एआई, डाटा र प्रविधिको युद्ध: बदलिँदो विश्वव्यापी लडाइँको संरचना

एक्काइसौँ शताब्दीको तेस्रो दशकमा उभिएर युद्धको कल्पना गर्दा हाम्रो मानसपटलमा अझै पनि ट्याङ्कहरूको गडगडाहट, मिसाइलहरूको चमक र युद्धपोतहरूको गर्जनका तस्बिरहरू अङ्कित हुन्छन्। तर वास्तविकतामा आधुनिक युद्धको स्वरूप द्रुत गतिमा परिवर्तन भइरहेको छ। युद्ध अब सीमानामा उभिएका सैनिकहरूको टकरावमा मात्र सीमित रहेन यो बिस्तारै डाटा, एल्गोरिदम, कृत्रिम बुद्धिमत्ता (एआई), उपग्रह र साइबर नेटवर्कको जटिल संयन्त्रमा रूपान्तरण हुँदै गइरहेको छ।

हालका घटनाक्रमले यो परिवर्तनलाई अझ स्पष्ट पारेका छन्। एउटा महाशक्तिले अर्को देशलाई आफ्नो प्रतिद्वन्द्वीका युद्धपोत र विमानहरूको सटिक अवस्थिति (लोकेशन) सँग सम्बन्धित गुप्तचरी सूचनाहरू उपलब्ध गराइरहेको खबर सार्वजनिक हुँदा यो केवल सामरिक सहयोगको विषय मात्र थिएन। यो त त्यो नयाँ युद्ध-संरचनाको झलक थियो, जहाँ लडाइँको निर्णायक मोर्चा समुद्र वा आकाशमा होइन, बरु सूचना र प्रविधिका अदृश्य नेटवर्कहरूमा तय हुन्छ।

युद्धको नयाँ हतियार: सूचना

इतिहासमा युद्ध सधैँ प्राविधिक प्रगतिका साथ परिवर्तन हुँदै आएको छ। बारुदले तरबारको युग समाप्त गरिदियो, मेसिनगन र ट्याङ्कले परम्परागत सेनाको संरचना बदलिदिए, र परमाणु हतियारले युद्धलाई वैश्विक विनाशको सम्भावनासंग जोडिदियो । तर आज भइरहेको परिवर्तन विगतका कुनै पनि परिवर्तनभन्दा बढी गहिरो र व्यापक छ।

अब युद्धको सबैभन्दा महत्त्वपूर्ण संसाधन तेल, कोइला वा धातु होइन, बरु डाटा हो। उपग्रहबाट प्राप्त तस्बिरहरू, समुद्री राडार नेटवर्क, ड्रोनबाट आउने प्रत्यक्ष (लाइभ) भिडियो फिड, इलेक्ट्रोनिक निगरानीबाट संकलित सङ्केतहरू (सिग्नल्स) र साइबर जासुसीबाट प्राप्त डिजिटल दस्तावेजहरू, यी सबै मिलेर आधुनिक युद्धको सूचना संयन्त्र निर्माण गर्दछन्।

एआईले यी विशाल डाटा प्रवाहहरूलाई केही क्षणमै विश्लेषण गरेर दुश्मनको सेना कहाँ छ, कुन मिसाइल कहाँ तैनाथ छ, कुन जहाजको दिशा कता छ र कुन समयमा गरिएको हमला सबैभन्दा प्रभावकारी हुन्छ भन्ने कुरा बताउन सक्छ। यस प्रकार, युद्धको निर्णायक शक्ति अब केवल हतियारको संख्यामा मात्र होइन । यो त  सूचनालाई बुझ्ने र त्यसको उपयोग गर्ने क्षमतामा निहित हुँदै गइरहेको छ।

ड्रोन र स्वायत्त हतियार: युद्धको बदलिँदो स्वरूप

प्राविधिक युद्धको सबैभन्दा प्रत्यक्ष अभिव्यक्ति ड्रोन प्रविधिमा देखिन्छ। केही दशकअघिसम्म ड्रोनहरू केवल निगरानीका लागि प्रयोग गरिन्थे। ती आकाशमा उड्ने क्यामेरा मात्र थिए, जसले दुश्मनका गतिविधिहरूमाथि नजर राख्थे। तर आज ड्रोनहरू आफैँमा युद्धका सक्रिय हतियार बनिसकेका छन्।

साना-साना स्वायत्त ड्रोनहरू, जसलाई कतिपय अवस्थामा ‘लोइटरिङ म्युनिसन’ (Loitering Munition) भनिन्छ, दुश्मनको इलाकामा घण्टौँसम्म मडारिन सक्छन् र लक्षित वस्तु देखिनेबित्तिकै आफैँ विस्फोट हुन सक्छन्। धेरै आधुनिक ड्रोनहरूले त एआईको सहयोगमा लक्ष्यको पहिचान समेत आफैँ गर्न थालेका छन्।

युद्धको इतिहासमा सायद पहिलो पटक यस्तो भइरहेको छ कि हतियारहरू आफैँ निर्णय लिने दिशामा अघि बढिरहेका छन्।

यसको परिणामस्वरुप युद्धको लागत र संरचना दुवै परिवर्तन भइरहेका छन्। एउटा आधुनिक लडाकु विमान बनाउन अरबौँ डलर लाग्छ, जबकि तुलनात्मक रूपमा कम मूल्यका ड्रोनहरूले पनि कतिपय अवस्थामा  पहिले महँगा हतियारहरूले गर्ने काम गर्न सक्छन् । यस परिवर्तनले सैन्य शक्तिको परम्परागत सन्तुलनलाई पनि प्रभावित गरेको छ। अब साना वा मध्यम शक्ति भएका देशहरू पनि प्रविधिको माध्यमबाट ठूला सैन्य शक्तिहरूलाई चुनौती दिन सक्ने अवस्थामा पुग्न सक्छन्।

साइबर युद्ध: गोली बिनाको लडाइँ

प्राविधिक युद्धको अर्को महत्त्वपूर्ण आयाम साइबर युद्ध हो। आज कुनै पनि देशको शक्ति केवल उसको सेनामा मात्र होइन, बरु उसको डिजिटल पूर्वाधारमा पनि निहित हुन्छ  जस्तै बिजुली नेटवर्क, बैंकिङ प्रणाली, सञ्चार व्यवस्था, यातायात नियन्त्रण, उपग्रह नेभिगेसन र इन्टरनेट।

कुनै शत्रुले यी प्रणालीहरूलाई साइबर हमलाको माध्यमबाट अवरुद्ध गरिदियो भने, एक राउन्ड गोली पनि नचलाई कुनै पनि देशको सम्पूर्ण व्यवस्था ठप्प हुन सक्छ। साइबर हमलाको सबैभन्दा ठूलो विशेषता यो हो कि यी प्रायः अदृश्य हुन्छन्। हमलाको स्रोत पहिचान गर्न कठिन हुन्छ र कतिपय अवस्थामा त हमला कसले गर्‍यो भन्ने कुरा यकिन गर्न समेत मुस्किल पर्छ। यही कारणले गर्दा साइबर युद्ध आधुनिक अन्तर्राष्ट्रिय राजनीतिको सबैभन्दा जटिल र खतरनाक क्षेत्र बन्दै गइरहेको छ।

अन्तरिक्ष: युद्धको नयाँ मोर्चा

आधुनिक सैन्य प्रविधिको अर्को महत्त्वपूर्ण आयाम अन्तरिक्ष हो। आज लगभग हरेक सैन्य अभियान उपग्रह (स्याटेलाइट) हरूमा निर्भर गर्दछ– सञ्चार, नेभिगेसन, मिसाइल मार्गदर्शन, मौसम पूर्वानुमान र निगरानी सबैका लागि उपग्रहहरू अनिवार्य छन्।

यसै कारणले गर्दा, अन्तरिक्ष अब केवल वैज्ञानिक अन्वेषणको क्षेत्र मात्र रहेन यो बिस्तारै युद्धको नयाँ मोर्चा बन्दै गइरहेको छ। धेरै देशहरूले एन्टी-स्याटेलाइट  हतियारहरू विकसित गरिरहेका छन्, जसले शत्रुको उपग्रहलाई नष्ट गर्न सक्छन्। यदि कुनै युद्धमा ठूलो परिमाणमा उपग्रहहरू नष्ट भए भने, आधुनिक सञ्चार व्यवस्था र वैश्विक अर्थतन्त्रमा त्यसको गम्भीर प्रभाव पर्न सक्छ। यसरी युद्ध अब पृथ्वीको सतहभन्दा माथि अन्तरिक्षसम्म फैलिसकेको छ।

सूचना र मनोवैज्ञानिक युद्ध

प्रविधिमा आधारित युद्ध केवल हतियारमा मात्र सीमित छैन; यसले समाजको चेतना र मनोविज्ञानलाई पनि प्रभावित गरिरहेको छ। सामाजिक सञ्जाल (सोसल मिडिया) प्लेटफर्म, डिजिटल प्रचार संयन्त्र र कृत्रिम बुद्धिमत्तामा आधारित सामग्री निर्माणले सूचनालाई युद्धको एउटा शक्तिशाली हतियार बनाइदिएको छ।

भ्रामक समाचार (फेक न्युज), डिपफेक भिडियो र संगठित अनलाइन प्रचारबाजीले कुनै पनि देशको भित्र राजनीतिक अस्थिरता पैदा गर्न सक्छन्। यस प्रकार, युद्ध केवल सीमानामा मात्र होइन, बरु मानिसहरूको विश्वास, भावना र विचारभित्र पनि लडिँदै छ।

प्राविधिक युद्धको नैतिक संकट

यी सबै परिवर्तनहरूसँगै एउटा गहिरो नैतिक संकट पनि उब्जिरहेको छ। यदि भविष्यमा स्वायत्त हतियार प्रणालीहरू पूर्ण रूपमा स्वतन्त्र भएर लक्ष्य छनोट गर्न र हमला गर्न थाले भने, जीवन र मृत्युको निर्णय मेसिनको हातमा जानेछ।

यदि कुनै एआईमा आधारित हतियारले गल्तीवश नागरिकहरूमाथि हमला गरिदियो भने, त्यसको जिम्मेवारी कसको हुनेछ– प्रोग्रामरको, सैनिकको वा निर्णय लिने त्यो मेसिनको? यसै कारणले गर्दा, विश्वभरि नै ‘किलर रोबोट्स’ अर्थात् स्वायत्त घातक हतियारहरूमाथि प्रतिबन्ध लगाउनुपर्ने माग पनि उठिरहेको छ। तर प्राविधिक प्रतिस्पर्धाको वास्तविकता के हो भने, कुनै पनि देश यस क्षेत्रमा पछि पर्न चाहँदैनन्।

तीव्र प्रतिक्रिया र बढ्दो खतरा

प्राविधिक युद्धको अर्को खतरा यसको अत्यधिक गति हो। जब निर्णय प्रक्रियामा एल्गोरिदम र स्वचालित प्रणालीहरू सामेल हुन्छन्, तब प्रतिक्रियाको गति यति तीव्र हुन सक्छ कि मानवीय विवेकका लागि समय नै बाँकी रहँदैन। कुनै गलत संकेत, प्राविधिक त्रुटि वा गलत डाटाका आधारमा पनि ठूलो स्तरमा सैन्य प्रतिक्रिया सुरु हुन सक्छ। यसरी प्रविधिले युद्धलाई जति सटिक बनाइरहेको छ, त्यति नै यसलाई अस्थिर र जोखिमपूर्ण पनि बनाउँदै लगेको छ।

युद्धको बदलिँदो भूगोल

आधुनिक युद्धको भूगोल पनि परिवर्तन भइरहेको छ। युद्ध अब केवल सीमानामा मात्र लडिँदैन। यो डाटा सेन्टरहरू, उपग्रहका कक्षहरू, साइबर नेटवर्कहरू र कृत्रिम बुद्धिमत्ताका सर्भरहरूमा पनि चलिरहेको हुन्छ।

युद्धका नयाँ सैनिकहरू केवल वर्दीधारी जवानहरू मात्र होइनन्; तिनमा वैज्ञानिक, इन्जिनियर, प्रोग्रामर र डाटा विश्लेषकहरू पनि सामेल छन्। युद्धका मैदानहरू अब मरुभूमि र समुद्रहरूभन्दा अगाडि बढेर डिजिटल संसारसम्म फैलिइसकेका छन्।

भविष्यको चुनौती

मानव इतिहासमा प्रविधिले सधैँ युद्धको स्वरूपलाई बदलिदिएको छ। तर कृत्रिम बुद्धिमत्ता र डिजिटल नेटवर्कको युगले यो परिवर्तनलाई पहिलेभन्दा धेरै तीव्र र जटिल बनाइरहेको छ। भविष्यको युद्ध सम्भवतः कुनै औपचारिक घोषणा बिना नै सुरु हुन सक्छ र लामो समयसम्म अदृश्य रूपमा चलिरहन सक्छ।

त्यसैले, सबैभन्दा ठूलो चुनौती केवल नयाँ प्रविधि विकसित गर्नु मात्र होइन, बरु तिनलाई नियन्त्रण गर्ने अन्तर्राष्ट्रिय नियम र नैतिक सीमाहरू विकसित गर्नु पनि हो। यदि त्यसो हुन सकेन भने, यो सम्भव छ कि भविष्यको युद्ध यति धेरै स्वचालित र जटिल बन्नेछ कि त्यसमाथि मानवीय नियन्त्रण नै समाप्त हुन थाल्नेछ।

र त्यतिबेला युद्धको सबैभन्दा खतरनाक विशेषता यही हुनेछ कि– यो देखिन्छ कम, तर सर्वत्र व्याप्त हुनेछ: डाटाको धड्कनमा, एल्गोरिदमको गणनामा र मेसिनहरूको 'चिसो दिमागमामा।

स्रोत: जनचोक