तिहारका लागि यसरी रोप्न र हुर्काउन सकिन्छ सयपत्री फूल

नेपाली संस्कृतिमा सयपत्री (Marigold) केवल एउटा फूल मात्र नभएर तिहार र अन्य शुभ कार्यको अभिन्न हिस्सा हो। यसको खेती व्यवसायिक रूपमा मात्र नभई घरको बगैँचा वा कौसी खेतीका रूपमा पनि निकै लोकप्रिय छ।

सयपत्री रोप्ने उपयुक्त समय

नेपालको हावापानी अनुसार सयपत्री फूल वर्षैभरि फुलाउन सकिन्छ, तर तिहारलाई लक्षित गरेर खेती गर्दा समयको तालमेल मिलाउनु निकै महत्त्वपूर्ण हुन्छ।

सामान्यत: तिहार कार्तिक महिनामा पर्छ। यसका लागि साउनको अन्तिम हप्तादेखि भदौको पहिलो हप्तासम्म बेर्ना सार्नु उपयुक्त हुन्छ। त्यसअनुसार जेठ–असारमा बीउ राखेर साउनमा रोप्दा भदौ–असोजमा फूल फुल्छ।त्यसैगरी,  भदौ–असोजमा बीउ राखेर कात्तिक–मंसिरमा बेर्ना सार्दा पुस–माघमा फूल प्राप्त गर्न सकिन्छ।

बीउको छनोट र नर्सरी व्यवस्थापन

सयपत्रीका मुख्यतया दुई प्रकार बढी प्रचलित छन्: अफ्रिकन सयपत्री (ठूला र थुङ्गे फूल) र फ्रेन्च सयपत्री (साना र झुप्पामा फुल्ने)।

बीउ राख्ने तरिका: राम्रोसँग खनजोत गरी तयार पारिएको ब्याड वा गमलामा बीउ छर्नुपर्छ। बीउलाई हल्का माटोले छोपेर हल्का सिँचाइ गर्नुपर्छ।

बेर्ना तयार हुने समय: बीउ छरेको २० देखि २५ दिनमा बेर्ना सार्न लायक हुन्छन्। बेर्ना करिब ३–४ इन्च अग्लो भएपछि मात्र सार्नुपर्छ।

जमिनको तयारी र रोप्ने विधि

सयपत्रीका लागि पानी नजम्ने, घाम लाग्ने र निकासको राम्रो व्यवस्था भएको प्राङ्गारिक पदार्थयुक्त दोमट माटो सबैभन्दा उत्तम हुन्छ।

सयपत्री फूल रोप्न जमिनको तयारी गर्नका लागि २–३ पटक खनजोत गरी माटोको डल्ला फुटाएर बुर्बुराउँदो बनाउनुपर्छ। यसमा राम्रोसँग कुहिएको गोबर मल वा कम्पोस्ट मल मिसाउनुपर्छ।

त्यसपछि लाइनदेखि लाइनको दूरी ४०–५० सेन्टिमिटर र बोटदेखि बोटको दूरी ३०–४० सेन्टिमिटर राखेर रोप्नुपर्छ । सयपत्रीको बेर्ना सार्दा बेलुकाको समय (घाम अस्ताउन लागेपछि) रोज्नुपर्छ । यसो गर्दा बिरुवा ओइलाउने सम्भावना कम हुन्छ।

हेरचाह र स्याहार–सुसार

बिरुवा सारेर मात्र पुग्दैन, त्यसको उचित व्यवस्थापनले फूलको गुणस्तर र सङ्ख्या निर्धारण गर्छ।

क) सिँचाइ व्यवस्थापन

सयपत्रीलाई ओस चाहिन्छ तर पानी जम्नु हुँदैन। माटोको चिस्यान हेरेर हल्का सिँचाइ गर्नुपर्छ। फूल फुलिसकेपछि भने फूलको थुङ्गामा पानी पर्दा फूल कुहिने डर हुन्छ । त्यसैले पानी हाल्दा सावधानी अपनाउनुपर्छ । हामीले फूलमा नपर्ने गरी जरामा मात्र पानी दिनु राम्रो हुन्छ।

टपिङ (Pinching/Toping)

यो सयपत्री खेतीको सबैभन्दा महत्त्वपूर्ण पक्ष हो। बिरुवा सार्नुभएको १५–२० दिनपछि जब बिरुवा अलि बढ्छ, त्यसको टुप्पोलाई अलिकति चुँडिदिनुपर्छ। यसलाई 'पिन्चिङ' भनिन्छ। यसो गर्दा बिरुवा अग्लो मात्र नभई छेउबाट धेरै हाँगाहरू हाल्छ र बोट झाङ्गिन्छ, जसले गर्दा धेरै फूलहरू फुल्छन्।

मलखादको प्रयोग

सरेको १५ दिनपछि प्रति बोट थोरै युरिया वा झोल मल दिँदा बिरुवाको वृद्धि छिटो हुन्छ। फूल फुल्ने बेलामा पोटासयुक्त मल दिँदा फूलको रङ चम्किलो र थुङ्गा बलियो हुन्छ।

रोग तथा कीरा नियन्त्रण

सयपत्रीमा कहिलेकाहीँ फेद कुहिने, डढुवा र कीराहरू (जस्तै: रातो माउसुली वा लाही) लाग्न सक्छन्।त्यसका लागि हुर्केको सयपत्रीको बोटमा हप्तामा एक पटक ढुसीनाशक औषधी पानीमा घोलेर स्प्रे गरिदिनुपर्छ । त्यसैगरी महिनामा एकचोटी जरामा पनि हालिदिनुपर्छ । जरा कुहिन नदिनको लागि पानी जम्न दिनु हुँदैन ।

धेरै रोग लागेमा खरानीको प्रयोग वा जैविक विषादी (नीमको तेल) प्रयोग राम्रो मानिन्छ । धेरै रासायनिक विषादी प्रयोग गर्दा फूलको प्राकृतिक सुगन्ध र गुणस्तरमा ह्रास आउन सक्छ।

सफल खेतीका लागि केही विशेष टिप्स

घामको उपलब्धता: सयपत्रीलाई दिनको कम्तीमा ५–६ घण्टा प्रत्यक्ष घामको आवश्यकता पर्छ। छायाँमा रोपेमा बोट मात्र बढ्छ तर फूल कम फुल्छ।

गोडमेल: समय–समयमा झारपात उखेल्ने र माटो खुकुलो बनाइदिने गर्नुपर्छ।

सहारा दिने: अफ्रिकन सयपत्रीका बोटहरू अग्ला र भारी हुने भएकाले फूल फुल्ने बेलामा लड्न सक्छन्। यस्तो बेला बाँसको सानो कप्टेरा वा लौरोले सहारा दिनु उपयुक्त हुन्छ।

सयपत्री फूलको खेती थोरै मेहेनतमा पनि राम्रो नतिजा दिने खेती हो। माथि उल्लेखित समय र विधिको पालना गरेमा तिहारको समयमा आफ्नो घर–बगैँचालाई ढकमक्क सयपत्रीले सजाउन सकिन्छ। व्यावसायिक रूपमा गर्दा यसले छोटो समयमा राम्रो आम्दानी समेत दिन्छ।