अली लारीजानी: दार्शनिक सुरक्षा प्रमुखको मृत्युले इरानका लागि के अर्थ राख्छ?
रेहान उद्दिन
राजनीतिज्ञ, सुरक्षा प्रमुख र दार्शनिक अली लारीजानी इरानका एक 'बहुमुखी प्रतिभा' (Renaissance man) थिए।
इजरायली आक्रमणमा रातारात मारिएका ६७ वर्षीय लारीजानी सैन्य, व्यवस्थापिका र सांस्कृतिक क्षेत्रमा दशकौँको अनुभव सँगालेका इरानका सबैभन्दा बहुआयामिक व्यक्तित्वमध्ये एक थिए।
स्टिमसन सेन्टरकी फेलो र लारीजानीसँग चार पटक अन्तर्वार्ता लिएकी अमेरिकी पत्रकार बारबरा स्लाभिनले मिडल इस्ट आईलाई भनिन्, "उनको संलग्नता धेरै फरक-फरक क्षेत्रमा थियो। उनको पृष्ठभूमि इस्लामिक रिभोलुसनरी गार्ड कर्प्सको थियो, तर उनले केही समय राष्ट्रिय टेलिभिजनको नेतृत्व पनि सम्हालेका थिए।"
लारीजानीले इरानको सत्ताका कोरिडोरहरूमा धेरै प्रभावशाली पदहरू ओगटेका थिए, जसमा सरकारी प्रसारक 'इरिब' (Irib) को प्रमुख, संसदको सभामुख र इरानको सर्वोच्च राष्ट्रिय सुरक्षा परिषदको प्रमुख जस्ता पदहरू सामेल छन्।
उनले सन् २००५ देखि २००७ को बीचमा सोही परिषदमा भूमिका निर्वाह गरेका थिए र गत वर्षको अगस्टमा पुनः नियुक्त भएका थिए।
इराकमा जन्मेका यी इरानी नागरिक सन् १९८० को दशकको इरान-इराक युद्धका आइआरजिसी दिग्गज समेत थिए, जहाँ उनी ब्रिगेडियर जनरलको पदसम्म पुगेका थिए।
लारीजानीका रुचिहरू विविध थिए: उनले दर्शनशास्त्रका कम्तीमा छ वटा पुस्तकहरू लेखेका थिए र उनी इम्यानुएल कान्टको विज्ञान र गणितसम्बन्धी दृष्टिकोणका विज्ञ थिए।
पारिवारिक सम्बन्ध
उनी सायद सधैं इरानको शक्ति संरचनाको माथिल्लो तहमा पुग्नै पर्ने गरी भाग्यमानी थिए।
स्लाभिन भन्छिन्, "लारीजानी एक प्रतिष्ठित धार्मिक परिवारबाट आएका थिए। उनका भाइ केही समय न्यायपालिकाको प्रमुख थिए र उनलाई अली खामेनीपछि सम्भावित सर्वोच्च नेताको रूपमा समेत हेरिएको थियो। उनका अन्य भाइहरूले पनि सरकारमा महत्त्वपूर्ण पदहरू सम्हालेका थिए।"
"यो एक अनौठो प्रकारको शासन व्यवस्था हो। यो वैचारिक त छ नै, तर यो धेरै हदसम्म पारिवारिक सम्बन्धमा आधारित छ।"
लारीजानी बहुआयामिक मात्र थिएनन्; उनी एक व्यवहारवादी नेता पनि थिए जसले स्वदेश र विदेश दुवैतिरका विभिन्न गुट र पात्रहरूसँग समन्वय गर्ने गर्दथे।
“उनी एक दुर्लभ व्यक्तित्व थिए जसमा अथाह राजनीतिक अनुभव र सुरक्षा क्षेत्रको दक्षता दुवै थियो, र उनले विभिन्न गुटहरूबीच सहमति निर्माण गर्न सक्थे। त्यसैले उनी संकटको घडीमा विशेष रूपमा मूल्यवान् सावित हुन्थे,” इरान र अमेरिकी विदेश नीति विज्ञ सिना तुसीले 'मिडिल इस्ट आइ' (एमईई MEE) लाई बताए।
“त्यस अर्थमा उनको क्षति अर्थपूर्ण छ। यसले एक यस्तो व्यवहारवादी भित्री पात्रलाई हटाएको छ, जसले रणनीतिलाई समन्वयात्मक नीतिमा रूपान्तरण गर्न मद्दत गर्न सक्थ्यो।”
'आफ्नो अनुकूलतामा उदारवादी'
विश्लेषक तथा पूर्व अमेरिकी अधिकारी एलेन आयरका अनुसार लारीजानी उदारवादी र कट्टरपन्थी दुवै हुन सक्थे।
“उनी चाहेको बेला उदारवादी बन्थे, र उपयुक्त लाग्दा कट्टरपन्थी,” उनले 'एमईई' लाई बताए। “अर्को शब्दमा भन्नुपर्दा, उनी व्यवहारवाद र अवसरवादको एक उच्च कार्यकुशल मिश्रण थिए।”
आयर अमेरिकी विदेश मन्त्रालयका पहिलो फारसी भाषाका प्रवक्ता र सन् २०१० को दशकमा अमेरिकी परमाणु वार्ता टोलीका प्रमुख सदस्य थिए।
त्यस समयमा, लारीजानी इरानको परमाणु कार्यक्रमका लागि मुख्य वार्ताकार थिए, जसले इरानमाथिको प्रतिबन्ध हटाउन कूटनीति र बाह्य पहुँचलाई प्राथमिकता दिन्थे।
“उनी यस्ता व्यक्ति थिए जससँग संयुक्त राज्य अमेरिकाले कुरा गर्न सक्थ्यो। विगतमा अमेरिकाले उनीसँग संवाद पनि गरेको थियो,” स्लाभिनले सन् २००६ को प्रसंग उल्लेख गर्दै भनिन्, जतिबेला लारीजानीले तत्कालीन अमेरिकी राष्ट्रिय सुरक्षा सल्लाहकार स्टेफन ह्याड्लीसँग सम्पर्क बढाएका थिए।
तर सहमति र समन्वयको राजनीतिको साथसाथै, उनी कडा र आक्रामक अभिव्यक्ति तथा कदम चाल्न पनि उत्तिकै सक्षम थिए।
अमेरिका र इजरायलले युद्ध भड्काएपछि, लारीजानीले तत्कालीन अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई चेतावनी दिँदै भनेका थिए, “कतै तिमीहरू नै लोप हुने त होइनौ, होस गर!” उनले स्ट्रेट अफ हर्मुज युद्ध पिपासुहरूका लागि “हार र पीडाको खाडल” बन्ने समेत बताएका थिए।
जब जनवरीमा सरकार विरोधी प्रदर्शनहरू सुरु भए, लारीजानीलाई प्रदर्शनकारीहरूमाथि गरिएको निर्मम दमनको योजनाकारको रूपमा हेरिएको थियो।
इस्लामिक गणतन्त्रको निरन्तरता
उनको बहुमुखी प्रतिभा र अनुभवको अभाव महसुस गरिए तापनि, लारीजानीको मृत्युले इस्लामिक गणतन्त्रको अस्तित्व नै समाप्त भने हुँदैन।
“यसले शासनको अस्तित्वलाई मौलिक रूपमा खतरामा पार्दैन। इस्लामिक गणतन्त्र एक बहु-तहगत र संस्थागत प्रणाली हो, जसलाई यस्ता प्रकारका क्षतिहरू सहन सक्ने गरी डिजाइन गरिएको छ,” तुसीले भने।
तुसीले हालका महिनाहरूमा लारीजानी इरानको वास्तविक नेता भएको भन्ने व्यापक धारणालाई अस्वीकार गरे।
उनले इरान त्यसरी सञ्चालन नहुने र निर्णय प्रक्रिया विभिन्न संस्थाहरूमा बाँडिएको बताए, जहाँ सर्वोच्च नेता शीर्ष स्थानमा रहन्छन् र राष्ट्रपति, आइआरजिसी तथा अन्य निकायहरूले मुख्य भूमिका खेल्छन्।
“लारीजानी प्रभावशाली थिए, तर उनी प्रणालीको मुख्य केन्द्र हुनुको सट्टा बृहत्तर प्रणालीभित्रका एक पात्र मात्र थिए,” तुसीले भने।
“इरान जस्तो प्रणालीमा 'शीर्ष नेतृत्व' लक्षित आक्रमणले विरलै निर्णायक राजनीतिक परिणाम दिन्छन्। यस्ता प्रहारले व्यक्तिहरूलाई, कहिलेकाहीँ महत्त्वपूर्ण व्यक्तिहरूलाई हटाउँछन्, तर आधारभूत संरचना र रणनीतिक तर्कलाई यथावत राख्छन्।”
लारीजानीका उप-सुरक्षा प्रमुख सइद जलिलीलाई उनको सम्भावित उत्तराधिकारीको रूपमा हेरिएको छ।
आयरका अनुसार यस्तो कदम “इरानी शासनको कट्टरपन्थीकरण को अर्को एउटा खुड्किलो” मात्र हुनेछ।
“हो, उनको स्थानमा आउने व्यक्ति कम सक्षम हुन सक्ने अर्थमा केही कमजोरी त देखिन सक्छ, तर यसको बढी महत्त्वपूर्ण परिणाम भनेको यो 'कट्टरपन्थीकरण' नै हो,” उनले भने।
खबरहरूका अनुसार, लारीजानी पूर्व सुधारवादी इरानी राष्ट्रपति हसन रुहानीसँग मिलेर मोज्तबा खामेनीलाई सर्वोच्च नेताको रूपमा निर्वाचित हुनबाट रोक्न र वैकल्पिक उम्मेदवार खोज्ने प्रयासमा थिए।
अन्ततः ती प्रयासहरू असफल भए र 'एसेम्बली अफ एक्सपर्ट्स' द्वारा अली खामेनीका छोरा छानिए। मोज्तबालाई एक कट्टरपन्थीका रूपमा हेरिन्छ, जसको नेतृत्वमा आइआरजिसीले अझ शक्तिशाली भूमिका खेल्न सक्छ।
आयरका अनुसाल सवाल लारीजानीको मृत्युपछि कुन व्यक्ति बढी महत्त्वपूर्ण हुन्छ भन्ने होइन, बरु कुन संस्था शक्तिशाली हुन्छ भन्ने हो।
“उनको मृत्युले इरान चलाउने दुई मुख्य संस्थाहरूको महत्त्व बढाउँछ: आइआरजिसी र बेत-ए-रहबारी (Bayt-e Rahbari),” उनले भने, पछिल्लो शब्दले सर्वोच्च नेताको कार्यालयलाई बुझाउँछ।
“इजरायलले कथित 'प्रमुख' नेताहरूलाई मार्न जारी राख्न सक्छ, तर तिनीहरूको ठाउँमा सम्भवतः कम उमेरका र अझ बढी कट्टरपन्थी उम्मेदवारहरू आउनेछन्।”
स्लाभिनले थपिन् कि इजरायली हत्याका प्रयासहरू कुनै कूटनीतिक निकास खोज्नुभन्दा पनि अराजकता सिर्जना गर्नतर्फ बढी केन्द्रित देखिएका छन्।
“के इजरायलले पश्चिमाहरूसँग वार्ता गर्न सक्ने इरानी शासनका हरेक सम्भावित सदस्यहरूलाई यसरी नै मारिरहने हो त?” उनले प्रश्न गरिन्।
तस्विर: https://news-pravda.com
क्युबाको राष्ट्रिय ऊर्जा सङ्कटबीच ट्रम्पद्वारा नियन्त्रण लिने चेतावनी
अमेरिकाको नग्न ताण्डवलाई कसरी बुझ्ने?
क्युबा जीवित रहनेछ: एक डायरी
क्युबाद्वारा अमेरिकासँग वार्ता सुरु भएको घोषणा
अटोपाइलटमा इरान: एक मृत कमाण्डरको जीवित आदेश
अमेरिका-इजरायलद्वारा इरानमाथि गरिएका आक्रमणले हर्मुज जलडमरू र तेल बजारमा नि…
आयतोल्लाह खामेनी: पश्चिमी प्रभुत्वविरुद्ध प्रतिरोधका प्रतीक
प्रतिक्रिया