१५ डलरको त्यो 'सानो' लगानी: जसले एउटा बालकलाई विश्वकै 'न्यायको योद्धा' बनायो
सन् १९८२ को कुरा हो। केन्याको एउटा दुर्गम गाउँ 'मिटुबिरी' को माटोको झोपडीमा एक बालक लालटिनको मधुरो प्रकाशमा किताबका पाना पल्टाइरहेका थिए। उनको नाम थियो— क्रिस म्बुरु।
क्रिस आफ्नो जिल्लाकै सबैभन्दा जेहेन्दार विद्यार्थी थिए, तर उनको भविष्य भने अन्यौलग्रस्त थियो । परिवारसँग स्कुलको शुल्क तिर्ने पैसा थिएन। पैसाको अभावमा आफ्नो अगाडिको पढाइ छुट्ने र अफ्रिकाको चर्को घाममा कफीका दाना टिप्दै आफ्नो जीवन समाप्त हुने डरले उनलाई पिरोलिरहन्थ्यो। तर, सुखद कुरा, उनले त्यो स्थितिको सामना गर्नु परेन । सात समुद्र पार स्विडेनमा बस्ने एक अपरिचित महिलाले लिएको एउटा सानो निर्णयले क्रिसको मात्र होइन, हजारौँ केन्याली बालबालिकाको भाग्य बदल्दै थियो।
एउटा अपरिचित 'उद्धारक' को प्रवेश
स्विडेनकी अवकाशप्राप्त किन्डरगार्टन शिक्षिका हिल्डे ब्याकले एक दिन एउटा विज्ञापन देखिन्— 'एउटा बच्चाको शिक्षा प्रायोजन गर्नुहोस्'। त्यसले उनलाई प्रभावित तुल्यायो । उनी त्यसका लागि तयार भइन् । उनले सूचीबाट एउटा नाम छानिन्— 'क्रिस म्बुरु, केन्या'।
हिल्डेले हरेक महिना क्रिस म्बुरुको शिक्षाको लागि १५ डलर पठाउन थालिन्। रमाइलो कुरा त के थियो भने, हिल्डले न त कहिल्यै क्रिसलाई देखेकी वा भेटेकी थिइन्, न त आफूले गरेको कर्मवापत कुनै धन्यवाद वा पुरस्कारको अपेक्षा नै राखेकी थिइन्। उनले आफ्नो गच्छेअनुसार दुरदराजक एक बालकको शिक्षाको लागि सानो सहयोग मात्र गरेकी थिइन् । उनले मासिक रुपमा प्रदान गरेको १५ डलर वास्तवमा स्विडेनमा एक छाक खानाको मूल्य बराबर मात्रै थियो । तर उनले गरेको त्यही सानो सहयोग केन्यामा क्रिसका लागि संसार जित्ने अवसर बन्यो।
कफीको बगानदेखि हार्वर्डको हलसम्म
हिल्डेले मासिक रुपमा उपलब्ध गराएको त्यही १५ डलरको सहयोगका कारण क्रिसले पढाइ अधूरो छाड्नु परेन। उनले पढाइलाई निरन्तरता दिन सके । कालान्तरमा उनले नैरोबी विश्वविद्यालयबाट कानुनमा स्नातक गरे । पछि विश्वकै प्रतिष्ठित हार्वर्ड विश्वविद्यालयबाट 'फुलब्राइट स्कलर' का रूपमा मास्टर्स पूरा गरे।
समय बदलियो। हिल्डेले सहयोग उपलब्ध नगराएको हुन्थ्यो भने क्रिसको भविष्य के हुन्थ्यो? अनुमान मात्रै गर्न सकिन्छ । सम्भवत: कफीको बगानमा कफी टिप्ने नियति बोकेको त्यो केटो अब हिल्डेको परोपकारी कर्मका बलमामा संयुक्त राष्ट्र संघ (UN) को एक वरिष्ठ मानवाधिकार अधिकारी बनिसकेको थियो। उनले रुवान्डाको नरसंहार जस्ता ठूला अपराधहरू विरुद्ध न्यायको वकालत गर्न थाले। तर, उनको मनमा एउटा प्रश्न सधैँ खेलिरहन्थ्यो— "को हुन् ती हिल्डे ब्याक, जसले मलाई नचिनेरै विश्वास एवं पढाइमा निरन्तर सहयोग गरिन्?"
भेट र एउटा लुकेको कारुणिक रहस्य
सन् २००१ मा क्रिसले आफ्नी 'उद्धारक' लाई भेट्ने अठोट गरे। उनले स्विडेनका राजदूतको सहयोगमा हिल्डेलाई खोजे। जब उनी स्विडेन पुगे, उनले कुनै धनी दानी महिलासँग भेट हुने अपेक्षा गरेका थिए। तर उनको त्यो अपेक्षाले हावा खायो । उनको सोचाइ विपरीत हिल्डे एक साधारण अपार्टमेन्टमा बस्ने, अत्यन्तै विनम्र र सादगीपूर्ण जीवनयापन गरिरहेकी वृद्धा थिइन्।
त्यही भेटको क्रममा एउटा यस्तो तथ्य बाहिर आयो, जसले क्रिसको आँखा रसायो। हिल्डे ब्याक आफैँ 'होलोकास्ट' (नाजी नरसंहार) बाट बचेकी एक यहूदी थिइन्। सन् १९३९ मा जर्मनीमा हिटलरले यहूदी बालबालिकालाई स्कुल जान प्रतिबन्ध लगाएपछि, अपरिचित मानिसहरूकै सहयोगमा हिल्डे स्विडेन भाग्न सफल भएकी थिइन्। उनका आमा-बुबालाई भने नाजीहरूले कन्सेन्ट्रेशन क्याम्पमा मारेका थिए।
जुन पीडा र घृणाले हिल्डेको परिवार र शिक्षा खोसेको थियो, ५० वर्षपछि उनले पठाएको त्यही १५ डलरले तयार गरेको 'वकिल' आज संसारभर त्यस्तै पीडा र नरसंहार विरुद्ध लडिरहेको थियो। कस्तो अनौठो संयोग, नाजीवादले रोपेको पीडा र घृणाको शिकार बनेकी हिल्डेको सहयोगमा सुन्दर भविष्यको नक्शा कोरेका क्रिस हिल्डेजस्तै पीडा र घृणाको शिकार बनेकाहरुको पक्षमा लड्ने योद्धाको रुपमा स्थापित हुँदै थिए ।
'हिल्डे ब्याक एजुकेशन फन्ड' को जन्म
क्रिसले आफ्नी संरक्षकको सम्मानमा केन्यामा 'हिल्डे ब्याक एजुकेशन फन्ड' (HBEF) स्थापना गरे। सन् २००३ मा हिल्डे आफैँ केन्या पुगिन्। एउटा पूरै गाउँ उनलाई स्वागत गर्न ओर्लियो। उनी अचम्मित थिइन् कि उनको एउटा सानो सहयोगले यति ठूलो परिवर्तन ल्याएको थियो। उनले त्यहाँ भेला भएका गाउँले तथा विद्यार्थीहरूलाई भनिन्, "मैले धेरै ठूलो काम गरेको होइन, मैले त केवल आफ्नो कर्तव्य पूरा गरेको हुँ।"
वृत्तचित्र 'A Small Act' को विश्वव्यापी प्रभाव
यस प्रेरक कथामा सन् २०१० मा 'A Small Act' नामक वृत्तचित्र बन्यो । त्यसलाई जेनिफर अर्नोल्डले निर्देशन गरेकी थिइन्। यो फिल्म सनडान्स फिल्म फेस्टिभलमा प्रिमियर भएपछि विश्वभर चर्चा भयो। यसले १० लाख डलरभन्दा बढी चन्दा संकलन गर्न सफल भयो । त्यसको कमाइले आज पनि केन्याका हजारौँ गरिब बालबालिकालाई डाक्टर, इन्जिनियर र वकिल बनाउन मद्दत गरिरहेको छ।
अन्तिम विदाई र कहिल्यै नमेटिने विरासत
हिल्डे ब्याकको ९८ वर्षको उमेरमा १३ जनवरी २०२१ मा निधन भयो। तर उनको १५ डलरको त्यो सानो लगानी आज एउटा विशाल वृक्ष बनिसकेको छ। क्रिस म्बुरुले उनको मृत्युमा शोक व्यक्त गर्दै भनेका थिए, "आज संसारले एउटा महान् आत्मा गुमाएको छ, तर उनको नाममा हजारौँ बच्चाहरूले अझै पनि स्कुल जाने अवसर पाउनेछन्।"
एउटा सानो कदमको शक्ति
क्रिस म्बुरु भन्छन्, "तपाईँ एक्लैले पूरै संसार बदल्न सक्नुहुन्न, तर कसैको एउटा सानो सहयोगले उसको पूरै संसार बदल्न सक्छ।"
हिल्डे ब्याक र क्रिसको कथाले हामीलाई 'परोपकार' का लागि करोडौँको सम्पत्ति चाहिँदैन, मात्र एउटा सफा नियत र सानो सहयोग भए पुग्छ भन्ने कुरा सिकाउँछ । हिल्डेको कर्म र क्रिस म्बुरुको कृतज्ञताले हामीलाई भनिरहेको छ– तपाईँले आज गरेको एउटा सानो राम्रो कामको प्रतिध्वनि आउने कयौँ पुस्तासम्म सुनिइरहनेछ।
प्रतिक्रिया