म्युजिकल चेयरदेखि डिजिटल एल्गोरिदमसम्म: कसरी बदलिएनन् नेता, तर बदलिए मतदाता?
निर्वाचनको अप्रत्याशित परिणाम र स्थापित दलहरूको धक्का
फागुन २१ को बहुप्रतिक्षित आम निर्वाचन सम्पन्न भयो। निर्वाचनको परिणाम लगभग प्राप्त भइसकेको छ। राष्ट्रिय स्वतन्त्र पार्टीले लगभग दुई-तिहाइ बहुमत प्राप्त गरेको छ भने नेपाली कांग्रेस, एमाले र माओवादी जस्ता स्थापित पार्टीहरूलाई ठुलो नोक्सानी भएको छ। बरु धरानका पूर्व मेयर हर्क साम्पाङले केही महिना अगाडि खोलेको श्रम संस्कृति पार्टीले अभूतपूर्व प्रदर्शन गर्दै राष्ट्रिय मान्यता प्राप्त गर्न सफल भएको छ।
रास्वपाले हासिल गरेको उपलब्धि कुनै मामूली कुरा होइन। यसले नेपालको भविष्यमा दूरगामी प्रभाव पार्नेछ। यस बारेमा आगामी वर्षहरूमा समेत सोधखोज हुने नै छन्। यो लेखमा रास्वपाको जित र अन्य राजनीतिक पार्टीहरूको हारका कारणहरू खोतल्ने प्रयास गरिनेछ।
रास्वपाले पाएको यत्रो जनमत कुनै काकताली वा षड्यन्त्रले गर्दा भएको होइन।
राष्ट्रिय स्वतन्त्र पार्टीले फागुन २१ को चुनावमा लगभग दुई-तिहाइ बहुमत पाएको छ, जुन कुनै मामूली जित होइन। नेपालको राजनीतिमा एउटा पार्टीले यति ठूलो बहुमत ल्याउन सक्नु बिरलै घटना हो। सम्भवतः २०१५ सालमा बीपी कोइरालाको नेतृत्वमा रहेको नेपाली कांग्रेसले मात्र यो भन्दा बढी बहुमत प्राप्त गरेको थियो। रास्वपाले पाएको यत्रो जनमत कुनै काकताली वा षड्यन्त्रले गर्दा भएको होइन।
हुन त कुनै पनि घटनाको पछाडि रहेको वस्तुगत कारण खोज्नु भन्दा पनि षड्यन्त्रको सिद्धान्त (Conspiracy Theory) पछाडि दौडनु रमाइलो हुन्छ। भू-राजनीति, डिप स्टेट वा एल्गोरिदमले गर्दा यस्तो भएको हो भन्दा सजिलो हुन्छ। हाम्रो गाउँघरतिर पनि कोही मान्छे बिरामी भएर धामी-झाँक्री अथवा ज्योतिषीकहाँ जाने चलन हुन्छ। उनीहरूले जोखना हेरेर भन्ने गर्छन्– "वीर मसान लाग्यो, बोक्सी लाग्यो वा काँचो वायु लाग्यो" अथवा "राहु, कालसर्प दोष वा शनिको साढेसाती" आदि-इत्यादि! आफ्नो नियन्त्रण भन्दा बाहिरको अमूर्त वस्तुको कारणले गर्दा यस्तो भएको हो भनियो भने, त्यसको उपचार पनि त्यस्तै अमूर्त नै हुने गर्छ।
पुरानो नेतृत्वप्रति वितृष्णा र 'दृष्टि थकान' (Visual Fatigue)
रास्वपाको जितको कारण खोज्ने हो भने केही वर्षअघिको पृष्ठभूमि बुझ्नुपर्ने हुन्छ। नेपालका मूलधारका राजनीतिक दल र आम जनता, विशेष गरी युवा वर्गबीच ठूलो खाडल रहेको कुरा २०७९ सालको स्थानीय निर्वाचनले नै सङ्केत गरेको थियो। स्थानीय निर्वाचनमा देशका तीन प्रमुख स्थानीय तहहरू– काठमाडौँ, धरान र धनगढीमा स्वतन्त्र उम्मेदवारहरू निर्वाचित भएका थिए। यो निर्वाचनमा चर्चामा आएका दुई व्यक्तिहरुको नाम सम्झन लायकको थियो- बालेन शाह र हर्क साम्पाङ्ग।
आम मानिस र युवावर्ग ३०-३५ वर्षदेखि लगातार सत्तामा दोहोरिरहेका सीमित व्यक्तिहरूको अनुहार देख्दा-देख्दा वाक्क भइसकेका थिए। २०४८ सालदेखि शेरबहादुर देउवा, २०५१ सालदेखि केपी ओली र २०६५ सालदेखि प्रचण्डको शासन भोगिरहेका जनतामा एउटै अनुहार देखिरहँदा एक प्रकारको 'दृष्टि थकान' (Visual Fatigue) उत्पन्न भइसकेको थियो।
यो घटना अनायासै भएको थिएन। आम मानिस र युवावर्ग ३०-३५ वर्षदेखि लगातार सत्तामा दोहोरिरहेका सीमित व्यक्तिहरूको अनुहार देख्दा-देख्दा वाक्क भइसकेका थिए। २०४८ सालदेखि शेरबहादुर देउवा, २०५१ सालदेखि केपी ओली र २०६५ सालदेखि प्रचण्डको शासन भोगिरहेका जनतामा एउटै अनुहार देखिरहँदा एक प्रकारको 'दृष्टि थकान' (Visual Fatigue) उत्पन्न भइसकेको थियो।
यदि लामो समय सत्तामा रहेका यी नेताहरूले सिङ्गापुरका लि क्वान यु वा मलेसियाका डा. महाथिर मोहम्मदले जस्तै देश विकास गरेको भए, आम जनतामा उनीहरूप्रति सम्मान जाग्ने थियो होला। तर, नेपालमा त्यस्तो उल्लेखनीय विकास केही भएन, बरु जनताले सुशासनको समेत अनुभव गर्न पाएनन्। फलस्वरूप, आम नागरिकमा उनीहरूप्रति चरम निराशा र वितृष्णा पैदा भयो।
'नो नट अगेन' देखि 'जेन-जी' विद्रोहसम्मको यात्रा
यही प्रवृत्ति स्थानीय निर्वाचनपछिको आम निर्वाचनमा पनि दोहोरियो। २०७९ सालको आम निर्वाचनभन्दा ठिक अगाडि सामाजिक सञ्जालमा एउटा महत्वपूर्ण अभियान चलेको थियो– "नो नट अगेन" (No Not Again)। यो अभियान युवा मतदाताहरूमाझ पुराना पार्टी र वृद्ध नेताहरूविरुद्ध लक्षित थियो, जसले एउटा ठुलो तरङ्ग ल्यायो।
नयाँ पुस्ताको असन्तोषलाई नजरअन्दाज गर्दै केपी ओली, प्रचण्ड र शेरबहादुर देउवा सत्ताको 'म्युजिकल चेयर' मा केन्द्रित हुनु नै राजनीतिक सङ्कटको मुख्य कारण बन्यो।
२०७९ सालको सोही निर्वाचनमा चर्चित सञ्चारकर्मी रवि लामिछानेको नेतृत्वमा गठन भएको 'राष्ट्रिय स्वतन्त्र पार्टी' ले स्थापनाको केही महिनामै आश्चर्यजनक प्रदर्शन गर्दै देशको चौथो ठुलो दल बन्न सफल भयो। यसले नै नेपालको राजनीतिमा आउन लागेको ठुलो उलटफेरको स्पष्ट सङ्केत दिइसकेको थियो।
नयाँ पुस्ताको असन्तोषलाई नजरअन्दाज गर्दै केपी ओली, प्रचण्ड र शेरबहादुर देउवा सत्ताको 'म्युजिकल चेयर' मा केन्द्रित हुनु नै राजनीतिक सङ्कटको मुख्य कारण बन्यो। आफ्ना विरोधीप्रति अशिष्ट एवं अहंकारी बनेका तत्कालीन प्रधानमन्त्री ओलीको कार्यशैलीले जनआक्रोश बढायो। अर्कोतर्फ, देउवा पनि पुत्र र पत्नी मोहमा ग्रस्त धृतराष्ट्र जस्तै बनेर आफ्नी श्रीमती आरजु देउवाको 'कठपुतली' बनेको आरोप लाग्यो। न त गतिलो विपक्षी शक्ति, न सही मार्गनिर्देशन गर्न सक्ने सहयागी शक्ति, यस्तो अवस्थामा प्रधानमन्त्री ओलीको दम्भ उत्कर्षमा पुगेको थियो।
यसैबीच, ओली सरकारले सामाजिक सञ्जालमा लगाएको प्रतिबन्धलाई 'जेन-जी' (Gen Z) पुस्ताले आफ्नो स्वतन्त्रतामाथिको प्रहारका रूपमा लियो र सडकमा उत्रिने निर्णय गर्यो। भदौ २३ को प्रदर्शनलाई सरकारले निर्ममतापूर्वक दबाउन खोज्दा दर्जनौँ युवाको मृत्यु भएपछि भदौ २४ बाट देशव्यापी विद्रोह सुरु भयो। आक्रोशित जनताले सिंहदरबार र अदालत जस्ता सरकारी भवनहरूमा आगजनी गरेपछि अन्ततः प्रधानमन्त्री ओलीले राजीनामा दिएर सेनाको हेलिकोप्टरमार्फत सुरक्षित स्थानतर्फ जानुपर्यो।
ओली सरकार र त्यसको सहयात्री दल नेपाली कांग्रेसले फागुन २१ मा जुन पराजय व्यहोरेका छन्, त्यसको पछाडि भदौ २३ को नरसंहारको ठुलो भूमिका छ। आम जनताले उक्त घटनालाई बिर्सन सकेका थिएनन्, र अहिलेको चुनावी परिणामले 'जेन-जी' विद्रोहको वैधतालाई स्थापित गरिदिएको छ।
'जेन-जी' विद्रोहपछि सत्ताच्युत भए तापनि एमाले अध्यक्ष ओलीको प्रवृत्तिमा कुनै सुधार आएन। उनले त्यस विद्रोहका क्रममा भएको धनजनको क्षतिप्रति कुनै पश्चात्ताप व्यक्त गरेनन्। बरु, उनको पार्टीले चुनाव अभियानका क्रममा सो विद्रोहलाई लक्षित गर्दै— "पहिला संसद् जल्यो, अनि गोली चल्यो" भन्ने उत्तेजक नारा अगाडि सार्यो। ओली सरकार र त्यसको सहयात्री दल नेपाली कांग्रेसले फागुन २१ मा जुन पराजय व्यहोरेका छन्, त्यसको पछाडि भदौ २३ को नरसंहारको ठुलो भूमिका छ। आम जनताले उक्त घटनालाई बिर्सन सकेका थिएनन्, र अहिलेको चुनावी परिणामले 'जेन-जी' विद्रोहको वैधतालाई स्थापित गरिदिएको छ।
'ब्रान्ड बालेन' र चुनावी शैलीमा आएको नवीनता
यसपालिको चुनाव जुन स्वरूप र शैलीमा सम्पन्न भयो, त्यो पुराना दलहरूका लागि बिल्कुलै नौलो र अप्रत्याशित थियो। रास्वपाले यस निर्वाचनलाई संसदीय मात्र नभई अमेरिकी राष्ट्रपति पदको प्रत्यक्ष चुनावजस्तै बनाइदियो। रास्वपाले काठमाडौँ महानगरपालिकाका पूर्वमेयर बालेन शाहलाई प्रधानमन्त्रीको उम्मेदवारका रूपमा मैदानमा उतार्यो। यसले चुनावी अभियानमा रास्वपाको भूमिकाभन्दा 'ब्राण्ड बालेन' बढी महत्वपूर्ण बन्यो।

बालेनको रास्वपा प्रवेश 'गेम चेन्जर' निर्णय साबित भयो। यसको प्रभाव सबैभन्दा बढी मधेस प्रदेशमा देखियो। नेपालको इतिहासमा पहिलोपटक मधेसी मूलको व्यक्ति प्रधानमन्त्री बन्ने नाराले मधेसका हरेक नागरिकको मन र मस्तिष्कलाई तरङ्गित पार्न सफल भयो।
विद्रोहका क्रममा रवि लामिछाने जेलबाट शङ्कास्पद परिस्थितिमा बाहिर निस्किएपछि उनको र पार्टीको साख गिर्दै गएको थियो। तर, बालेनको रास्वपा प्रवेश 'गेम चेन्जर' निर्णय साबित भयो। यसको प्रभाव सबैभन्दा बढी मधेस प्रदेशमा देखियो। नेपालको इतिहासमा पहिलोपटक मधेसी मूलको व्यक्ति प्रधानमन्त्री बन्ने नाराले मधेसका हरेक नागरिकको मन र मस्तिष्कलाई तरङ्गित पार्न सफल भयो। फलस्वरूप, रास्वपाले मधेस प्रदेशमा अभूतपूर्व जनमत बटुल्न सफल भयो।
अहिलेसम्म नेपाली जनताले चुनावी प्रचारका क्रममा नेताहरूका पट्यारलाग्दा र लामा भाषण सुन्ने बानी परेका थिए, जसमा 'आकाशका जुन-तारा झारिदिने' आश्वासन बाँडिएको हुन्थ्यो। तर, यसपटक बालेनले कतै पनि लामो भाषण गरेनन्।
फेरl बालेन स्वयम्को प्रचार शैली पनि एकदमै पृथक् थियो। अहिलेसम्म नेपाली जनताले चुनावी प्रचारका क्रममा नेताहरूका पट्यारलाग्दा र लामा भाषण सुन्ने बानी परेका थिए, जसमा 'आकाशका जुन-तारा झारिदिने' आश्वासन बाँडिएको हुन्थ्यो। तर, यसपटक बालेनले कतै पनि लामो भाषण गरेनन्। उनले मात्र ४-५ मिनेटका संक्षिप्त मन्तव्यहरू दिए। भाषणका क्रममा समेत कुनै औपचारिक सम्बोधन नगरी सिधै "चिया खानुभयो?" जस्ता अनौपचारिक संवादको शैली अपनाए। यो शैलीलाई जनताले अत्यधिक रुचाएको पाइयो। बालेनको नवीन भाषा र भावभङ्गीले आम मनोविज्ञानलाई प्रत्यक्ष स्पर्श गर्यो।
डिजिटल प्रविधि, एल्गोरिदम र कम्युनिस्ट शक्तिको ऐतिहासिक पतन
यसपटकको चुनावमा अर्को एउटा निर्णायक तत्व सामाजिक सञ्जालको प्रयोग रह्यो। सामाजिक सञ्जालको उपयोगमा रास्वपा अन्य दलभन्दा अब्बल सावित भयो। हुन त यो प्रविधिको ढोका सबैका लागि खुला थियो, तर रास्वपा यस मामिलामा निकै अगाडि रह्यो। पुराना पार्टीहरूको शासकीय असक्षमता र भ्रष्टाचारका प्रसङ्गहरूलाई सामाजिक सञ्जालमा व्यापक रूपमा फैलाइयो। त्यस्तै, रास्वपाका बालेन लगायतका युवा नेताहरूको चुनावी र्याली, आकर्षक (Photogenic) अनुहार, र नाचगानसहितका छोटा भिडियो क्लिप्सहरू सामाजिक सञ्जालमा बाक्लो रूपमा प्रवाह गरियो।
यसपटकको चुनावमा अर्को एउटा निर्णायक तत्व सामाजिक सञ्जालको प्रयोग रह्यो। सामाजिक सञ्जालको उपयोगमा रास्वपा अन्य दलभन्दा अब्बल सावित भयो।
सामाजिक सञ्जालको एल्गोरिदमले प्रयोगकर्ताको रुचि अनुसारका सामग्री मात्र उनीहरूको 'न्यूज फिड' मा देखाउने गर्छ। यसले गर्दा एउटा 'फिल्टर बबल' (Filter Bubble) सिर्जना हुन्छ, जसले विपक्षीका सामग्रीलाई पूर्ण रूपमा ढाकिदिन्छ। यसकै माध्यमबाट मध्यम र निम्न-मध्यम वर्गीय तथा शिक्षित सहरी मतदातालाई रास्वपाले अत्यधिक प्रभाव पार्न सफल भयो। चुनावका क्रममा यो वर्गले रास्वपालाई नै बढी मतदान गरेको पाइयो। तर, एल्गोरिदममा भएको यो हेरफेर निःशुल्क भने थिएन। फेसबुक र एक्स (X) मा यी सामग्रीहरू प्रायोजित (Sponsored) रूपमा प्रसार गरिएका थिए, जसका लागि ठुलो मात्रामा वैदेशिक मुद्रा खर्च गरिएको थियो।
फागुन २१ को निर्वाचनको परिणाम एकदमै विष्मयकारी थियो। आफ्नो पक्षमा आएको यो विशाल जनादेश स्वयम् राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले अनुमान गरेभन्दा पनि ठुलो थियो। यसले नेपाली कांग्रेस र एमाले जस्ता स्थापित पार्टीहरूलाई हतप्रभ बनाएको छ। प्रत्यक्ष निर्वाचनतर्फ रास्वपाले १२५ सिट जित्दा नेपाली कांग्रेस जम्मा २५ सिटमा खुम्चिएको छ।

कम्युनिस्ट पार्टीहरूका लागि यो निर्वाचन एउटा ऐतिहासिक पराजय साबित भएको छ। आम जनतामा कम्युनिस्टहरूप्रति घट्दो जनमत र दक्षिणपन्थी शक्तिहरूको बढ्दो लोकप्रियताका कारण यो गिरावट तात्कालिक मात्र नभई दीर्घकालीन नै हो कि भन्ने आशङ्का उब्जिएको छ।
कम्युनिस्ट पार्टीहरूको हालत त झन् दयनीय देखिएको छ। एमालेले जम्मा ९ सिट जितेको छ भने नेकपा (माओवादी) ले ८ सिट मात्र। समानुपातिकतर्फ रास्वपाले करिब ४७ प्रतिशत, नेपाली कांग्रेसले १६ प्रतिशत र नेकपाले ६ प्रतिशत मत प्राप्त गरेका छन्। एमालेका केपी ओलीसहित सबै महत्वपूर्ण नेताहरू पराजित भए भने नेपाली कांग्रेसका सभापति गगन थापाले पनि हार व्यहोर्नुपर्यो। २०४७ सालपछिका आम निर्वाचनहरूमा पहिलो पटक कुनै पनि कम्युनिस्ट पार्टी प्रमुख प्रतिपक्षसमेत बन्न सकेन।
यस अर्थमा, कम्युनिस्ट पार्टीहरूका लागि यो निर्वाचन एउटा ऐतिहासिक पराजय साबित भएको छ। आम जनतामा कम्युनिस्टहरूप्रति घट्दो जनमत र दक्षिणपन्थी शक्तिहरूको बढ्दो लोकप्रियताका कारण यो गिरावट तात्कालिक मात्र नभई दीर्घकालीन नै हो कि भन्ने आशङ्का उब्जिएको छ। संसद्मा कम्युनिस्टहरूको अत्यधिक बहुमत हुँदा समेत समाजवादका आधारभूत पक्षहरू जस्तै– सार्वजनिक शिक्षा, स्वास्थ्य र यातायातमा कुनै उल्लेखनीय सुधार भएन। केवल लफ्फाजीमा सीमित आदर्श र सत्ताका लागि जे पनि गर्ने चरित्रका कारण नेपाली कम्युनिस्टहरू आम जनताको नजरमा क्रमशः गिर्दै गइरहेका थिए।
यो चुनावले त्यो पतनको प्रक्रियालाई थप गति दिएको छ। कम्युनिस्ट पार्टीको नाम र झण्डा प्रयोग गर्ने तर व्यवहारमा 'दलाल पुँजीपति' भन्दा फरक नदेखिने प्रवृत्तिप्रति नेपाली जनतामा पूर्ण रूपमा मोहभङ्ग भएको सङ्केत यो निर्वाचनले दिएको छ। कतिपय विश्लेषकहरूले यसलाई भारतको पश्चिम बङ्गालमा कम्युनिस्टहरूको पतन भएजस्तै पुनरावृत्तिका रूपमा समेत हेर्न थालेका छन्।
फागुन २१ मा भएको चुनाव धेरै हदसम्म विष्मयकारी छ। यसले विस्तृत विश्लेषणको माग गर्दछ। अहिले केवल यति मात्र भन्न सकिन्छ कि यो केवल एउटा पार्टीको जित र अर्कोको हार मात्र होइन, बरु नेपाली राजनीतिको एउटा कालखण्डको अन्त्य र नयाँ युगको सुरुवात पनि हो। वर्षौँदेखि जरा गाडेर बसेका स्थापित दलहरूका लागि यो निर्वाचन 'अन्तिम चेतावनी' सावित भएको छ भने नयाँ शक्तिहरूका लागि यो जनअपेक्षाको गह्रौँ भारी पनि हो। अमूर्त षड्यन्त्रका सिद्धान्तहरूमा अल्झिनुभन्दा वस्तुगत धरातलमा उभिएर हेर्ने हो भने, यो परिणाम सुशासनप्रतिको तीव्र भोक र पुराना अनुहारप्रतिको चरम वितृष्णाको उपज हो। मधेसदेखि पहाडसम्म बालेन र रास्वपाको पक्षमा देखिएको यो लहरले नेपाली जनता अब विचार र सिद्धान्तको लफ्फाजीमा मात्र अल्झिन तयार छैनन् भन्ने प्रष्ट पारेको छ।
के युद्ध अन्य माध्यमबाट राजनीतिको निरन्तरता हो?
हावर्ड जिन र ट्रम्प युगमा शक्ति राजनीतिको पुनरागमन
फागुन २१ को चुनावमा मत कसलाई हाल्ने ?
राजनीतिक विचारधाराको द्विध्रुवीय विमर्श: वामपन्थ र दक्षिणपन्थ
बंगलादेश होस् वा नेपाल: सामुन्ने त्यही प्रश्न
निर्वाचनमा आधुनिक डिजिटल पूँजीवाद र यसको प्रभाव
जेम्स पेट्रासको अन्त्य: एक बौद्धिक मौनता
प्रतिक्रिया