पश्चिम एशियाको युद्धले नेपालमा पार्ने बहुआयामिक संकट
मध्यपूर्वमा चर्किएको वर्तमान सैन्य तनावले केवल भौगोलिक सीमाहरू मात्र नाघेको छैन । अनि यसको असर युद्धरत पक्षहरुमा मात्र सीमित छैन । यसका असरहरु बहुआयामिक र विश्वव्यापी बन्दै जाने देखिएको छ । त्यसले विश्व अर्थतन्त्रमै भयानक संकट खडा गर्ने स्थिति देखापर्न थालेको छ । स्वभाविक रुपमा त्यसले नेपाल जस्तो आयातमा पूर्ण निर्भर मुलुकको जग नै हल्लाउने संकेत गरेको छ। इरानमाथि इजरायल र अमेरिकाले गरेको हमलाको प्रतिकारमा इरानले स्ट्रेट अफ हर्मुजमा कडाइ गरेको छ । त्यसले विश्वव्यापी हुने गरेको तेल व्यापारमा मात्रै हैन, अन्य विविध सामग्रीहरुको विश्वव्यापी आपूर्ति शृङ्खलामा समेत ठूलो धक्का पुर्याएको छ। यसको प्रत्यक्ष र भयावह असर नेपालको कृषि, स्वास्थ्य र समग्र अर्थतन्त्रमा देखिन थालिसकेको छ।
कृषि क्षेत्रमा ‘क्रुर’ प्रहार: रासायनिक मलको हाहाकार र खाद्य संकट
नेपालको कृषि क्षेत्र सधैँ नै रासायनिक मलको अभावले थला पर्दै आएको छ। सामान्य अवस्थामा समेत किसानले समयमा मल नपाउने हाम्रो धरातलीय यथार्थका बीच, अहिलेको युद्धले यसलाई ‘भयानक’ मोडमा पुर्याएको छ। विश्व बजारमा रासायनिक मल (विशेषगरी युरिया र डीएपी) उत्पादनका लागि आवश्यक पर्ने प्राकृतिक ग्यास र सल्फरको ठूलो हिस्सा मध्यपूर्व र रसिया-युक्रेन क्षेत्रबाट आपूर्ति हुन्छ। स्ट्रेट अफ हर्मुजमा अवरोध हुनासाथ यी कच्चा पदार्थको ढुवानी ठप्प हुनेछ।
त्यसमाथि, नेपालको प्रमुख मल आपूर्ति स्रोतमध्येको एक चीनले आफ्नो आन्तरिक मागलाई प्राथमिकता दिँदै मल निर्यातमा प्रतिबन्ध लगाइसकेको छ । सम्भवत: अब अब भारतमा समेत त्यसको प्रभाव पर्नेछ । त्यो भनेको रासायनिक मलमा अत्यधिक भारतमाथि निर्भर नेपालले भारतबाट समेत मल पाउने सम्भावना कम हुने देखिएको छ । नेपालेले रासायनिक मलको आयातमा मूलत भारत र चीनसँग अन त्यसपछि बहराइन, ब्रुनाइ, कतार, ओमान, सउदी अरेबिया र तुर्किमिनिस्तानबाट गर्ने गर्छ । तर अहिलेको युद्धले ती क्षेत्रबाट मल आउने सम्भावना कम भएको छ । यो स्थितिमा नेपाली किसानका लागि अबको सिजन निकै चुनौतीपूर्ण देखिन्छ। मलको अभावले धान, मकै र गहुँ जस्ता मुख्य बालीको उत्पादनमा ह्रास आउने निश्चित छ, जसले गर्दा भोलिका दिनमा देशमा चरम खाद्य असुरक्षा र भोकमरीको स्थिति सिर्जना हुन सक्छ।
त्यसबाहेक, नेपालका थुप्रै ठाउँहरुमा ट्र्याक्टरबाट खेत जोत्ने काम हुन्छ । तेलको अभावमा खेत जोताइमा समेत असर पर्नेछ । स्वभाविक रुपमा त्यसले कृषि कर्मलाई थप आघात तुल्याउनेछ ।
स्वास्थ्य क्षेत्रमा जोखिम: औषधि र कच्चा पदार्थको अभाव
नेपालको औषधि उद्योग पनि यो युद्धको चपेटाबाट अछुतो रहने छैन। नेपालमा खपत हुने झन्डै ८० प्रतिशत औषधि र औषधिका लागि आवश्यक पर्ने कच्चा पदार्थ (API) भारत र तेस्रो मुलुकबाट आयात गरिन्छ। युद्धका कारण अन्तर्राष्ट्रिय कार्गो उडान र समुद्री ढुवानीमा अवरोध आउँदा जीवनरक्षक औषधिहरूको आपूर्ति शृङ्खला टुट्ने जोखिम बढेको छ।
यो स्थितिमा विशेषगरी एन्टिबायोटिक्स, मुटुको औषधि र आपत्कालीन प्रयोगमा आउने औषधिहरूको अभाव देखिन सक्छ। ढुवानी खर्चमा हुने वृद्धिले औषधिको मूल्यमा बढोत्तरी हुनेछ ।त्यससको सिधा मार निम्न आर्थिक अवस्था भएका बिरामीहरूमाथि पर्नेछ। सरकारी अस्पतालहरूमा मौज्दात रहेका औषधिहरूले केही समय धान्न सके पनि दीर्घकालीन युद्धले स्वास्थ्य प्रणालीलाई नै धराशायी बनाउने देखिन्छ।
इन्धन र ढुवानी खर्चले निम्त्याउने अचाक्ली महँगी
स्ट्रेट अफ हर्मुज जस्तो रणनीतिक मार्ग बन्द हुँदा कच्चा तेलको मूल्यमा हुने वृद्धिले विश्वभरको यातायात लागतलाई महँगो बनाउँछ। नेपालले भारतबाट इन्धन खरिद गर्ने भए तापनि अन्तर्राष्ट्रिय बजारमा मूल्य बढ्नासाथ नेपालमा पनि मूल्य समायोजन अनिवार्य हुन्छ। इन्धनको मूल्य वृद्धि हुनु भनेको ढुवानी भाडा बढ्नु हो, जसले बजारमा उपलब्ध हुने हरेक उपभोग्य वस्तुको मूल्यलाई आकाशमा पुर्याइदिन्छ। यसले सर्वसाधारणको भान्सादेखि दैनिक जीवनयापनलाई कष्टकर बनाउनेछ।
पर्यटन क्षेत्रमा आघात
इरान युद्धले प्रभाव पार्ने अर्को मुख्य क्षेत्र पर्यटन पनि हो । अन्तर्राष्ट्रिय हवाइ मार्गहरुको नियमित रुटमा व्यवधान पैदा भएको छ । कैयन एयरलाइन्सहरुले आफ्ना उडानहरु स्थगन गरेका छन् । यस्तो अवस्थामा स्वभाविक रुपमा वैदेशिक पर्यटकहरुको आवागमनमा असर पर्ने गर्छ ।
युद्धका कारण अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढ्ने भएकाले हवाई इन्धन महँगो हुन गई हवाई टिकटको मूल्यमा उल्लेख्य वृद्धि हुन्छ। यसका साथै इरान र आसपासको हवाई क्षेत्र असुरक्षित हुँदा विमानहरूले लामो रुट प्रयोग गर्नुपर्ने हुन्छ, जसले पर्यटकहरूको यात्रा समय र खर्च दुवै बढाइदिन्छ।
विशेषगरी नेपाल आउने युरोपेली र अमेरिकी पर्यटकहरू आर्थिक अनिश्चितता र सुरक्षाको कारणले गर्दा लामो दुरीको यात्रा गर्न हच्किन्छन्, जसले गर्दा नेपालको पर्यटन आगमनमा सिधै गिरावट आउँछ। नेपाल आउने धेरैजसो विदेशीहरूले कतार वा दुबई जस्ता खाडी मुलुकका विमान सेवा र विमानस्थलहरू ट्रान्जिटका रूपमा प्रयोग गर्ने भएकाले त्यस क्षेत्रको अशान्तिले नेपालको अन्तर्राष्ट्रिय कनेक्टिभिटीमा नै अवरोध सिर्जना गर्छ।
यसबाहेक, युद्धले विश्वव्यापी आपूर्ति शृङ्खलामा पार्ने प्रभावका कारण नेपालभित्र पनि महँगी बढ्छ र होटल तथा रेस्टुरेन्टको लागत वृद्धि हुँदा पर्यटकहरूले आफ्नो बसाइको अवधि छोट्याउन सक्छन्। भौगोलिक रूपमा नेपाल युद्ध क्षेत्रबाट टाढा भए तापनि अन्तर्राष्ट्रिय स्तरमा दक्षिण एसियाली क्षेत्र भ्रमणका लागि असुरक्षित रहेको गलत सन्देश प्रवाह हुन सक्ने जोखिम रहन्छ, जसले गर्दा अग्रिम बुकिङहरू रद्द भई समग्र पर्यटन अर्थतन्त्रमा नकारात्मक असर पर्न जान्छ।
पछिल्ला जानकारीहरु अनुसार इरान युद्ध शुरु भएयता नेपालमा पर्यटकको आवागमनमा कमी आउन थालिसकेको छ ।
वैदेशिक रोजगारी र रेमिट्यान्सको अनिश्चितता
मध्यपूर्वमा रहेका १५ लाखभन्दा बढी नेपाली कामदारहरूको सुरक्षा अहिलेको सबैभन्दा ठूलो चिन्ताको विषय हो। युद्ध तुरुन्तै बन्द भएन र यसले क्षेत्रीय रूप लिँदै समग्र पश्चिम एशिया क्षेत्रमा फैलियो भने नेपाली कामदारहरूको रोजगारीमा असर पर्न सक्छ । त्यसमाथ थप उनीलाई सुरक्षित स्वदेश फिर्ता ल्याउनु नै सरकारका लागि ठूलो चुनौती हुनेछ। रेमिट्यान्सको प्रवाह रोकिँदा देशको विदेशी मुद्रा सञ्चिति रित्तिने डर छ, जसले गर्दा नेपालले अत्यावश्यक वस्तुहरू आयात गर्ने क्षमता समेत गुमाउन सक्छ।
गर्ने के ?
अहिलेको अवस्थामा नेपालले केवल 'पर्ख र हेर' को नीति लिएर मात्र पुग्दैन। चीनले मल निर्यात रोकेको र मध्यपूर्वमा युद्ध चर्किएको यो संवेदनशील घडीमा सरकारले कूटनीतिक पहल मार्फत वैकल्पिक आपूर्ति मार्ग र स्रोतहरूको खोजी गर्नुपर्छ। साथै, स्वदेशमै प्राङ्गारिक मलको उत्पादनमा पहल गर्नु जरुरी छ । संयोगको कुरा के छ भने, नेपालको प्रधानमन्त्री पद राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन शाहले सम्हाल्दैछन् । उनलाई प्राङ्गारिक मल बनाउने तरिकाबारे राम्रो जानकारी छ भन्ने कुरा उनले काठमाडौंको मेयर पदको चुनावताका अघि सारेको काठमाडौंको फोहोरलाई प्राङ्गारिक मलमा कसरी रुपान्तरण गर्न सकिन्छ भन्नेबारेको सोचबाट पनि थाहा लाग्छ । यस्तो अवस्थामा सरकारले प्राङ्गारिक मल बनाउने तथा त्यसलाई प्रयोगलाई प्रोत्साहन गर्नु जरुरी देखिन्छ । त्यसबाहेक, औषधिको आपतकालीन सञ्चिति कायम राख्नेतर्फ तुरुन्तै कदम चाल्नु पर्छ । विश्वव्यापी रुपमा गहन प्रभाव पार्ने यस युद्धका असरहरुलाई रोक्न नसकिए पनि त्यसलाई कम गर्नेतिर अहिलेदेखि नै प्रभावकारी कदम चाल्नु जरुरी छ ।
तस्विर: https://akm-img-a-in.tosshub.com
हर्मुज संकटका बीच सुरक्षित पाकिस्तानी अर्थतन्त्र
डलरको साम्राज्य: तेल र राजनीतिको खेलले कसरी चलाउँछ संसार?
सुनको मूल्य किन ह्वात्तै बढ्ने र घट्ने भइरहेछ ?
धनी र गरिबबीचको खाडल झनै फराकिलो बन्दै !
आर्थिक घेराबन्दीको बीच चीनको अर्थतन्त्रको शानदार प्रदर्शन : बाधाहरूलाई अवसरमा र…
ट्रम्प–सी जिनपिङ भेटवार्तापछि व्यापारिक तनावमा शिथिलता
पेन्सनको अन्त्य कि राज्यको पलायन?
प्रतिक्रिया