आत्ममन्थन र परीक्षणको विकट मोड उभिएको नेपाली वामपन्थ !
आँधी र हुरी नचलेको बेला
वातावरण स्तब्ध र शान्त भएको घडीमा
एउटा नर्कट पनि
छाती खोलेर ठिङ्ग उभिन सक्छ
एउटा कायरले पनि
बहादुरीका लामालामा कुरा गर्न सक्छ
तर मेरा मित्र
आँधी र हुरी चलिरहेको बेलामा
वातावरण गतिशील र अशान्त भएको घडीमा
पहाडको चुचुरोमाथि
आँधी र हुरीसँग पौठेजोरी खेल्दै
एउटा सतिसाल मात्र ठिङ्ग उभिन सक्छ ।
- नेत्रलाल अभागी
०००
यस पटकको चुनावमा वामपन्थी शक्तिहरुको दयनीय पराजयको जुन अवस्था देखिएको छ त्यो वाम आस्थावानहरुको लागि पीडादायी अवश्य छ तर अनपेक्षित भने पक्कै पनि होइन । अहंकार र आत्ममुग्धता (Narcissism) को घोडा चढेर, जनताबाट निरन्तर कटिँदै गइरहेका तथा सत्ता दुर्व्यसनमा चुर्लुम्म डुब्दै गइरहेकाहरुले कमान सम्हालेको वर्तमान अवस्थामा नेपाली वामराजनीतिले भोग्नु पर्ने अनिवार्य परिणतिको पराकाष्ठा यही नै हो ।
नेपाली वामपन्थी राजनीति, अझ भनौं कम्युनिष्ट राजनीति यतिखेर आफ्नो विगत ७६ वर्षको गौरवशाली इतिहासको सबैभन्दा अँध्यारो क्षणबाट गुज्रिरहेको छ । जिब्रो नचपाइकन भन्ने हो भने यतिखेर नेपाली कम्युनिष्ट आन्दोलन आफ्नो अस्तित्व रक्षाको गम्भीर चरण र क्षणमा आइपुगेको प्रतीत हुन्छ । यसर्थ पनि यतिखेर नेपाली वामपन्थ आत्ममन्थन र परीक्षणको विकट मोडमा खडा भएको छ ।
विगतमा, विशेषत: सोभियतसंघको विघटनपछि संसारभरि नै कम्युनिष्टहरुको अस्तित्वमाथि प्रश्न उठिरहँदा विश्वका गिनेचुने मुलुकहरुमध्ये नेपाल सबैभन्दा अग्रपङ्तिमा थियो, जहाँ कम्युनिष्ट सिद्धान्त अर्थात् मार्क्सवाद–लेनिनवाद अनि माओका विचारहरु संसारलाई नै छक्क पार्ने गरी फलिफुलिरहेको थियो । त्यतिखेर विश्वभरिकै कम्युनिष्ट आन्दोलनमा आस्था–विश्वास राख्नेहरुले नेपाललाई गर्व अनि आशा र भरोसाको नजरले हेरिरहेका थिए । नेपाल वामपन्थका लागि सबैभन्दा उर्बर भूमि बनेको थियो र कम्युनिष्ट भन्ने नाम मात्रै सुन्दा पनि एलर्जी हुने पश्चिमा सञ्चार माध्यमहरुले समेत नेपालमा मार्क्सवाद–लेनिनवाद जीवित रहेको स्वीकार्न बाध्य भएका थिए । त्यसबेलाका चर्चित उदीयमान नेता मदन भण्डारीलाई ‘नेपाल, जहाँ मार्क्स अझै जीवित छन् !’ भन्ने हदसम्मको महिममामण्डन गरेका थिए ।
नेपालको दु:खान्त के रह्यो भने, नेपालमा कम्युनिष्टहरु धेरै भए तर तिनीहरु न त लाल नै रहिरहन सके, न त आफूलाई एक्सपर्ट नै साबित गर्न सके ।
कम्युनिष्ट आन्दोलनभित्र एउटा भनाइ निक्कै चर्चित छ– लाल मात्र भएर हुँदैन, एक्सपर्ट पनि हुनुपर्छ ! अनि, एक्सपर्ट मात्रै भएर हुँदैन, लाल पनि हुनैपर्छ !
यो छोटो भनाइले समग्रमा कम्युनिष्ट हुनुको अर्थ र मर्मलाई समग्रमा प्रतिनिधित्व गर्छ ।
नेपालको दु:खान्त के रह्यो भने, नेपालमा कम्युनिष्टहरु धेरै भए तर तिनीहरु न त लाल नै रहिरहन सके, न त आफूलाई एक्सपर्ट नै साबित गर्न सके । निरंकुश पञ्चायत र राजतन्त्रविरुद्धको लडाइँमा भुइँतहका जनतासँग भिजेर गरिएको राजनीति र गौरवमय बलिदानी इतिहासका कारण नेपाली जनताका ठूलो तप्काले कम्युनिष्ट–वामपन्थीहरुलाई माया गरेका हुन्, उनीहरुमाथि आस्था, भरोसा र विश्वास गरेका हुन् । तर २०४६ सालको परिवर्तनपछि त्यसलाई जोगाउने, त्यसको संरक्षण गर्ने र जनतामा त्यो आस्था, भरोसा र विश्वास जगाउने कम्युनिष्ट चरित्रलाई निरन्तर प्रवाह गरिरहने कामलाई पूरै तिलाञ्जली दिइयो । त्यस सवालमा नेपालका कम्युनिष्ट तथा वामपन्थी शक्तिहरु निरन्तर उदासीन, लापरवाह बन्दै गए । सत्ता सुखको मात र त्यसको राजकीय मदले उनीहरु समयक्रममा जनताबाट निरन्तर कटिँदै गए । कुनै बेला नेपालमा वामपन्थको पर्याय जनताका जनजीविकाका सवालहरुलाई मुखर गर्ने राजनीतिक शक्तिको रुपमा थियो । तर संसदीय राजनीतिको चास्नीमा डुब्दै जाँदा तिनै वामपन्थी शक्तिहरु जनताका सुखदुख, उनीहरुले भोगिरहेको पीडा तथा त्यसले उनीहरुमा पैदा गरेको अवसाद र मोहभङ्गतालाई बेलैमा चिन्ने र चिर्ने सवालमा पूरै उदासीन भए, असफल रहे ।
कुनै बेला नेपालमा वामपन्थको पर्याय जनताका जनजीविकाका सवालहरुलाई मुखर गर्ने राजनीतिक शक्तिको रुपमा थियो । तर संसदीय राजनीतिको चास्नीमा डुब्दै जाँदा तिनै वामपन्थी शक्तिहरु जनताका सुखदुख, उनीहरुले भोगिरहेको पीडा तथा त्यसले उनीहरुमा पैदा गरेको अवसाद र मोहभङ्गतालाई बेलैमा चिन्ने र चिर्ने सवालमा पूरै उदासीन भए, असफल रहे ।
२०४६ सालको परिवर्तनपछि मुख्य शक्तिको रुपमा उदाएका नेपाली काङ्ग्रेस तथा पुरातन पन्थीहरुलाई सबैभन्दा भयभीत र आतंकित बनाउने कुरा नै ‘कम्युनिष्ट–वामपन्थीहरु मेहनतकश हुन्छन्, जनतासँग घुलमिल भएर उनीहरुका सुख–दु:खलाई आफ्नै सुख–दु:खको रुपमा लिने गर्छन्, मिहिनेत गर्ने तथा अध्ययनशील चरित्र उनीहरुको नशानशामा हुने गर्छ’ भन्ने थियो । २०४६ सालपछिका हरेक चुनावहरुमा काङ्ग्रेस तथा पुरातनपन्थीहरुका लागि सबैभन्दा ठूलो टाउको दुखाइको विषय नै ‘कम्युनिष्ट–वामपन्थीहरुले बहुमतका साथ सरकार चलाउने अवसर पायो भने उनीहरुले अकण्ट राज गर्नेछन्’ भन्ने हुने गर्थ्यो । तर विडम्बनाको कुरा, प्रतिध्रुवीय विचारका वाहकहरुलाई आतंकित र भयभीत बनाउने नेपालका कम्युनिष्टहरुको त्यो जनपक्षधरता, मिहिनेतकश तथा अध्ययनशील चरित्र संसदीय सत्ताको मद र प्रभावले शनै शनै कमजोर र क्षीण बन्दै गयो । अध्ययनशीलता हराएर गयो, जनताको सुखदुखमा एकाकार भएर मिहिनेत गर्ने कुरा एकादेशको कथा बन्यो । कम्युनिष्ट आन्दोलनभित्र एउटा ठूलो भतुवा वर्ग पैदा भयो । सत्ताको स्वाद चाख्ने मौका पाएकाहरुले निर्लज्जतापूर्वक राज्यको स्रोत साधनको दोहन गर्दै आफूलाई जनताको सेवक हैन, अर्कै ग्रहबाट आएको विशिष्ट प्राणी सरह ठान्ने अहंकार पलायो । उनीहरुलाई गाडी–कोठाको ढोका खोलिदिन, बस्ने कुर्सी मिलाइदिन, खानेकुराहरु पकाइदिन–पस्किदिनसमेत अर्दली चाहिने भयो । कुनै बेला भुइँतहमा भिजेर जनताको सुखदुखमा एकाकार हुने शैली र चरित्र कम्युनिष्टहरुको मूल चरित्र जस्तै थियो । त्यसले जनताको मनमस्तिष्कमा कम्युनिष्ट–वामपन्थी भनेको जनतामाथि शासन गर्ने हैन, उनीहरुको सुख दुखको साथी बनेर सेवा गर्ने शक्ति हो भन्ने अमीट छाप बसेको थियो । तर सत्ताको खेलो फड्कोमा रम्दै जाँदा नेपालका कम्युनिष्ट–वामपन्थी शक्तिहरुले जनतामा गढेको त्यो छापलाई यथार्थमा रुपान्तरण गर्ने काममा गम्भीर बन्नै सकेनन् । कम्युनिष्ट–वामपन्थीहरु पनि अरु दक्षिणपन्थी–पुरातनपन्थी शक्तिहरु जस्तै सत्ता दुर्व्यसनी नै हुन्, उनीहरु जनताका हितका लागि हैन, सत्ता सुखका लागि मात्रै मरिहत्ते गर्छन् भन्ने नकारात्मक छाप र विम्ब स्थापित गर्ने–गराउने काम नेपालका वामपन्थी शक्तिहरुबाट नराम्ररी भयो ।
कम्युनिष्ट सिद्धान्तको मूलमर्म द्वन्द्वात्मक भौतिकवादलाई धार्मिक कर्मकाण्डका तोत्रमा रुपान्तरित गरिए, संकथनमा उन्नत र वैज्ञानिक विचार त भनियो तर त्यसलाई विज्ञान, प्रविधिको विकास तथा सामाजिक सञ्जालहरुको माध्यमबाट सिर्जना भएका नयाँ खालका परिस्थिति र चुनौतीहरुलाई चिर्ने र तदअनुकूल आफूलाई विकसित गर्दै लैजाने दिशामा पटक्कै पहल भएन ।
संगठन सञ्चालन तथा निर्णय प्रक्रियाका मार्क्सवादी–लेनिनवादी पद्दतिहरुलाई टुकुचाको गन्दे नालामा बगाउने थोरबहुत हरेक कम्युनिष्ट पार्टीहरुमा भए । सत्तासुख भोग्ने अवसर प्राप्त गरेका वामपन्थी पार्टीहरुले आफ्नो मूल चरित्र गुमाउँदै माथि शीर्षासनमा स्वामी रहने र तल रहेका सबैले स्वामीको आदेशलाई विना प्रश्न खुरुखुरु स्वीकार्नुपर्ने–मान्नुपर्ने ‘कल्ट’ (सम्प्रदाय)मा रुपान्तरित भए । कम्युनिष्ट सिद्धान्तको मूलमर्म द्वन्द्वात्मक भौतिकवादलाई धार्मिक कर्मकाण्डका तोत्रमा रुपान्तरित गरिए, संकथनमा उन्नत र वैज्ञानिक विचार त भनियो तर त्यसलाई विज्ञान, प्रविधिको विकास तथा सामाजिक सञ्जालहरुको माध्यमबाट सिर्जना भएका नयाँ खालका परिस्थिति र चुनौतीहरुलाई चिर्ने र तदअनुकूल आफूलाई विकसित गर्दै लैजाने दिशामा पटक्कै पहल भएन । चिन्तन, आचार विचारलाई समयानुकूल जनपरीक्षणमा खरो साबित हुने गरी निरन्तर विकास गर्नेतिर मन्थन र चिन्तन गर्नुको सट्टा पार्टीभित्र र राजकीय सत्तामा आफ्नो अकण्ट पकड–हालीमुहाली कायम गरिराख्न त्यसको मनचिन्ते व्याख्या गर्ने काम व्यापक भयो । पार्टीहरुभित्र जनवादको अभ्यासलाई संकुचित पार्दै अति केन्द्रीयताको अभ्यास गर्ने काम व्यापक भयो । भिन्न मत र विचारहरुलाई पार्टी फोरमहरुमा यथोचित स्थान दिएर बहस छलफलहरु चलाइनुको सट्टा तिनलाई शत्रु सरह व्यवहार गरेर निषेध गर्ने काम व्यापक भयो । निर्णय प्रक्रियालाई संगठनात्मक विधिअनुसार सञ्चालन गरिनुको सट्टा नेतृत्वको अति देवत्वकरण गर्ने तथा अन्तिम निर्णय गर्ने जिम्मा तिनै देवत्वकरण गरिएका नेतृत्वलाई सुम्पने काम व्यापक भयो । पार्टीहरुमा योगदान भएका तथा क्षमतावानहरुले हैन, नेतृत्वको देवत्वकरण गर्ने र त्वं शरणम् गर्ने कलामा निपुण हुनेहरुले अवसर पाउन थाले । समग्रमा कम्युनिष्ट पार्टीले कम्युनिष्ट चरित्र गुमाउँदै गयो । त्यो भुइँतहको जनतासँग जोडिएका, खटिखाने वर्गको सुखदुखलाई बुझ्ने पार्टी हैन, चुसी खाने, अवसरवादीहरुको हित गर्ने सत्ता दुर्व्यसनी पार्टीमा रुपान्तरित हुँदै गयो ।
नेपाली वामपन्थले सबैभन्दा चुकेको कुरा– यतिखेर संसारभरि नै जोडतोडका साथ चलिरहेको दक्षिणपन्थको हावासँगै राजनीतिमा बलात लोकप्रियतावाद (populism) हावी हुँदै गइरहेको तथ्यलाई बेलैमा बुझ्न नसक्नु र तदअनुकूल त्यसलाई चिर्ने नीति–व्यवहार अवलम्बन गर्न नसक्नु पनि हो । यतिखेर सिद्धान्त, नीति र राजनीतिक योगदानभन्दा बढी लोकप्रियतावादको आधारमा बढी राजनितिक नेतृत्व तथा सत्ता नेतृत्वमा स्थापित हुने ट्रेन्ड विश्वव्यापी रुपमा नै स्थापित हुँदै गइरहेको छ । खासगरी, एल्गोरिदमको मद्दतले यथास्थितिवादप्रति असन्तुष्ट जनताको मानसिकतालाई हाइज्याक गर्ने र आफ्नो प्रभावमा पार्ने कुरा आमप्रवृत्ति बन्दै गरहेको देखिन्छ । लोकप्रियतावादले ठोस नीति र सिद्धान्तभन्दा बढी मानिसका भावना र आक्रोशलाई प्रयोग गरिरहेको छ। स्थापित राजनीतिक दल र व्यवस्थाले जनताका आधारभूत समस्या (शिक्षा, रोजगारी, आवास) सम्बोधन गर्न नसक्दा, पटक पटकको परीक्षणमा असफल भएका उही पुराना अनुहारहरुलाई विकल्परहित रुपमा अघि सारिएको देख्दा र तिनका कार्यान्वयन हुन नसकिरहेका वाचा बन्धनहरु सुनेर विरक्तिएका तथा 'यथास्थितिवाद' बाट उन्मुक्ति खोजिरहेका नागरिकहरू सहजै लोकप्रियतावादप्रति आकर्षित भएका छन्।यस प्रवृत्तिले मानिसका डर, अपमान र अन्यायको भावनालाई सामाजिक सञ्जालका एल्गोरिदममार्फत 'हाइज्याक' गरेर "तिमी ठगियौ, म आएपछि सबै ठीक हुन्छ" भन्ने भ्रमपूर्ण आशा जगाउँदै दोस्रो विश्वयुद्धपछिको सामाजिक सुधारको विश्वास भत्किएपछि उत्पन्न भएको रिक्ततालाई लोकप्रियतावादले भर्दैछ। यसले जटिल संरचनात्मक समस्याको वास्तविक समाधान दिनुको सट्टा, जनतालाई "धोका दिइएको" भाष्य सिर्जना गरेर तत्कालै भावनात्मक राहत दिने प्रयास गर्ने गर्छ । वास्तवमा, यो समस्याको कारण कुनै एक पात्र मात्र नभई समाजको भित्री मनोविज्ञान र संस्थागत असफलता पनि हो। लोकप्रियतावादले नीतिगत प्रक्रियाभन्दा पनि 'बदला' र 'कथन'लाई प्राथमिकता दिने गर्दछ। यो कुरालाई चिरफार गर्ने, त्यससँग जुघ्ने योजना–रणनीति बनाउने कुरामा नेपाली वामपन्थ नराम्ररी चुक्यो ।
स्थापित राजनीतिक दल र व्यवस्थाले जनताका आधारभूत समस्या (शिक्षा, रोजगारी, आवास) सम्बोधन गर्न नसक्दा, पटक पटकको परीक्षणमा असफल भएका उही पुराना अनुहारहरुलाई विकल्परहित रुपमा अघि सारिएको देख्दा र तिनका कार्यान्वयन हुन नसकिरहेका वाचा बन्धनहरु सुनेर विरक्तिएका तथा 'यथास्थितिवाद' बाट उन्मुक्ति खोजिरहेका नागरिकहरू सहजै लोकप्रियतावादप्रति आकर्षित भएका छन्।
आधुनिक राजनीतिमा एल्गोरिदमले लोकप्रियतावादलाई तीव्र गति र पहुँच दिएको छ। सामाजिक सञ्जालले शान्त तर्कभन्दा पनि रिस, डर र अपमान जस्ता तीव्र भावनालाई बढी स्थान दिने भएकाले मानिसहरू आफ्नै विचारको प्रतिध्वनिमा बन्दी बन्दै गएका छन्। यसले गर्दा लोकतन्त्रमा साझा यथार्थ हराउँदै गएको छ र वैचारिक बहसको ठाउँ पहिचानको लडाइँले लिएको छ। मिडिया र बौद्धिक वर्गले पनि कहिले 'क्लिक' को लोभमा त कहिले झूटो सन्तुलन कायम गर्ने नाममा सत्य र असत्यलाई एउटै तराजुमा राखेर यो समस्यालाई थप मलजल गरेका छन्।यो तथ्यलाई बुझ्न नसक्नु नेपाली वामपन्थको सबैभन्दा महाभूल साबित भएको छ ।त्यसको मोल उसले यतिखेर निर्वाचन परिणाममा व्यहोर्नु परेको छ ।
नेपालका वामपन्थले स्थितिको अनुकूलता र प्रतिकूलताहरुका बारेमा निरन्तर गम्भीर मूल्याङ्कन–अध्ययन गर्ने, आफ्नो भुइतहसँग जोडिएका जराहरुलाई मजबूत तुल्याउने दिशामा विशेष संवेदनशील बन्ने तथा तद्अनुरुप जनतासँग कटिएका आफ्ना सम्बन्धलाई बुद्धिमत्तापूर्वक पुनर्स्थापित गर्ने तथा आफ्ना कमी कमजोरीहरुको निर्मम समीक्षा गर्दै आफूलाई जनताका अधिकतम हितअनुकूलका कामहरुमा जोत्नुपर्ने हो । तर यो पक्षमा नेपालका कम्युनिष्ट शक्तिहरु पूरै लापरवाह र उदासीन रहे ।
त्यसबाहेक, यतिखेरको कठोर यथार्थता के हो भने वैश्विक व्यवस्था नियममा आधारित हैन, शक्तिमा आधारित भएर चल्न थालेको छ पुँजीवादी साम्राज्यवादले आफ्नो संकट हल गर्नका लागि विश्वव्यापी रुपमा आफ्नो खुनी पञ्जा फैलाउँदै गइरहेको छ । आफ्ना स्वार्थसिद्धिका लागि उसले संसारभरि नै आफ्ना कठपुतली सरकारहरु स्थापित गर्ने वा सैन्य उपायबाट भए पनि आफू अनुकूलको सत्ता स्थापित गर्ने अभियान तीब्र पार्दै लगिरहेको छ । यस पृष्ठभूमिमा दुई उदीयमान विश्व महाशक्तिहरु भारत र चीनको बीचमा अवस्थित नेपाल भूराजनीतिक रुपमा पनि यतिखेर निक्कै संवेदनशील अवस्थामा आइपुगेको छ । यस्तो स्थितिमा नेपालका वामपन्थले स्थितिको अनुकूलता र प्रतिकूलताहरुका बारेमा निरन्तर गम्भीर मूल्याङ्कन–अध्ययन गर्ने, आफ्नो भुइतहसँग जोडिएका जराहरुलाई मजबूत तुल्याउने दिशामा विशेष संवेदनशील बन्ने तथा तद्अनुरुप जनतासँग कटिएका आफ्ना सम्बन्धलाई बुद्धिमत्तापूर्वक पुनर्स्थापित गर्ने तथा आफ्ना कमी कमजोरीहरुको निर्मम समीक्षा गर्दै आफूलाई जनताका अधिकतम हितअनुकूलका कामहरुमा जोत्नुपर्ने हो । तर यो पक्षमा नेपालका कम्युनिष्ट शक्तिहरु पूरै लापरवाह र उदासीन रहे । स्वभाविक रुपमा त्यसको फाइदा लोकप्रियतावादले सजिलै उठाउन सक्यो ।
नेपालीमा एउटा उखान छ: एउटा माघले जाडो जाँदैन ! पक्कै पनि नेपाली वामपन्थको लागि यतिखेर सबै कुरा सक्किएको ठानेर रोदन र क्रन्दन गर्नेबेला होइन, घटनाक्रमबाट पाठ सिकेर आफूलाई सच्याउने र फेरि खरानीबाट माथि उठ्ने बेला हो । त्यसका लागि जरुरी छ: निर्मम आत्मसमीक्षा र स्थितिको चिरफार । त्यसका लागि चाहिन्छ: खुला र उदार मनमस्तिष्क, जसले कमी कमजोरीहरुलाई सहज रुपमा स्वीकार्न र त्यसलाई सच्याउने हिम्मत गर्न सकोस् । सोच, विचार र व्यवहार चाहिन्छ लचकता, जुन अहिले मानसिक, वैचारिक र व्यवहारिक– तीन वटै रुपमा लचकता गुमाएर जमिसकेका (ossified) नेतृत्वबाट निसृत् हुन सम्भव छैन ।
२००७ सालताका नै जनकवि धरणीधर कोइरालाले लेखेका थिए– ‘गणतन्त्र गराउन गर्जी उठ्यो, छरितो र छिटो नयपाली ठिटो !’ यतिखेर नेपाली कम्युनिष्ट आन्दोलनको रक्षा, विकास र विस्तारका लागि गर्जी उठ्न सक्ने, दिल, दिमाग र मस्तिष्कमा लचकता भएको त्यस्तै छिटो, छरितो ठिटो जोशको खाँचो छ !
मार्क्सवादले अझै संसार बदल्न सक्छ
मार्क्सवादी चिन्तनको आधारशिला ‘कम्युनिष्ट मेनिफेस्टो’
क्यामिलो टोरेस: पादरीदेखि छापामारसम्मको यात्रा
साम्राज्यवाद, लागूपदार्थ र सामाजिक नियन्त्रण
युद्धको छायामा इरान–अमेरिका टकराव
‘मरणोन्मुख’ पुँजीवाद किन र कसरी बाँचिरहेको छ ?
अर्धमुदित नयन र डुब्न लागेको घाम
प्रतिक्रिया