अली खामेनीको सहादत: शिया इतिहासको आत्मबलिदानको शृङ्खलामा थपिएको अर्को एउटा अध्याय

शिया इस्लाममा बाह्र इमामहरूको मान्यता रहेको छ, जसमा हजरत अली प्रथम इमाम थिए। उनका सुपुत्रहरू हजरत हसन र हजरत हुसेन क्रमशः दोस्रो र तेस्रो इमाम बने। बाह्रौँ इमाम हजरत महदी 'पोशिदा' अर्थात् अदृश्य मानिन्छन्, जो हाल भौतिक स्वरूपमा उपस्थित छैनन्। उनको अनुपस्थितिमा शिया समुदायको वैधानिक नेतृत्व कसले गर्ने भन्ने प्रश्न उठ्छ। यो गम्भीर जिम्मेवारी 'मरजअ' को काँधमा हुन्छ, जो इस्लामिक कानुन (फिक्ह) का प्रकाण्ड विद्वान मानिन्छन्।

यसै पृष्ठभूमिमा यो बुझ्नु आवश्यक छ कि इरानका सर्वोच्च नेताहरू आयतोल्लाह खुमैनी र अली खामेनीदुवै राष्ट्रप्रमुख हुनुका साथै 'मरजअ' पनि थिए। आयतोल्लाह खुमैनीले 'विलायते-फकिह' को अवधारणा अघि सारेका थिए, जसअनुसार बाह्रौँ इमामको अनुपस्थितिमा फिक्हका विद्वान र मरजअ भएकाले उनले नै बार्हौ शिया सम्प्रदायको नेतृत्व गर्नेछन्। यस अर्थमा, इरानका सर्वोच्च नेता केवल एउटा देशका शासक मात्र नभई विश्वभरका शियाहरूका साझा नेता र इमामका वैधानिक प्रतिनिधि हुन्। मैले शियाहरूका 'मजलिस' (धार्मिक सभा) हरूमा खुमैनी र खामेनीका तस्बिरहरू श्रद्धापूर्वक भित्तामा सजाइएको देखेको छु।

साम्राज्यवादी अमेरिका र जायोनिस्ट इजरायली फौजद्वारा अली खामेनीको हत्या भएपछि भारतको जम्मू-कश्मीर र लखनऊका सडकहरूमा शिया समुदायले जसरी शोक मनाए, त्यसलाई यही परिप्रेक्ष्यमा बुझ्न जरुरी छ। उनीहरूलाई देशद्रोही वा अराष्ट्रवादीको बिल्ला भिराउनु सर्वथा गलत हुनेछ। त्यसमाथि, इरान सरकारसँग भारतको कुनै शत्रुता पनि थिएन; बरु विगतमा हामीले चाबाहार बन्दरगाह जस्ता महत्त्वपूर्ण सम्झौताहरू गरेका थियौँ। भारतीय प्रधानमन्त्रीले इजरायली नेतासँग भेट गरेको कुरालाई विशेष रूपमा हेरिनुहुन्न, किनकि उनले चीन र रुसका नेताहरूसँग पनि उस्तै उत्साहका साथ भेट्ने गर्छन् । तर शियाहरूका लागि यो अपूरणीय क्षति र शोकको घडी हो। लाग्छ, शोक त यो समुदायको भाग्यमै लेखिएको छ। उनीहरूका लागि 'सफ्फिनको युद्ध' कहिल्यै समाप्त हुँदैन र 'कर्बला' निरन्तर चलिरहन्छ। हजरत अली र उनका दुवै छोराहरू सहिद भए झैँ, अली खामेनीको यो सहादत शिया इतिहासको आत्मबलिदानको शृङ्खलामा थपिएको अर्को एउटा अध्याय हो।

यसलाई 'सहादत' बाहेक अरू के नै भन्न सकिन्छ र? इरानका नेताहरूले चाहेको भए अमेरिकी आधिपत्य स्वीकार्न सक्थे, तेलको व्यापार गर्न सक्थे र अन्य अरब सुन्नी राष्ट्रहरूले झैँ रणनीतिक साझेदार बन्न सक्थे। जहाँ एकातिर साउदी अरबका जिम्मेवार व्यक्तिहरूले जेफ्री एप्स्टिन जस्ता नरपिशाचलाई पवित्र काबाको 'किस्वा' (पवित्र कपडा) उपहार दिइरहेका थिए (जसलाई उसले भुइँको सामान्य गलैँचा झैँ प्रयोग गर्‍यो) त्यहीँ अर्कातिर इरान र उसका नेताहरूले अमेरिका-इजरायल गठबन्धनको खुल्ला चुनौती दिए। इतिहास पल्टाएर हेर्ने हो भने, अमेरिकाले विश्वका कैयौँ देशमा सत्ता-परिवर्तन गराएको छ, त्यहाँका नेताहरूलाई बेपत्ता पारेको वा हत्या गराएको छ, र विद्रोहको आगो सल्काएको छ। भारतमा समेत जब इन्दिरा गान्धीले विद्रोहका पछाडि 'विदेशी हात' रहेको चर्चा गर्थिन्, उनको इसारा अमेरिकातिरै हुने गर्थ्यो।

अमेरिकी यो सैतानी पुँजीवादी सत्ताले विश्वको हरेक कुनामा आफ्ना हातहतियार र गोलाबारुद बेच्छ, सबैलाई एकापसमा लडाउँछ, सबैको रगत चुस्छ र सबैमाथि दादागिरी गर्छ। अली खामेनीलाई अमेरिकासँग पौंठेजोरी खेल्नुको परिणाम के हुन्छ भन्ने राम्ररी थाहा थियो, तैपनि उनी निडर र अडिग रहे। आखिर, कुर्बानी त शियाहरूको रगतमै बगेको हुन्छ। एउटा प्रसिद्ध भनाइ नै छ नि– "हरेक कर्बलापछि नै इस्लाम जीवित हुन्छ..."

जे होस्, म यस बुँदामा विशेष जोड दिन चाहन्छु कि सैतानी शक्तिहरूसँग लड्नका लागि कतिपय अवस्थामा उस्तै कठोर र 'सैतानी' रणनीतिहरू नै अख्तियार गर्नुपर्ने हुन्छ, जुन अली खामेनीले हिजबुल्लाह, हुथी र हमासको सञ्जाललाई सुदृढ बनाएर गरे। म यी संगठनहरूको समर्थन त गर्दिनँ, तर यो युद्ध उनीहरूमाथि अमेरिकी र जायोनिस्टहरूले जबर्जस्ती थोपरेका हुन् भन्ने यथार्थबाट पनि मुख मोड्न सकिँदैन। के इरानी जनता पुनः शाहको शासन चाहन्छन्? के उनीहरू सन् १९७९ मा स्थापित इस्लामिक गणतन्त्रसँग खुसी थिएनन्? यी उनीहरूका आन्तरिक प्रश्नहरू हुन्। त्यहाँका जनता यस शासनविरुद्ध लगातार आन्दोलन र प्रदर्शन गरिरहेका थिए, किनकि त्यहाँ महिलाका अधिकारहरू कुल्चिएका थिए र लोकतन्त्र नाममात्रको थियो। ईश्वरीय शासन (थियोक्रेसी) मा सत्ता धर्मगुरुहरूको हातमा थियो। सुनिँदै छ, अली खामेनीको हत्यापछि इरानमा केही मानिसहरू उत्सव मनाइरहेका छन् भने केही शोकमा डुबेका छन्। यद्यपि, यो पनि उनीहरूको आन्तरिक मामिला नै हो।

तर, अमेरिकालाई नैतिकताको एकमात्र स्वघोषित मसिहा र पहरेदार बनेर कुनै पनि अर्को देशमा घुस्ने, त्यहाँका नेताको हत्या गर्ने, उनीहरूलाई बेपत्ता पार्ने वा सत्ता पल्टाउने कुनै अधिकार छैन। खासगरी तब, जब उनी स्वयं आफ्नै आन्तरिक मोर्चामा अनेकौँ प्रश्नहरूको घेरामा छन्। शीतयुद्धका दिनहरूमा सोभियत संघले अमेरिकाको अगाडि शक्तिको सन्तुलन कायम गर्थ्यो। आज त्यो भूमिकामा चीन र रुसको धुरी छ। मध्यपूर्वमा इरान थियो, जसको एउटा बलियो स्तम्भ आज ढलेको छ। चीन, रुस वा इरान आफैँमा 'पवित्रताका प्रतिमूर्ति' त होइनन्, तर विश्वमा शक्तिको सन्तुलन कायम रहनु अपरिहार्य छ। आगोलाई पानीको र पानीलाई आगोको डर भइरहनुपर्छ। यदि हरेक देशका नेता डरपोक, दब्बू र केवल  बिचौलिया मात्रै हुने हो भने यो संसार कसरी चल्छ?

एउटा कट्टर नास्तिक भएको नाताले म अली खामेनीको 'थियोक्रेसी' (धर्मतन्त्र) सँग सहमत नहुन सक्छु, तर उनी जसरी आफ्ना सिद्धान्तहरूमा अडिग रहे, अमेरिकासँग कुनै सौदाबाजी गरेनन्, झुकेनन, शिर उच्च राखे र आफ्नो देशलाई पुँजीपतिहरूको हातमा सुम्पिएनन्– उनको व्यक्तित्वको त्यो ओज र गरिमाको म सम्मान गर्दछु। संसारमा शान्ति कायम रहोस्, आजको दिनमा योभन्दा ठूलो प्रार्थना म अरू के नै गर्न सक्छु र? यद्यपि मलाई राम्ररी थाहा छ– मैले प्रार्थना गरेँ भने पनि कोसँग गर्ने?

लेखकको फेसबुक वालबाट साभार अनुदित ।