सैनिक मञ्चमा अमेरिकी धुन: सैन्य कूटनीति कि भू-राजनीतिक संवेदनशीलता?
महाशिवरात्रि तथा सेना दिवसको अवसरमा काठमाडौँको सैनिक मञ्च टुँडिखेलमा नेपाली सैनिक पोसाकसँगै अमेरिकी वायुसेनाको 'प्यासिफिक एयर फोर्स' ब्याण्डले दिएको प्रस्तुतिलाई लिएर टिकाटिप्पणी शुरु भएको छ । पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले यसलाई ‘विदेशी हस्तक्षेप’को संज्ञा दिएका छन् भने कतिपय वामपार्टीहरुले वक्तव्य नै जारी गरेर यसको विरोध गरेका छन् ।
नेपाली सेनाको ब्याण्डसँग मिलेर अमेरिकी सैनिक टोलीले दिएको यो प्रस्तुतिले ‘दुई देशबीचको दशकौँ पुरानो सैन्य सम्बन्धको मधुरता झल्काएको’ दावी एकितर गरिँदैछ भने अर्कोतिर नेपालको भू-राजनीतिक संवेदनशीलतालाई लिएर नयाँ बहसको ढोका पनि खोलिदिएको छ।
के यो नयाँ अभ्यास हो?
अहिले भइरहेका कतिपय टीका-टिप्पणीहरूले यसलाई नितान्त नौलो र सन्देहास्पद घटनाका रूपमा चित्रण गर्न खोजेका छन्। तर, सैन्य इतिहास र कूटनीतिक परम्परालाई हेर्ने हो भने यो 'म्युजिकल डिप्लोमेसी' (सांगीतिक कूटनीति) को एउटा निरन्तरता मात्र हो। गत वर्ष मात्रै पनि सेना दिवसमा भारतीय र बेलायती सेनाका ब्याण्डहरूले टुँडिखेलमा आफ्नो कौशल प्रदर्शन गरेका थिए।
नेपाली सेनाले पनि विदेशी भूमिमा यस्ता प्रस्तुतिहरू दिँदै आएको छ। बेलायतको विश्वप्रसिद्ध 'एडिनबर्ग मिलिट्री ट्याटू' मा नेपाली सेनाको पाइप्स एण्ड ड्रम्स टोलीले बजाउने धुनहरूले अन्तर्राष्ट्रिय स्तरमा नेपालको चिनारी र सैनिक व्यावसायिकतालाई प्रदर्शन गर्ने गरेको छ। त्यसैले, सैनिक मञ्चमा हुने यस्ता सांगीतिक आदान-प्रदानलाई 'सफ्ट पावर' को रूपमा बुझ्नु पर्ने भनाइ पनि सुनिन्छ ।
बहसको चुरो: संगीत कि शक्ति?
सैनिक मञ्चमा बज्ने धुनहरू केवल मनोरञ्जनका साधन मात्र होइनन्। यसले अन्तर्राष्ट्रिय समुदायमा नेपालको सेना कुन-कुन शक्ति राष्ट्रहरूसँग कस्तो स्तरको सम्बन्धमा छ भन्ने सन्देश पनि दिन्छ। हालैका वर्षहरूमा नेपालमा महाशक्ति राष्ट्रहरूको बढ्दो चासो र सक्रियताका कारण नै एउटा सांगीतिक प्रस्तुतिलाई पनि कतिपयले सामरिक रणनीतिको चस्माबाट हेर्न थालेका हुन्।
विशेष गरी अमेरिकी सेनाको उपस्थितिमा हुने सानो गतिविधिले पनि उत्तरी छिमेकी चीन र दक्षिणी छिमेकी भारतको संवेदनशीलतासँग जोडेर हेर्ने नेपाली बौद्धिक वृत्तको प्रवृत्तिले यस विषयलाई थप चर्चामा ल्याएको हो। त्यसमाथि थप, नेपालमा अप्रत्याशित रुपमा सत्ता परिवर्तन गर्ने गरी गत भदौ २३–२४ मा भएको जेनजी आन्दोलनको पृष्ठभूमिमा अमेरिकी चलखेल रहेको देख्नेहरुका लागि त यो घटनाले निक्कै उद्वेलित तुल्याउने खालको बन्यो ।
व्यावसायिक मर्यादा र कूटनीतिक सन्तुलन
नेपाली सेनाले आफूलाई सधैँ व्यावसायिक र असंलग्न परराष्ट्र नीतिको मर्म अनुरूप सञ्चालन गर्दै आएको दाबी गर्छ। यस घटनामा पनि उसले वक्तव्य नै जारी गरेर अमेरिकी सैनिक टोलीको प्रस्तुतिको प्रतिरक्षा गरेको छ । संयुक्त राष्ट्रसंघको शान्ति मिसनहरूमा विश्वकै अग्रणी भूमिकामा रहेको नेपाली सेनाका लागि यस्ता अन्तर्राष्ट्रिय सहकार्यहरूले व्यावसायिक अनुभव साटासाट गर्न मद्दत पुग्छ भन्ने भनाइहरु पनि सुनिन्छ।
तर, सेना दिवस जस्तो राष्ट्रिय गौरवको उत्सवमा विदेशी सेनाको संलग्नतालाई लिएर हुने बहसले हाम्रो राष्ट्रिय सार्वभौमिकता र असंलग्नताप्रतिको सचेतनालाई नै दर्शाउँछ।खासगरी, स्याल कराइरहेको बेला बाख्रा हराउने डर पैदा हुनु अस्वभाविक पनि होइन । यस अर्थमा जनस्तरमा यसबारे उठेको प्रश्न र विरोधका स्वरहरुलाई उठ्ने प्रश्नहरूलाई सेना र सरकारले पारदर्शी रूपमा तथा चित्तबुझ्दो ढङ्गले सम्बोधन गर्नु जरुरी छ । साथै भूराजनीति जस्तो जटील एवं संवेदनशील विषयलाई हरबखत षड्यन्त्रको सिद्धान्त लेन्सले हेर्ने गर्दा हाम्रो देशले भोग्नु परेका वास्तविक चुनौतीहरु फितलो बन्न पुग्दछन् भन्नेतर्फ पनि सम्बन्धित पक्षले ध्यान दिन जरुरी छ !
तस्विर साभार: अनलाइनखबर
चीनको शीर्ष सैन्य नेतृत्वमा भएको कारवाहीले उब्जाएका प्रश्न
भेनेजुएला र ग्रीनल्यान्ड: अभावको युगमा ‘स्म्यास–एन्ड–ग्र्याब’ कूटनीति
‘डिरेल्ड’ राजनीतिलाई राजाले मात्रै ठीक गर्न सक्ने हो ?
‘ग्रीनल्याण्ड चाहिन्छ’ भन्ने ट्रम्पको अडानमा झल्किएको शक्ति–राजनीतिक अहंकार
टर्यो खड्ग ओलीको एउटा खड्गो !
एमालेका सामु तेर्सिएको जब्बर प्रश्न: सच्चिने कि सक्किने ?
निषेध, आवेग र प्रतिशोधले मुलुकलाई ‘कोल्याप्स्ड स्टेट’ बनाउने खतरा बढ्दो !
प्रतिक्रिया