सुन र भाडाका सैनिक: सुडान नरसंहारको मूल्य

शार्लोट टुआती

२०२५ अक्टोबर २६ मा, रेपिड सपोर्ट फोर्स (आरएसएफ ) मिलिसियाले १८ महिनासम्मको घेऱाबन्दीपछि एल–फाशेर शहर नियन्त्रणमा लियो । उत्तरी दार्फुर राज्यको राजधानी र दार्फुरको आर्थिक केन्द्र मानिने एल–फाशेरले अप्रिल २०२३ यताबाट युद्धबाट भाग्दै आएका लाखौँ विस्थापितका लागि आश्रयस्थलको काम गरिरहेको थियो। संयुक्त राष्ट्रसंघका लागि यो शहर पतन नहुन्जेल अन्तिम मानवीय पहुँच बिन्दु थियो। घेऱाबन्दीका क्रममा बाहिर आएको सूचना मुख्यतः आरएसएफ  लडाकुहरू आफैँले खिचेका अत्याचारका भिडियोहरूमार्फत मात्र प्राप्त भएको छ। त्यसमाथि, काला समुदायमाथि अरब मिलिसियाद्वारा गरिएका जातीय संहारबारेका प्रमाणहरू पनि सतहमा आउन थालेका छन्।

खुला संघर्ष २०२३ अप्रिल १५ मा सुरु भयो, जब अर्धसैनिक आरएसएफ  ले देशको राजनीतिक तथा सैनिक नियन्त्रण हासिल गर्न सुडानी सशस्त्र सेना (एसएएफ) सँग भिडन्त गर्‍यो। आरएसएफको नेतृत्व मोहम्मद हमदान डोगोलो, जसलाई “हेमद्ती” भनेर चिनिन्छ, ले गर्छन् भने एसएएफ को नेतृत्व अब्देल फत्ताह अल–बुर्हानले गर्छन् र उनीहरू नियमित सेना हुन्। यी दुवै जनरलहरु केही समयका लागि सहकार्यमा थिए र सत्तासाझेदारी गर्ने अपेक्षा थियो, तर अहिले भएको विभाजनका कारण सुडान पूर्व–पश्चिम भागमा विभाजित हुने भय बढेको छ।

हेमद्ती मूल रूपमा दार्फुरका हुन्। सुरुमा उनी “व्यवसायी” का रूपमा चिनिन्थे र आफ्नै क्षेत्रका सुन खानीहरूका कारण ठूलो आर्थिक साम्राज्य निर्माण गर्न सफल भए। अरब पहिचानका कारण, उनले त्यही समयमा ओमर अल–बशिरद्वारा दार्फुरको विद्रोह दबाउन सशस्त्र बनाइएको जनजाविद मिलिसियालाई आफ्नो पक्षमा उभ्याए। २००४ देखि हेमद्तीले सयौँ जनजाविद लडाकुहरू अगुवाइ गर्दै सुडानी गुप्तचर सेवा (NISS) र सेनासँग प्रत्यक्ष सहकार्य गरे। जनजाविद मिलिसिया मानवता  विरुद्धका अपराध, युद्ध अपराध तथा नरसंहारका दोषी छन्, जसलाई अन्तर्राष्ट्रिय न्यायालय (ICC) ले उल्लेख गरेको छ। संयुक्त राष्ट्रसंघका अनुसार तिनीहरूले सामूहिक हत्या, युद्धका हतियारका रूपमा बलात्कार, बस्ती–गाउँहरूको योजनाबद्ध विनाश, सम्पत्ति तथा पशु चोरी, खेतीबाली जलाउने, इनारमा विष हाल्ने, र जबरजस्ती विस्थापनका जस्ता अपराधहरू गरेका छन्।

२००९ मा, हेमद्तीले दार्फुरमा सुन उत्खननका लागि अल–जुनैद नामक कम्पनी स्थापना गरे। तर २०१३ मा, अन्तर्राष्ट्रिय दबाबपछि, सुडानी सरकारले जनजाविदलाई देशको सुरक्षा संरचनामा समायोजित गर्न चाह्यो। त्यसपछि उनीहरू आरएसएफमा परिणत भए, र  अल–जुनैद उनीहरुको आर्थिक शाखाको रूपमा रहने व्यवस्था गरियो।

सन् २०१९ अप्रिलमा, सुडान आफ्नो इतिहासको एउटा निर्णायक चरणमा प्रवेश गर्‍यो।  मुल्यवृद्धि र आर्थिक सङ्कटका कारण सुरु भएको  आन्दोलनले धेरै महिनापछि जनविद्रोहको रूप लिँदै ३० वर्षदेखि सत्तामा रहेका राष्ट्रपति ओमर अल–बशिरको राजीनामा माग्न थाल्यो। सडकबाट बढ्दो दबाब र सत्ताभित्रका आपसी विभाजनका कारण अन्ततः सेनाले २०१९ अप्रिल ११ मा अल–बशिरलाई पदच्युत गर्‍यो। यस सत्ता परिवर्तनले अनिश्चितताको नयाँ चरण सुरु गर्‍यो । सबैभन्दा पहिले एक अस्थायी सैन्य परिषदले सत्ताको बागडोर सम्हाल्यो, त्यसपछि क्रान्तिकारी जनआन्दोलनका नागरिक शक्तिसँग नाजुक सम्झौता भयो। यही परिस्थितिमा जनरल अब्देल फत्ताह अल–बुर्हान सार्वभौम परिषदका अध्यक्ष बने, भने हेमद्ती उपाध्यक्ष बने। सेना, अर्धसैनिक बल  र केही नागरिकहरूमाझ बनेको यो सहकार्यले लोकतान्त्रिक चुनावतर्फ मार्ग प्रशस्त गर्ने अपेक्षा गरिएको थियो। तर यो गठबन्धन चाडै नै  अस्थिर सावित भयो । सैन्य नेताहरूका प्रतिस्पर्धी महत्वाकाङ्क्षा, आरएसएफ को दण्डहीनता, र नागरिक संस्थाहरूले भोग्नुपरेका चुनौतीहरूले देशलाई फेरि सत्ताकै लागि संघर्षतर्फ धकेल्यो, जसबाट २०२३ मा खुला युद्ध भड्कियो।

तर बाह्य शक्तिहरूको भूमिकालाई पनि विचार गर्नु आवश्यक छ। दार्फुरको सामरिक स्थिति र खनिज सम्पदाले यसलाई तस्करी मार्गको संगमस्थल बनाएको छ, जहाँ यी सबैको केन्द्रमा हेमद्ती रहेका छन्।

रूससँगको सम्बन्ध

२०१७ मा, सुनले भरिपूर्ण उत्तर दार्फुरस्थित जेबेल आमेर क्षेत्र कब्जा गरेपछि आरएसएफ ले ओमर अल–बशिरबाट वास्तविक स्वायत्तता हासिल गर्‍यो। यो विजय रूसको एसएमपी वाग्नरका तत्कालीन प्रमुख एव्गेनी प्रिगोजिनद्वारा प्रदान गरिएका महत्वपूर्ण समर्थनसँग मेल खान पुग्यो। यसको कारण, दुवै पक्ष सुन, हतियार, र भाडाका लडाकु (mercenaries) सम्बन्धी समान व्यापारमा संलग्न हुनु र हेमद्तीको शक्ति–केन्द्र दार्फुरको भूराजनीतिक स्थिति हो। दार्फुरको सीमा मध्य अफ्रिकी गणतन्त्र (CAR) सँग जोडिएको छ, जहाँ वाग्नरको सबैभन्दा बलियो उपस्थिती छ र २०१७ देखि राष्ट्रपति फाउस्टिन–आर्चान्ज टुआडेऱाका “प्रेटोरियन गार्ड” को रूपमा कार्यरत छ। वाग्नरले आफ्नो चल्तीको शैली अनुसार CAR बाट खनिज स्रोतमार्फत भुक्तानी लिन्छ। कारबाट दार्फुर हुँदै सुडानसम्म मालसामानहरु दक्षिण–उत्तर ढुवानी हुन्छन।

उही वर्ष २०१७ मा, वाग्नरले ओमर अल–बशिर शासनअन्तर्गत सुडानमा आफ्नो प्रभाव विस्तार गर्न थाल्यो। यसको मुख्य मध्यस्थ  थिए मिखाइल पोटेप्किन। उनी एम इन्भेस्ट अन्तर्गतको सहायक कम्पनी मेरोए गोल्डका प्रमुख हुन् एम इन्भेस्ट प्रिगोजिनकै स्वामित्वमा रहेको कम्पनी हो। पोटेप्किनले प्रिगोजिनसँग आफू सम्बद्ध नरहेको दाबी गर्छन्, तर २०१७ मा दिमित्री मेदभदेभ र ओमर अल–बशिरबीचको वैठकमा उनी एम इन्भेस्टका प्रतिनिधि थिए। 

पोटेप्किन रूसी “रुढिवादी” समूहसँग सम्बद्ध मानिन्छन्, जसको सम्बन्ध नव–नाजी अतिवादी दक्षिणपन्थीसँग जोडिन्छ। उनी विचारक डुगिनसँग परिचित छन् र तिनीसँगका तस्बिरहरूमा पनि देखिन्छन्। उनी २०१६ को अमेरिकी चुनावमा रूसी हस्तक्षेप अभियानसँग पनि जोडिएका थिए। अफ्रिका र अमेरिका दुवै ठाउँमा उनी अस्थिरता फैलाउने उद्देश्यका साथ कार्य गर्ने एक प्रकारका “लबीस्ट” का रूपमा देखिन्छन्। सुडान र इथियोपिया उनीहरूको प्राथमिक लक्ष्य क्षेत्र हुन्।

२०१७ यताबाट मेरोए गोल्डले प्रिगोजिनसँग सम्बन्धित कम्पनीहरूबाट वित्तीय तथा प्राविधिक सहयोग पाएको छ, जसमा हेलिकप्टर र विमानसमेत छन्। मेरोएको मुख्य कारोबार सुन खानी हो, र यसको प्रमुख केन्द्र देशको पूर्व–भाग स्थित नाइल नदी राज्यको अल–इबैदिया हो।

रूसी विमानहरू खार्तुम वा पोर्ट सुडानबाट उडेर रूस पुग्थे, जसबाट युक्रेन आक्रमणको तयारी तथा युद्ध प्रयासलाई सुनले आर्थिक सहयोग गरिन्थ्यो। २४ फेब्रुअरी २०२२ मा, जब रूसले युक्रेनमा आक्रमण सुरु गर्‍यो, त्यही दिन वाग्नरद्वारा आयोजना गरिएको यात्रामा सहभागी हुँदै हेमद्ती मस्कोमा थिए। २०२३ अप्रिलमा हेमद्तीले अल–बुर्हानविरुद्ध गरेको विद्रोहअघिसम्म सुडानको सुन खानीमा (हेमद्ती पूर्वतिर, प्रिगोजिन पश्चिमतिर) भू–आर्थिक “पूरक साझेदारी” स्थापित भइसकेको थियो। दुवै मिलेर २०१९ देखि अल–बशिर पतनपछिको सत्ता बाँडिरहेका थिए।

तर, २३ अगस्त २०२३ मा एव्गेनी प्रिगोजिन विमान दुर्घटनामा मा । त्यसपछि क्रेमलिनले वाग्नरका गतिविधि ठूलो मात्रामा आफ्नो नियन्त्रणमा लियो र हेमद्तीको सट्टा अल–बुर्हानतर्फ झुक्यो ।

 

युएईको समर्थन

तर हेमद्ती र आरएसएफ  लाई निरन्तर समर्थन गर्ने एक शक्ति भने युनाइटेड अरब इमिरेट्स (युएई) नै हो।

अल–जुनैदबाट पठाइएको सुन सिधै दुबई—विशेषतः सारजाह—स्थित कालोटी रिफाइनरीमा पुग्छ। १९८८ मा मुनीर रागेब मौसा अल कालोटीले स्थापना गरेको यो समूह बहुमूल्य धातु सम्बन्धी करिब दर्जनभर कम्पनीहरू सञ्चालन गर्छ। हस्तकला सुन र अवैध तस्करीबाट आएको सुन पनि दुबईका बजार (सुक) हरूमा जम्मा भई कालोटीका कार्यालयहरूमा पुर्‍याइन्छ। दुबईमा नियमित नियमन अत्यन्त कमजोर छ, र कच्चा सुन हातेझोलामा बोकिराख्दा कुनै अतिरिक्त कर लाग्दैन। कालोटीले केन्द्रित गरेको सुन त्यसपछि स्विट्जरल्याण्ड—मुख्यतः भाल्काम्बी—पठाइन्छ।

मध्य यूरोपको यो सानो मुलुक विश्व–सुन व्यापार, प्रशोधन र कारोबारको केन्द्र हो। तर भाल्काम्बीसम्म सुन लैजानु केवल व्यापारिक वा रसद सुविधाका कारण मात्र होइन—भाल्काम्बी लन्डन बुलियन मार्केट एसोसिएशन (LBMA) मा दर्ता छ। त्यसैले उसले सुनलाई प्रमाणीकरण गर्न सक्छ, जसपछि उक्त सुन संसारभरका केन्द्रीय बैंकहरूको औपचारिक कारोबार प्रणालीमा प्रवेश गर्छ। कालोटीका लागि भने यस्तो मान्यता छैन।

यसको बदला, युएई ले आरएसएफ  लाई ठूलो मात्रामा हतियार, उपकरण, र भाडाका लडाकु उपलब्ध गराउँछ। केही वर्षअघि सम्म यमनमा हुथि विरुद्धको गठबन्धनमा लड्न अफ्रिकाबाट लडाकुहरू युएईले भर्ना गर्ने गर्थ्यो, तर आज स्थिति उल्टिएको छ।

वास्तवमा, डिकेन्स एण्ड माडसेन नामक फर्ममार्फत धेरै–करोड डलरका सम्झौताहरू भएका छन्, जसअन्तर्गत मार्शल हाफ्तरको लिबिया, हेमद्तीको आरएसएफ , युएई बीच लडाकुहरूको आदान–प्रदान गरियो—वापसिमा हतियार र रूसी कृषि उत्पादन दिइयो। यहाँ पनि रूसी तथा इमिराती सञ्जालहरू एक–अर्कामा मिसिएका देखिन्छन्।

२०२१ सम्म असाब (Eritrea) स्थित आधार–क्याम्प यी कारोबारहरूको केन्द्र थियो। तर युएई  एरिट्रियन बन्दरगाहबाट हटेपछि र एरिट्रियन राष्ट्रपति तथा अबु धाबी–नजिक इथियोपियाली प्रधानमन्त्रीबीच अचानकको कटु–विच्छेदपछि सोमालिल्यान्ड र पन्टल्याण्डका बन्दरगाहहरूले यसको स्थान लिए।

Middle East Eye का अनुसार बोसासो बन्दरगाह युएई आरएसएफ बीचको रसद–केन्द्रको रूपमा प्रयोग भइरहेको छ। कोलम्बियाली भाडाका लडाकुहरू युएईले आरएसएफलाई उपलब्ध गराएको र एल–फाशेर कब्जामा मद्दत गरेको बताइन्छ। यी भाडाका लडाकुहरू दार्फुरस्थित शरणार्थी शिविरहरूमा बाल–सैनिकहरूलाई दिने काममा संलग्न भएको आरोप छ।

सुडानमा  पछिल्ला  वर्षहरूमा हिंसात्मक द्वन्द्वबाट तहसनहस भएको छिमेकी टिग्रेको जस्तै सुनप्रतिको लालसाले विशाल विनाश निम्त्याएको छ र लाखौँ नागरिकको मृत्युको कारण बनेको छ। अन्य खनिजहरूले पनि लोभ र दोहनलाई उक्साइरहेका छन्, र यसले जनतालाई अझ गहिरो खाडलमा धकेल्नेछ। खननसम्बन्धी अन्तर्राष्ट्रिय कानुनी व्यवस्था कडाइका साथ लागू गर्नु र पूर्ण अनुगमन (ट्रेसबिलिटी) सुनिश्चित गर्नु अब अत्यन्तै अपरिहार्य भइसकेको छ।

पहिले “रक्त हीरा” (blood diamonds) को कुरा उठेको थियो; अहिले सुन—जसको मूल्य आकाशिएको छ र जो दुषित छ। । तर हीराको विपरीत, सुन पग्लिने भएकाले यसको स्रोतअनुगमन (trace) गर्न कठिन हुन्छ, यद्यपि असम्भव छैन। आफ्नो आपूर्तिकर्ता स्पष्ट पारेर स्विट्जरल्यान्ड र संयुक्त अरब इमिरेट्स (युएई) ले अन्तर्राष्ट्रिय छवि जोगाउन सक्नेछन्।

Source: https://africanarguments.org

Image: https://global.unitednations.entermediadb.net