अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस र श्रमिक महिलाका सवाल
आठ मार्च -महिलाहरूको ऐतिहासिक, संघर्षशील एवं गौरवमय गाथासंग गाँसिएको दिन हो।
हरेक वर्षको मार्च आठको दिनलाई अन्तर्राष्ट्रिय श्रमिक महिला दिवशको रुपमा विश्वभर मनाइने गरिएको छ। महिलाहरूको अधिकार, न्याय, समानताका खातिरमनाइने आठ मार्चमा
अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस श्रमिक महिलाको "एकता, वीरता र संघर्ष " को प्रतिकको रुपमा विश्वभर मनाइन्छ । यस वर्ष "सबै महिला र बालबालिकाको लागि अधिकार,न्याय र कार्यसहितको अवसर ! "भन्ने मूल नाराका साथ ११६ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस मनाइदैछ।
विश्वमा महिलाहरूले विश्वका गरिबहरूको ७०% भन्दा बढी प्रतिनिधित्व गर्छन्। तिनीहरू औषतमा पुरुषहरूभन्दा लगभग २०% कम कमाउँछन् र सबैभन्दा अनिश्चित र कम संरक्षित क्षेत्रहरूमा केन्द्रित छन्। ६०% भन्दा बढी अवैतनिक काममा लगाइने गरेको छ। यसले सामाजिक प्रजननमा असर पुगेको छ। विश्वमा विभिन्न मुलुकमा संचालन भएका युद्धको अर्थतन्त्रले हतियार उद्योग र ठूला एकाधिकारलाई समृद्ध बनाएको छ। जबकि लाखौं महिलाहरू गरिबी, बेरोजगारी र अनिश्चिततामा धकेलिएका छन् । सार्वजनिक स्वास्थ्य, शिक्षा, कल्याण र श्रम अधिकारहरू भत्काउँदै गर्दा सैन्य खर्च जताततै बढ्दै गएको छ।
विश्व संचालन भएको युद्ध, हत्या, हिंसा र आतंकका कारणले प्यालेस्टाइनमा हजारौं महिला, बालबालिकाले हिंसात्मक घटनामा ज्यान गुमाउनु परेको छ। यस्तै भेनेजुएलामा भएको आर्थिक नाकाबन्दी र हिंसामा हजारौं श्रमिक महिलाले दुःख कष्ट भाेगेका छन। भर्खरै इरानमा भएको अमेरिकी सैनिक हमलामा झन्डै २०० भन्दा बढी निर्दाेषविध्यार्थी बालबालिकाको हत्या भएको छ।
युद्धको अर्थतन्त्रले हतियार उद्योग र ठूला एकाधिकारलाई समृद्ध बनाएको छ, जबकि लाखौं महिलाहरू गरिबी, बेरोजगारी र अनिश्चिततामा धकेलिन वाध्य भएका छन। सार्वजनिक स्वास्थ्य, शिक्षा, कल्याण र श्रम अधिकारहरू भत्काउँदै गर्दा सैन्य खर्च जताततै बढ्दै गएको छ। यसरी विश्व भइरहेको युद्ध, हत्या, हिंसा, आतंक र शोषणका विरुद्ध एकताबद्ध संघर्षको अझै आवश्यकता छ।
पितृसत्तात्मक समाजभित्र महिलाहरूलाई हेर्ने दृष्टिकोण अत्यन्तै संकीर्ण रहेका कारण महिलाहरू शोषण र भेदभावको शिकार हुदै आएका छन। महिला वर्गमाथि पुरुष वर्गले हैकम चलाउने, भोगविलासको साधन बनाउने, दास बनाउने जस्ता प्रचलन युगाँदेखि रहँदै आएको छ । पुरुषप्रधान समाजभित्र महिला माथि हुने यस किसिमको अमानवीय व्यवहारले गर्दा राज्य सत्ताभित्र पनि राजनैतिक, आर्थिक र सामाजिक लगायतका महत्त्वपूर्ण अधिकारबाट महिलाहरू बंचित हनुपरेको छ। राजनैतिक अधिकारको कुरा गर्दा अझै पनि कतिपय मुलुकमा महिलाहरूलाई मताधिकारबाट समेत बञ्चित गरिएको छ।
महिलाहरूमाथि भईरहेको शोषण भेदभाव विरुद्ध स्वयं महिलाहरूको अग्रसरतामा आन्दोलनको आँधीबेहरी श्रृजना गरी आन्दोलनको अगुवाई गर्दै आएका छन्। विश्वमहिला मुक्ति आन्दोलनको सन्दर्भमा सर्व प्रथम सन् १७७९ मा वेलायतको महिला मेरी उत्सटीनी क्याप्टको नेतृत्वमा महिलाहरूले मतदान गर्न पाउने अधिकारको साथै शासन सत्तामा सहभागी हुन पाउनुपर्ने मागलाई आन्दोलनको मुख्य विषय बनाएको पाइन्छ। त्यसपछि सन् १७८७ मा फ्रान्समा महिलाहरूले गरिबीका विरुद्ध जुलुस प्रदर्शन गरी राजा लूई सोह्रौको दरबार घेरेका थिए। सन् १८३० मा हल्याण्डमा कपडा उद्योगमा महिला मजदुरहरूले आफू माथिको भेदभाव र शोषण अन्त्य गर्ने र पुरुष सरह समान ज्याला प्राप्तिका लागि संघर्ष गरेका थिए।
महिलाहरूको आन्दोलनले अग्रगति लिन थालेपछि सन् १८४४ मा फ्रान्स कि महिला नेतृ प्ल्वरा टिएटनले सर्वप्रथम सन् १८४४ मा महिलाहरूको मुक्तिका लागि सङ्गठनको चर्चा गरेको थिइन् ।
सन् १८४८ मा कार्ल मार्क्स र एंगेल्सद्वारा लिखित कम्युनिष्ट घोषणापत्रमा महिलामाथि भएको शोषण र महिला मुक्तिका बारेमा उल्लेख गरेपछि महिला अधिकारबारे विश्वव्यापी रुपमा चेतना फैलियो ।
यस्तै सन् १८६५ मा मेनचेष्टरमा सर्वप्रथम महिला मताधिकार समिति गठन गरी महिलाहरूले आन्दोलनलाई अगाडि बढाए। ८ मार्च १८९७ मा श्रमिक महिलाहरूले उचित ज्याला र १० घण्टा कार्य दिवशको माग गर्दै न्युयोर्कमा विशाल विरोध प्रदर्शन गरे। महिलाहरूको आन्दोलनमा भएको व्यापक दमनको बाबजुद आन्दोलनले अग्रगति लिन थाल्यो । आन्दोलनलाई सुसङ्गठित गर्न ८ मार्च १९०६ मा जर्मनीको स्टेगार्डमा भएको अन्तर्राष्ट्रिय महिला सम्मेलनबाट श्रमिक महिला संघ को स्थापना भयो। सम्मेलनले सिंगो महिला मुक्ति आन्दोलन सँगसँगै समाजवादी आन्दोलनलाई अगाडि बढाउने क्लारा जेटकिनले पेश गरेको ललल प्रस्ताव पारित गर्यो ।
महिला आन्दोलन र सङ्गठनलाई अझ व्यवस्थित गर्न सन् १९१० मा कोपेनहेगनमा दोश्रो अन्तर्राष्ट्रिय महिला सम्मेलन भयो ।सम्मेलनमा साम्राज्यवादी हतियारको होडाबाजीले पारेको असर, पहिलो र दोश्रो विश्वयुद्धबाट श्रृजना भएको विषय तथा श्रमिक महिलाहरूले भोग्नु परिरहेको राजनैतिक, आर्थिक र सामाजिक विषयमा गम्भीर छलफल गर्दै श्रमिक आमा र बच्चाको सुरक्षा हुनुपर्ने, दैनिक कार्य अवधि ८ घण्टा हुनुपर्ने तथा महिलाहरूलाई राजनैतिक, आर्थिक र सामाजिक अधिकारको प्रत्याभूति गर्नुपर्ने जस्ता विषयमा छलफल भयो र विभिन्न प्रस्तावहरु पारित भयो । साथै क्रान्तिकारी इतिहास बोकेको ८ मार्चको दिनलाई अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको रुपमा हरेक बर्ष मनाउने महिला नेतृ क्लारा जेटकिनले अगाडि सारेको प्रस्ताव सम्मेलनबाट पारित भयो ।
यसरी विश्वभरका श्रमिक महिलाहरूले संघर्ष र बलिदानको ऐतिहासिक गाथा र महत्त्वका साथ मनाउन थालिएको आठ मार्चको दिनको महत्त्व छ। यश दिनलाई श्रमिक महिलाले भोग्नुपरिरहेका समस्याको उजागर गर्ने दिन, संघर्ष आन्दोलनबाट प्राप्त उपलब्धिको रक्षा र प्रभावकारी कार्यान्वयनका लागि संकल्प गर्दै अगाडि बढने दिनको रुपमा विश्व भर मनाइन्छ । अझ यश दिन विशेष उत्सव र चाडको रुपमा मनाउन राज्यबाट सार्वजनिक छुट्टी पनि दिने गरिएको छ।
नेपालमा आठ मार्चको संघर्ष एवं बलिदानपूर्ण इतिहासबाट प्रेरित हुदै नेपाली महिलाहरूले पनि आफूलाई आन्दोलनमा होमेका छन् । पितृ सत्तात्मक शासन व्यवस्थाका विरुद्ध सर्वप्रथम योगमायाले आन्दोलनको शुरुवात गरेको पाइन्छ । देशको राष्ट्रियताको रक्षाका लागि भएको आन्दोलन, जहांनिया राणा शासन विरुद्ध भएको वि सं २००४ सालको आन्दोलनमा सहाना प्रधान, साधना कुमारी, स्नेहलता, मंगल लगायतका महिलाहरूको अगुवाइ आन्दोलन भएको थियोे । निरंकुश पंचायती कालमा महिलाहरूले ८ मार्चको दिवसलाई खुल्ला तथा भूमिगत रुपमा आन्दोलनको रुपमा नै आठ मार्चमा विभिन्न कार्यक्रम गरेर मनाएका थिए।
आठ मार्चको संघर्षशील भावनाबाट प्रेरित हुदै २०४६ सालको ऐतिहासिक जन आन्दोलनमा समेत महिलाहरूको उल्लेखनीय भूमिका रहेका थियो । यस्तै २०६२/०६३ को गणतान्त्रिक आन्दोलनमा समेत महिलाहरुले महत्त्वपूर्ण भूमिका निर्वाह गरेका छन।
महिलाहरुको आन्दोलनको उपलब्धि स्वरुप संविधानमा महिला सम्बन्धि मौलिकहकको सुनिश्चितता भएको छ। यस्तै महिलाहरुको श्रम शाेषणलाई अन्त्य गर्ने, महिलाहरुको राज्यका अंगमा तेत्तीस प्रतिशत सहभागीता हुने संवैधानिक व्यवस्था भएको छ। आन्दोलनको उपलब्धिको रुपमा श्रम कानुन जारी भएको छ। श्रमिक महिलाका सम्बन्धमा श्रम ऐनमा सबै प्रकारका भेदभावको अन्त्य गर्ने, समान मूल्यको काममा समान ज्याला (इक्वायल भ्यालु अफ वर्क), प्रसुति विदामा दुरुत्साहनको नियन्त्रण, किरिया विदामा सुविधा, लैगिंक हिंसाको अन्त्य आदि व्यवस्थाहरु भएका छन।
महिला हक अधिकारका बारेमा संविधान र ऐन कानूनमा व्यवस्था भएको भए पनि तिनको प्रभावकारी कार्यान्वयन हुन सकेको छैन । पूंजीवादी पितृसत्तात्मक समाज व्यवस्थाका कारण व्यवहारमा भेदभाव भएको कारणले महिला हकहितको विषय अझै पनि व्यवहारिक रुपमा सुनिश्चित एवं कार्यान्वयन हुनसकेको छैन। श्रमिक महिलाहरूको स्थितिबारे चर्चा गर्दा अहिले पनि उनीहरूको स्थिति दयनीय रहेको छ।
अर्थतन्त्रमा अनौपचारिक अर्थतन्त्रको अझै प्रचलन छ। अनौपचारिक अर्थतन्त्रमा श्रमिक महिला झन्डै ६० प्रतिशत संलग्न रहेका छन। तर अहिले पनि उनीहरू माथि भेदभाव, शोषण व्याप्त छ। घरायसी महिलाहरुले दैनिक १७/१८ घन्टा काम गर्नु पर्दछ। तर उनीहरुको श्रमको लेखाजोखा भएको छैन। परिवार र समाजबाट अलग्गिएका आन्तरिक आप्रवासी श्रमिकहरु जाे सेवा क्षेत्र देखिन, हाेटल,पर्यटन, मननोरन्जन, डान्स, बार देखिन सडकमा काम गर्दछन तर उनीहरूको श्रमको अझैसम्म सम्मान हुन सकेको छैन । अनौपचारिक श्रम क्षेत्रमा लाखौंको संख्यामा श्रमिक महिलाहरु छन। तर उनीहरूको श्रमको गणना गर्न पंजीकरणको व्यवस्था भएको छैन । यस्तै श्रम ऐन अनुसारको न्यूनतम तलब,ज्याला पारिश्रमिक, सामाजिक सुरक्षाका सुविधा र शिशु स्याहार सुविधा आदि बाट श्रमिक महिलाहरु बंचित छन।
यस्तै अवसरको कमीले महिलाहरूको चौतर्फी विकास हुन सकेको छैन। श्रमिक महिलाको समस्याको सन्दर्भमा हेर्दा आम महिलाहरूले भोग्नु परिरहेको समस्या झै श्रमिक महिलाले पनि उस्तै समस्याहरू भोग्नु परिरहेको स्थिति छ। पितृ सत्तात्मक समाजको परिपाटीको कारण राजनैतिक, आर्थिक र सामाजिक समस्याले महिलाहरू आक्रान्त बनेका छन् । राजनैतिक अधिकार र अवसरको कमीले मुलुकको नीति निर्माणका साथै राज्य सञ्चालनमा समावेशीताका आधारमा महिलाहरूको सहभागिता अत्यन्तै न्यून रहने गरेको छ। महिलाहरूलाई आर्थिक अधिकारबाट बंचित गरिएको छ। पैतृक सम्पत्तिमाथि महिलाको अधिकारको विषय अहिले पनि व्यवहारमा लागु भएको छैन। समाजको धार्मिक परम्परा, रीतिरिवाज र अन्धविश्वासका कारण महिलाहरू भेदभाव र शोषणमा पर्नुका साथै दासीको रुपमा रहन बाध्य भएका छन।
महिलालाई पुरुष सरह अधिकार र अवसरप्रति सुनिश्चित गराई उनीहरूको क्षमता अभिवृद्धि गर्नेतर्फ महिला श्रमिक संघ सङ्गठन, ट्रेड युनियनहरू र नागरिक समाजको साथै सरकार तथा राजनैतिक दलहरूले पनि गम्भीर र जिम्मेवार बनी विशेष ध्यान दिन आवश्यक छ
। तसर्थ ८ मार्चको ऐतिहासिक दिनमा श्रमिक महिलाका समस्या समाधान गर्दै अग्रगति र प्रगतितर्फ अगाडि बढन ८ मार्चको गौरवमय इतिहासबाट प्रेरणा लिन सक्नुपर्दछ ।
तिम्रो पुरै जीवन खेर 'गो !
रास्वपाको अग्रतासँगै ऊसामु तेर्सिएका केही सवालहरु
अली खामेनीको सहादत: शिया इतिहासको आत्मबलिदानको शृङ्खलामा थपिएको अर्को एउटा …
इरान: हत्या गरेर पनि नमर्ने, दबाबमा पनि न ढल्ने राष्ट्र
लुकिङ ग्लास र नेपाली राजनीति: देखिएभन्दा नजिकैको जोखिम
नोम चोम्स्की, जेफ्री एप्स्टीन र विश्वासघातको राजनीति
फौलादी उम्मेदवार मातृका यादवका प्राथमिकता
प्रतिक्रिया