इरानमाथि इजरायली आक्रमण

IRGC प्रमुखसहित शीर्ष वैज्ञानिकहरू मारिए, क्षेत्रीय युद्धको खतरा

शुक्रबार बिहान इजरायलले "अपरेसन राइजिङ लायन" नाम दिइएको व्यापक सैन्य कारबाही अन्तर्गत इरानमाथि ठूलो हवाई आक्रमण गरेको छ।

तेहरान नजिकका प्रमुख सैन्य तथा परमाणु संरचनाहरूमा लक्षित गरिएका यी आक्रमणहरूमा इस्लामिक रिवोल्युशनरी गार्ड कोर्प्स (IRGC) का कमाण्डर-इन-चिफ मेजर जनरल हुसैन सलामीको मृत्यु भएको पुष्टि तेहरान टाइम्स र इरानी सरकारी सञ्चारमाध्यमहरूले गरेका छन्।

इरानका सर्वोच्च नेता अयातुल्ला अली खामेनेईका सबैभन्दा विश्वासपात्र सैन्य नेता मानिने सलामीको निधन इरानी सत्ता र सुरक्षामा गहिरो झट्का मानिएको छ।

बम आक्रमण IRGC को मुख्यालयमै केन्द्रित थियो।

परमाणु वैज्ञानिकहरू पनि मारिए

इजरायली हमलामा केवल सैन्य कमाण्डरहरू होइन, इरानी परमाणु कार्यक्रमसँग संलग्न दुई शीर्ष वैज्ञानिकहरू पनि मारिएका छन्।

ज्यान गुमाउनेमा परमाणु ऊर्जा संगठनका पूर्व प्रमुख फिरेदून अब्बासी र इस्लामिक आजाद विश्वविद्यालय, तेहरानका अध्यक्ष मोहम्मद मेहदी तेहरानची छन्।

अब्बासीमाथि सन् २०१० मा पनि हत्या प्रयास भएको थियो, तर उनी त्यस बेला जोगिएका थिए।

नतांज परमाणु केन्द्रमा विस्फोट

तेहरानबाट करिब २२५ किलोमिटर दक्षिणमा रहेको नतांज परमाणु केन्द्रमा ठूलो विस्फोट भएको पुष्टि इरानी टेलिभिजनले गरेको छ।

इजरायलले घोषणा गरेको छ कि जबसम्म इरानको परमाणु संवर्धन क्षमता पूर्ण रूपमा ध्वस्त हुँदैन, तबसम्म आक्रमण जारी रहनेछ। आक्रमणको पूर्वसन्ध्यामा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि इरानलाई कुनै पनि हालतमा परमाणु हतियार बनाउन नदिइने बनाएका थिए ।

थप अधिकारीहरू पनि निशानामा

अपुष्ट रिपोर्टहरू अनुसार इजरायली कारबाहीमा इरानका चीफ अफ जनरल स्टाफ मेजर जनरल मोहम्मद बाघेरी, IRGC का एयरोस्पेस कमाण्डर आमिर अली हाजीजादेह, तथा परमाणु कार्यक्रम प्रमुख मोहम्मद इस्लामी पनि लक्षित भएका छन्।

तर यी विवरणहरूको आधिकारिक पुष्टि अझै नभएको जनाइएको छ।

इजरायल र इरानबीच युद्धको सम्भावना

इजरायली प्रधानमन्त्री बेंजामिन नेतन्याहूले वक्तव्य जारी गर्दै भनेका छन्, “हामीले इरानको संवर्धन केन्द्रमा सफल प्रहार गरेका छौँ। परमाणु बम निर्माणमा संलग्न वैज्ञानिकहरू हाम्रो निशानामा छन्। यो अभियान आवश्यक भएको जति समयसम्म जारी रहनेछ।”

इरानी सेनाले पनि सामाजिक सञ्जालमार्फत चेतावनी दिँदै भनेको छ, “यदि हामीमाथि युद्ध थोपियो भने, त्यसको जवाफ कडा हुनेछ।”

इजरायलले इरानमाथि गरेको आक्रमणबारे अमेरिकाका विदेश मन्त्री मार्को रुबियोले वक्तव्य जारी गरेका छन्। उनले भनेका छन्-  "आज रात, इजरायलले इरानविरुद्ध एकपक्षीय कारबाही गरेको छ। हामी इरानविरुद्ध भएका ती आक्रमणहरूमा सहभागी छैनौं, र हाम्रो सर्वोच्च प्राथमिकता क्षेत्रभित्र रहेका अमेरिकी सेनाको सुरक्षा गर्नु हो।" अमेरिकाले इरानलाई अमेरिकी सेना र स्वार्थ केन्द्रहरुमाथि आक्रमण नगर्न चेतावनी दिएको छ । तर इजरायलले आक्रमणबारे अमेरिकासँग पूर्ण रुपमा समन्वय गरिएको जानकारी दिएको छ । 

उता इरानका सर्वोच्च नेता खोमेनीले इजरायलले यस आक्रमणको दुर्भाग्यपूर्ण नतिजा भोग्नुपर्ने चेतावनी दिएका छन् । इरानी विदेशमन्त्रीले राष्ट्रसंघको विधानअनुसार नै पनि इरानलाई यस आक्रमणको समुचित प्रत्युत्तर दिने अधिकार रहेको बताएका छन् ।

सम्भावित इरानी प्रत्याक्रमणको आशंकामा इजरायलभरि संकटकालको घोषणा गरिएको छ । इरानबाट हुन सक्ने मिसायल तथा ड्रोन आक्रमणहरुको प्रतिवाद गर्न इजरायल तम्तयार भएर बसेको छ । इजरायलले आफ्नो हवाइ क्षेत्र अस्थायी रुपमा बन्द गरेको छ । अस्पतालहरुलाई घरजान सक्ने विरामीहरुलाई डिस्चार्ज गरेर सम्भाव्यत हताहतीहरुको उपचारको तयारी अवस्थामा रहन भनेको छ । इजरायली सर्वसाधरणहरुलाई अत्यवाश्यक अवस्थामा बाहेक घरबाहेक ननिस्कन, शेल्टरनजिक रहन तथा दुई हप्ताका लागि सम्भाव्य आक्रमणको सामना गर्न तयार रहन भनिएको छ । सार्वजनिक यातायातहरु थोरै चलेका छन् । सर्वसाधारण इजरायलीहरुले अत्यावश्यक खानेकुराहरु सङ्ग्रह गर्न थालेका छन् । चीनले इरान र इजरायलमा रहेका आफ्ना नागरिकहरुलाई सम्भाव्य हमलाको बारेमा सतर्कता अपनाउन तथा सैन्य क्षेत्रहरु वरिपरि नजान सूचना जारी गरेको छ । अमेरिकाले पनि त्यस क्षेत्रमा रहेका आफ्ना नागरिकहरुलाई सतर्क रहन तथा घर फकर्न चाहनेहरुलाई घर फर्कन सुझाव दिएको छ ।

जोर्डन तथा इराकले पनि आफ्नो हवाइ क्षेत्रलाई बन्द गरेको छ ।

image: https://www.aljazeera.com/