एप्स्टीनको पृष्ठभूमिबारे विस्तृत अनुसन्धान नगर्नु हाम्रो लापरवाही थियो
एप्स्टीन विवादबारे नोम चोम्स्कीकी पत्नीको प्रतिक्रिया
"नोमको अत्यधिक भरोसा गर्ने स्वभावले, यस विशेष मामिलामा, हामी दुवैको तर्फबाट गम्भीर गलत निर्णय गराउन पुग्यो... हामी पीडितहरूप्रति हाम्रो पूर्ण ऐक्यबद्धता व्यक्त गर्दछौं।"
नोट: नोम चोम्स्कीको जेफ्री एप्स्टीनसँगको मित्रता विवादको स्रोत बनेको छ। जुन २०२३ मा गम्भीर आघातपछि, चोम्स्की यसमा टिप्पणी गर्न असमर्थ छन् । उनकी पत्नी भ्यालेरियाले एप्स्टीनसँगको उनीहरूको सम्पर्कको बारेमा सोधिएका प्रश्नहरूको जवाफ तलको विज्ञप्तिमा दिएकी छिन्। - आरोन माटे फेब्रुअरी ०८, २०२६
भ्यालेरिया चोम्स्कीको विज्ञप्ति
धेरैलाई थाहा छ– अहिले ९७ वर्ष पुगेका मेरा पति नोम चोम्स्की जुन २०२३ मा विनाशकारी स्ट्रोक भएपछि महत्त्वपूर्ण स्वास्थ्य चुनौतीहरूको सामना गरिरहनुभएको छ। हाल, नोम हरसमय चिकित्सा हेरचाहमा हुनुहुन्छ र बोल्न वा सार्वजनिक विमर्शमा संलग्न हुन पूर्ण रूपमा असमर्थ हुनुहुन्छ।
यस स्वास्थ्य संकटदेखि, म नोमको उपचार र निको हुने प्रक्रियामा पूर्ण रूपमा मग्न छु, र उहाँको र उहाँको चिकित्सा उपचारको लागि एक्लै जिम्मेवार छु। नोम र मसँग कुनै पनि प्रकारको जनसम्पर्क सहायता छैन। यसै कारणले गर्दा, मैले जेफ्री एप्स्टीनसँगको हाम्रो सम्पर्कको विषयलाई अहिले मात्र सम्बोधन गर्न सकेकी छु।
नोम र मैले एप्स्टीनसँगको हाम्रा विगतका अन्तरक्रियाहरूको बारेमा अनुत्तरित प्रश्नहरूको सन्दर्भमा गहिरो बोझ महसुस गरेका छौं। हामी यस अध्यायलाई अस्पष्टतामा छोड्न चाहँदैनौं।
आफ्नो जीवनभर, नोमले बौद्धिकहरूको जिम्मेवारी सत्य बोल्नु र झुटहरू पर्दाफास गर्नु हो, विशेष गरी जब ती सत्यहरू आफ्नै लागि असजिलो हुन्छन् भनेर जोड दिनुभएको छ।
सबैलाई थाहा भएको कुरा हो, नोमको एउटा विशेषता भनेको मानिसहरूको असल नियतमा विश्वास गर्नु हो। नोमको अत्यधिक भरोसा गर्ने स्वभावले, यस विशेष मामिलामा, हामी दुवैको तर्फबाट गम्भीर गलत निर्णय गराउन पुग्यो।
नोमले एप्स्टीनसँग गरेका भेटघाटहरू र एक निजी आर्थिक मामिलामा उहाँको कार्यालयले प्रदान गरेको प्रशासनिक सहायताका बारेमा उचित रूपमा प्रश्नहरू उठाइएका छन्– जुन मामिलाको एप्स्टीनको कुनै पनि आपराधिक गतिविधिसँग पूर्णतः कुनै सम्बन्ध थिएन।
सन् २०१५ मा नोमको एउटा व्यावसायिक कार्यक्रमका दौरान नोम र मलाई एकैसाथ एप्स्टीनसँग परिचय गराइएको थियो । त्यतिबेला फ्लोरिडा राज्यमा एप्स्टीनको सन् २००८ को सजायबारे धेरै कम मानिसहरूलाई थाहा थियो, जबकि नोम र मलगायत अधिकांश जनता यसबारे अनभिज्ञ थियौं। यो स्थिति नोभेम्बर २०१८ को 'मियामी हेराल्ड' को रिपोर्टपछि मात्र बदलियो।
हामीलाई एप्स्टीनसँग परिचय गराइँदा उनले आफूलाई विज्ञानको परोपकारी र आर्थिक विज्ञका रूपमा प्रस्तुत गरे। यसरी प्रस्तुत भएर एप्स्टीनले नोमको ध्यान खिचे र उनीहरूबीच पत्रव्यवहार सुरु भयो। अन्जानमै, हामीले एउटा छद्म खतरा ('ट्रोजन हर्स') का लागि ढोका खोल्यौं।
एप्स्टीनले नोमलाई प्रभावमा पार्न सुरु गरे, उनले उपहारहरू पठाउन थाले र नोमले विस्तृत रूपमा काम गरिरहेका क्षेत्रहरूमा रोचक छलफलका अवसरहरू सिर्जना गरे। यसलाई हामीलाई जालमा पार्ने र नोमले उठाउँदै आएका मुद्दाहरूलाई कमजोर पार्ने रणनीतिको रूपमा बुझ्न नसकेकोमा हामीलाई पछुतो छ ।
हामीले एक पटक व्यावसायिक कार्यक्रमको सिलसिलामा एप्स्टीनको रान्च (फार्महाउस) मा दिवाभोज गरेका थियौं; हामीले म्यानहट्टनस्थित उनको टाउनहाउसमा रात्रीभोजमा भाग लियौं र न्युयोर्क शहर जाँदा उनले उपलब्ध गराएको एउटा अपार्टमेन्टमा केही पटक बस्यौं। हामीले कामको सिलसिलामा एक दिउँसो एप्स्टीनको पेरिसस्थित अपार्टमेन्टको पनि भ्रमण गरेका थियौं। सबै अवस्थामा, यी भ्रमणहरू नोमको व्यावसायिक प्रतिबद्धताहरूसँग सम्बन्धित थिए। हामी कहिल्यै उनको टापुमा गएनौं र त्यहाँ के हुन्थ्यो भन्ने बारे केही थाहा पाएनौं।
हामीले एप्स्टीन उपस्थित रहेका तथा प्राज्ञिक विषयहरूमा छलफल भएका त्यस्ता सामाजिक भेटघाट, दिवाभोज र रात्रीभोजहरूमा भाग लियौं । हामीले एप्स्टीन वा अरू कसैबाट कहिल्यै कुनै अनुपयुक्त, आपराधिक वा निन्दनीय व्यवहार देखेनौं। कुनै पनि समयमा हामीले त्यहाँ बालबालिका वा नाबालिग व्यक्तिहरू उपस्थित भएको देखेनौं।
एप्स्टीनले नोमको काम र विचारसँग सम्बन्धित विषयहरूमा फरक दृष्टिकोण राख्ने र नोमले रुचि राख्नुभएका व्यक्तित्वहरूसँग भेटघाटको प्रस्ताव राखेका थिए। यही प्राज्ञिक सन्दर्भमा नै नोमले सिफारिस पत्र लेख्नुभएको थियो।
एप्स्टीनले सञ्चारमाध्यमका बारेमा सल्लाह मागेका सन्दर्भमा एप्स्टीनलाई लेखिएको नोमको इमेललाई त्यसै सन्दर्भअनुसार बुझिनुपर्छ। एप्स्टीनले नोमसँग आफूमाथि अन्यायपूर्ण रूपमा प्रहार भइरहेको दाबी गरेका थिए, र नोमले सञ्चारमाध्यमसँगको राजनीतिक विवादहरूमा आफ्नो अनुभवका आधारमा कुरा गर्नुभएको थियो। एप्स्टीनले आफ्नो मामिलाका बारेमा एउटा छद्म भाष्य खडा गरेका थिए, जसलाई नोमले असल नियतका साथ विश्वास गर्नुभयो। यो सबै योजनाबद्ध थियो, जसमा एप्स्टीनको कम्तीमा एउटा उद्देश्य नोम जस्तो व्यक्तिसँगको सामीप्यता देखाएर आफ्नो प्रतिष्ठा सुधार्ने प्रयास गर्नु थियो भन्ने अहिले स्पष्ट भएको छ ।
नोमको आलोचना कहिल्यै पनि महिला आन्दोलनप्रति लक्षित थिएन; यसको विपरित, उहाँले सधैं लैङ्गिक समानता र महिला अधिकारको समर्थन गर्नुभएको छ। वास्तवमा के भएको थियो भने, नोमले "क्यान्सिल कल्चर" (बहिष्कार गर्ने संस्कृति) भनेर चिनिने प्रवृत्तिप्रति गर्नुभएको सार्वजनिक आलोचनाको फाइदा उठाउँदै एप्स्टीनले आफूलाई त्यसको शिकारका रूपमा प्रस्तुत गरेका थिए।
सन् २०१९ [जुलाई] मा एप्स्टीनको दोस्रो गिरफ्तारी पछि मात्र हामीले त्यसबेलाका आरोपहरू र अहिले पुष्टि भएका महिला र बालबालिका विरुद्धका जघन्य अपराधहरूको पूर्ण सीमा र गम्भीरता थाहा पायौं। उनको पृष्ठभूमिबारे विस्तृत अनुसन्धान नगर्नु हाम्रो लापरवाही थियो। यो एउटा गम्भीर गल्ती थियो, र निर्णयको त्यस कमजोरीका लागि म हामी दुवैको तर्फबाट क्षमा माग्दछु। नोमले आफ्नो स्ट्रोक हुनुभन्दा अघि मसँग आफूले पनि यस्तै महसुस गरेको कुरा साझा गर्नुभएको थियो।
सन् २०२३ मा, एप्स्टीनका बारेमा सोधिएका सोधपुछहरूमा नोमको सुरुवाती सार्वजनिक प्रतिक्रियाले एप्स्टीनका अपराधहरूको गम्भीरता र उनका पीडितहरूको स्थायी पीडालाई पर्याप्त रूपमा स्वीकार गर्न सकेन, किनभने नोमले आफूले त्यस्ता अपराधहरूको निन्दा गर्नु एउटा स्पष्ट कुरा हो भन्ने ठानेका थिए। यद्यपि, यस्ता विषयहरूमा सधैं दृढ र स्पष्ट अडानको आवश्यकता हुन्छ।
हामी दुवैका लागि यो महसुस गर्नु अत्यन्तै विचलित पार्ने कुरा थियो कि हामीले त्यस्तो व्यक्तिसँग संगत गर्यौं जसले आफूलाई सहयोगी साथीको रूपमा प्रस्तुत गर्यो तर आपराधिक, अमानवीय र विकृत कार्यहरूको गोप्य जीवन बिताइरहेको थियो।
उनका अपराधहरूको व्यापकता खुलासा भएदेखि हामी स्तब्ध भएका छौं।
चेकको बारेमा प्रष्टीकरण
एप्स्टीनले नोमलाई एउटा भाषासम्बन्धी चुनौती (linguistic challenge) तयार गर्न आग्रह गरेका थिए जसलाई एप्स्टीनले नियमित पुरस्कारको रूपमा स्थापना गर्न चाहेका थिए। नोमले यसमा काम गर्नुभयो, र एप्स्टीनले भुक्तानी स्वरूप २०,००० अमेरिकी डलरको चेक पठाए। एप्स्टीनको कार्यालयले उक्त चेक हाम्रो घरको ठेगानामा पठाउने व्यवस्था मिलाउन मलाई सम्पर्क गरेको थियो।
लगभग २७०,००० डलरको रिपोर्ट गरिएको रकम स्थानान्तरणको सम्बन्धमा, म यो स्पष्ट गर्न चाहन्छु कि ती पूर्ण रूपमा नोमकै आफ्नै कोषका रकमहरू थिए। त्यस समयमा, नोमले आफ्नो सेवानिवृत्ति स्रोतहरूमा केही विसंगतिहरू पहिचान गर्नुभएको थियो जसले उहाँको आर्थिक स्वतन्त्रतालाई जोखिममा पारेको थियो र उहाँलाई ठूलो तनाव दिएको थियो। एप्स्टीनले यस विशेष परिस्थिति समाधान गर्न प्राविधिक सहायताको प्रस्ताव राखेका थिए।
यस मामिलामा, एप्स्टीनले सोही अनुसार काम गरे र नोमका लागि ती कोषहरू फिर्ता गराइदिए, जुन सहयोगको प्रदर्शन र धेरै हदसम्म नोमसम्म अझ बढी पहुँच प्राप्त गर्ने एउटा षड्यन्त्रको हिस्सा थियो। एप्स्टीनले यस विशेष मामिलाका लागि केवल एक वित्तीय सल्लाहकारको रूपमा काम गरेका थिए। मेरो जानकारीमा भएअनुसार, एप्स्टीनको हाम्रो बैंक वा लगानी खाताहरूमा कहिल्यै पहुँच थिएन।
यो पनि स्पष्ट पार्नु महत्त्वपूर्ण छ कि नोम र मेरो व्यक्तिगत रूपमा वा दम्पतीको रूपमा एप्स्टीन वा उनको कार्यालयसँग कहिल्यै कुनै लगानी थिएन।
म आशा गर्दछु कि यसले नोम चोम्स्कीको एप्स्टीनसँगको अन्तरक्रियालाई पूर्वव्यापी रूपमा स्पष्ट पार्छ र व्याख्या गर्दछ। नोम र म जेफ्री एप्स्टीनका अपराधहरूको गम्भीरता र उनका पीडितहरूको गहिरो पीडालाई स्वीकार गर्दछौं। यस विज्ञप्तिको कुनै पनि कुराले ती पीडालाई कम आँक्ने उद्देश्य राखेको छैन, र हामी पीडितहरूप्रति हाम्रो पूर्ण ऐक्यबद्धता व्यक्त गर्दछौं।
भ्यालेरिया चोम्स्की
फेब्रुअरी ७, २०२६
Image: https://i.ytimg.com
चीनमा राजवंशको पतन
जेफ्री एप्सटीन र नोम चोम्स्की बीचका ईमेलहरूका सम्बन्धमा
रूपान्तरणका लागि “डीप स्टेट”को तगारो
गोपाल किरातीको अपील: तारा चिन्हमा मतदान गरौ!
अरुतिरको अनुभव: व्यक्तिपुजा राम्रो होइन
शक्तिशालीले जे गर्न सक्छ, त्यही गर्छ। कमजोरले जे सहनु पर्छ, त्यही सहन्छ: थ्यूसीडि…
अमेरिकी साम्राज्यवाद र नेपालका कथित जेनजी अगुवाहरू
प्रतिक्रिया