राजनीतिक कार्यकर्ताहरूले कानुनी लडाइँहरूप्रति बेवास्ता गर्दै कठोरतम सजायलाई पनि निडरताका साथ सहनुपर्छ

भगत सिंहले पितालाई लेखेको कठोर पत्र

भारतको स्वतन्त्रता सङ्ग्राममा भगत सिंह र उनका साथीहरुले 'हिन्दुस्तान सोसलिस्ट रिपब्लिकन एसोसिएसन' (HSRA) मार्फत सशस्त्र क्रान्तिको बाटो रोज्दै बेलायती साम्राज्यको जग हल्लाइदिएका थिए। सन् १९२९ मा केन्द्रीय एसेम्बलीमा बम प्रहार गरेर उनीहरूले "अङ्ग्रेजहरुलाई आफ्नो आवाज सुनाउन ठूलो धमाकाको आवश्यकता पर्छ" भन्ने सन्देश दिए। उनीहरूको बलिदानले भारतीय युवाहरूमा अभूतपूर्व राष्ट्रियताको भावना जागृत गराएको थियो।

गान्धीजीको अहिंस्रक आन्दोलनसँग उनीहरूको मुख्य विमति 'साधन' र 'साध्य' मा थियो। गान्धीजी पूर्ण अहिंसा र सत्याग्रहमा विश्वास गर्थे र त्यसैको माध्यमबाट अङ्ग्रेजहरुलाई धपाउन सकिन्छ भन्ने सोच्थे । त्यसको ठीक विपरीत भगत सिंहहरु साम्राज्यवादी दमनको जवाफ क्रान्तिकारी हिंसा र प्रतिकारले नै दिनुपर्छ भन्ने मान्यता राख्थे। अहिंसाले मात्र स्वतन्त्रता प्राप्त नहुने र क्रान्तिको माध्यमबाट समाजमा आमूल परिवर्तन (समाजवाद) ल्याउनुपर्ने उनीहरुको धारणा थियो। गान्धीजीले साउन्डर्स हत्या र एसेम्बली बमकाण्ड जस्ता ‘हिंसात्मक’ कार्यको विरोध गरेका थिए । कतिसम्म भनिन्छ भने, गान्धीले चाहेको भए भगत सिंहहरुलाई फाँसीको सजायबाट बचाउन सक्थे तर उनले त्यसो गरेनन् । वास्तवमा, भारतीय स्वतन्त्रता सङ्ग्राममा यी दुई फरक तर शक्तिशाली  विचारधाराबीच सधैँ एउटा वैचारिक खाडल र द्वन्द्व रहिरह्यो।

भगतसिंहरु विरुद्धको मुद्दा अन्तिम चरणमा रहेको बेला भगत सिंहका बुबा सरदार किशन सिंहले मुद्दा हेर्ने ट्रिब्युनलसमक्ष एउटा लिखित निवेदन पेस गरे । उक्त पत्रमा भगत सिंहहरु निर्दोष रहेको र साउन्डर्सको हत्यामा उनको कुनै संलग्नता नभएको प्रमाणित गर्ने अनेकौं तथ्यहरू रहेको उल्लेख गरिएको थियो। उनले आफ्नो छोरालाई निर्दोष साबित गर्ने अवसर दिइयोस् भनी अनुरोध पनि गरेका थिए । उक्त कुरा थाहा पाएपछि क्षुब्ध बनेका भगत सिंहले  आफ्ना बुवाको उक्त कदमको विरोध गर्दै एक कडा पत्र लेखे ।

यहाँ हामीले भगत सिंहले जेलबाट आफ्ना पितालाई लेखेको सोही पत्रको नेपाली अनुवाद प्रस्तुत गरेका छौं । यस पत्रले भगत सिंहको क्रान्तिकारी चेतनाको उच्चतम रुपलाई छर्लङ्ग पारिदिन्छ ।

दायित्वबोध

पूजनीय बुवा,

मेरो प्रतिरक्षाका सम्बन्धमा तपाईंले विशेष ट्रिब्युनलका सदस्यहरूलाई निवेदन दिनुभएको कुरा थाहा पाउँदा म स्तब्ध भएको छु। यो खबर मेरो लागि यति कडा प्रहार साबित भयो कि यसलाई धैर्यताका साथ सहनु मेरो लागि असम्भव भएको छ र यसले मेरो मानसिक सन्तुलन नै बिथोलेको छ। यो अवस्था र यस्तो घडीमा तपाईंले कसरी यस्तो निवेदन दिनु उचित ठान्नुभयो, त्यो मैले बुझ्न सकेको छैन। एक पिताका तमाम भावना र संवेदनाका बाबजुद पनि, मसँग परामर्श नै नगरी मेरो तर्फबाट यस्तो कदम चाल्ने अधिकार तपाईंलाई थियो जस्तो मलाई लाग्दैन। राजनीतिक क्षेत्रमा मेरा विचारहरू सधैं तपाईंका भन्दा भिन्न रहेका छन् र मैले सधैं तपाईंको स्वीकृति वा अस्वीकृतिको पर्वाह नगरी स्वतन्त्र रूपमा काम गर्दै आएको छु भन्ने तपाईंलाई राम्ररी नै  थाहा छ ।

मलाई आशा छ– सुरुदेखि नै तपाईं मलाई मेरो मुद्दा गम्भीरतापूर्वक लड्न र उचित ढङ्गले आफ्नो बचाउ गर्न मनाउने कोसिस गरिरहनुभएको थियो भन्ने कुरा तपाईंले स्मरण गर्नुहुनेछ । तर तपाईंलाई म सधैं यसको विरुद्धमा थिएँ भन्ने पनि थाहा छ। आफ्नो प्रतिरक्षा गर्ने मेरो कहिल्यै कुनै इच्छा रहेन र न त मैले कहिल्यै यस बारेमा गम्भीरतापूर्वक सोचेँ। मेरो यो अडान एउटा अस्पष्ट विचारधारा मात्र थियो वा मेरो स्थितिलाई न्यायोचित ठहर्‍याउने मसँग ठोस तर्कहरू थिए, त्यो बेग्लै प्रश्न हो र यहाँ त्यसबारेमा छलफल गर्न सकिँदैन।

 यस मुद्दाको सुनुवाइमा हामीले एउटा निश्चित नीति अवलम्बन गर्दै आएका छौँ भन्ने तपाईंलाई राम्ररी थाहा छ । मेरो प्रत्येक कदम मेरो सिद्धान्त, कार्यक्रम र सोही नीतिसँग सुसंगत हुनुपर्दछ भन्ने मेरो दृढ मान्यता हो। वर्तमान परिस्थितिहरू पूर्णतया फरक छन्, तर अवस्था अर्कै हुन्थ्यो भने पनि म आफ्नो बचाउमा उत्रिने अन्तिम व्यक्ति हुने थिएँ। यस सम्पूर्ण सुनुवाइको दौरानमा मेरो मनमा एउटै मात्र विचार थियो– हामीमाथि लगाइएका आरोपहरूको प्रकृति जतिसुकै गम्भीर किन नहोस्, यस प्रक्रियाप्रति पूर्ण उदासीनता प्रकट गर्ने। सधैँ मेरो मत सबै राजनीतिक कार्यकर्ताहरूले अदालतका कानुनी लडाइँहरूप्रति बेवास्ता गर्दै आफूमाथि थोपरिने कठोरतम सजायलाई पनि निडरताका साथ सहनुपर्छ भन्ने रहेको छ । उनीहरूले आफ्नो प्रतिरक्षा गर्छन् भने पनि, त्यो विशुद्ध राजनीतिक दृष्टिकोणबाट निर्देशित हुनुपर्छ, व्यक्तिगत स्वार्थबाट कदापि होइन। यस मुद्दामा हाम्रो नीति सधैँ यही सिद्धान्तमा अडिग रहेको छ; हामी यसमा सफल भयौँ वा भएनौँ, त्यसको निर्णय गर्ने अधिकार मेरो होइन, तर हामीले सधैँ निस्वार्थ भावले आफ्नो कर्तव्यपालना गरिरह्यौँ।

लाहोर षडयन्त्र केस अध्यादेशको पाठसँगै जारी गरिएको विज्ञप्तिमा भाइसरोयले यस मुद्दाका अभियुक्तहरूले कानुन र न्याय दुवैको मानमर्दन गर्न खोजिरहेको उल्लेख गरेका थिए। यो परिस्थिति हाम्रा लागि जनतालाई वास्तविकता देखाउने एउटा अवसर थियो कि हामीले कानुनको अपमान गर्न खोजिरहेका थियौँ वा अरू कसैले यसो गरिरहेको थियो। यस विषयमा मानिसहरू हामीसँग असहमत हुन सक्छन् र सायद तपाईं पनि तीमध्ये एक हुनुहुन्छ होला। तर त्यसको अर्थ मेरो सहमति वा जानकारी बिना नै मेरो तर्फबाट यस्ता कदमहरू चालियोस् भन्ने कदापि होइन । मेरो जीवन तपाईंले सोचेजस्तो त्यति बहुमूल्य छैन, कम्तीमा मेरा लागि त पक्कै होइन। आफ्ना सिद्धान्तहरूको बलि चढाएर यसलाई जोगाउनु मेरो दृष्टिमा कत्ति पनि उचित छैन। मसँगै अन्य साथीहरू पनि हुनुहुन्छ जसको मुद्दा मेरो जत्तिकै गम्भीर छ। हामीले एउटा साझा नीति अङ्गालेका छौँ र हामी अन्त्यसम्म यसमा अडिग रहनेछौँ, चाहे यसका लागि व्यक्तिगत रूपमा हामीले जतिसुकै ठूलो मूल्य नै किन चुकाउनु नपरोस्।

बुवा, म निकै अलमलमा परेको छु। तपाईंको यस कदमको आलोचना वा भनौँ निन्दा गर्दा कतै मैले शिष्टाचारको सामान्य मर्यादा भुलेर मेरो भाषा अलि कठोर हुने त होइन भन्ने डर मलाई लागिरहेको छ। मलाई प्रष्ट रूपमा भन्न दिनुहोस्, मलाई यस्तो महसुस भइरहेको छ कि मेरो पिठ्युँमा छुरा प्रहार गरिएको छ। यदि यो काम अरू कसैले गरेको भए म त्यसलाई विश्वासघातभन्दा कम ठान्ने थिइनँ, तर तपाईंको हकमा भने म यसलाई एक कमजोरी मात्र भन्न चाहन्छु– तर यस्तो कमजोरी, जुन निकै निकृष्ट प्रकारको छ।

यो यस्तो समय थियो जहाँ सबैको साहस र धैर्यको परीक्षा भइरहेको थियो। बुवा, मलाई भन्न दिनुहोस्, तपाईं यस परीक्षामा असफल हुनुभएको छ। मलाई थाहा छ तपाईं एक सच्चा देशभक्त हुनुहुन्छ र तपाईंले आफ्नो सम्पूर्ण जीवन भारतीय स्वतन्त्रताको पक्षमा समर्पित गर्नुभएको छ, तर यो निर्णायक घडीमा तपाईंले किन यस्तो कमजोरी प्रदर्शन गर्नुभयो, त्यो मैले बुझ्न सकेको छैन।

अन्त्यमा, म तपाईंलाई, मेरा अन्य साथीहरूलाई र मेरो मुद्दामा चासो राख्ने सबै मानिसहरूलाई यो जानकारी दिन चाहन्छु कि मैले तपाईंको यस कदमलाई स्वीकार गरेको छैन। म अझै पनि आफ्नो बचाउमा कुनै पनि दलील पेस गर्ने पक्षमा छैन। अदालतले मेरा केही सह-अभियुक्तहरूले प्रतिरक्षाका सम्बन्धमा दिएका निवेदनहरू स्वीकार गरेको भए पनि, म आफ्नोतर्फबाट कुनै बचाउ गर्ने थिइनँ। भोक हडतालका क्रममा भेटघाटको अनुमति माग्दै मैले ट्रिब्युनलमा दिएका आवेदनहरूको गलत व्याख्या गरियो र म आफ्नो प्रतिरक्षा गर्न तयार छु भन्ने आशयका समाचारहरू पत्रपत्रिकामा छापिए, जबकि वास्तविकतामा म कहिल्यै त्यसका लागि इच्छुक थिइनँ। मेरो विचार अझै पनि उस्तै अटल छ। बोर्स्टल जेलमा रहेका मेरा साथीहरूले मेरो तर्फबाट भएको यस कार्यलाई विश्वासघात र धोकाका रूपमा लिनेछन् र उनीहरूका सामु आफ्नो स्थिति स्पष्ट पार्ने अवसर समेत मैले पाउने छैन।

म चाहन्छु कि यस जटिलताका बारेमा जनताले सबै विवरणहरू थाहा पाऊन्, त्यसैले म तपाईंलाई यो पत्र सार्वजनिक गरिदिन अनुरोध गर्दछु।

तपाईंको स्नेही छोरा,

भगत सिंह

स्रोत: /www.marxists.org

प्रस्तुति: हर्कबहादुर प्रधान