राष्ट्रिय स्वतन्त्र पार्टीको 'वाचा पत्र'

आसन्न निर्वाचनमा मुलधारमा भनिएका राजनीतिक पार्टीहरुलाई कडा टक्कर दिँदै अघि बढेको देखिएको राष्ट्रिय स्वतन्त्र पार्टीले आफ्नो वाचापत्र जारी गरेको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीको वाचापत्रमा उल्लेख गरिएका मुख्य बुँदाहरू यस प्रकार छन्:

सामाजिक न्याय र समावेशीकरण: विगतमा दलित तथा पिछडिएका समुदायमाथि भएका जातीय विभेद, अन्याय र बहिष्करणका लागि राज्यको तर्फबाट औपचारिक रूपमा क्षमायाचना गर्ने र ठोस कानुनी तथा संस्थागत सुधार गर्ने।

•सुशासन र भ्रष्टाचार नियन्त्रण: वि.सं. २०४६ सालदेखि महत्वपूर्ण सार्वजनिक पदमा आसिन व्यक्तिहरूको सम्पत्ति पारदर्शी र कानुनी प्रक्रियाअनुसार छानबिन गर्ने। कर्मचारीतन्त्रलाई दलीय राजनीतिबाट मुक्त गर्न सरकारी सेवामा रहेका ट्रेड युनियनहरू खारेज गर्ने।

• डिजिटल सुशासन: 'डिजिटल सर्भिस डेलिभरी' मार्फत सरकारी सेवालाई झन्झटमुक्त र पारदर्शी बनाउने । सरकारी निर्णय प्रक्रियालाई छिटो बनाउन परम्परागत 'टिप्पणी' प्रथाको अन्त्य गर्ने।

• न्यायिक सुधार: उच्च अदालत र सर्वोच्च अदालतका न्यायाधीश नियुक्ति प्रक्रियामा हुने दलीय प्रभाव र भागबन्डाको अन्त्य गर्ने। न्यायिक पारदर्शिताका लागि अदालती सुनुवाइको प्रत्यक्ष प्रसारण गर्ने विकल्पको अध्ययन गर्ने।

• आर्थिक विकास र रोजगारी: कार्टेल, अस्वस्थ प्रतिस्पर्धा र नीतिगत दोहनको अन्त्य गर्ने । आगामी ५ वर्षमा औसत आर्थिक वृद्धि दर वार्षिक ७ प्रतिशत पुऱ्याउने र ५ लाख प्रत्यक्ष रोजगारी सिर्जना गर्ने लक्ष्य राख्ने ।

• सूचना प्रविधि (IT) र डिजिटल अर्थतन्त्र: सूचना प्रविधिलाई 'राष्ट्रिय रणनीतिक उद्योग' घोषणा गर्ने र नेपाललाई 'ग्लोबल टेक हब' का रूपमा विकास गर्ने ।

• शिक्षा र स्वास्थ्य: विश्वविद्यालय र विद्यालयहरूलाई दलीय राजनीतिक गतिविधिबाट पूर्णतः मुक्त गर्ने। प्रत्येक नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवा पुऱ्याउन स्वास्थ्य बीमा कार्यक्रमलाई सुदृढ गर्ने र क्यान्सर जस्ता नसर्ने रोगहरूको उपचारका लागि विशेष रणनीति बनाउने।

• ऊर्जा र पर्यटन: आगामी दशकमा ३०,००० मेगावाट विद्युत उत्पादन गर्ने लक्ष्य लिने । नेपाललाई विश्वकै प्रमुख पर्वतारोहण प्रशिक्षण केन्द्रको रूपमा विकास गर्ने र पर्यटनका नयाँ गन्तव्यहरू पहिचान गर्ने।

• परराष्ट्र नीति र डायस्पोरा: नेपालको भू-राजनीतिक अवस्थालाई मध्यनजर गर्दै 'सन्तुलित र गतिशील कूटनीति' अवलम्बन गर्ने। गैर-आवासीय नेपालीहरूको सीप, ज्ञान र पूँजीलाई देशको आर्थिक रूपान्तरणमा जोड्ने।