विश्व युद्धको सँघारमा इरान र हाम्रो हराएको स्वाभिमान
मलाई केही भन्नु छ। म आफ्नी आमाकी छोरी हुँ, त्यसैले पनि आफ्ना काँधहरू सिधा पारेर म यो कुरा राख्न चाहन्छु। यो एउटा यस्तो युद्धको बारेमा सानो वक्तव्य हो, जसले अब सारा विश्वलाई नै निल्नेवाला छ। मलाई थाहा छ, हामी यहाँ 'मदर मेरी' को आगमनका बारेमा चर्चा गर्न भेला भएका छौँ। तर अहिले आगोको लप्का दन्किरहेका ती सुन्दर सहरहरू तेहरान, इस्फाहान र बेरुतहरूका बारेमा कुरा नगरी यो दिनको अन्त्य कसरी हुन सक्छ र?
मदर मेरीको त्यो स्पष्टवादिता र 'अशिष्ट' स्वभावलाई आत्मसात् गर्दै, म यो मञ्चको प्रयोग संयुक्त राज्य अमेरिका र इजरायलले इरानमाथि गरेको उक्साहटविहीन र अवैध आक्रमणको विरुद्धमा केही भन्नका लागि गर्न चाहन्छु। यो वास्तवमा गाजामा चलिरहेको अमेरिकी-इजरायली नरसंहारकै निरन्तरता हो। त्यही पुरानो नरसंहार र त्यही पुरानो दाउपेच– महिला र बालबालिकाको हत्या गर्ने, अस्पतालहरूमा बम बर्साउने, सहरहरूलाई ध्वस्त पार्ने र अन्त्यमा आफैँ पीडित भएको स्वाङ पार्ने। तर इरान गाजा होइन। यो नयाँ युद्धको रंगमञ्चले सारा विश्वलाई नै आफ्नो चपेटामा पार्न सक्छ। हामी अहिले आणविक विपत्ति र आर्थिक पतनको संघारमा उभिएका छौँ। जसले हिरोशिमा र नागासाकीमा बम खसाल्यो, त्यही देश आज विश्वकै सबैभन्दा प्राचीन सभ्यताहरूमध्ये एकलाई ध्वस्त पार्न तम्तयार देखिन्छ। यस विषयमा विस्तारमा कुरा गर्ने अन्य अवसरहरू आउलान्, तर अहिलेलाई म यति मात्र भन्छु कि म नि:सन्देह इरानको पक्षमा उभिएको छु।
कुनै पनि सत्ता परिवर्तन हुनुपर्छ भने– चाहे त्यो अमेरिका होस्, इजरायल होस् वा हाम्रो आफ्नै देश– त्यो त्यहाँका जनताद्वारा हुनुपर्छ। सारा संसारलाई धम्क्याएर आफ्नो मुनि राख्न खोजिरहेका कुनै फुर्किएका, झुट बोल्ने, ठगी गर्ने, लोभी, प्राकृतिक स्रोत लुट्ने र बम बर्साउने साम्राज्यवादी शक्ति र तिनका मतियारहरूद्वारा होइन। भारत डराइरहेका बेला इरानले उनीहरूको डटेर सामना गरिरहेको छ। हाम्रो सरकार यति कातर र मेरुदण्डविहीन भएको देख्दा मलाई लाज लाग्छ। धेरै पहिले, हामी गरिब जनता बस्ने एउटा गरिब देश थियौँ, तर हामीसँग आत्मसम्मान थियो, मर्यादा थियो। आज हामी एउटा धनी देश त भयौँ, तर यहाँका गरिब र बेरोजगार जनतालाई वास्तविक खानाको सट्टा घृणा, विष र झुटको खुराक खुवाइँदै छ। हामीले आफ्नो गर्व र मर्यादा गुमाएका छौँ। चलचित्रका पर्दामा बाहेक हामीले आफ्नो साहस पनि गुमाइसकेका छौँ।
हामी कस्ता मानिस हौँ, जसले चुनेको सरकारले अर्को देशको राष्ट्रप्रमुखलाई अपहरण र हत्या गर्दा अमेरिकाको निन्दासम्म गर्न सक्दैन? के हामीलाई आफूमाथि यस्तो भएको स्वीकार्य हुन्थ्यो? हाम्रा प्रधानमन्त्री इजरायल भ्रमणमा गएर बेन्जामिन नेतन्याहुलाई अङ्कमाल गर्छन्, र त्यसको केही दिनमै नेतन्याहुले इरानमाथि आक्रमण गर्छन्। यसको अर्थ के हो? अमेरिकी सर्वोच्च अदालतले ट्रम्पको भन्सार शुल्कलाई अवैध घोषणा गर्नुभन्दा केही दिनअघि मात्रै हाम्रो सरकारले अमेरिकासँग एउटा लम्पसारवादी व्यापार सम्झौता गर्छ, जसले हाम्रा किसान र कपडा उद्योगलाई बीचधारमै अलपत्र पारिदिन्छ। अहिले हामीलाई रुसबाट तेल किन्न 'अनुमति' दिइएको छ रे! यसको अर्थ के हो? अब हामीलाई अरू के के का लागि अनुमति चाहिन्छ? शौचालय जान, कामबाट एक दिन बिदा लिन वा आफ्नी आमालाई भेट्न जान पनि? डोनाल्ड ट्रम्पलगायत अमेरिकी राजनीतिज्ञहरूले हरेक दिन सार्वजनिक रूपमा हाम्रो खिल्ली उडाउँछन्, अपमान गर्छन्; तर हाम्रा प्रधानमन्त्री भने आफ्नो त्यही प्रसिद्ध र अर्थहीन हाँसो हाँस्दै उनीहरूलाई अङ्कमाल गरिरहन्छन्।
गाजामा नरसंहार चरम उत्कर्षमा पुगेका बेला भारत सरकारले हजारौँ गरिब भारतीय कामदारहरूलाई इजरायल पठायो, ताकि त्यहाँबाट निकालिएका प्यालेस्टिनी कामदारहरूको ठाउँ ओगट्न सकियोस्। आज इजरायलीहरू बंकरमा शरण लिइरहँदा ती भारतीय कामदारहरूलाई भने ती सुरक्षित ठाउँहरूमा पस्न अनुमति दिइएको छैन भन्ने सुनिँदै छ। आखिर यो सब के भइरहेको छ? हामीलाई विश्वको यो अत्यन्तै अपमानजनक, निर्लज्ज र घिनलाग्दो अवस्थामा कसले पुर्यायो? कतिपयलाई याद होला, हामी पहिले त्यो अतिरञ्जित चिनियाँ कम्युनिष्ट शब्द 'साम्राज्यवादको पाल्तु कुकुर' (running dog of imperialism) भन्दै ठट्टा गर्थ्यौँ। तर अहिले म भन्छु, यो शब्दले हाम्रो अवस्थाको ठ्याक्कै चित्रण गर्छ– हाम्रा ती विकृत र विषालु चलचित्रहरूमा बाहेक, जहाँ हाम्रा नायकहरू एउटा काल्पनिक युद्धपछि अर्को युद्ध जित्दै हिँड्छन्। बुद्धि नभएका, केवल मांसपेसी मात्र भएका ती पात्रहरूले अनावश्यक हिंसा र 'गोबर' भरिएको दिमाग प्रदर्शन गर्दै हाम्रो रगतको तिर्खालाई अझ बढावा दिइरहेका छन्।
तिम्रो पुरै जीवन खेर 'गो !
अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस र श्रमिक महिलाका सवाल
रास्वपाको अग्रतासँगै ऊसामु तेर्सिएका केही सवालहरु
अली खामेनीको सहादत: शिया इतिहासको आत्मबलिदानको शृङ्खलामा थपिएको अर्को एउटा …
इरान: हत्या गरेर पनि नमर्ने, दबाबमा पनि न ढल्ने राष्ट्र
लुकिङ ग्लास र नेपाली राजनीति: देखिएभन्दा नजिकैको जोखिम
नोम चोम्स्की, जेफ्री एप्स्टीन र विश्वासघातको राजनीति
प्रतिक्रिया