ऊर्जा मात्र होइन: इरान युद्धले कसरी विश्वव्यापी खाद्य संकट निम्त्याउन सक्छ ?
इरानमा जारी युद्धका बीच, हर्मुज जलडमरू मध्यबाट ढुवानी अवरुद्ध भएदेखि तेलको बढ्दो मूल्यले ठूलो चिन्ता पैदा गरेको छ। मार्च २ मा, इरानको इस्लामिक रिभोलुसनरी गार्ड कर्प्स (IRGC) का कमाण्डर-इन-चीफका वरिष्ठ सल्लाहकार इब्राहिम जबारीले विश्वको २० प्रतिशत तेल र ग्यास ओसारपसार हुने हर्मुज जलडमरू "बन्द" गरिएको घोषणा गरे। उक्त कदमले तेलको मूल्य प्रति ब्यारेल १०० डलर भन्दा माथि पुर्यायो। तर विज्ञहरूले एउटा समानान्तर संकट मडारिरहेको चेतावनी दिएका छन् । त्यो संकट भनेको – विश्वव्यापी खाद्य सुरक्षामा ठूलो खतरा हो । यो खाद्य उत्पादनका लागि अत्यावश्यक मलको आसन्न अभावले गर्दा भएको हो।
मलको अभाव किन छ?
विश्वमा व्यापार हुने युरिया (सबैभन्दा बढी प्रयोग हुने मल) को झन्डै आधा हिस्सा र अन्य मलहरूको ठूलो परिमाण खाडी मुलुकहरूबाट हर्मुज जलडमरू भएर निर्यात गरिन्छ । त्यसले विश्वव्यापी कृषिलाई त्यहाँको कुनै पनि अवरोधप्रति अत्यधिक जोखिममा पार्छ। ग्यास आपूर्ति र ढुवानीमा हालैका अवरोधहरूले गर्दा खाडी र त्यसभन्दा बाहिरका मल बनाउन प्राकृतिक ग्यास प्रयोग गर्ने मल कारखानाहरू पहिले नै बन्द गर्न वा आफ्नो उत्पादन कटौती गर्न बाध्य भएका छन्। आफ्नो एलएनजी (LNG) सुविधाहरूमा आक्रमण भएपछि, कतारको सरकारी ऊर्जा कम्पनी, कतार इनर्जीले ग्यास उत्पादन बन्द गरेपछि विश्वको सबैभन्दा ठूलो युरिया प्लान्टमा उत्पादन रोकेको छ। कतारबाट एलएनजी उत्पादन घटेपछि, भारतले आफ्नै तीनवटा युरिया प्लान्टबाट उत्पादन कटौती गरेको छ। बङ्गलादेशले पनि आफ्ना पाँचमध्ये चारवटा मल कारखाना बन्द गरेको छ।
अमेरिकामा वर्षको यस समयका लागि मल आपूर्तिको तुलनामा पहिले नै २५ प्रतिशतको हाराहारीमा अभाव छ। अभावलाई थप जटिल बनाउँदै, मध्य पूर्वबाट युरिया निर्यातको मूल्य करिब ४० प्रतिशतले वृद्धि भएको छ । ऊर्जा र वस्तुको मूल्य रिपोर्ट गर्ने विशेषज्ञ एजेन्सी आर्गसका अनुसार गत शुक्रबारसम्म ५०० डलरभन्दा केही कमबाट बढेर प्रति मेट्रिक टन ७०० डलरभन्दा केही बढी पुगेको छ। हालको मूल्य गत वर्षको यस समयको तुलनामा ६० प्रतिशतले बढी छ।
खाडीले विश्वको कति मल उत्पादन गर्छ?
ढुवानी सेवा कम्पनी सिग्नल ग्रुपका अनुसार, विश्वको २० प्रतिशत मल खाडीमा उत्पन्न हुन्छ भने विश्वव्यापी युरिया आपूर्तिको ४६ प्रतिशत खाडीबाट नै भएर आउँछ। विश्वको सबैभन्दा ठूलो युरिया आपूर्तिकर्ता मानिने कतार फर्टिलाइजर कम्पनी (QAFCO) ले मात्र विश्वको १४ प्रतिशत युरिया आपूर्ति गर्छ। डाटा र एनालिटिक्स कम्पनी केप्लरको विश्लेषणले हर्मुज जलडमरूको अवरोध जारी रह्यो भने विश्वव्यापी मल व्यापारको एक तिहाइ सम्म अवरुद्ध हुन सक्ने देखाउँछ । हालका दिनहरूमा केवल सीमित भारतीय, पाकिस्तानी र चिनियाँ झण्डा भएका जहाजहरूलाई सुरक्षित रूपमा जान अनुमति दिइएको छ। मर्निङस्टार विश्लेषक सेथ गोल्डस्टीनका अनुसार, नाइट्रोजन मलको मूल्य वर्तमान स्तरबाट झन्डै दोब्बर हुन सक्छ र फस्फेटको मूल्य करिब ५० प्रतिशतले बढ्न सक्छ ।
कुन देशहरू यस मलमा सबैभन्दा बढी निर्भर छन्?
केप्लरका अनुसार सन् २०२४ सम्ममा एसियाली देशहरू खाडीको मल निर्यातमा सबैभन्दा बढी निर्भर थिए । उनीहरुले खाडीको युरिया निर्यातको ३५ प्रतिशत, सल्फर निर्यातको ५३ प्रतिशत र अमोनिया निर्यातको ६४ प्रतिशत प्राप्त गरेका थिए। यी निर्यातहरू विशेष गरी प्रमुख कृषि बजारहरू, खासगरी भारत, ब्राजिल र चीनका लागि महत्त्वपूर्ण छन् । त्यसबाहेक जसमा मोरक्को, संयुक्त राज्य अमेरिका, अष्ट्रेलिया र इन्डोनेसियामा पनि महत्त्वपूर्ण परिमाणमा जाने गर्दछ। भारत मलका लागि विशेष गरी मध्य पूर्वमा निर्भर छ, जसले आफ्नो ४० प्रतिशत भन्दा बढी युरिया र फस्फेट मल सोही क्षेत्रबाट प्राप्त गर्दछ। यसैबीच, ब्राजिल आफ्नो मल आपूर्तिका लागि लगभग पूर्ण रूपमा आयातमा निर्भर छ, जसको झन्डै आधा हिस्सा हर्मुज जलडमरू भएर जान्छ।
मलको अभावले खाद्य उत्पादनलाई किन यति कडा प्रहार गर्नेछ?
यस अवरोधको समय विशेष गरी खराब छ किनभने यो बाली छर्ने सिजन, वा वसन्त रोपण सिजनको बीचमा पर्दछ । यो सामान्यतया उत्तरी गोलार्धमा फेब्रुअरीको मध्यदेखि मेको सुरुसम्म चल्छ। व्यावसायिक खेतीका लागि, राम्रो उत्पादन चाहने उत्पादकहरुका लागि लगभग हरेक बालीका लागि मल अत्यावश्यक छ। तर विभिन्न बालीहरूलाई विभिन्न प्रकारका र मात्रामा मल चाहिन्छ। सन् २०२२ मा युक्रेनमा रुसको युद्ध सुरु भएपछि सस्तो रुसी ग्यासमा पहुँच गुमाएपछि युरोपले आफ्नो आपूर्ति कटौती गर्न बाध्य हुँदा विश्व पहिले नै युरियाको अभावले पिरोलिएको थियो।
विश्वव्यापी खाद्य सुरक्षाका लागि यसको अर्थ के हो?
खाडीका मलका धेरै ठूला आयातकर्ताहरू (जसमा भारत, ब्राजिल र चीन समावेश छन्) विश्वका सबैभन्दा ठूला खाद्य उत्पादकहरूमा पनि पर्दछन्। भारत धान, गहुँ, दलहन र फलफूल जस्ता कृषि र खाद्य उत्पादनहरूको विश्वको सबैभन्दा ठूलो उत्पादकमध्ये एक हो। सन् २०२४ मा, भारतीय चामलले विश्वको चामल निर्यातको झन्डै एक चौथाइ हिस्सा ओगटेको थियो। अमेरिकी कृषि विभागका अनुसार, ब्राजिलले अहिले विश्वव्यापी भटमास निर्यातको झन्डै ६० प्रतिशत हिस्सा ओगटेको छ। उक्त देशले चिनी र मकै पनि निर्यात गर्दछ। चीन एक प्रमुख चिया उत्पादक हो, जसले विश्वभर चिया पत्तीका साथै लसुन र च्याउ जस्ता अन्य कृषि स्टेपलहरू आपूर्ति गर्दछ। त्यसैले, लामो समयसम्म मलको अभाव र मलको मूल्यमा भएको वृद्धिले केही किसानहरूलाई मलको प्रयोग पूर्ण रूपमा छोड्न बाध्य पार्न सक्छ। यसले बालीको उत्पादन घटाउनेछ। त्यसले विश्वभरको खाद्य सुरक्षालाई असर गर्न सक्छ। धान, गहुँ, मकै र भटमास जस्ता मुख्य बालीहरूको कम उत्पादनले विश्वव्यापी आपूर्तिलाई सीमित गर्नेछ। फलस्वरूप, त्यसले खाद्यवस्तुको मूल्य बढाउने र विशेष गरी आयातमा निर्भर देशहरूमा सम्भावित रूपमा स्थानीय अभाव सिर्जना गर्ने सम्भावना हुन्छ ।
इरानसँगको युद्ध अपेक्षा गरेभन्दा किन कठिन छ: के हामी 'नयाँ पर्ल हार्बर' को सा…
अली लारीजानी: दार्शनिक सुरक्षा प्रमुखको मृत्युले इरानका लागि के अर्थ राख्छ?
क्युबाको राष्ट्रिय ऊर्जा सङ्कटबीच ट्रम्पद्वारा नियन्त्रण लिने चेतावनी
अमेरिकाको नग्न ताण्डवलाई कसरी बुझ्ने?
क्युबा जीवित रहनेछ: एक डायरी
क्युबाद्वारा अमेरिकासँग वार्ता सुरु भएको घोषणा
अटोपाइलटमा इरान: एक मृत कमाण्डरको जीवित आदेश
प्रतिक्रिया