चीनमा राजवंशको पतन

यसमा चीनमा राजवंशहरूको पतनको संक्षिप्त तुलनात्मक अध्ययन प्रस्तुत गरिएको छ ।

भूमिका

चिन (Qin) राजवंश (ई.पू. २२१–२०६) ले चीनलाई पहिलो पटक एकीकृत गरी विशाल साम्राज्यको आधार निर्माण गर्‍यो । यो वंश त्यति लामो त टिक्न सकेन, जम्माजम्मी १५ वर्ष मात्र शासन गर्न पायो । यसको पतन आफैमा एउटा ऐतिहासिक घटना त थियो नै । तर त्यति मात्र नभई यो चिनियाँ इतिहासले बारम्बार उद्धृत गर्ने सावधानीसूचकको दृष्टान्तका रूपमा पनि स्थापित छ ।

चिन वंशको राज्य अत्यन्त केन्द्रीकृत दास प्रणालीबाट सामन्ती प्रणालीमा संक्रमण गर्दै गरेको राज्य थियो । सामाजिक वर्गीय विभाजन चर्को थियो । प्रमुख वर्गहरुमा, शासक वर्गमा सम्राट, दरबारी कुलीन, कट्टर कानूनवादी (legalist) नोकरशाह थिए । शोषित वर्गमा, स्वतन्त्र किसान (peasantry), दास र करकापमा चल्ने श्रमिक, सैनिक किसान (Peasant-soldier) पर्दथे । सैनिक किसान भन्नाले त्यो किसानथियो जो कृषि उत्पादन पनि गर्दथ्यो र आवश्यकता पर्दा राज्यका लागि सैन्य सेवा पनि । त्यसको आधारभुत अन्तरविरोध आफ्नै किसिमको थियो । उत्पादनको मुख्य आधार किसान थिए । अतिरिक्त उत्पादनको दोहन ( (Appropriation of surplus production ) राज्य र जमिन्दार मिलेर गर्दथे । त्यो कर, जबर्जस्ती श्रम, सैन्य सेवा मार्फत गरिन्थ्यो । राज्य शोषणलाई संस्थागत गर्ने यन्त्र थियो । कट्टर कानूनवादले वर्गीय दमनलाई नग्न रूपमा लागू गरेको थियो । यसले वर्ग–संघर्षलाई खुला विद्रोहमा निम्त्याउने काम गर्‍यो।

चिन राजवंशको पतन : तीव्रता र संरचनात्मक कमजोरी

ई.पू. २१० मा प्रथम सम्राट चिन शि ह्वाङको मृत्यु भयो । उनको मृत्यु पछि दरबारभित्र भएको सत्ता–कू (palace coup) चिनियाँ इतिहासको सबैभन्दा चर्चित राजनीतिक षड्यन्त्रहरूमध्ये एक हो । दरवारमा मुख्य हर्ताकर्ता भनेका नपुंसक अधिकारी झाओ गाओ र प्रधानमन्त्री ली सि थिए । तिनले मौकाको फाइदा उठौँदै जाली उत्तराधिकार (forged succession) तयार गरे ।

सम्राट पुर्वको यात्रामा थिए । बिचबाटैमा उनको मृत्यु भयो तर त्यसलाई तुरुन्त सार्वजनिक गरिएन र सवारी राजधानीतर्फ चलाइयो । मृत्यु सार्वजनिक नगर्नुको कारण थियो :

• उत्तराधिकार स्पष्ट थिएन

• वैध उत्तराधिकारी फुसु थिए । तर उनि सीमावर्ती सेनाको कमान्ड सम्हालिरहेका थिए

• फुसु आएमा झाओ गाओको शक्ति समाप्त हुने निश्चित थियो ।

यसर्थ सबै चिज यथावत रह्यो मानौं सम्राट जिवितै छन् ।

तर सम्राटको शव भित्रभित्रै कुहिन थाल्यो । त्यसलाई ढाकछोप गर्न शवको वरिपरि माछा राखेर दुर्गन्ध छोप्ने प्रयास गरियो । समाटलाई भेट्न आउने अधिकारीहरूलाई “सम्राट अस्वस्थ छन्, भेटघाट निषेध” छ भनेर टारियो । तर धेरै समय सम्म यथार्थ लुकाउन सकिन्नथ्यो ।

हुन त सम्राटका वैध उत्तराधिकारी फुसु थिए । तर उनि झाओ गाओका रुचिमा थिएनन् । उनि कनुनी कट्टरता समर्थक भन्दा पनि कन्फुसियसका नैतिक राज्यका पक्षपाति थिए । उनि फुसु सम्राट भएमा पछि छानविन भएमा आफु तानिएर शिकार हुने झाओलाई डर थियो । त्यसैले उत्तराधिकारीको नयाँ गणित तैयार गरियो । यस अनुसार कमजोर र पराश्रयी स्वभावका आफ्नो अनुकुलका हुहाईलाई सम्राट बनाउने तारतम्य मिलाइयो । यसको निम्ति झाओ गाओ र ली सि मिलेर चिन शि ह्वाङको नाममा दुईवटा शाही आदेश तयार गरे ।

एउटामा फुसुलाई आत्महत्या गर्न आदेश थियो आदेशमा भनिएको थियो,

“तिमीले बारम्बार मेरो आदेशको उल्लङ्घन गर्‍यौ,

राज्यको भविष्यका लागि तिमी अयोग्य छौ;

तिमीले आत्महत्या गर्नु नै उचित हुन्छ ।"

फुसुले यसलाई सम्राटको वास्तविक आदेश ठानेर आत्महत्या गरे । अर्को आदेश थियो हुहाईलाई “दोस्रो सम्राट” (Qin Er Shi), उत्तराधिकारीको घोषणा ।

हुहाई सम्राट बने । तर वास्तविक सत्ता झाओ गाओको हातमा रह्यो । झाओ गाओले क्रमशः दरबारका वरिष्ठ अधिकारीहरू सफाया गरे । ली सि स्वयंलाई पनि बाँकी राखेनन् । उनलाई पनि झुटा अभियोगमा मृत्युदण्ड दिइयो कमजोर सम्राट चिन एर शिको शासनकालमा दरबार आतंक, दमन र अविश्वासको केन्द्र बन्यो ।

कट्टर कानुनको शासनको सिद्धान्तमा आधारित कठोर शासन—कडा दण्ड, जबर्जस्ती श्रम र अत्यधिक करले जनअसन्तोषलाई विस्फोटको बिन्दुमा पुर्‍यायो । ई.पू. २०९ मा चेन शङ र वु ग्वाङको विद्रोह भयो । यसको मुख्य नारा थियो, "राजा बन्ने "सौभाग्य सबैको हुन्छ ।" चिन वंशको शासन प्रणाली अत्यधिक केन्द्रिकृत भएकाले शक्तिशाली सम्राटबिना यो टिक्न सकेन । चिन वंशको पतनपछि चीन बहु–शक्तिकेन्द्रमा विभाजित भयो । देश गृह युद्धमा फस्यो । ४ वर्ष सम्म चू–हान संघर्ष (汉之争, ई.पू. 206–202) चल्यो ।

अन्तत: हान राजवंशको उदय भयो । ई.पू. 202 मा लिउ बाङले हान गाओजु (汉高祖) का रूपमा सिंहासन संहाले ।

हान वंशले चिन वंशका प्रशासनिक संरचनाहरूलाई अनुसरण गरेता पनि यसको कठोरतालाई भने मत्थर बनायो । चिनको एकपक्षीय कानुन्ची कट्टरताको सट्टा हान वंशले कानुन्ची प्रशासन र कन्फ्युसियसवादी नैतिक दर्शनको संयोजनको विधि अपनायो । कर र श्रम दायित्व घटायो । स्थानीय कुलीनलाई सीमित अधिकार त दियो, तर केन्द्रीकरण भने कायमै राख्यो । यसले शासनलाई नैतिक वैधता प्रदान गर्‍यो र दीर्घकालीन स्थायित्व सम्भव बनायो ।

तथापि हान कालमा पनि दरबारी नपुंसकहरूको प्रभुत्व, कुलीन वर्गीय द्वन्द्व, आर्थिक सङ्कट र पहेंलो पगडी विद्रोह (ई. १८४) जस्ता घटनाहरू यहाँ पनि न दोहोरिएका होइनन् । भिन्नता केवल समयावधिमा थियो—चिन छिटो ढल्यो, हान बिस्तारै क्षीण भयो ।

चिन र ताङ राजवंश : केन्द्रिकरणको सन्तुलन

ताङ राजवंशको पतन, विशेषतः आन लुशान विद्रोह (७५५–७६३), चिनसँग स्वरूपमा फरक देखिए पनि सारमा समान छ । चिन अत्यधिक केन्द्रिकरणका कारण ढल्यो भने ताङले प्रान्तीय सेनापतिहरूलाई अत्यधिक शक्ति सुम्पँदा केन्द्र कमजोर बनायो । दुवै अवस्थामा केन्द्र र अधीनस्थ शक्तिबीचको विश्वास क्षयले राज्यलाई अस्थिर बनायो ।

ताङ राजवंश विद्रोहपछि औपचारिक रूपमा त टिकिरह्यो, तर यसको आर्थिक र सैन्य शक्ति पुनःस्थापित हुन सकेन । यसले शक्ति सन्तुलनको महत्त्वलाई उजागर गर्दछ ।

चिन र मिङ राजवंश :

उत्तरकालीन मिङ राजवंश (१३६८–१६४४) चिनसँग उल्लेखनीय रूपमा मिल्दोजुल्दो देखिन्छ । दरबारमा नपुंसकहरूको प्रभुत्व (विशेषतः वेइ झोङ्स्यानको प्रभाव), आलोचकहरूको दमन, र वित्तीय सङ्कटले शासनलाई कमजोर बनायो । चिनमा चेन शङ–वु ग्वाङ र मिङमा ली जिछेङ नेतृत्वको विद्रोह दुवै जनअसन्तोषको परिणाम थिए ।

अन्तर के थियो भने चिन मुख्यतः आन्तरिक पतनबाट ढल्यो भने मिङ आन्तरिक विद्रोहसँगै मन्चु आक्रमणका कारण समाप्त भयो । तर दुबै अवस्थामा राज्य पतनको पूर्वसन्ध्यामा नै वैधता हराइसकेको थियो ।

चिन र छिङ राजवंश : सुधार असफलता र वैधताको अन्त्य

छिङ राजवंश (१६४४–१९११/१२) पुर्व राजवंश जस्तै साममन्तवादी र झन जर्जर त थियो नै । त्यसको पालामा चीनले साम्राज्यवादी युद्ध पनि झेल्नु पर्‍यो, दुई पटक 'अफिम युद्ध' को नाममा । सन् १८३९ -१८४२ मा र सन् १८५६- १८६० मा । पहिलोमा अंग्रेजसंग र दोश्रोमा अंग्रेज र फ्रान्स दुवैसंग सयुक्त रुपमा । त्यस युद्धमा चीन पराजित भयो । पहिलो युद्धमा चीनले अंग्रेजलाई चिनियाँ बजार खुला गर्नु पर्ने र अफिम व्यपारलाई वैधता दिनु पर्ने भयो । दोश्रोमा अंग्रेज र फ्रान्स दुवैलाई छुट दिनु पर्ने भयो । त्यस पछि पनि अ्मेरिका र रुससंग उस्तो लडाई न लड्नु परे पनि उनिहरुलाई कतिपय छुट दिनु पर्ने असमान संधिमा लत्रिनु पर्‍यो । अब भने चीन औपचारिक रुपमा प्रत्यक्ष औपनिवेशिक शासनमा न लतारिएको भए पनि आर्थिक सम्प्रभुता भने गुमाउन पुग्यो । पुर्ववत सामन्ति समाजमा सामन्त जमिन्दार तथा नोकरशाहको शोषण उत्पीडन त चीनले भोग्दै आएको थियो अब वाह्य एकाधिकारी र व्यापारिक पुँजीको जुँवामा पनि नारिनु पर्‍यो । अब भने चीन 'अर्ध सामन्ति र अर्थ औपनिवेशिक राज्यमा परिणत हुन पुग्यो ।

सन् १९११ मा चीनमा डा. सनयात सेनको नेतृत्वमा पुँजीवादी क्रान्ति भयो र अर्को वर्ष नै सम्राट फुयीले गद्दी त्याग गर्न बाध्य हुनु पर्‍यो । तब पनि वैकल्पिक उत्पादन सम्बन्धको स्पष्ट कार्यक्रम आउन सकेन र राजनीतिक स्थिरता पनि ।

१९११ को पुँजीवादी क्रान्ति आधुनिक विश्व व्यवस्थाको सन्दर्भमा भएकोले सतही रूपमा चिनभन्दा फरक देखिन्छ । तथापि संरचनात्मक दृष्टिले समानता देखिन्छ । चिनझैँ छिङले पनि समयमै गहिरो सुधार गर्न असफल भयो । ढिलो र अपूरो सुधारले न त जनसमर्थन जुटाउन सक्यो न त कुलीन वर्गलाई सन्तुष्ट पार्न नै।

छिङ राजवंश हिंसात्मक विनाश होइन, शान्तिपुर्ण राजनीतिक बहिरगमनबाट अन्त्य भयो । तर “स्वर्गको आदेश” (Mandate of Heaven) को वैधता दुवै अवस्थामा नष्ट भएको थियो—चिनमा परम्परागत अर्थमा, छिङमा आधुनिक राष्ट्रिय चेतनाको सन्दर्भमा ।

सन् १९१९ मा 'मे ४ को आन्दोलन'को नामले विख्यात युवा आन्दोलन भयो र त्यसले 'अर्ध सामन्ति र अर्ध उपनिवेश' विरुद्धको संघर्षको विगुल फुक्यो । अन्तत: सन् १९४९ 'नयाँ जनवादी क्रान्ति' गरेर चीनमा आजको समाजवादी निर्माण हुँदैछ ।

निष्कर्ष

चिन राजवंशको पतन चिनियाँ साम्राज्यको इतिहासमा बारम्बार दोहोरिने संरचनात्मक समस्याहरूको सबैभन्दा सघन अभिव्यक्ति हो । उत्तराधिकार संकट, दरबारी षड्यन्त्र, अत्यधिक शोषण, वैचारिक कठोरता र वैधताको ह्रास—यी सबै चिनमा एकैचोटि देखा परे ।

पछिल्ला राजवंशहरू चिनबाट पाठ सिक्दै तुलानात्मकरुपमा अलिक दीर्घायु रहे । कानुनी कट्टरतालाई नैतिकतासँग सन्तुलित गर्दै, सीमित विकेन्द्रीकरण स्वीकार गर्दै, र वैधता जोगाउने प्रयास गर्दै । तर कुनै पनि राजवंश यी अन्तर्निहित विरोधाभासहरूबाट पूर्ण रूपमा मुक्त हुन सकेनन् । यस अर्थमा चिनको पतन अपवाद होइन, चिनियाँ इतिहासको दीर्घ चक्रको पहिलो स्पष्ट अभिव्यक्ति थियो ।

चीनमा बिभिन्न राजवंशहरूको पतन स्वरूपमा भिन्न देखिए पनि यसको मूल कारण सामन्ति समाजको वर्गीय अन्तर्विरोध नै थियो । तिनको पतन प्रचलित सामन्ति उत्पादन संवन्ध उत्पादक शक्तिको विकासमा सहायक न भएर तगारो बनेर उत्पन्न भएको वर्ग संघषको परिणाम हो । यो अन्तर्विरोध उत्तराधिकार संकट, दरबारी षड्यन्त्र, अत्यधिक कर तथा श्रम शोषण, वैचारिक कठोरता, र राजनीतिक वैधताको संकटमा अभिव्यक्त भएको थियो ।