रूसी लोककथा फ्याउरी र खरायो

कुनै मैदानमा एउटा खैरो खरायो थियो । त्यहीं नै एउटी फ्याउरी पनि बस्दथी । छिटै जाडो शुरू भयो । खरायोले भुवा फेर्न थाल्यो। जब चीसो हिउँद लाग्यो, जताततै आँधीबेहरी चल्न थाल्यो, हिउँको रास लाग्यो । जाडोले खरायो सेतै भयो र उसले कटेरो बनाउने तरखर गयो । एउटा मूढो, अर्को मूढो गर्दै काठपाठ थुपारेर उसले कटेरो बनाइछाड्यो।

यो देखेर फ्याउरीले भनी :
“ए, डेडे ! के गरेको तैंले ?"

''देखिनस्, जाडोबाट बच्न कटेरो बनाउँदैछु ।"

"उहु ! कस्तो दूरदर्शी ! '-फ्याउरीले सोची । - 'खै, म पनि घर बनाइहालूँ ! तर काठको कटेरो होइन, बरू बिल्लौरकै दर्बार बनाउँछु, भव्य !'

अनि फ्याउरीले जमेको हिउँका ढिका ओसारेर घर बनाउन शुरू गरी ।

दुवै घर संगसंगै तयार भए र दुवै जन्तु आ-आफ्नो घरमा आनन्दसाथ बस्न थाले ।

हिउँको झ्यालबाट फ्याउरी बाहिर चियाउँथी र खरायोको खिल्ली उडाउँथी : ‘उहु ! डेडे खरायो! कस्तो भद्दा कटेरो बनायो ! मेरो घर त दर्बार न हो: सफा पनि, चम्किलो पनि। जे भए तापनि बिल्लौरको महल न ठहरियो !'

हिउँदमा फ्याउरीलाई राम्रैथियो तर हिउँद बितेर वसन्त लाग्नासाथै हिउँ पग्लन लागिहाल्यो, जताततै न्यानो हुन थाल्यो । त्यत्तिकैमा फ्याउरीको दर्बार पनि पग्लेर पानी नै पानी भयो र माथिबाट तल्तिर बगेर गयो। अब घरबेगर फ्याउरीले के गर्ने लौ ? खरायो आफ्नो कटेरोबाट निस्केर कहिले बाहिर जाला र हिउँमुनि उम्रेको झारपात चुंडाल्दै खाला भनेर फ्याउरी पर्खिरहेकी थिई। खरायोले कटेरो छाड्नेबित्तिकै ऊ सुटुक्क चोटाकोठामा पसी ।

खरायो फर्केर आयो र दैलो उघार्न थाल्यो तर दैलो भने बन्द थियो । केही बेर पर्खेर उसले फेरि दैलोमा ढ्याकढ्याक गयो।

“त्यहाँ को हँ ? "-फ्याउरीले कड्केर सोधी ।"

"म हुँ ! घरमालिक, खैरो खरायो ! ल, फ्याउरी ! मलाई भित्र पस्न दे !"

"गइहाल् ! भित्र आउन दिन्नँ ! " - फ्याउरीले जवाफ दिई।

केही बेर पर्खेर खरायोले लाडिलो स्वरमा भन्योः

"पुग्यो है, फ्याउरी ! के ठट्टा गरेकी ! भित्र आउन दे ! मलाई निद्रा लाग्यो !"

तर फ्याउरीले उत्तर फर्काई :

“पख्, ए डेडे ! हुर्रिएर आउँला ! उफेर आउँला ! तँलाई थचारूँला,  
धूलोपीठो पारूँला ! अनि तेरो भुत्ला हावामा उडाउँला ! "

खरायो धुरूधुरू रोयो र जता आँखाले डोऱ्याए त्यतैतिर लाग्यो । जाँदा जाँदा बाटोमा उसले खैरो ब्वाँसो भेट्यो।

“नमस्ते, खरायो ! तेरो के हरायो ? किन आँसु झर्‍यो ? कस्तो पीर पयो ?"

“किन मलाई नपरोस् पीर ? कसरी मन यो राखूँ स्थिर? मसित थियो काठको घर। फ्याउरीसित थियो हिउँको घर। पग्लेर गयो फ्याउरीको दर्बार। उसैले हत्त्यायो मेरो घरबार! झन् उल्टै मलाई दिएन पस्न, घरमालिकलाई नै दिएन घरमा बस्न !"

"'पख्, हामी जाऔँला, अनि फ्याउरीलाई धपाऔंला ! " - ब्वाँसोले
ढाडस दियो।

“कुन्नि, खै, ब्वाँसो- दाइ ! शायदै धपाइएला फ्याउरीलाई ! बसेकी छे ऊ घरमा आग्लो लगाई ढोकामा !"

"धपाउन सकिनँ भने फ्याउरीलाई, म त म नै भइन नाइँ !”– ब्वाँसो गर्जियो ।

खरायो खुशी हुँदै उफ्रियो र फ्याउरी धपाउन ब्वाँसोको पछिपछि गयो। ती दुवै कटेरोअगाडि पुगे ।

"ए फ्याउरी, नकच्चरी ! निक्ली जा अरूको घर छोडी ! " - ब्वाँसोले हकायो । फ्याउरीले उसलाई धरभित्रबाटै जवाफ फर्काई :

"पख्, ए ब्वाँसो ! टाँडबाट ओर्लन्छु । हुर्रिएर आउँला ! उफ्रेर आउँला ! तँलाई थचारूँला, धूलोपीठो पारूँला ! अनि तेरो भुत्ला हावामा उडाउँला !"

"एहे! कस्ती रिसाही, लौ ।” – ब्वाँसो फतफतायो र पुच्छर टाङमुनि लुकाएर वनतिर कुलेलम भइहाल्यो । अनि खरायो चाहिं सुँक्कसुँक्क रुँदै मैदानमा चहार्न थाल्यो ।

यत्तिकैमा एउटा साँढे देखियो।

"नमस्ते, खरायो ! तेरो के हरायो ? केको पीर पत्यो ? किन आँसु भयो ? "

" किन मलाई नपरोस् पीर ? कसरी मन यो राखूँ स्थिर ? मसित थियो काठको घर। फ्याउरीसित थियो हिउँको घर । पग्लेर गयो फ्याउरीको दर्बार । उसैले हत्त्यायो मेरो घरबार ! झन् उल्टै मलाई दिएन पस्न, घरमालिकलाई नै दिएन घरमा बस्न !"

"पख्, हामी जाऔँला, अनि फ्याउरीलाई धपाऔँला ! "-साँढेले भन्यो ।

"अहँ, साँढे-दाइ ! धपाइन्न फ्याउरीलाई ! गजक्क परेर बसेकी छे ऊ! ब्वाँसोले उसलाई धपाउन खोज्यो तर सकेन । तिमी त झन् साँढे, कसरी धपाऔला र ! "

“धपाउन सकिनँ भने फ्याउरीलाई, म त म नै भइन नाइँ ! " - साँढे डुक्रायो ।

खरायो खुशीले उफ्रियो र फ्याउरीलाई घरबाट निकाल्न साँढेको पछिपछि गयो । घरनेर पुगियो।

“ए, फ्याउरी, नकच्चरी ! अरूको घरबाट निस्केर जा लुसुक्क परी! "-साँढेले झपायो ।

फ्याउरीले उसलाई जवाफ दिई: "पख्, ए साँढे ! टाँडबाट ओर्लन्छु । हुर्रिएर आउँला ! उफेर आउँला ! तँलाई थचारूँला, धूलोपीठो पारूँला ! अनि तेरो भुत्ला हावामा उडाउँला ! "

"एहे! कस्ती रिसाही, ल !" - साँढे डुक्रायो, टाउको निहुरायो र सुइँकुच्चा ठोक्यो। ढिस्कुरोनेर बसेर खरायो धुरूधुरू रोयो र करायो ।

मीश्का-भालु त्यहीं आइपुग्यो र सोध्न लाग्यो:

“नमस्ते, डेडे खरायो ! भन्, तेरो के हरायो ? कस्तो पीर पन्यो ? किन आँसू झयो ?”

किन मलाई नपरोस् पीर ? कसरी मन यो राखूँ स्थिर ? मसित थियो काठको घर। फ्याउरीसित थियो हिउँको घर । पग्लेर गयो फ्याउरीको दर्बार । उसैले हत्त्यायो मेरो घरबार ! झन् उल्टै मलाई दिएन पस्न, घरमालिकलाई नै दिएन घरमा बस्न !"

"पख्, हामी जाऔँला ! अनि फ्याउरीलाई धपाऔंला !" - भालुले निर्णय सुनायो ।

"अहँ, दयालु मीश्का-भालु ! शायदै त्यसलाई धपाउन सकिएला ! गजधम्म परेर बसेकी छे। ब्वाँसोले धपाउन खोज्यो तर सकेन। साँढेले पनि धपाउन खोज्यो तर सकेन । तिमी पनि धपाउन असमर्थ हुनेछौ।"

“धपाउन सकिनँ भने फ्याउरीलाई, म त म नै भइन नाइँ ! " - भालु जङ्गियो । खरायो खुशी भयो, फ्याउरीलाई धपाउन बुर्लुक्क-बुर्लुक्क उफ्रँदै भालुको पछिपछि गयो। घरनेर पुगियो ।

“ए, फ्याउरी, नकच्चरी ! अर्काको घरबाट निस्केर जा खुसुक्क परी !" - मीश्का-भालु जङ्गियो।

फ्याउरीले उसलाई जवाफ दिई :

“पख्, ए, मीश्का-भालु ! टाँडबाट त हाम्फालूँ ! हुर्रिएर आउँला ! उफ्रेर आउँला ! तँलाई थचारूँला, धूलोपीठो पारूँला ! अनि तेरो भुत्ला हावामा उडाउँला !"

"उ-हु-हु ! कस्ती मापाकी ! " - भालु गर्जियो र लुसुक्क परी कुलेलम भयो ।

खरायो के गरोस् ? उसले फ्याउरीसित बिन्तीभाउ गयो तर फ्याउरीले कुनै टेरपुच्छर लगाएन। अनि खरायो बर्बर आँसु झार्दै रोयो र जता आँखाले डोऱ्याउँछन् त्यतैतिर गयो। जाँदा जाँदा बाटैमा एउटा रङ्गीचङ्गी भाले भेट्टियो जसले काँधमा खड्ग बोकेको थियो ।

“नमस्ते, खरायो ! हालचाल छ कस्तो ? केको पीर पयो ? किन आँसु भयो ?"

“किन मलाई नपरोस् पीर ? कसरी मन यो राखूँ स्थिर ? मसित थियो काठको घर। फ्याउरीसित थियो हिउँको घर । पग्लेर गयो फ्याउरीको दर्बार। उसैले हत्त्यायो मेरो घरबार ! झन् उल्टै मलाई दिएन पस्न, घरमालिकलाई नै दिएन घरमा बस्न !"

"पख्, हामी जाऔँला ! अनि फ्याउरीलाई धपाऔंला ! " - भालेले भन्यो ।

"सित्तै फूर्ति नगर्, ए भाले ! खै, के धपाउलास् उसलाई तैंले ? ब्वाँसोले धपाउन खोज्यो तर सकेन। साँढेको धपाउने प्रयास पनि सफल भएन । भालुले धपाउन चाह्यो तर धम्की मात्रै पायो । अड्डी लिएर बसेकी छे फ्याउरी । तैंले पो धपाउने होला कसरी ! "

" जमर्को त गरिहेरौं !” – भालेले भन्यो र फ्याउरी धपाउन खरायोसंगै हिंड्यो। कटेरोनेर पुग्नेबित्तिकै बेसरी भाले त गाउन पो लाग्यो यसरीः
"हिंड्छ भाले ढल्की-ढल्की

काँधमाथि खड्ग बोकी,

फ्याउरीको छाला काढी

टोपी सिउन आफ्नो लागि –

लौ, फ्याउरी, निस्किहाल् !

ज्यान जोगाई भागिहाल् !

भालेको यस्तो धम्की सुनेर फ्याउरीको सातो नै गयो उडेर। अनि भन्न लागी ऊ थर्कमान हुँदै:

"एक्कै छिन त पर्खिदे, ए रङ्गीचङ्गी भाले ! सुनौला छ सिउँर, प्वाँख रेशमी छन् तेरा !” तर भाले जोडले करायो :

"कुखुरी-काँ! काटीकुटी खाँ !"

फ्याउरीले मसिनो चेपारे स्वरमा पुकार गरी :

“ए, रङ्गीचङ्गी भाले ! बिन्ती छ, नकरा ! न खा मेरो हाडखोड ! दे लगाउन भुत्लेकोट !"

भाले त ढोकैनेर उभिएर ठूलो स्वरले कुर्लन लाग्यो :

" हिंड्छ भाले ढल्की-ढल्की

काँधमाथि खड्ग बोकी,

फ्याउरीको छाला काढी टोपी सिउन आफ्नो लागि –

लौ, फ्याउरी, निस्किहाल !

ज्यान जोगाई भागिहाल् !

अब के गर्ने होला ? कतातिर भाग्ने होला ? फ्याउरी नकच्चरी, अकमक्क परी । सुटुक्क दैलो खोलेर ऊ लुसुक्क पन्छिएर हिंडी। अनि खरायो र भाले कटेरामा बस्न थाले। खूबै धनसम्पत्ति पनि थुपारे, आनन्दसाथ जीवन गुजारे ।

चित्रकार - एम्गेनी राचेंभ, अनुवादक- कृष्णप्रकाश श्रेष्ठ

 

दायित्वबोध

दायित्वबोधको समकालीन समाजमा देखापरेका आर्थिक, सामाजिक र राजनीतिका अस्पष्टतालाई चिरेर एउटा प्रष्ट र ताजा दृष्टिकोण निर्माण गर्ने लक्ष्यका साथ सञ्चालित अनलाइन हाे ।