युवा जोहरान ममदानीले इतिहास रच्दै न्यूयोर्क शहरको मेयरको चुनाव जिते

 

भारतीय मूलका  ३४ वर्षीय युवा जोहरान ममदानीले इतिहास रच्दै न्यूयोर्क शहरको मेयरको चुनाव जितेका छन्।  ममदानीको विजयसंगै उनी पछिल्लो १०० वर्षमा न्यूयोर्कका सबैभन्दा युवा मेयर बन्नेछन्।  यसका साथै उनी पहिला भारतीय मुलका र पहिलो मुस्लिम मेयर बन्ने छन्। ममदानीले ६७ वर्षीय पूर्व गभर्नर एन्ड्रयू कूमोलाई पराजित गरेका हुन् । यौन उत्पीडनको आरोपका कारण ४ वर्षअघि राजीनामा दिएका कूमो निर्दलीय उम्मेदवारको रूपमा चुनाव लडेका थिए ।

उनले यो निर्वाचनमा आफ्ना प्रतिद्वन्द्वीहरूका अलावा अमेरिकी राष्ट्रपति ट्रम्पको विरोधको समेत सामना पनि गर्नुपरेको थियो। रिपब्लिकन पार्टीका तर्फबाट कर्टिस सिल्वा उम्मेदवार रहे पनि ट्रम्पले आफ्नै पार्टीका उम्मेदवारको समर्थन नगरी कुमोको समर्थन गरेका थिए र ममदानीलाई भोट नदिन आग्रह गरेका थिए। उनले ममदानीलाई ‘कम्युनिस्ट’ र ‘अनुभवहीन’ भन्दै आरोप लगाएका थिए । कतिसम्म भने ट्रम्पले  ममदानीले चुनाव जिते न्युयोर्कलाई दिइँदै आएको संघीय फन्डिङ रोक्ने चेतावनी दोहोर्‍याएका थिए । उनको भनाइमा, ममदानी मेयर बने न्युयोर्कका लागि त्यो ‘संकट र विनाशले भरिएको’ समय हुनेछ। आफूलाई “डेमोक्रेटिक सोसलिस्ट” भनेर दावी गर्ने ३४ वर्षका जोहरान ममदानीका लागि न्यूयोर्क शहरको मेयर बन्नु सहज थिएन।

मेयरको चुनाव जितेर जोहरान ममदानीले इतिहास रचेका हुन्, र जीतपछि दिएको पहिलो भाषणमा उनले नेहरूको भारत स्वतन्त्र हुँदा दिएको एतिहासिक भाषण Tryst with Destiny लाई सम्झिदै ममदानीले भने– म जवाहरलाल नेहरूका शब्दहरूबारे सोचिरहेको छु। इतिहासमा त्यस्ता क्षण निकै कम हुन्छन् जब हामी पुरानाबाट नयाँतिर पाइला चाल्छौँ । जब एक युगको अन्त्य हुन्छ र राष्ट्रको आत्माले अभिव्यक्ति पाउँछ। आज राति हामी पुरानोबाट नयाँतिर अघि बढिरहेका छौँ।”

न्यूयोर्कको मेयर बन्ने जोहरान ममदानी को हुन्?

जोहरान क्वामे ममदानीको जन्म १८ अक्टोबर १९९१ मा युगान्डाको राजधानी कम्पालामा भएको थियो। उनका पिता महमूद ममदानी अफ्रिकी राजनीति र इतिहासका प्रख्यात विद्वान छन् भने उनकी आमा मीरा नायर मन्सुन वेडिङ द नेमसेक जस्ता चर्चित फिल्मकी निर्देशक हुन्। बाल्यकालमा ममदानीको परिवार युगान्डाबाट दक्षिण अफ्रिका हुँदै न्यूयोर्क आएको हो। उनले बैंक स्ट्रीट स्कूल फर चिल्ड्रेन र ब्रन्क्स हाई स्कूल अफ साइन्सबाट अध्ययन गरे र सन् २०१४ मा बोदोइन कलेजबाट अफ्रिकाना स्टडीजमा स्नातक गरे। विशेष कुरा यो हो कि ममदानी उत्कृष्ट हिन्दी बोल्छन् र भारतीय मूलका मतदाताको मन जित्न उनले आफ्ना निर्वाचन अभियानहरू हिन्दी भाषामा पनि सञ्चालन गरेका थिए।

कलेजका दिनहरूमा उनले स्टुडेन्ट्स फर जस्टिस इन पलेस्टाइन नामक संगठनको स्थानीय शाखा सह-स्थापना गरेका थिए। पछि उनले फोरक्लोजर प्रिभेन्सन काउन्सिलर (जफत–निवारण परामर्शदाता) का रूपमा काम अघि बढाए र क्रमशः राजनीतिमा सक्रिय हुँदै गए। सन् २०१७ मा जोहरान ममदानीले डेमोक्रेटिक सोसलिस्ट्स अफ अमेरिका (DSA) मा सामेल हुँदै न्यूयोर्कको राजनीतिमा आफ्नो पहिचान स्थापित गरे।

सन् २०२० मा उनले क्विन्सको ३६औँ जिल्लाबाट डेमोक्रेटिक प्राइमरी जित्दै राज्य सभामा प्रवेश गरे। सन् २०२२ र २०२४ मा उनी निर्विरोध निर्वाचित भए। अहिलेसम्म उनले २० विधेयक पेश गरिसकेका छन्, जसमा तीन कानून बनेका छन्।

ममदानीका चुनावी एजेन्डाहरु यसप्रकार थिए।

भाडा स्थिर गर्ने:ममदानीले भाडाका घरहरुमा बस्ने २० लाखभन्दा बढी मानिसको भाडा केही समयका लागि नबढाउने वाचा गरेका थिए।

३० डलर न्यूनतम तलब: ममदानीले न्यूनतम ज्याला  प्रति घण्टा  ३० डलर पुर्‍याउने योजना अघि सारेका छन्।

निःशुल्क” बस सेवा:चुनावमा ममदानीले सबै सहरका बसमा चढ्दा भाडा नलिने भनेका थिए।

सरकारी किराना पसल: ममदानीले नाफा नकमाउने सरकारी किराना पसल खोल्ने प्रस्ताव गरेका छन्

निःशुल्क डे–केयर सेवा: बाल हेरचाहको खर्च धान्न नसक्ने परिवारलाई सहयोग गर्न ममदानीले ६ हप्ता देखि ५ वर्षसम्मका बच्चालाई निःशुल्क डे–केयर दिने योजना अघि सारेका छन्।

५ अर्ब डलर कम्पनी कर: ममदानी भन्छन् कि जनताले होइन, ठूलो कम्पनीहरूले यी योजनाको खर्च तिर्छन्। उनले सहरको कम्पनी कर ७.५ प्रतिशतबाट ११.५ प्रतिशत पुर्‍याउने प्रस्ताव गरेका छन्।

ममदानीका लागि यी चुनावी वाचा पुरा गर्नु पक्कै पनि सहज हुनेछैन। तथापि, संसारकै राजधानी मानिने न्यूयोर्कमा समाजवादका एजेन्डा चुनावी अभियानमार्फत स्थापित गर्न खोज्नु कुनै सानो उपलब्धि होइन ।

तस्विर: https://assets.vogue.com