विदूषक र जमीन्दार (श्रीलंकाका कथा)

कुनै समय एक बस्तीमा एक जना विदूषक थियो । थरीथरीका कुरा हाँकेर अरुलाई बेबकुफ बनाउँन खफीस गफाडी थियो । मानिसहरु यो साँचो कुरा गर्ने होइन भनेर चिन्थे तर पनि बेलाबेला उसको आवश्यकता अनुभव गर्थे र जालमा पनि पर्थे ।

विदूषक अनौठा अनौठा कुराले मान्छेलाई पेट मिची–मिची हसाउँन सक्थ्यो । विभिन्न दृष्टान्त र उदाहरण दिएर आफ्ना कुरामा अरुलाई विश्वास पार्न पनि सक्थ्यो । उसको उद्योग खेती व्यापार जे भने पनि यही कुरा र कुरा मात्र थियो । कुरै कुराका भरमा उसले अति नै धेरै सम्पत्ति पनि कमाइसकेको थियो ।

कथा त्यसै विदूषकको हो ।

विदूषकको नाम ज्ञानप्रसाद ‘वित्पात’ थियो । धेरैजसो मानिसहरु उसलाई वित्पात मात्र भन्थे । वित्पात कहाँ ठूलावडा शासक, प्रशासक, व्यापारी, वुद्धिजीवीलगायत विभिन्न मानिसका घरबाट कुरा गर्न र सँगै बसेर खाना खान निम्ता आउँथ्यो । कसैलाई भात रुचेन वित्पात, कसैलाई निद्रा लागेन– वित्पात, कसैलाई कुनै समस्या पर्‍यो समाधान चाहियो– वित्पात । ऊ सबैको मानिसक औषधिजस्तो बनेको थियो । जहाँ जहिले पनि वित्पात अरुलाई मूर्ख बनाउँथ्यो र आफ्नो दुनो सोझ्याउँथ्यो । कतिले यो कुरा तत्काल थाहा पाउँथे, कतिले अल्लिपछि मात्र थाहा पाउँथे । बित्पात बलियो, खिरिलो, रातोपिरो र खाइलाग्दो थियो । बाटो खन्ने, ढुङ्गा बोक्ने, काठ बोक्नेजस्ता सामाजिक काममा वित्पातले कहिलेकाहीँ मद्दत गरेजस्तो पनि गर्थ्यो । धेरैजसो ऊ कुराकै व्यवसाय गर्थ्यो । बस्तीबाट टाढा शहर बजारका धनीमानीहरु पनि मनोरञ्जन चाहिँदा विदूषकका रुपमा उसको सम्झना गर्थे ।

एक पटक एक जना ठूला जमीन्दारलाई आफ्नो मलिलो खेतका बीचमा रहेको अजङको चट्टान उखेलेर पन्छाइदिन मन लाग्यो । उपाय निकाल्न सकिन्छ कि भनेर सल्लाह गर्न जमीन्दारले वित्पातलाई लिन पठायो । वित्पात आयो, कुरा सुन्यो, जमीनमा गएर चारैतिर घुम्दै चट्टान हेर्‍यो । अनि मुसुक्क हाँसेर भन्यो “ठीक छ, अलि गाह्रो त छ तर पनि यो चट्टान म आफैं एक्लै पन्छाइदिन्छु ।”

कुरा सुनेर जमीन्दार दंग पर्‍यो र भन्यो– मैले खोजेको त्यत्ति नै हो ।

वित्पातले भन्यो, “जमीन्दारजी, यो काम बसन्त ऋतु शुरु भएपछि गर्नुपर्ला । बसन्तमा चट्टान अघि–पछिभन्दा हलुंगो हुन्छ, परिवर्तनशील हुन्छ । चट्टानलाई पनि यात्राको मुड चल्छ बसन्त ऋतुमा । अहिले भर्खरै जाडो शुरु भएको छ । तयारीको मौका छ । वित्पातले आवाज बदल्दै भन्यो, “हेर्नुस् जमीन्दारजी म खेतालाका रुपमा त यो काम गर्दिनँ । तपाईंलाई मद्दत गर्न मात्र मैले यस काममा हात हाल्ने आँट गरेको हो । तपाईं साँच्चिनै मबाट काम लिन चाहनु हुन्छ र यो चट्टान खेतका बीचबाट हटाउनै चाहनु हुन्छ भने पहिले त मलाई यो छ महिना तयार हुन दिनुहोस् । त्यसको लागि मलाई तपाईंले आफ्नो बगैँचाको पारिलो चाहिँ घरमा बस्ने ठाउँ दिनुपर्छ । मासु र कालिजको सुपसहितको पौष्टिक स्वादिष्ट खानपानको व्यवस्था गरिदिनुपर्छ । बस यत्ति हो । तपार्इंसित म पारिश्रमिक चाहिँ लिन्न ।”

बित्पातका कुरा सुनेर जमीन्दार अत्यन्तै खुसी भयो । ६ महिना एउटा मान्छेलाई घरमा राखेर त्यति खानपीनको व्यवस्था गरिदिनु मेरो लागि कुन ठूलो हो र ? जमीनदारले मनमनै सोच्यो र भन्यो, “हुन्छ, बस्नुस्, आजैदखि बस्नुस् ।”

त्यसपछिका छ महिना बित्पातले खेत र चट्टानबारे कुरै झिकेन । जमीन्दारको घरमा बित्पात प्रत्येक बिहान ५ बजे उठ्थ्यो, व्यायाम गर्थ्यो, नास्ता खान्थ्यो, बगैँचा घुम्थ्यो, दिउँसो खानपीन गर्थ्यो, बजारतिर डुल्न जान्थ्यो, आएर फलफूलको जुस खान्थ्यो, राति पुनः खानपिन गर्थ्यो र सुत्थ्यो । यसरी नियमित खानपीन र व्यायामले बित्पात झन्झन् बलियो र रातोपिरो भयो।

जाडो बितेर अब वसन्त ऋतु पनि आयो । जमीन्दारका बगैँचामा विभिन्न लहरा र वृक्षहरुमा राम्रा सुगन्धित फूलहरु फुले । वातावरण मगमग भयो । जमीन्दारले बित्पातलाई भेटेर भन्यो, “अब बसन्त ऋतु त आयो त !”

“अँ आयो । म अब भोलि नै खेतबाट त्यो चट्टानलाई कतै टाढा पुर्‍याइदिन्छु । तपाईं धन्दा नमान्नुस् । मेरो लागि त्यो त्यति ठूलो काम होइन । भोलि २ बजेतिरै कार्यक्रम राखुँ । बस्तीका सबैलाई बोलाउनुहोस् । ठूलो काम हो सबैले हेरुन् बुझुन् ।” बित्पातले आत्मविश्वासका साथ भन्यो ।

जमीन्दारको खुसीको सीमा रहेन । बस्तीमा आफैं घुमेर उसले यस कुरामा प्रचार गर्‍यो । “आउनुस् तपाईं पनि आउनुस् ।” उसले आफ्नो प्रतिद्वन्दी जमीन्दारलाई पनि समारोहमा उपस्थित हुन निम्ता दियो ।

“त्यत्रो चट्टान हटाउने कुरा ! सधैं देख्न पाइने कुरा हो र ?” बस्तीकी एक गृहणीले भनिन् । “जाने हो, तिमी पनि हिँड ।” गृहिणीका श्रीमानले आफ्नो मनमा पनि त्यत्तिकै खुल्दुली जागेको कुरा जनाउँदै भन्यो । घर–घरमा यही र यस्तै सम्वाद र चर्चाहरु भएर । भोलिपल्ट १ नबज्दै जमीन्दारका खेतभरि मानिस टनाटन जम्मा भए । “कहिले आउला बित्पात र उठाउँला चट्टान !” सबैको मनमा एउटै प्रतीक्षा थियो ।

दुई बज्यो । बित्पात आइपुग्यो। सँगसँगै हाँस्दै रमाउँदै जमीन्दार पनि आयो । चट्टान भएनिर आएर बित्पातले आफ्नो पिठयूँमा स्याउला राख्यो । उपस्थित मानिसहरुतिर हेरेर सबैले सुन्ने गरी भन्यो, “म यो चट्टानलाई पिठयूँमा बोकेर समुद्रको किनारमा पुर्‍याइदिन्छु । यो खेत अब यस चट्टानको समस्याबाट मुक्त हुन्छ । ल म बोक्न तयार छु । तपाईंहरु सबैले मिलेर यो चट्टान मेरो पिठ्यूँमा राखिदिनु होस् ! बोक्ने र फ्याँक्ने काम म गर्छु ।”

बित्पातका कुरा सुनेर जमीन्दार जिल्ल पर्‍यो । हेर्न आएकाहरु मुखामुख गर्दै मुसुमुसु हाँस्दै लुसुलुसु त्यहाँबाट खस्किन थाले । एक्कै छिनमा त्यहाँ त्यही बित्पात र जमीन्दार मात्र बाँकी भए । “खै त कसैले यो चट्टान उठाएर मेरो पीठमा राखिदिएन । म त बोक्न तैयार नै थिएँ ।” बित्पातले भन्यो ।

जमीन्दार आफ्ना दुवै हात आफ्नो निधारमा राख्दै थचक्क खेतमा बस्यो र करायो “यो बित्पात गफाडीका कुरामा विश्वास गर्नाले मेरो खेतको चट्टान पनि कतै गएन, र बस्तीमा भएको आफ्नो शान रवाफ र इज्जत पनि बाँकी रहेन ! धिक्कार !! यता बस्तीका घर–घरमा घटनाको चर्चा र हाँसो चल्यो । जमीन्दारको बुद्धिले लात खाएकोमा बस्तीका प्रत्येक मान्छे खुसीले मुस्कुराइरहेको देखिन्थ्यो ।

प्रस्तुति: शारदारमण नेपाल