इरानले युद्ध जित्ने  ६ आधारहरु

युद्धहरूको निर्णय विरलै रणभूमिमा मात्र हुने गर्दछ। सैन्य अभियानहरूले शहरहरू ध्वस्त पार्न सक्छन् र ठूलो संख्यामा मानिसहरूको ज्यान लिन सक्छन्, तर राजनीतिक परिणामहरू भने सहनशीलता, वैधानिकता र तत्कालीन हिंसाको मुनि बहने ऐतिहासिक धाराहरूद्वारा परिभाषित हुन्छन्। अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले इरानी जनतामाथि थोपरेको युद्धले इजरायल र संयुक्त राज्य अमेरिकाका लागि रणनीतिक जितहरू त दिलाउन सक्ला, तर राजनीतिक धरातलले भने अर्कै कथा भनिरहेको छ। इरानले भौतिक संरचना र मानिसहरू गुमाएको छ, तर राजनीतिक रूपमा भने इरानले नै यो युद्ध जित्ने सम्भावना प्रबल छ।

पहिलो आधार: सत्ता परिवर्तन

अमेरिका-इजरायल सैन्य अभियानको मुख्य उद्देश्य सत्ताको अस्थिरता वा परिवर्तन देखिन्थ्यो। तर, अमेरिकी गुप्तचर निकायहरूका प्रारम्भिक मूल्याङ्कनले के देखाउँछन् भने, वरिष्ठ राजनीतिक नेताहरूको हत्या भए तापनि इरानको राजनीतिक प्रणाली ध्वस्त भएको छैन। यसबाहेक, भारी बमबारीका बाबजुद पनि त्यहाँ कुनै आन्तरिक विद्रोह भएको छैन। वास्तवमा, यो युद्धले इस्लामिक गणतन्त्र र यसको 'इस्लामिक रिभोलुसनरी गार्ड्स कर्प्स' (IRGC) लाई झन् बलियो बनाएको देखिन्छ। इतिहासले हामीलाई सिकाउँछ कि जब कुनै राष्ट्र, विशेष गरी इरान जस्तो राष्ट्रिय गौरवको इतिहास भएको देशमाथि बाह्य शक्तिले आक्रमण गर्छ, तब सार्वभौमसत्ताको प्रश्न सर्वोपरी हुन्छ र आन्तरिक राजनीतिक मतभेदहरू अस्थायी रूपमा हराएर जान्छन्। यसको अर्थ यो हो कि यो युद्धका लागि न त संयुक्त राज्य अमेरिका, न त इजरायलसँग नै कुनै वास्तविक राजनीतिक अन्त्य (political endgame) अन्त्य गर्ने रणनीति छ।

वरिष्ठ राजनीतिक नेताहरूको हत्या भए तापनि इरानको राजनीतिक प्रणाली ध्वस्त भएको छैन। यसबाहेक, भारी बमबारीका बाबजुद पनि त्यहाँ कुनै आन्तरिक विद्रोह भएको छैन। वास्तवमा, यो युद्धले इस्लामिक गणतन्त्र र यसको 'इस्लामिक रिभोलुसनरी गार्ड्स कर्प्स' (IRGC) लाई झन् बलियो बनाएको देखिन्छ।

उनीहरूले बमबारी कहिले रोक्छन्? मार्च ९ मा ट्रम्पले भनेका थिए कि इरानसँग "न त नौसेना छ, न सञ्चार व्यवस्था, न त उनीहरूसँग वायुसेना नै बाँकी छ। उनीहरूका मिसाइलहरू छरपस्ट भएका छन्। उनीहरूका ड्रोनहरू जताततै ध्वस्त पारिएका छन्।" यदि इरानसँग अब कुनै सैन्य क्षमता बाँकी छैन भने, इरानमाथि आक्रमण गरेर बाँकी रहेको राज्यसत्तालाई किन नहटाउने त? स्पष्ट छ, त्यो कुरा विचारधीन पनि छैन। सत्ता परिवर्तनको उद्देश्य केवल निर्वासित पूर्व इरानी कुलीन वर्ग र इजरायली सरकारको सपनामा मात्र सीमित छ।

दोस्रो आधार: असमित शक्ति (Asymmetrical power)

प्यालेस्टिनी जनता विरुद्धको नरसंहारको क्रममा, इजरायली सेनाले लेबनान र सिरियाभरिका "प्रतिरोधको अक्ष" का शक्तिहरूलाई कमजोर बनायो (जसमा अल-कायदाका पूर्व प्रमुखलाई सिरियाको राष्ट्रपति बन्न अनुमति दिनु पनि सामेल थियो, जसले पछि इजरायललाई इरानमा बमबारी गर्नका लागि आफ्नो आकाश प्रयोग गर्ने अधिकार दिए)। इजरायल र संयुक्त राज्य अमेरिका दुवैले यो ठानेका थिए कि अब इरानसँग इजरायलमाथि प्रतिशोध लिनका लागि "प्रतिरोधको अक्ष" को कुनै फाइदा बाँकी छैन। यद्यपि, "प्रतिरोधको अक्ष" केवल एक सैन्य गठबन्धन मात्र होइन; यो एक राजनीतिक संस्कृतिमा पनि जरा गाडेर बसेको छ।

यो संघर्ष केवल दुई देशबीचको सामान्य युद्ध मात्र होइन, बरु पश्चिम एसियाको भविष्यका लागि भइरहेको एउटा वृहत् प्रतिस्पर्धाको हिस्सा हो, जसमा थुप्रै यस्ता राजनीतिक र सामाजिक समूहहरू सामेल छन् जो इरानमाथि संयुक्त राज्य अमेरिका र इजरायललाई हाबी हुन दिन तयार छैनन्।

विगत एक दशकमा दक्षिणी लेबनान र सिरियाका श्रमिक वर्गका प्रायः शिया–बस्तीहरूको (जसमा ग्रामीण अलेप्पोको एक नाटकीय यात्रा पनि सामेल छ) भ्रमण गर्दा मैले के पाएँ भने, यी क्षेत्रहरूको इरानी धार्मिक र राजनीतिक नेतृत्वसँग गहिरो सांस्कृतिक सामीप्यता छ। यो सम्बन्धले इरानलाई इजरायल र संयुक्त राज्य अमेरिका विरुद्धको बृहत्तर राजनीतिक लडाइँमा समाहित गरिदिएको छ, जसले गर्दा रणनीतिक वातावरण जटिल बनेको छ र द्वन्द्व चर्काउनुपर्ने मूल्य झन् महँगो साबित भएको छ। यो संघर्ष केवल दुई देशबीचको सामान्य युद्ध मात्र होइन, बरु पश्चिम एसियाको भविष्यका लागि भइरहेको एउटा वृहत् प्रतिस्पर्धाको हिस्सा हो, जसमा थुप्रै यस्ता राजनीतिक र सामाजिक समूहहरू सामेल छन् जो इरानमाथि संयुक्त राज्य अमेरिका र इजरायललाई हाबी हुन दिन तयार छैनन्।

तेस्रो आधार: कूटनीतिक समस्याहरू

अमेरिका-इजरायल युद्धको सुरुवात एउटा यस्तो आक्रमणबाट भयो जसमा एउटा प्राथमिक विद्यालयका १६५ बालिकाहरू मारिए। एम्नेस्टी इन्टरनेशनलकी एरिका ग्वेभारा-रोसासले भनिन्, "नागरिकहरूले भरिएका कक्षाहरू भएको विद्यालयमा गरिएको यो भयानक आक्रमण, यस सशस्त्र द्वन्द्वका क्रममा सर्वसाधारणले चुकाउनु परिरहेको विनाशकारी र पूर्णतः अनुमानित मूल्यको एउटा बीभत्स उदाहरण हो।" यी आक्रमणहरूले अस्पताल र ऊर्जा केन्द्रहरू जस्ता महत्त्वपूर्ण नागरिक पूर्वाधारहरू ध्वस्त पारेका छन् र इरानभरिको जनजीवनमा गम्भीर समस्या निम्त्याएका छन्। ठ्याक्कै वार्तामा कुनै निकास निस्कन लागेको जस्तो देखिएका बेला अमेरिका र इजरायलले यो बमबारी सुरु गरेका हुनाले, अहिले विश्वभरका सरकार र जनताका सामु अमेरिकाले कूटनीति भन्दा पनि अत्यधिक सैन्य बल प्रयोग गर्ने गरेको अर्को उदाहरण छर्लङ्ग भएको छ।

ठ्याक्कै वार्तामा कुनै निकास निस्कन लागेको जस्तो देखिएका बेला अमेरिका र इजरायलले यो बमबारी सुरु गरेका हुनाले, अहिले विश्वभरका सरकार र जनताका सामु अमेरिकाले कूटनीति भन्दा पनि अत्यधिक सैन्य बल प्रयोग गर्ने गरेको अर्को उदाहरण छर्लङ्ग भएको छ।

यो धारणाले ठूलो अर्थ राख्छ किनभने अहिले विश्वव्यापी वैधानिकताको पाङ्ग्रा घुमिसकेको छ, र चीन तथा रुस जस्ता देशहरूले इरानलाई एक्ल्याउन अस्वीकार गरेका छन्। यस्तो देखिन्छ कि रुसले इरानका नयाँ सर्वोच्च नेता मोज्तबा खामेनीलाई बमबारीका क्रममा लागेको चोटको उपचारका लागि हवाई मार्गबाट मस्को पुर्‍याएको छ। जुन यी दुई देशबीचको दिगो सम्बन्धको संकेत हो।

चौथो आधार: रणनीतिक भूगोल

 स्ट्रेट अफ हर्मुज,  जहाँबाट विश्वको ठूलो हिस्सा तेल र प्राकृतिक ग्यास आपूर्ति हुन्छ बन्द गर्न सक्ने इरानको क्षमताले अहिले सम्पूर्ण विश्व अर्थतन्त्रमा हलचल पैदा गरेको छ। तेलको मूल्यको सूचक मानिने 'ब्रेन्ट क्रुड' प्रति ब्यारेल १०० अमेरिकी डलर नाघ्यो, तेल ट्याङ्करहरूको ढुवानी दर र युद्ध-जोखिम बीमा शुल्क तीव्र रूपमा बढ्यो, र सो जलसन्धि भएर जाने मलका ढुवानीहरू अहिले बीचमै रोकिएका छन्, जसको विश्वव्यापी कृषिमा ठूलो प्रभाव पर्नेछ। हर्मुज जलसन्धि बन्द गर्न सक्ने इरानको भौगोलिक सामर्थ्यले उसलाई यस्तो शक्ति दिएको छ जुन विश्वका थोरै देशहरूसँग मात्र छ। अमेरिका अहिले स्ट्रेट अफ हर्मुज पुनः खुलाउनका लागि इरानमाथि सैन्य वा कूटनीतिक दबाब दिन कुनै पनि देशलाई गुहार्न आतुर छ, तर कसैले पनि यसमा रुचि देखाएको देखिँदैन।

हर्मुज जलसन्धि बन्द गर्न सक्ने इरानको भौगोलिक सामर्थ्यले उसलाई यस्तो शक्ति दिएको छ जुन विश्वका थोरै देशहरूसँग मात्र छ।

उदाहरणका लागि, चीनले आफ्ना जहाजहरूलाई जान दिनका लागि इरानसँग द्विपक्षीय वार्ता सुरु गर्‍यो र त्यसपछि तनाव कम गर्न आग्रह गर्‍यो।  एसियाका अमेरिकी सहयोगीहरू जस्तै जापान र दक्षिण कोरिया, साथै युरोपेली देशहरूले यस सैन्य दुस्साहसमा सहभागी हुन अस्वीकार गरे।

पाँचौँ आधार: सैन्य शक्तिको सीमा

इजरायल र अमेरिकाले इरानी निसाना र पूर्वाधारहरूमा प्रहार गर्न त सक्छन्, तर उनीहरूले झन्डै १० करोड जनसंख्या भएको देशमा आक्रमण गर्न सक्दैनन्, जहाँका धेरैजसो नागरिकले सक्रिय रूपमा कब्जाको प्रतिरोध गर्नेछन्। यस्तो स्थलगत आक्रमणले क्षेत्रीय डढेलो निम्त्याउनेछ जसले इराक र यमेनलाई पनि तान्नेछ, जहाँ अहिले स्थिति धेरै हदसम्म शान्त छ। इराकमा भएका केही आक्रमणहरूले अझै पनि त्यस्तो समर्थन देखाएका छैनन् जुन इरानले अमेरिकी र इजरायली भूमिगत आक्रमणको अवस्थामा प्राप्त गर्नेछ।

हवाई शक्तिले पूर्वाधार नष्ट गर्न सक्छ, तर यसले राजनीतिक विचारधारालाई मेटाउन वा आन्तरिक एकता कायम राखेको राज्यलाई छिन्नभिन्न पार्न सक्दैन।

इराक (२००३) र लिबिया (२०११) को अनुभवले देखाउँछ कि राष्ट्रपतिको कार्यालय ध्वस्त पार्नु सजिलो छ, तर अराजकता बिना राजनीतिक प्रणालीलाई विस्थापित गर्नु कठिन छ। सैन्य श्रेष्ठता यहाँ आएर राजनीतिक यथार्थसँग ठोक्किन्छ। हवाई शक्तिले पूर्वाधार नष्ट गर्न सक्छ, तर यसले राजनीतिक विचारधारालाई मेटाउन वा आन्तरिक एकता कायम राखेको राज्यलाई छिन्नभिन्न पार्न सक्दैन।

छैटौँ आधार: आणविक हतियारको भविष्य

जुलाई २०२५ मा अमेरिका र इजरायलले गरेको आक्रमणले इरानका आणविक सुविधाहरू पूर्ण रूपमा ध्वस्त पारेको थियो ट्रम्पले त्यसबेला भनेका थिए, "सर्वनाश (Obliteration) नै सही शब्द हो!"। तर, देशबाट जे हटाइएको थिएन, त्यो थियो ४४० केजी संवर्धित युरेनियमको भण्डार। यदि इरानले आणविक हतियारद्वारा प्रतिरोधको  आवश्यकताका बारेमा आफ्नो निर्णय बदल्ने हो भने, यसले आणविक हतियार कार्यक्रमका लागि आधार प्रदान गर्दछ।

आणविक अप्रसारको हालैको इतिहास शिक्षाप्रद छ: सन् १९९४ मा, प्रजातान्त्रिक जनगणतन्त्र कोरिया (उत्तर कोरिया) ले आफ्नो प्लुटोनियम आणविक कार्यक्रम रोक्न 'सहमतिको ढाँचामा हस्ताक्षर गर्‍यो। त्यसपछि, सन् २००१ मा अमेरिकी राष्ट्रपति जर्ज डब्लु. बुशले सत्ता परिवर्तनको भाषालाई तीव्र बनाएपछि (जसमा "दुष्टको अक्ष" वा "axis of evil" जस्ता वाक्यांश प्रयोग गरिए), उत्तर कोरिया सन् २००३ मा आणविक अप्रसार सन्धिबाट बाहिरियो। सन् २००६ मा 'छ-पक्षीय वार्ता' मा कूटनीतिक सफलता मिलेको थियो, तर त्यसलगत्तै अमेरिकाले उत्तर कोरियाको २ करोड ५० लाख डलर रोक्का गरिदियो, जसले अक्टोबर २००६ मा आणविक हतियार परीक्षणको स्थिति निम्त्यायो। इरानमाथि लादिएका यी दुई युद्धहरूले (२०२५ र २०२६) आणविक हतियार परीक्षण नगर्ने प्रतिज्ञा तोड्न र इरानी आणविक हतियारको विकासतर्फ डोर्‍याउन सक्छन्।

युद्धको फैसला केवल विनाशको आधारमा गरिँदैन। युद्धको मूल्याङ्कन राजनीतिक उद्देश्यहरू प्राप्त भए कि भएनन् भन्ने आधारमा गरिन्छ।

इरान यस युद्धबाट क्षतिग्रस्त पूर्वाधार, ठूलो आर्थिक दबाब र जनधनको क्षतिले मर्माहत भएका परिवारहरूको साथमा बाहिर निस्कनेछ। तर युद्धको फैसला केवल विनाशको आधारमा गरिँदैन। युद्धको मूल्याङ्कन राजनीतिक उद्देश्यहरू प्राप्त भए कि भएनन् भन्ने आधारमा गरिन्छ। अमेरिका र इजरायलले आफ्ना कुनै पनि युद्ध-लक्ष्यहरू प्राप्त गर्ने छैनन्। इतिहासले प्रायः यस्तै विडम्बनाहरू प्रस्तुत गर्दछ। साम्राज्यहरू आफ्नो सैन्य श्रेष्ठतामा विश्वस्त भएर युद्धमा होमिन्छन्, तर अन्ततः उनीहरूले के थाहा पाउँछन् भने राजनीतिक वैधानिकता, राष्ट्रिय लचिलोपन र रणनीतिक भूगोल यस्ता शक्ति हुन् जसलाई बमले सजिलै हराउन सक्दैन।

स्रोत: https://globetrotter.media/

(अनुरोध: हामीले यो सामग्री नेपाली भाषामा अनुवाद र सम्पादन गर्दा श्रम परेको हुन्छ। त्यसैले यो सामग्रीलाई खुसुक्क सारेर पुनर्प्रकाशित गर्नुको सट्टा हामीले मूल लेखको स्रोत खुलाए जस्तै गरी हाइपरलिङ्कसहितको दायित्वबोधको लिङ्क राख्न अनुरोध गर्दछौं ।

–दायित्वबोध)

 

विजय प्रशाद

विजय प्रशाद एक भारतीय इतिहासकार, सम्पादक तथा पत्रकार हुन्। उनी ग्लोबट्रटर (Globetrotter) मा लेखन फेलो तथा प्रमुख संवाददाता हुन्। उनी लेफ्टवर्ड बुक्स (LeftWord Books) का सम्पादक तथा ट्राइकोन्टिनेन्टल: सामाजिक अनुसन्धान संस्थान (Tricontinental: Institute for Social Research) का निर्देशक पनि हुन्। उनले द डार्कर नेशन्स र द पुअरर नेशन्स सहित २० भन्दा बढी पुस्तक लेखेका छन्। उनका पछिल्ला कृतिहरूमा अन क्युबा: ७० वर्षको क्रान्ति र संघर्षमाथि चिन्तन (नोम चोम्स्कीसँग संयुक्त रूपमा), स्ट्रगल मेक्स अस ह्युमन: समाजवादका आन्दोलनहरूबाट सिकाइ, तथा (फेरि नोम चोम्स्कीसँगै) द विथड्रअल: इराक, लिबिया, अफगानिस्तान र अमेरिकी शक्तिको नाजुकता समावेश छन्। चेल्वा र प्रशादको संयुक्त पुस्तक हाउ द इन्टरनेशनल मोनेटरी फन्ड इज सफोकेटिङ अफ्रिका यसै वर्ष इन्कानी बुक्स (Inkani Books) बाट प्रकाशन हुने छ।