मुल्ला नसरुद्दीन कम्युनिष्ट बने !

एकपटक शहरमा हल्ला फैलियो– मुल्ला नसरुद्दीन कम्युनिष्ट बने । जसले पनि यो खबर सुने, सबै अचम्भित बने । कसैले पनि विश्वासै गर्न सकेनन् । सबैलाई थाहा थियो, मुल्ला कति कट्टर छन् ।

यो हल्ला उनका परममित्रले पनि सुने । खबर सुन्नेबित्तिकै उनी तुरुन्तै मुल्लालाई भेट्न पुगे ।

उनले मुल्लालाई सोधे– साथी तिमी कम्युनिष्ट बनेका हौ ?

मुल्लाः हो ।

साथीः तिमीलाई थाहा छ– कम्युनिज्मको अर्थ के हो ?

मुल्लाः थाहा छ ।

साथीः के तिमीलाई थाहा छ, कम्युनिज्ममा तिमीसँग दुईटा कार छ तर अरुसँग छैन भने तिमीले आफ्नो एउटा कार दिनुपर्छ ?

मुल्लाः थाहा छ । म आफ्नो इच्छाले नै दिनका लागि तयार छु ।

साथीः तिमीसँग दुईटा घर छ र अर्को व्यक्तिसँग छैन भने तिमीले उसलाई एउटा घर दिनुपर्छ ?

मुल्लाः हो यो पनि थाहा छ । म उसलाई अर्को घर दिन पनि तयार छु ।

साथीः त्यसो भने तिमीलाई यो पनि थाहा छ होला कि तिमीसँग दुईटा गधा छ तर अर्कोसँग छैन भने एउटा गधा दिनुपर्छ ?

मुल्लाः अहँ ! म पटक्कै दिन्नँ । म दिन सक्दिनँ । म यसो गर्नै सक्दिनँ ।

तीनछक्क परेका साथीले सोधे– तर किन, गाडी घर दिन तयार, गधा दिन चाहिँ बेतयार ? के कम्युनिष्ट तर्क त सबैमा समान रुपले लागू हुन्छ नि हैन र ?

मुल्लाः किनभने मसँग कार र घर छैन तर दुईटा गधा अवश्य पनि छ ।

साथी बेहोस ।

 

दायित्वबोध

दायित्वबोधको समकालीन समाजमा देखापरेका आर्थिक, सामाजिक र राजनीतिका अस्पष्टतालाई चिरेर एउटा प्रष्ट र ताजा दृष्टिकोण निर्माण गर्ने लक्ष्यका साथ सञ्चालित अनलाइन हाे ।