपर्छ। (किनकि, सिद्वान्त र व्यवहारवीच एकरुपता नै दुनियाँ बदल्ने कसी हो।) त्यो त्यही हो, मार्क्सवादको पथप्रदर्शनमा भौतिक सर्वहाराले वैचारिक सर्वहारा बन्ने र वैचारिक सर्वहाराले भौतिक सर्वहारा बन्ने द्वन्दवादी रुपान्तरण प्रक्रिया।
उपरोक्त सैद्वान्तिक प्रस्थापना सच्चा कम्युनिस्ट पार्टीका निमित्त हो। परन्तु, स्थान-समयका आधारमा वर्ग विश्लेषण गर्नु पर्दछ। वर्ग विश्लेषणको निष्कर्षमा क्रान्तिको राजनीतिक कार्यदिशा र कार्यक्रम निर्धारण गर्नु पर्दछ।
२. कम्युनिस्ट पार्टीको वैचारिक एवं सांगठानिक जीवनमा महाधिवेशन सर्वोच्च अंग हो। जसका दुई प्रमुख कार्यभार हुने गर्दछन्: पहिलो, विचार निर्माण र दोस्रो, संगठन निर्माण। जसलाई, अर्को शब्दमा नीति निर्माण र नेतृत्व निर्माण भनेर बुझ्ने गरिन्छ।
संगठित व्यक्तिका रुपमा नेताहरु मिलेर नीति प्रस्ताव गर्दछन्। तर, संगठनको सर्वोच्च अंग महाधिवेशनले स्वीकृत गरेपछि नीति प्रधान हुन्छ, नेता सहायक। पार्टी महाधिवेशनका प्रतिनिधिहरु सम्बन्धित महाधिवेशनमा विचार निर्माण र संगठन निर्माणका नेता हुन्छन। जसले, निर्माण गरेको नयाँ विचारलाई नवगठित केन्द्रीय संगठनले कार्यान्वयन गर्दछ। जसलाई, सामुहिक नेतृत्वको केन्द्रीकृत अभिव्यक्ति भनिन्छ।
अत: पार्टी महाधिवेशनका हरेक प्रतिनिधिहरु सतप्रतिशत जिम्मेवार हुनेछन् कि उनीहरुले कस्तो विचार र कस्तो संगठन निर्माण गर्नेछन्? त्यसर्थ भन्नैपर्छ कि जस्तो महाधिवेशन प्रतिनिधि त्यस्तै विचार र संगठन बन्न स्वत: पुग्दछ।
ध्यान रहोस, लोकतान्त्रिक केन्द्रीयताले फरक मतलाई स्थान दिने गर्छ। (जसलाई, माओले विचारका सबै फूलहरुलाई फूल्न देऊ, भने।) पार्टीको केन्द्रीय कार्यालय वा समितिले कुनै सदस्यको विचार स्वीकार गरेन वा समेटेर लगेन भने सम्बन्धित सदस्यले आफ्नो विचारलाई फरक मतका रुपमा महाधिवेशनमा प्रस्तुत गर्ने जनवादी अधिकार राख्दछ। कार्यालय वा समितिको मूल दस्तावेज संगसंगै फरक मत-दस्तावेजलाई पनि महाधिवेशन प्रतिनिधिमाझ बहश र निर्णयार्थ प्रस्तुत गर्ने गरिन्छ।
* * *
विशेषतः वर्तमान नेपाल सन्दर्भमा परम्परागत वर्ग विश्लेषण गर्दा पार्टी सदस्य बन्ने मानिस नपाइँने हुन सक्छ। फेरि पनि चरम वर्गीय, लैंगिक र जातजातीय अन्तर्विरोध विद्यमान छ। त्यसैले यहाँ वर्गसंघर्षको महाविष्फोट अवश्यमभावी छ। अत: महान जनयुद्ध्व र जनआन्दोलनको बलमा स्थापित संघीय लोकतान्त्रिक गणतन्त्रलाई हठात समाजवादी सारतत्वमा बदल्न सापेक्षित नयाँ वर्ग विश्लेषण अत्यावश्यक छ। त्यसो गर्दा दलाल तथा एकलजातीय पुँजीवादी शासनद्वारा उत्पीडित वर्ग, लिङग, जातजाति, क्षेत्र एवं देशभक्तहरु उत्पीडित जनवर्गमा पर्न आउँछन्। यी पाँच जनवर्गवीच दीर्घकालीन एकतामा श्रमिकवर्गीय समाजवादी कार्यक्रम मुख्यतः नेपाल पढ्ने सिद्वान्तको निचोड हुनेछ।
यहाँ "दीर्घकालीन जनएकता" को अर्थ सर्वहारा श्रमिकतर्फ लेनिन-स्टालिनको सोभियत संघ र उदार पुँजीवादतर्फ नेल्सन मण्डेलाको एएनसी ढाँचा हुन्। सुविचारित अध्ययन जरुरी छ कि सडक आन्दोलन, निर्वाचन र राज्यसत्ता संचालन जिम्माको राजनीतिक मोर्चा वाञ्छनीय छ? जुन, पाँच जनवर्गवीच दीर्घकालीन स्वरुपमा गठन गरियोस्।
किनभने, दीर्घकालीन राजनीतिक मोर्चा पाँच जनवर्ग अटाउने विशाल आकारको र कम्युनिस्ट पार्टी सानो आकारको होस। जसले, सच्चा सर्वहाराको राजनीतिक दस्ता सुदृढ गर्न सकियोस?
नेपालमा समाजवाद, तर कस्तो र कसरी?
उपर्युक्त शीर्षक प्रश्न आशन्न महाधिवेशनको प्रधान मुद्दा बन्नु पर्दछ। तब नेपाली कम्युनिस्ट पार्टीको एकता महाधिवेशन विचार प्रधान बन्न सक्दछ।
महान जनयुद्धको जगमा दोस्रो जनआन्दोलनबाट स्थापित संघीय लोकतान्त्रिक गणतन्त्रयता तत्कालीन माओवादीमा उत्पन्न औचित्यहीन पार्टी विभाजन र एमाले- कांग्रेसमा निहित यथास्थितिवादका कारण नेपाली समाजका उत्पीडितवर्ग, लिङग, जातजाति, क्षेत्र एवं देशभक्तहरुको जीवनमा गुणात्मक परिवर्तन प्रत्याभूत गर्न सकिएन। त्यसको परिणाम उत्पीडितवर्ग- समुदाय निरुत्साहित र सामन्ती अवशेषका दलाल पुँजीपतिहरु उत्साहित बन्न थाले। त्यही सिलसिलामा एमाले-कांग्रेस सरकारका प्रधानमन्त्री खड्गप्रसाद ओलीको यथास्थितिवादी राजनीति, स्वेच्छाचारी कार्यशैली र भूराजनीतिक खेलवाडका कारण २०८२ भदौ २३/२४ को अप्रत्यासित घटना घट्न पुग्यो। सुशासनव्यवस्था र सामाजिक सञ्जाल खुलाउने मागसहित सडक प्रदर्शनमा उत्रेका युवाहरुको आन्दोलनमा आपराधिक जत्था घुसपैठले २४ गते संसद भवन, सिंहदरबार, सर्वोच्च अदालत तथा गणतन्त्र स्थापनार्थ लडेका दल र नेताहरुको कार्यालय जलाउने विध्वङ्श मच्चाए।
राष्ट्रपतिको ठूलो जुक्ति र नेपाली कम्युनिस्ट पार्टीका नेताहरुको सत्प्रयासबाट २०८२ फागुन २१ गते प्रतिनिधिसभा निर्वाचन तोकियो। यद्यपि सुशिला कार्की नेतृत्वको अन्तरिम सरकार असंवैधानिक थियो, २०८२ फागुनको निर्वाचनलाई भने औपचारिकतावश संवैधानिक दायराभित्रको मान्नु परेको छ। परन्तु, प्रायोजित "नयाँ" को नारामा पुस्तावादी अराजनीतिक दलले पूर्ण बहुमतको स्थान लुट्यो। नेपाली कम्युनिस्ट पार्टीलगायत स्थापित दलहरु सानो आकारमा खुम्चिँदा उनीहरुले भारी आत्मसमिक्षाको अवसर पाएका छन्। फेरि देश र सुकुमवासीलगायत जनसमुदाय भने प्रायोजित संकट सामना गर्न अभिशप्त देखिन्छन्।
खासगरी, अन्तर्राष्ट्रिय स्तरमा भूमण्डलीकृत वित्तीय पुँजीवाद र राष्ट्रियस्तरमा दलाल पुँजीवादवीच गठजोडले मध्यमवर्गलाई स्वार्थ साधन बनाउने र निम्नवर्गलाई दबाउने, अन्ततः देशको सार्वभौमिकता नै ध्वस्त पार्ने रास्वपा सरकारको दक्षिणपन्थी उपद्रोबाट नेपालमा कम्युनिस्ट आन्दोलन र देशभक्तिपूर्ण पहिचान आन्दोलनको स्थिति के हुनेछ? यस्तो संगीन परिस्थितिमा हाम्रो पार्टी महाधिवेशन भइरहेको छ। जसले, हरेक प्रतिकुलतालाई अनुकुलतामा बदल्ने द्वन्दवादी जमर्को मार्फत आफ्नो क्रान्तिकारी औचित्य पुनर्स्थापित गर्न मुख्यतः नयाँ विचार निर्माणमा आफुलाई सम्पूर्ण केन्द्रित गर्नु पर्दछ।
* * *
प्रस्तुत समाजवाद, तर कस्तो र कसरी? प्रश्नको वस्तुसंगत जवाफ नेपालमा समाजवादी क्रान्तिको प्रष्ट राजनीतिक कार्यक्रमको माग हो। जसलाई, निम्न तथ्यबाट बुझ्न सकिन्छ:
१. लेनिन र माओ जसरी सर्वहारावर्गको एकदलीय समाजवादको अभ्यास तत्काल सम्भव छैन। फेरि विद्यमान परम्परागत बहुदलीय निर्वाचनबाट मात्र पनि पुँजीवादी आन्दोलनको पूर्णता र समाजवाद उन्मुख राज्य अभ्यास हुन सक्दैन। समाजवाद वस्तुतः श्रमिकवर्गको सत्ता हो। जसको अभावमा वर्ग, लिङग, जातजातिका सामाजिक न्यायको नारा सरासर पाखण्डी समाजवाद ठहर्छ।
उपरी संरचनामा राज्यको चरित्र शासकको चरित्रले निर्धारण गर्छ। एकदलीय शासनमा शासक दलको चरित्रले राज्य चरित्र निर्धारण गर्छ भने बहुदलीय शासनमा दल औपचारिकता माध्यम मुख्यतः निर्वाचन प्रणालीले राज्यको चरित्र निर्धारण गरिआएको छ। अत: विद्यमान पहिलो हुनेले व्यक्ति जित्ने दुई आयाम केन्द्रित निर्वाचन प्रणाली दलाल पुँजीवादी भ्रष्ट प्रणाली प्रमाणित छ। त्यही दलाल पुँजीवादी निर्वाचन प्रणालीले गणतान्त्रिक राज्यलाई दलाल पुँजीवादी भ्रष्ट चरित्रमा पतन गराएको छ।
प्रस्तुत अन्तर्विरोधको समाधान विद्यमान बहुदलीय निर्वाचन प्रणालीभित्र बहुवर्गीय निर्वाचन प्रणालीको विकासद्वारा सर्वोत्तम ढंगले गर्न सकिन्छ। जस अन्तर्गत मजदुर, किसान, पुँजीपतिको तीन वर्गीय, महिला-पुरुषको दुई लैंगिक एवं सर्व-जातजातीय जनसंख्याको पूर्ण समानुपातमा संघीय प्रतिनिधिसभा सदस्यहरु निर्वाचित गरिन्छ। जसलाई, प्रत्यक्ष पूर्ण समानुपातिक समाजवादी लोकतन्त्रको निर्वाचन प्रणाली भनिन्छ।
बल्ल दल र उमेदवार-व्यक्तिमा सीमित दुई आयामको निर्वाचन प्रणालीलाई दल, वर्ग, लिङग, जातजाति र उमेदवार-व्यक्ति केन्द्रित पाँच आयामको निर्वाचन प्रणालीमा बदलिन्छ। र, सतप्रतिशत जनवर्ग आधारित पाँच आयामको संघीय प्रतिनिधिसभा स्वभाविक रुपमा शक्तिशाली हुनेछ। यसरी पाँच आयामको शक्तिशाली प्रतिनिधिसभाले निर्धारण गर्ने राज्यको चरित्र वस्तुतः समाजवाद उन्मुख हुनेछ।
ऐतिहासिक व्यवहारमा लोकतन्त्रका प्रकारहरुमध्ये समावाजदी लोकतन्त्रवारे प्रकाश पार्दा निम्न विवरणलाई ध्यानमा राख्न जरुरी छ:
क. आदिवासी लोकतन्त्र,
ख. प्रत्यक्ष लोकतन्त्र,
ग. बहदलीय प्रतिनिधि लोकतन्त्र,
घ. सर्वहारा लोकतन्त्र र
ङ. समाजवादी लोकतन्त्र।
उपरोक्तमध्ये आदिवासी लोकतन्त्र सीमान्तकृत बन्दै गएको, विशाल संरचनाको आधुनिक राज्यमा प्रत्येक्ष लोकतन्त्र व्यवहारिक नहुने, सर्वहारावर्गीय अधिनायकत्वको सर्वहारा लोकतन्त्र तत्काल सम्भव नदेखिने र परम्परागत बहुदलीय/ संसदीय लोकतन्त्रले नेपाली समाजको वर्गीय, लैंगिक, जातजातीय अन्तर्विरोध हल गर्न नसकिरहेको विद्यमान परिस्थितिमा नेपालमा समाजवादी लोकतन्त्र एक मात्र समाधान हुनेछ। जो, सर्वोत्तम प्रतिनिधि लोकतन्त्र हो।
२. वैज्ञानिक समाजवादलाई दुई चरणमा अभ्यास गर्न सकिने छ: प्रारम्भिक चरणको समाजवाद पाँच आयामको बहुदलीय प्रणालीमा आधारित रहेछ। जुन, समाजवादी लोकतन्त्र हो र अन्ततः विकसित चरणको समाजवादतर्फ फड्को मार्दै वैज्ञानिक समाजवादलाई पूर्णता दिइने हुन्छ। यो हो, नेपालमा समाजवादी क्रान्तिको नवीन राजनीतिक कार्यदिशा।
३. नेपाल जस्तो बहुजातीय, बहुभाषिक, बहुसाँस्कृतिक एवं भौगोलिक विविधतायुक्त मुलुकमा प्रत्यक्ष कार्यकारी घातक ठहर्छ। अत: दलित, जनजाति आदिवासी, मधेसी-मुस्लिम र खस-आर्यको सामुदायिक चक्रप्ररणालीमा देशको कार्यकारी प्रमुख चुन्ने व्यवस्था अपरिहार्य छ।
उपरोक्त समाजवादी निर्वाचन प्रणालीको संघीय प्रतिनिधिसभा र सामुदायिक चक्रप्रणालीमा कार्यकारी प्रमुख व्यवस्था गरिसक्दा संसदबाटै प्रधानमन्त्री निर्वाचन व्यवहारिक र किफायती समेत हुनेछ। जसलाई, समाजवाद उन्मुख संसदीय शासन प्रणाली भन्न सकिन्छ।
४. नेपालको संविधान २०७२ धारा ३ ले नेपाललाई बहुजातीय, बहुसाँस्कृतिक मुलुक भनी स्वीकार गरिसकेको पृष्ठभूमिमा उत्पीडित राष्ट्रिय समुदायहरुको पहिचान र अधिकार व्यवस्थापनमा बहुजातीय राज्यसंरचना स्वत:स्पष्ट छ। जसबाट पहिचान आधारित राज्यको पुनसंरचना गरियोस्।
५. समाजवादी लोकतान्त्रिक राज्यको अर्थनीतिवारे टाउको दु:खाइरहनु परेन। किनभने, पाँच आयामको प्रत्यक्ष पूर्ण समानुपातिक निर्वाचन प्रणालीद्वारा गठित समाजवादी लोकतान्त्रिक प्रतिनिधिसभा स्वयंले आफ्नो अर्थनीतिसहित स्वास्थ्य, शिक्षा, सुरक्षा, उद्योग र विदेशनीति निर्धारण सामर्थ्य राख्दछ।
६. आफ्नो सामाजिक मार्गचित्रमा समाजवादी लोकतन्त्र वर्ग र समुदाय हितरक्षातर्फ स्वत: मुखरित हुनेछ। परम्परागत समाजमा व्यक्ति, परिवार र समुदायको चक्रमा समाजव्यवस्था गरिन्थ्यो। जसमा समुदाय निर्णायक हुन्थ्यो। तर, आधुनिक समाजमा व्यक्ति जहाँको त्यहिँ छ, परिवारको स्थान राज्यले र समुदायको स्थान बजारले लिएको छ र बजार निर्णायक छ। तब राज्य र बजारमा पहुँच नभएका वर्ग समुदाय निर्मम विस्थापित छन्।
स्वभाविक रुपमा त्यस्तो अमानवीय तथा अराष्ट्रिय विस्थापन रोक्ने निर्णायक भूमिका समाजवादी निर्वाचन प्रणालीले खेल्दछ।
७. भ्रष्टाचारी शासन अन्त्यको प्रश्नमा दल र उमेदवार-व्यक्ति आयामको निर्वाचन प्रणालीमा वर्ग, लिङग र जातजातिको पूर्ण समानुपातिक आयाम विकास गरेपछि त्यसबाट संरचनागत लोकतन्त्र स्थापित गरिन्छ। जसले, आम जनवर्गलाई सर्वत्र सजग पार्ने हुनाले राजनीतिक कारणले उत्पन्न भ्रष्टाचार सदाका लागि ऊन्मूलन गरिने हुन्छ।
अब प्रष्ट हुन आउँछ, उपरोक्त सारतत्वको समाजवाद नै मुख्यतः नेपाल पढ्ने सिद्वान्तमा विकसित नेपाली किसिमको समाजवादी अर्थराजनीतिक कार्यक्रम हो। जसको प्राप्तिका लागि "तीन स कार्यनीति" अर्थात शान्तिपूर्ण सडक आन्दोलन हुँदै निर्वाचन उपयोग कार्यनीति र महान जनविद्रोहको रणनीति अख्तियार गर्नु पर्दछ।
खाँचो सोभियत संघको
१. जब सन १९९१ मा सोभियत संघ विघघटन भयो, विभिन्न राज्यका राष्ट्राध्यक्षहरु, जस्तै:- निकोलाइ चाउचेश्कु, स्लोभोदान मिलोसोभिच, सद्दाम हुसैन, कर्णेल कद्दाफी हुँदै नेपालमा राजा वीरेन्द्र आदिको हत्या घटना भए। सोभियत संघ जीवित हुँदो हो त सार्वभौम राज्यका शासकहरु त्यसरी मारिँदैनथे कि? अत: नेपाली कम्युनिस्ट आन्दोलन र देशभक्तिपूर्ण पहिचान आन्दोलनमा खाँचो छ, सोभियत संघको। जसको आपूर्ति हामीले आफ्नै सापेक्षतामा खोज्नु पर्दछ।
त्यसर्थ रुपान्तरण प्रतिबद्वतामा भीषण जनयुद्ध्व र जनआन्दोलनद्वारा स्थापित क. प्रचण्डलगायत नेताहरुको मूल्याङ्कनमा सम्यक दृष्टि अपनाउन शख्त जरुरी छ। अन्यथा उच्चसतर्कता कि सोभियत संघको अभावमा विभिन्न राज्यका शासकहरु जसरी निरीह बन्न पुगे, नेपालमा प्रगतिशील राजनीतिकर्मीहरुको हविगत त्यस्तो नहोस्।
२. क्रान्तिकारी उत्तराधिकार त्यो हुने गर्छ, जसले पार्टी र आन्दोलनमा महान सहायकको भूमिका खेल्छ। आजको महान सहायक भोलिको योग्य प्रमुख स्वत: बन्दछ। मार्क्स-एङगेल्स तथा लेनिन- स्टालिनवीच ऐतिहासिक व्यवहारले यो तथ्य प्रमाणित गर्छ। अर्को शब्दमा पार्टी निर्णय कार्यान्वयन तथा संकटहरुमा नेतृत्वलाई दृढतापूर्वक काँध हाल्ने र नेतृत्वको गलत कदम विरुद्ध्व जुझ्नेहरु नै सही उत्तराधिकार हुने गर्छन्।
गुरूहरुले भनेर गएका छन्- समाजमा युवा, प्रौढ र ज्येष्ठगरी तीन पुस्ता प्रभावी रहन्छन्। अत: निरन्तर क्रान्तिका निमित्त तीन पुस्ते संगठनमा जोड दिइनु पर्छ। जसले, प्राकृतिक शृङ्खलाको नेतृत्वमा समाजलाई डोर्याउदै अनुभवशिद्व उत्तराधिकार निर्माण गर्दै अघि बढ्न सकियोस्।
अत: युवा नेताहरुले असन्तुष्टि मात्र पोखिरहने, पिरोलिने, प्राविधिक कलह मच्चाउदै नेतृत्वलाई धारे तेर्स्याएर उम्किने गैरमार्क्सवादी प्रवृत्ति त्यागेर आफुलाई समग्र तयारी, तयारी र फेरि पनि तयारीमा अग्रसर गराइहाल्नोस्। जसले, विचारधारात्मक राजनीति, संगठन, संघर्ष- सत्ता र जनसेवामा तपाइँलाई आजको महान सहायक अनि भोलिको योग्य प्रमुख तुल्याउन सकोस्।
किनभने, माओ त्सेतुङले उहिल्यै भनिदिएका छन्- यो संसार हामीहरुको पनि हो, मुख्य रुपमा आगामी संसार युवाहरुको हो।
विचार प्रधान महाधिवेशन- जिन्दावाद!
पार्टीका सम्पूर्ण सदस्यहरु महाधिवेशनलाई विचार प्रधान बनाउन सफल भइयो, सही विचार निर्माण गर्न सकियो र त्यो सही विचार समाजवादी लोकतन्त्र नै ठहरियो भने देशको राजनीतिमा निम्न सम्भावना दृष्टिगोचर छन्:
१. मुख्यतः नेपाल पढ्ने सिद्वान्तमा विकसित समाजवादी निर्वाचन प्रणालीको लोकतन्त्रले मजदुर, किसान, देशप्रेमी पुँजीपति तथा महिला र जातजातिमाझ इतिहास निर्माण दायित्व प्रत्यक्ष हस्तान्तरण गर्नेछ। जसले, सम्पूर्ण सत्ता संघीय प्रतिनिधिसभामा केन्द्रित गर्दछ। तब आम उत्पीडित जनवर्गसहित पार्टी सदस्यहरु र समर्थक जनसमुदाय सर्वत्र उत्साहित बन्नेछन्। दलाल पुँजीवादी, अन्धजातवादी, पुरुषसत्तावादी मनोवृत्ति निरुत्साहित हुनेछ।
हाम्रा प्रमुख नेताहरुलाई भारी फुर्सद मिल्ने छ। तब उनीहरु व्यवस्थित अध्ययन र चिन्तन, स्वतन्त्र राष्ट्रिय दृष्टिकोण निर्माण, आर्थिक तथा पूर्वाधार विकास, दुई छिमेकी देश सम्बन्ध, जनसेवा र विज्ञान- प्रविधिमा समय दिन सक्नेछन्। वास्तवमा नेताहरु निरोगी पनि हुनेछन्। किनभने, समाजवादी निर्वाचन प्रणाली त्यो राजनीतिक प्रणाली हो, जसले नेता बन्न इच्छुक जो कोही कार्यकर्तालाई आफ्नो वर्ग र समुदायमाझ हठात् र निरन्तर केन्द्रित गरिदिन्छ।
२. नयाँ विचार कार्यान्वयनको एकीकृत योजना निम्न हुन सक्दछ:-
क. नयाँ विचारको झण्डामा समाजवादी महाध्रूवीकरणद्वारा सडक आन्दोलन हुँदै हठात् संविधान संशोधनद्वारा संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा, विकास र सशक्त कार्यान्वयन,
ख. संशोधित संविधान बमोजिम २०८४ भित्र संघीय प्रतिनिधिसभाको नयाँ निर्वाचन,
ग. सुनिश्चित एकल बहुमतको सरकारद्वारा भ्रष्टाचारी शासन अन्त्य र नयाँ राष्ट्रिय एकीकरणसहित समाजवाद उन्मुख राज्यव्यवस्थापन।
प्रस्तुत कार्ययोजना कार्यान्वयनले पार्टी जीवन र देशको राजनीतिक जीवनमा अभूतपूर्व क्रमभंग ल्याइदिने छ। जसले, महान अग्रगामी छलाङ उठाउदै स्वदेश तथा विदेशस्थित नेपाली मजदुर, किसान, देशप्रेमी पुँजीपति र महिला, दलित, जनजाति, मुस्लिम, मधेसी जनतावीच सर्वत्र महाध्रूवीकरण बढाउने छ।
३. समाजवादी महाध्रुवीकरणले पार्टी विशाल शक्तिमा बदलिने छ। जुन शक्तिको बलमा शान्तिपूर्ण सडक आन्दोलन समेतको जोडमा यथासिघ्र संशोधित समाजवादी संविधान बमोजिम आम निर्वाचन गरिने छ।
त्यस निर्वाचनमा मजदुर (सुकुमवासी जीवन मूलतः ज्यालादारी मजदुर हो), किसान, महिला र जातजातिका जनतासहित देशभक्त नेपालीले कुन पार्टीलाई भोट दिनेछन्?
प्रष्ट छ, नयाँ विचारको नयाँ संविधान जसले लिएर आउने छ, जनताले उसैलाई पूर्ण बहुमत दिनेछन्। बल्ल पुँजीवादी आन्दोलनको पूर्णताबाट प्रारम्भिक चरणको समाजवादी युगमा प्रवेश गरिने छ। नेपाली अर्थराजनीतिले आन्तरिक लोकतन्त्र सुदृढीकरणको बलमा नेपालको सार्वभौम राष्ट्रिय स्वाधीनतासहित दीर्घकालीन अग्रदिशा ग्रहण गर्नेछ।
पार्टी सदस्य, विशेषत: युवा कमरेडहरु!
दुनियाँ बदल्न जन्मेको अनमोल जिन्दगीलाई शरीरको नाक, कान, आँखा, जिब्रो र छालामा सीमित इन्द्रीय-ग्राह्य ज्ञानमा कुण्ठित नगरौ, बुद्विसंगत ज्ञानतर्फ यसलाई सिघ्र बढुवा गरौं!
कतिपय साथी विस्तृत लेख पढ्ने जाँगर गर्दैनन्, परजीवी झैं अल्छी गर्छन। जबकि दुनियाँ बदल्ने महान लक्ष्यका कम्युनिस्टहरुले सर्वप्रथम दुनियाँ बुझ्नु पर्छ। बुझेर न बदल्न सकिन्छ। त्यसका निमित्त अध्ययन, चिन्तन र अभ्यास मार्फत ८६ अर्ब न्यूरोन भरिएको आफ्नो खप्परलाई घोट्नै पर्छ। जत्ति घोट्यो, गिदीको न्यूरोन त्यत्ति नै क्रियाशील हुन्छ रे। विनम्र अपील कि देश, जनता र पार्टीको स्थिति सम्हाल्न महाधिवेशन केन्द्रित भएर गिदी बेस्सरी घोटौं।
प्रश्न कि विद्यार्थीहरु शब्दकोष किन पढ्छन? जवाफ हो, ब्याकरण ज्ञान बढाउनलाई। जुनसुकै भाषाको किन नहोस, ब्याकरण ज्ञान नहुँदो हो त कुन विद्यार्थीले कुन कक्षा उत्तीर्ण गर्ला? अनुत्तीर्ण विद्यार्थी कसरी बन्ला- शिक्षक, प्राध्यापक, अधिकृत, ओकिल, पत्रकार, कलाकार, वैज्ञानिक अनि दुरदर्शी नेता?
अत: कम्युनिस्ट पार्टी जीवनले राजनीतिक, आर्थिक, साँस्कृतिक शब्दकोष पढ्नै पर्छ। (यद्यपि त्यो अनौपचारिक नै होस।) जसले, समाज र दुनियाँ हुँदै ब्रम्हाण्ड सम्बन्धी ज्ञानको आयतन बढाउँछ।
अर्को, पार्टी सदस्य कमरेडहरुलाई थाहा छ? नेपाली र हिन्दीमा प्रयुक्त ज्ञान, बुद्वि र विवेक शब्दको अन्तर र सम्बन्ध के हो? त्यसको अन्तरसम्बन्ध हो:
ज्ञानले जानकारी दिन्छ, बुद्विले तर्क गराउँछ र विवेकले नैतिक परिधि निर्धारण गर्छ।
यही तीन कुरामा, नेताहरुमा ह्रास आउनाले लक्ष्य प्राप्तिमा कम्युनिस्ट आन्दोलन कष्टसाध्ये बनिरहेको त होइन? विचार गरौं!
लोकतान्त्रिक केन्द्रीयताको आयाम के भने आफ्नो जिम्मेवारी- काममा नेताहरु सबै कार्यकर्ता हुन् भने आफ्नो जिम्मेवारी- काममा कार्यकर्ताहरु सबै नेता हुन्। अब प्रष्ट हुन्छ, हाम्रो पार्टीका सबै सदस्यहरु र समर्थित जनवर्गीय संगठन तथा राष्ट्रिय मोर्चाका सदस्यहरु आफ्नो जिम्मेवारीको काममा वस्तुतः नेता हुन्। नेतालाई सिद्वान्त नजान्ने छुट हुँदैन।
यहिँनिर मार्क्सको भनाइ स्मरण गर्नुपर्छ, अज्ञानताले क्रान्तिको सेवा गर्दैन।
त्यस्तै, एउटा रेडियोमा विज्ञापन बज्ने गर्छ। भन्छ- नसुने पछि परिन्छ!
वर्तमान पार्टीको समवेदनशील चुनौति हो कि
तपाइँ- हामी पार्टी सदस्यहरु, विशेषतः आशन्न महाधिवेशन प्रतिनिधिहरुले बेलैमा नपढ्ने, नसोंच्ने र केही नगर्ने हो भने पछि पर्ने मात्र होइन, जिउँदै मरिन्छ!
हेक्का रहोस्, कम्युनिस्ट बन्ने प्रक्रिया इमानदार र वैज्ञानिक व्यवहारबाट सुरु गर्नुपर्छ। तब वस्तुस्थितिको माग संबोधन गर्नेगरी एकता-संघर्ष- रुपान्तरण, मुख्यतः रुपान्तरण र नयाँ आधारमा नयाँ एकता सृष्टि गर्दै अघि बढ्न सकिन्छ।
अन्त्यमा, माथिको राजनीतिक सम्भावना प्रक्षेपणलाई कतिपयले श्वैरकल्पना भनी उडाउन सक्छन। परन्तु, वैज्ञानिक अलबर्ट आइन्स्टाईनले भनेका छन्- शिक्षाको कसी कल्पनाशीलता हो। सम्झना छ, आठ सय जिल्लाको नयाँ नेपालको विचार ल्याउँदा हामीलाई खुब उडाएकै हुन्, भण्डाफोर गरेकै हुन्। स्मरण गरियोस, त्यही विचार त ७५३ स्थानीय सरकार बन्यो। अन्तर्राष्ट्रिय गुरु कार्ल मार्क्सको जीवनमा पनि असहनीय ज्यादति बढेकै थिए। त्यसैले उहाँले फ्लोरेन्सवासीको उक्तिलाई उद्धृत गर्दै लेख्नु भयो, जो अनुकरणीय छ- अरु मानिस जे मन लाग्छ भन्दै गरून्, तिमी सरासर क्रान्तिको बाटो हिँड!
जेठ २०८३
भारतको ‘राष्ट्रवादी वक्तव्यबाजी’ले बङ्गलादेशको जल सुरक्षामाथि खतरा निम्त्याउँदैछ…
घेराबन्दीग्रस्त समाजवाद वा बर्बरता: हामी किन क्युबाको पक्षमा उभिनै पर्छ
नाकाबन्दीका बीच क्युबाका स्वास्थ्य चमत्कारहरू
बालेन सरकारको बजेटमा शिकागो स्कूल अफ इकोनोमिक्सको छायाँ
अडिग क्युबा !
‘सातो हराएको’ नेपाली वामपन्थ र ‘बनझाँक्री’को खोजी !
काफ्काको साङ्लो र रिलको राजनीति
प्रतिक्रिया