‘आइपुग्यो दशैं यो आँगन’ सार्वजनिक

नेपालीहरूको महान् पर्व बडादशैँको अवसर पारेर प्रयासी परिवारले नयाँ दशैँ गीत ‘आइपुग्यो दशैँ यो आँगन’ बजारमा ल्याएको छ। ‘गीत कोशेली नेपाल’को आधिकारिक युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको यस गीतले नेपाली मौलिक संस्कृति, पारिवारिक मिलन र पर्वको हर्षोल्लासलाई कलात्मक रूपमा समेटेको छ।

लोक-आधुनिक शैलीमा तयार पारिएको यस गीतमा चर्चित गायिका शान्ति श्री परियार र गायक समीर खरेलको सुमधुर स्वर सुन्न सकिन्छ। गीतका शब्दहरू शान्ता केसी कुँवर र डा. ईश्वरी जंग कुँवरले रचना गरेका हुन् भने सङ्गीत संयोजन स्वयम् डा. कुँवरकै रहेको छ। ‘मालश्री गुञ्जियो धुन, आइपुग्यो दशैँ यो आँगन’ भन्ने भाव बोकेको यस गीतले परदेशिएका आफन्त घर फर्कँदाको खुसी, टीका-जमरा, चङ्गा उडाउने परम्परा र लिङ्गे पिङको रौनकलगायत दशैँका प्रमुख विशेषताहरूलाई सुन्दर ढङ्गले उजागर गरेको छ।

दृश्य निर्माणका हिसाबले पनि आकर्षक बनेको यस भिडियोलाई राजु जंग बस्नेतले निर्देशन तथा सम्पादन गरेका हुन्। भिडियोमा मोडल गरिमा शर्मा र प्रभात पाल ठकुरी मुख्य भूमिकामा देखिएका छन् भने यसै भिडियोमार्फत चाँदनी कुँवरले अभिनय क्षेत्रमा औपचारिक रूपमा डेब्यु गरेकी छन्। नेपाली मौलिक परम्परा र सांस्कृतिक वातावरणलाई सन्तुलित रूपमा प्रस्तुत गरिएको यस गीतले दर्शक तथा श्रोतामाझ दशैँको रौनक थप्ने अपेक्षा निर्माण पक्षले लिएको छ।