संसारका सबै महिलाहरूले एक दिन बिदा लिए भने के होला?

जब संयुक्त राष्ट्र सङ्घले सन् १९७५ लाई 'महिला वर्ष' घोषणा गर्‍यो, तब युरोपको एउटा देशका महिलाहरूले त्यसलाई वास्तविक रूपमै उत्सवका रूपमा मनाउने निर्णय गरे। त्यस बखत उक्त देशको कुल जनसङ्ख्या दुई लाख बीस हजार मात्र थियो र त्यो देश थियो आइसल्यान्ड।

देशका पाँच ठूला महिला सङ्गठनहरूले २४ अक्टोबरका दिन सबै महिलाहरूले बिदा लिने अर्थात् हडताल गर्ने तय गरे। उनीहरूले त्यस दिन कुनै पनि काम नगर्ने निर्णय गरे– न खाना पकाउने, न सरसफाइ गर्ने, न त केटाकेटीको हेरचाह नै गर्ने।

आइसल्यान्डको इतिहासमा उक्त दिनलाई 'द लङ फ्राइडे' (लामो शुक्रबार) का नामले चिनिन्छ। त्यस दिन सबै सुपरमार्केटहरूबाट 'रेडिमेड' खाना सकियो। सरकारी तथा निजी कार्यालयहरू आफ्ना बुबाहरूसँग आएका छोराछोरीले भरिएका थिए, जसलाई हल्ला नगर्न अनुनय-विनय गरिँदै थियो। उनीहरूलाई फकाउन घुसका रूपमा चकलेट र टफीहरू दिइँदै थियो। विद्यालय, नर्सरी र खाद्य प्रशोधन कारखानाहरू कि त बन्द थिए कि त उनीहरूको क्षमताभन्दा धेरै कम काम भइरहेको थियो। पूरै देश ठप्प जस्तै भएको थियो।

सन् १९७५ मा आयोजित मूल ‘क्वेन्नाफ्री’ (Kvennafrí) ले देशलाई पूर्ण रूपमा ठप्प बनाइदियो (स्नोरी जोफोनियास्सन / आइसल्यान्ड महिला अभिलेखालय)।

महिलाहरूले देशभरि २० वटा जुलुस निकाले। राजधानी रेक्याविकको मुख्य चोकमा २५ हजार महिलाहरू भेला भए। यति कम जनसङ्ख्या भएको देशको हिसाबले यो अकल्पनीय रूपमा ठूलो सङ्ख्या थियो। यी महिलाहरू आफ्नो हिस्साको संसारमा समान अधिकार मागिरहेका थिए। उनीहरूको प्रश्न थियो– एउटै कामका लागि पुरुष र महिलालाई दिइने पारिश्रमिक फरक-फरक किन हुन्छ? तिनै कामकाजी महिलाहरू घरभित्रका सबै काम पनि गर्थे, तर उनीहरूको नाम देशको कुनै पनि टेलिफोन डाइरेक्टरीमा थिएन।

उनीहरू पुरुषहरूलाई यो आभास दिलाउन चाहन्थे कि उनीहरूले गर्ने काम पनि देश सञ्चालनमा उत्तिकै महत्त्व राख्छ। दिनभरि नवजात शिशुका लुगा धोइरहेकी महिला कुनै कम्पनीको सिइओ (CEO) भन्दा कम काम गर्दिनन् भन्ने सन्देश उनीहरू दिन चाहन्थे।

अधिकांश पुरुषहरूले यस प्रदर्शनलाई एउटा ठट्टाभन्दा बढी महत्त्व दिएनन्, तर आइसल्यान्डको समाजमा महिलाहरूको स्थितिलाई लिएर स्थापित भाष्य भने त्यस दिनदेखि पूर्ण रूपमा बदलियो।

अर्को वर्ष अर्थात् सन् १९७६ मा आइसल्यान्डले लैङ्गिक समानताको कानुन पारित गर्‍यो, । जसअन्तर्गत विद्यालय र कार्यस्थलहरूमा पुरुष र महिलाबीच हुने भेदभाव अन्त्य गरियो। पाँच वर्षपछि  विग्दिस फिनबोदोतिर आइसल्यान्डकी पहिलो महिला राष्ट्रपति बनिन्। विश्व इतिहासमा लोकतान्त्रिक पद्धतिबाट निर्वाचित हुने उनी कुनै पनि देशको पहिलो महिला राष्ट्रप्रमुख थिइन् र १६ वर्षसम्म आफ्नो पदमा बहाल रहिन्।

आज आइसल्यान्डमा कुनै पनि प्रकारको आरक्षण बिना नै संसद्मा स्त्री-पुरुष सदस्यहरूको सङ्ख्या बराबर छ। विगत १० वर्षदेखि लैङ्गिक समानता सूचकाङ्क (Gender Equality Index) मा आइसल्यान्ड विश्वमै पहिलो स्थानमा कायम छ। 'द इकोनोमिस्ट' ले यसलाई कामकाजी महिलाहरूका लागि विश्वकै सर्वश्रेष्ठ देश मान्दछ।

जब १९८१ मा रोनाल्ड रेगन अमेरिकाको राष्ट्रपति बने, तब शपथ ग्रहणको प्रत्यक्ष प्रसारण आइसल्यान्डमा पनि भयो। टेलिभिजनमा त्यो हेरिरहेको एउटा १० वर्षको बालकले अचम्म मान्दै आफ्नी आमालाई सोध्यो– "यस्तो कसरी हुन सक्छ? यिनी त पुरुष हुन्! राष्ट्रपति त महिला पो हुन्छन्, होइन र?" युरोपमा राष्ट्रपतिको ओहोदा हासिल गर्ने पहिलो महिला बनेकी विग्दिस फिनबोदोतिर स्वयं आफ्नी आमा र तीन वर्षीया छोरीका साथ उक्त प्रदर्शनमा सहभागी भएकी थिइन्। ती दिनहरूमा उनी 'रेक्याविक थिएटर कम्पनी' की कला निर्देशक थिइन् र २४ अक्टोबरको प्रदर्शनका लागि सबै रिहर्सलहरू रद्द गरेर त्यहाँ पुगेकी थिइन्।

आधुनिक संसारमा महिलाहरूको सामाजिक स्थिति कति सोचनीय थियो भन्ने प्रमाण यस कुराबाट मिल्छ कि उनीहरूले मतदानको अधिकार सबैभन्दा पहिले सन् १८९३ मा न्युजिल्यान्डमा प्राप्त गरे। सन् १९१३ सम्म यस सूचीमा केवल तीनवटा देशहरू मात्र थपिए– अष्ट्रेलिया, फिनल्यान्ड र नर्वे। अचम्म त के छ भने, स्विट्जरल्यान्ड जस्तो देशमा समेत यो अधिकार सन् १९७१ मा मात्र प्राप्त भयो। यद्यपि आइसल्यान्डका महिलाहरूले यो अधिकार सन् १९१५ मै पाइसकेका थिए, तर त्यस बेलादेखि 'द लङ फ्राइडे' सम्ममा त्यहाँको संसद्मा जम्मा ९ जना महिलाले मात्र निर्वाचित हुने अवसर पाएका थिए। सन् १९७५ सम्ममा यो सङ्ख्या केवल ३ थियो, जुन कुल क्षमताको ५ प्रतिशत मात्र हो।

रेक्याविकको त्यस ऐतिहासिक र्‍यालीमा सबैभन्दा पहिले एक  गृहिणीले भाषण दिएकी थिइन्। त्यसपछि दुई जना सांसदहरूको पालो आयो र त्यसपछि महिला सङ्गठनहरूसँग सम्बद्ध दुई जना महिलाहरूले बोले। अन्तिम मन्तव्य भने एडलहेडर ब्यार्नफ्रेड्सडोटीरले दिइन्। उनी विद्यालय र अस्पतालहरूमा सरसफाइ गर्ने, लुगा धुने र खाना पकाउने जस्ता काम गर्ने महिलाहरूको सङ्गठनकी प्रमुख थिइन्। उनले जीवनमा कहिल्यै भाषण दिएकी थिइनन्, तर उनको अभिव्यक्तिमा झल्किएको इमानदारिताले त्यहाँ उपस्थित हरेकलाई भावविभोर बनायो। अर्को चुनावमा एडलहेडर ब्यार्नफ्रेड्सडोटीर सांसद बनिन।

आइसल्यान्डमा एउटा पुरानो उखान छ– "पाइलाका डोबहरूलाई हिउँले निकै चाँडो पुरिदिन्छ।" अर्थात्, घटनाहरू इतिहासमा निकै चाँडो हराएर जान्छन्। तर यस घटनाको हकमा भने त्यस्तो भएन। त्यसको भोलिपल्टलाई सम्झिँदै विग्दिस फिनबोदोतिरले एक अन्तर्वार्तामा भनिन्– "अर्को दिन सबै कुरा सामान्य रूपमै सुरु त भयो, तर अब हरेक व्यक्तिले यो कुरा बुझिसकेका थिए कि यदि हाम्रो समाजलाई अस्तित्वमा राखिराख्ने हो भने पुरुष र महिला दुवैलाई समान सम्मान र अधिकार दिनैपर्छ।"  पूरै देशको सोच्ने शैली बदलिएको थियो। पाँच वर्षपछि जब राष्ट्रपतिको चुनाव भयो, विग्दिस फिनबोदोतिरले तीन जना पुरुष उम्मेदवारहरूलाई हराउँदै विजय हासिल गरिन्। उनको कार्यशैली यति लोकप्रिय भयो कि पछिल्ला तीनमध्ये दुईवटा चुनावमा उनी निर्विरोध राष्ट्रपति चुनिएकी थिइन्। आज उनको देशको संसद्मा ४४ प्रतिशत सांसदहरू महिला छन्।

२४ अक्टोबर १९७५ को त्यो ऐतिहासिक हडतालले यो प्रमाणित गरिदियो कि कुनै पनि महिला 'काम नगर्ने' (non-working) हुँदैनन् 'वर्किंग वुमन' (कामकाजी महिला) भन्ने शब्द पुरुषहरूद्वारा चलाइएको एउटा शब्दाडम्बर मात्र हो। वास्तवमा हरेक महिला 'वर्किंग वुमन' नै हुन्छन्, फरक यति मात्र हो कि धेरैजसो महिलाहरूले आफ्नो कामको बदलामा कुनै पारिश्रमिक पाउँदैनन्। आज पनि संसारको ७५ प्रतिशत यस्तो काम महिलाहरूले गर्छन्, जसका लागि कुनै ज्याला दिइँदैन।

स्रोत: तारीख़ में औरत । अनुवाद: केदार सिटौला