‘१२ दिन लामो’ इजरायल–इरान युद्ध साँच्चै सकिएको हो त?
कसले के हासिल गर्यो?

ट्रम्पले सहजीकरण गरेको युद्धविराम हाललाई लागू छ। तर वास्तवमा के भयो त? र के कुनै पक्ष यो संघर्षबाट अझ बलियो बनेको छ?
आइतवारदेखि इजरायल र इरान युद्ध बढ्दै गएको अवस्थाबाट नाजुक युद्धविरामतिर पुगेका छन्। युद्धविराम हाललाई कायम देखिन्छ, र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले “१२ दिने युद्ध” भनेको इजरायल र इरानबीचको द्वन्द्व हालको लागि अन्त्य भएको जस्तो देखिन्छ।
यति बेला ट्रम्प, इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहू र इरानी नेताहरूले सबैले युद्धको विराम उनीहरूको सर्तमा भएको दाबी गरेका छन्।
अब प्रश्न उठ्छ — वास्तविकता के हो त? इजरायलले के हासिल गर्यो? के इरानले आफ्ना रणनीतिक संरचनाहरूको रक्षा गर्न सक्यो? र के यो युद्धविराम शान्तितर्फको बाटो हो?
घटनाहरू कसरी घटे?
शनिबार राति अबेर, इजरायलको अनुरोधमा अमेरिका इजरायल–इरान युद्धमा प्रवेश गर्यो। अमेरिकाले इरानका फोर्डो, नताञ्ज र इस्फाहानस्थित आणविक केन्द्रहरूमा आक्रमण गर्यो। ट्रम्पका शब्दमा ती संरचनाहरू “पूर्णरूपमा ध्वस्त पारिए।”
सोमबार, इरानले जवाफी हमला गर्यो। उसले कतारको अल उदैदस्थित अमेरिकाको सबैभन्दा ठूलो सैन्य अड्डामा क्षेप्यास्त्र प्रहार गर्यो।
यसले मध्यपूर्व लामो र व्यापक युद्धतर्फ अग्रसर हुने सम्भावना देखिन्थ्यो।
तर केही घण्टाभित्रै ट्रम्पले आफ्नो सामाजिक सञ्जाल प्लेटफर्म 'ट्रुथ सोसल' मा घोषणा गरे — “इजरायल र इरानबीच पूर्ण र समग्र युद्धविरामको सहमति भइसकेको छ।”
ट्रम्पले यसलाई “१२ दिने युद्ध… जुन वर्षौंसम्म चल्न सक्थ्यो र मध्यपूर्वलाई तहसनहस पार्न सक्थ्यो” भनेर वर्णन गरे।
युद्धविराम लागू हुनुपर्ने समयको चार घण्टा पछि इजरायलले इरानमाथि आक्रमण गर्यो। इरानबाट प्रक्षेपण गरिएको भनिएका दुईवटा ब्यालिस्टिक मिसाइलहरू आफ्नो आकाशमा प्रवेश गरेको दाबी गर्दै इजरायलले बदला लिएको हो। ती दुवै मिसाइल रोकिएका थिए। इजरायलको जवाफी हमलाले तेहरान नजिकै रहेको एक रडार स्टेशन नष्ट गर्यो।
ट्रम्प क्रुद्ध भए। उनले पत्रकारहरूलाई भने, “इजरायलले आज बिहान यस्तो कदम चाल्दा म निकै असन्तुष्ट भएँ।”
“यी दुई देश यति लामो समयदेखि यति धेरै लडिरहेका छन् कि अब त आफू के गर्दै छन् भन्ने पनि थाहा छैन।”
इरानले ती मिसाइलहरू आफैंले नहानेको दाबी गर्यो। ग्रीनवीच समय ११:३० बजेसम्म युद्धविराम पुनः लागू भयो। ट्रम्पले नेतान्याहूसँग कुरा गरे।
ट्रुथ सोसलमा ट्रम्पले लेखे, “इजरायलले इरानमाथि आक्रमण गर्ने छैन। सबै विमानहरू फर्केर घर जानेछन्, इरानतर्फ मैत्रीपूर्ण ‘प्लेन वेभ’ गर्दै। कसैलाई केही हुँदैन, युद्धविराम लागू भइसकेको छ!”
इजरायलले के हासिल गर्यो?
इजरायलले लामो समयदेखि आफ्नो अस्तित्वका लागि सबैभन्दा ठूलो खतरा इरान रहेको दाबी गर्दै आएको छ। तर उसले यसअघि कहिल्यै तेहरानको आणविक संरचनामाथि हमला गरेको थिएन।
१३ जुनमा उसले त्यो ‘रेड लाइन’ पार गर्यो — नताञ्जको इन्धन समृद्धिकरण केन्द्र र इस्फाहानको आणविक प्रविधि केन्द्रमाथि हमला गर्यो। इरानले त्यसको जवाफमा ड्रोन र क्षेप्यास्त्र प्रहार गर्यो। यसअघि इजरायलले सिरिया र इराकमा आणविक केन्द्रहरूमा हमला गरिसकेको थियो। तर अब उसले निकै टाढा रहेको जटिल मिसन पनि सफलतापूर्वक पूरा गर्न सक्ने क्षमताको प्रमाण दिएको छ।
इजरायलले यस्तो हमला अवैधानिक भएको अन्तर्राष्ट्रिय आरोपको सामना पनि गर्यो। इजरायलले आफ्नो कदमको प्रतिरक्षामा यो ‘पूर्व-सावधानी स्वरूपको आत्मरक्षा’ हो भन्यो। तर इरान आणविक हतियार विकास गर्दैछ र उसले तत्कालै इजरायलमाथि प्रयोग गर्ने योजना बनाएको छ भन्ने कुरामा सबै सहमत छैनन्।
१८ जुनमा नेतान्याहूले भने, “म विश्व नेताहरूसँग कुरा गर्छु । उनीहरू हाम्रो संकल्प र हाम्रो फौजको उपलब्धिबाट निकै प्रभावित भएका छन्।”
अन्ततः इजरायलले यो पनि प्रमाणित गर्यो कि उसले आफ्नै सुरुवात गरेको सीमित मध्यपूर्वीय कारबाहीमा अमेरिकालाई समेट्न सक्नेछ। सन् १९६७ र १९७३ का युद्धहरूमा अमेरिका इजरायलमाथि हमला हुँदा उसलाई सामग्रीगत सहयोग दिएको थियो, तर प्रत्यक्ष सैन्य कारवाहीमा सहभागी भएको थिएन।
नेतान्याहूले ट्रम्पलाई “आफ्नो पक्षमा उभिएकोमा” धन्यवाद दिए।
‘अपरेशन राइजिङ लायन’ इरानमाथि यस्तो समयमा गरिएको थियो, जब इजरायलले इरानका क्षेत्रीय सहयोगीहरू यमनका हुथी, गाजाका हमास र लेबनानको हिजबुल्लाहविरुद्ध लगातार संघर्ष गरिरहेको थियो। पछिल्ला दुई वर्षमा हमास र हिजबुल्लाह दुबै कमजोर बनेका छन्।
के इरानले आफ्नो आणविक कार्यक्रमको रक्षा गर्न सक्यो?
इजरायलले इरानमा सतही संरचनाहरूलाई गम्भीर रूपमा क्षति पुर्यायो। अमेरिका भने उसले इरानको भूमिगत आणविक संरचनाहरू नष्ट गरेको दावी गर्छ ।
उपग्रह तस्बिरहरूले क्षेप्यास्त्रहरू लक्ष्यमा लागेका देखाउँछन्, तर वास्तवमा के नष्ट भयो भन्ने पुष्टि स्वतन्त्र रूपमा भएको छैन। त्यसका लागि घटनास्थलकै निरीक्षण गर्नु आवश्यक हुन्छ।
सोमबार, अमेरिकी हमलापछि, संयुक्त राष्ट्रसंघीय आणविक निगरानी संस्था (IAEA) का निर्देशक राफाएल ग्रोसीले भने, “हालको अवस्थामा, IAEA समेत कुनै पनि निकायले फोर्डोस्थित भूमिगत क्षतिलाई पूर्ण रूपमा मूल्यांकन गर्न सक्ने स्थितिमा छैन।”
“यस आक्रमणमा प्रयोग भएको विस्फोटक भार र सेन्ट्रिफ्युजहरूका लागि अत्यधिक संवेदनशील कम्पनको कारण, निकै गम्भीर क्षति भएको अनुमान गर्न सकिन्छ,” उनले भने।
IAEA का अनुसार इरानसँग अहिले ४ सय किलोग्राम (८८० पाउन्ड) उच्च-समृद्ध युरेनियम रहेको भनिए पनि त्यो कहाँ छ भन्ने अझै थाहा छैन।
इरानको आणविक ऊर्जा संगठनका प्रमुख मोहम्मद इस्लामीले भने आणविक कार्यक्रमलाई खासै क्षति नपुगेको संकेत गरे। “पुनःस्थापनाको तयारी पहिले नै गरिएको थियो, र हाम्रो योजना उत्पादन वा सेवामा कुनै अवरोध नआओस् भन्ने हो,” उनले मंगलबार अर्ध-सरकारी समाचार संस्था मेहरलाई दिएको वक्तव्यमा भने।
यति बेला युद्धविराम सुरु भएको तीन घण्टा पचास मिनेटपछि इजरायलमा खसेका दुई ब्यालिस्टिक मिसाइलहरूको स्रोतबारे अझै अन्योल कायम छ। इरान सरकारले ती मिसाइल आफैंले नहानेको औपचारिक दाबी गरिसकेको छ।
अब प्रश्न उठ्छ — ती मिसाइल कसले हाने त? र के ती दुर्घटनावश प्रक्षेपण गरिएका थिए — जस्तै सन् २०२१ मा इरानले युक्रेनी यात्रुबाहक विमानमा दुर्घटनावश मिसाइल प्रहार गर्दा १७६ जनाको ज्यान गएको थियो?
इरानमाथि पुनः आक्रमणको सम्भावना कति छ?
इजरायल र इरानले हाल युद्धविरामको सहमति गरेका छन्। तर उनीहरूले शान्ति सम्झौता गरेका भने होइनन्।
इरानको आणविक कार्यक्रमलाई लिएर विज्ञहरू भन्छन् — मोटामोटी दुई सम्भावित बाटाहरू छन्।
पहिलो, संयुक्त राष्ट्रसंघले इरानका आणविक केन्द्रहरूको निरीक्षण फेरि सुरु गर्ने र इरानसँग नयाँ सम्झौता गरिने । त्यो जुन सन् २०१५ मा तत्कालीन अमेरिकी राष्ट्रपति बाराक ओबामाले ल्याएको ‘Joint Comprehensive Plan of Action’ (JCPOA) जस्तै हुन सक्छ। यद्यपि उक्त सम्झौताबाट इरान नभई ट्रम्प प्रशासनअन्तर्गतको अमेरिका बाहिरिएको थियो।
यसै सन्दर्भमा युरोपेली शक्तिहरूको भूमिका महत्त्वपूर्ण हुन सक्छ। बेलायत, फ्रान्स र जर्मनी — यी तीन युरोपेली देशहरूले जुन २० मा इरानी विदेशमन्त्री अब्बास अराक्चीसँग भेट गरेका थिए। उनीहरूका साथ युरोपेली संघकी विदेश नीति प्रमुख काया काल्लास पनि थिइन्। भेटघाटको उद्देश्य अमेरिकाको सम्भावित आक्रमण रोक्नु थियो। प्रयास असफल भए तापनि तथा युरोपेली संघ एक्लै इरानलाई सम्झौतामा ल्याउने हैसियतमा नभए पनि, उसले अमेरिका–इजरायलको कठोर सैन्य रणनीतिलाई सन्तुलित तुल्याउने भूमिका खेल्न सक्छ।
“इरानले थप निगरानीको प्रस्ताव राखेर र आफ्नो आणविक कार्यक्रममा केही प्रतिबद्धता जनाएर युरोपेलीहरूलाई कूटनीतिक रूपमा समावेश गराउने प्रयास गर्नेछ,” एथेन्स विश्वविद्यालयका भू–राजनीतिशास्त्रका सह–प्रवक्ता योनिस कोटूलासले अल जजिरासँग भने।
“संयुक्त राज्य अमेरिकाले शान्तिपूर्ण आणविक कार्यक्रम स्वीकार गर्न सक्छ — [अमेरिकी विदेशमन्त्री मार्को] रुबियोले पहिले नै त्यस्तो बताएका छन्। सम्भावना यही छ कि अमेरिकाले शासन परिवर्तन गर्न जबर्जस्ती गर्ने छैन,” उनले भने। “युरोप अहिले इरानको एउटै विकल्प हो। रुस भरपर्दो छैन।”
तर इस्रायलले विगतमा पश्चिम र इरानबीचको कुनै पनि आणविक सम्झौता भंग गर्ने प्रयास गरेको थियो, र नयाँ सम्झौता स्वीकार गर्ने सम्भावना निकै कम छ।
र इरानले सम्झौतामा सहमति जनाउने सम्भावना नै कति छ, जब अमेरिकाले अघिल्लो आणविक सम्झौताबाट आफूलाई अलग तुल्यायो, त्यसपछि पछिल्ला वार्तामा नियमहरू परिवर्तन गर्यो, अनि अन्तमा वार्ताको क्रममा इजरायलसँग मिलेर इरानी आणविक केन्द्रहरूमा आक्रमण गर्यो?
“त्यो सबै देशभित्रको परिस्थिति र पछि हट्ने भाषालाई कसरी प्रस्तुत गरिन्छ भन्ने कुरामा निर्भर गर्छ, तर देशभित्रैका केही अभियन्ताहरूले युरेनियम प्रशोधन रोक्न आग्रह गरिसकेका छन्,” सेंट एन्ड्र्यूज विश्वविद्यालयका इरानी इतिहासका प्राध्यापक अली अन्सारीले अल जजीरालाई बताए।
अहिलेसम्म त इरान आफ्नो आणविक कार्यक्रमप्रति अडिग देखिन्छ।
सोमबार, इरानी संसदको राष्ट्रिय सुरक्षा समितिले एक विधेयक पारित गर्यो, जसमा यदि पूर्ण अधिवेशनमा स्वीकृत भयो भने, इरानले आइएईएका साथ गरेको सहकार्य पूर्णरूपमा निलम्बन गर्ने प्रस्ताव गरिएको छ।
त्यहीबीच, मंगलबार ट्रम्पले सामाजिक सञ्जालमा जोड दिए कि उनले इरानको आणविक कार्यक्रमलाई पुनः सुरु हुन दिने छैनन्।
यदि त्यो तनाव कायमै रहन्छ भने, अर्को पटक अमेरिका पनि तानिएर आक्रमण र प्रत्याक्रमणको सिलसिला जारी रहनेछ ।
aljazeera मा प्रकाशित सामग्रीको नेपाली अनुवाद

अमेरिकी 'कू' को कालो इतिहास

के हुन सक्छ हर्मुजमा नाकाबन्दीले निम्त्याउने संकट ?

अमेरिकी 'डीप स्टेट', यहूदी प्रभाव र इजरायललाई अमेरिकी समर्थन

कसरी सम्भव भयो इरानभित्र मोसादको चलखेल ?

ट्रम्प र रुबियोले क्युबामाथि फन्दा कस्दै

इरानमाथि इजरायली आक्रमण

अमेरिकामा अवैध आप्रवासनविरुद्धको कारबाहीले लस एन्जलसमा झडप चर्कियो

प्रतिक्रिया