मुलतानी मिट्टीको व्यापार र बालेनले नचाहेका सल्लाहकार
धेरै वर्ष अगाडिको कुरा हो। हिन्दुस्तानको राजस्थान भन्ने ठाउँमा एकजना व्यापारी बस्थे। उनको मुख्य कारोबार मुलतानी मिट्टी बेच्नु थियो। ती व्यापारी राजस्थानको एउटा ठाउँबाट मुलतानी मिट्टी आफ्ना गधा र खच्चरमा बोकाएर दिल्लीसम्म बेच्न पुग्थे। अनि दिल्लीमा आफ्नो सबै माल बेचेर त्यहाँबाट आफ्नो गाउँमा बिक्ने सामान किनेर फर्किन्थे।
त्यसबेला लामो यात्रा गर्न सहज थिएन। पैदलै हिँड्नु पर्थ्यो। साथै बाटोमा चोर-डाँकाहरूको डर भरमार हुन्थ्यो। त्यसैले व्यापारी र यात्रीहरू समूह बनाएर एउटै लस्करमा हिँड्थे, जसले गर्दा उनीहरूको जानमालको पनि सुरक्षा हुन्थ्यो। मुलतानी मिट्टीका व्यापारी पनि त्यस्तै एउटा समूहमा हिँडिरहेका थिए। बाटोमा उनको सामान बिक्री हुन थाल्यो। उनले खच्चरको पिठ्युँबाट सामान झिकेर ग्राहकको आवश्यकता अनुसार तौलेर दिन थाले। जसले गर्दा खच्चरको पिठ्युँमा दुवैतर्फ रहेको भार असन्तुलित हुन थाल्यो।
व्यापारीले आफ्नो सेवकलाई खच्चरको पिठ्युँमा रहेको भार सन्तुलन मिलाउन सामान खाली भएको भागतिर मरुभूमिको बालुवा भर्न आदेश दिए। उनको कुरा सुनेर त्यही समूहमा रहेका एकजना यात्रीले भने, "खाली भएको बोरामा किन बालुवा भर्नुहुन्छ सेठजी? बरु त्यही मुलतानी मिट्टी आधा-आधा गरिदिनुहोस् न। दुवैतर्फको भार सन्तुलन पनि हुन्छ अनि खच्चरलाई कम बोझ पनि पर्छ।"
ती यात्रीको तर्कपूर्ण कुरा सुनेर व्यापारी प्रभावित भए। उनले ती यात्रीलाई सोधे, "तपाईँ के गर्नुहुन्थ्यो? कता जाँदै हुनुहुन्छ?" यात्रीले जवाफ दिए, "म पनि तपाईँजस्तै व्यापारी थिएँ। लाहोरमा मेरो ठुलो व्यापार थियो। व्यापारमा घाटा लाग्यो, अनि अब म घर फर्किँदै छु।"
व्यापारीले उनको कुरा सुनेर अफसोस व्यक्त गरे। केही बेरपछि व्यापारीका सेवकले आफ्ना मालिकलाई सोधे, "के खच्चरको भार सन्तुलन मिलाउन दुवैतिर सामान बराबर बाँडिदिऊँ?"
व्यापारीले जवाफ दिए, "सामान बराबरी पार्नु पर्दैन। सामान खाली भएको तिर पहिला जस्तै बालुवा नै भर।"
सेवकले छक्क पर्दै सोध्यो, "किन सेठजी?"
व्यापारीले जवाफ दिए, "ती यात्रीले भनेको कुरा तर्कपूर्ण थियो, तर उनी सफल मान्छे होइनन्। उनी कङ्गाल भएर घर फर्किँदै छन्। उनी जान्ने मान्छे भएको भए किन यसरी कङ्गाल हुन्थे होलान् र? म त्यति मिठो कुरा गर्न त जान्दिनँ, तर मैले अहिलेसम्म व्यापारमा कहिल्यै घाटा खाएको छैन। त्यसैले मैले जे भन्छु, त्यही गर। असफल व्यक्तिको सिको गर्नु हुँदैन।"
सेवकले पनि मालिकको आदेश मान्दै खाली भएको ठाउँमा बालुवा भरेर खच्चरको सन्तुलन मिलायो।
आफ्नो यात्राको अन्त्यमा ती व्यापारी दिल्ली आइपुगे। उनको सबै मुलतानी मिट्टी बिक्री भइसकेको थियो। अब बाँकी भएको बालुवालाई उनले दिल्लीको बजारमा एक ठाउँमा थुपारे र बेच्न बसे। उनको सेवकले सोध्यो, "मालिक, यो बालुवा पनि बिक्ला र?" व्यापारीले ढाडस दिँदै जवाफ दिए, "यो दिल्ली हो, यहाँ जे पनि बिक्छ।"
नभन्दै, दिल्लीका राजाका सैनिकहरू बालुवा थुपारेको ठाउँमा आए र सोधे, "के यो राजस्थानको बालुवा हो?" व्यापारीले 'हो' भने। सैनिकहरूले भने, "हाम्रो राजालाई गठिया बाथ भएको छ। उनलाई वैद्यले दिउँसोको घाममा आफ्नो खुट्टा राजस्थानको बालुवामा राखेर सेक्नु भन्नुभएको छ। यसको दाम कति हो?" व्यापारीले जवाफ दिए, "मुलतानी मिट्टी र यो बालुवाको दाम एउटै हो। दुवै उत्ति नै टाढाबाट उत्ति नै दुःख गरेर ल्याइएका हुन्।" सैनिकहरूले मुलतानी मिट्टीकै मूल्य तिरेर सबै बालुवा लगे।
०००
फागुन २१ को चुनाव सकिएर सबै परिणाम पनि प्राप्त भइसकेको छ। राष्ट्रिय स्वतन्त्र पार्टीले लगभग दुई तिहाइ बहुमत प्राप्त गरेको छ। अब सम्भवतः केही दिनमा उसले सरकार गठन पनि गर्नेछ। अहिले नेपालमा चुनाव सकिएको र सरकार गठन भइनसकेको अवधिमा बडो असमञ्जसको स्थिति छ। उहिले-उहिले सिनेमा हलमा दर्शक सिटमा बसिसकेको र फिल्म सुरु नभइसकेको स्थितिमा गीत-सङ्गीत बजाउने वा विज्ञापन देखाउने गरेर त्यो समय कटाउने गर्द्थे।
त्यस्तै, अहिले नेपालमा पनि शून्यतालाई पूर्ति गर्न अनेक प्रकारका मानिसहरू रङ्गमञ्चमा देखा परेका छन्। यी विद्वानहरूमध्ये कसैले नयाँ सरकारको नीति र नेतृत्वबारे अर्ती-उपदेश, सल्लाह र सुझाव दिन थालेका छन्। अझ कतिले त अब बन्ने नयाँ सरकारको नेतृत्व बालेनले गर्न मिल्छ कि मिल्दैन अथवा रविले उनलाई ठाउँ छोड्छन् कि छोड्दैनन् भनेर अनेक तर्क- गरिराखेका हुन्छन्। त्यस्तै, कोही विद्वान भने कसले कुन मन्त्रालय सम्हाल्दा ठीक हुन्छ भनेर भागबन्डा नै लगाइदिइरहेका हुन्छन्। जस्तै: स्वर्णिम वाग्लेले कुन मन्त्रालय लिने, डिपी अर्याल के बन्ने, मनिष झाले कुन मन्त्रालय सम्हाल्ने आदि-इत्यादि।

त्यति मात्र होइन, कतिले त नयाँ सरकारको परराष्ट्र नीति कस्तो हुनुपर्ने, आर्थिक नीति के अपनाउनु पर्ने र मौद्रिक नीति कुन लिँदा ठीक होला भनेर समेत अर्ती दिइरहेका हुन्छन्। नयाँ सरकारप्रति आम जनताको अपेक्षा हुनु स्वाभाविक नै मान्नुपर्छ। देशको दुर्दशामा चाँडै सुधार होस् भन्ने हुटहुटी देखिनु स्वाभाविक हो। तर दशकौँदेखि राजनीतिक र आर्थिक विश्लेषणको बिस्कुन फैलाउँदै आएका परम्परागत विश्लेषकहरूमा देखिएको हतारोको कारण बुझ्न सकिएन।
उनीहरूले केही दिन धैर्य गर्दा के बिग्रिन्थ्यो होला? फेरि उनीहरूको विश्लेषण बालेन लगायत रास्वपाले सुन्नु किन जरुरी होला? उनीहरूको विश्लेषण परम्परागत राजनीतिक दलहरू एमाले, कांग्रेस र माओवादीले नै कति नै सुनेका थिए र? फेरि, परम्परागत राजनीतिको पूरै परिभाषा बदल्ने काम गरेका बालेनले 'जेन जी' विद्रोहताका हातैमा आएको प्रधानमन्त्री पद अस्वीकार गरे, आफ्नो जन्म र कर्मथलो काठमाडौँ त्यागेर एमाले अध्यक्ष केपी ओलीको गृहक्षेत्रमा उठेर उनैलाई हराएर देखाए। मधेसमा आफ्नै बलबुतामा लहर पैदा गरेर रास्वपालाई एक्लै बहुमत दिलाए। पक्कै पनि उनले त्यो एक्लो सोच र तयारीमा त गरेका थिएनन् होला ? निश्चय पनि उनका आफ्नै बलियो टीम होला !
अब त्यस्तो सक्षम व्यक्तिले हाम्रा विश्लेषकहरूको राय सुन्नु किन जरुरी होला? उनको आफ्नै विकास योजना र खाका होला। उनीसँग बिषय बिज्ञहरुको आफ्नै गतिलो टिम पनि होला। उनले त्यसलाई प्राथमिकता नदिएर अब यी परम्परागत विद्वानहरूको योजनालाई प्राथमिकता किन देलान् र? फेरि माथि उल्लेखित कथाको मुलतानी मिट्टी व्यापारीले भने जस्तै बालेनमा पनि 'असफल ज्ञानीको विचार लागू गर्नु हुँदैन' भन्ने मान्यता रहेछ भने के गर्ने?
नेपाली राजनीतिको अनुभव
विश्व युद्धको सँघारमा इरान र हाम्रो हराएको स्वाभिमान
तिम्रो पुरै जीवन खेर 'गो !
अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस र श्रमिक महिलाका सवाल
रास्वपाको अग्रतासँगै ऊसामु तेर्सिएका केही सवालहरु
अली खामेनीको सहादत: शिया इतिहासको आत्मबलिदानको शृङ्खलामा थपिएको अर्को एउटा …
इरान: हत्या गरेर पनि नमर्ने, दबाबमा पनि न ढल्ने राष्ट्र
प्रतिक्रिया