एडीसन: पत्रिका बेच्ने हकरदेखि महान वैज्ञानिकसम्म

तपाईंहरुलाई पक्कै थाहा होला– थोमस एल्वा एडिसन विश्वविख्यात महान वैज्ञानिकको नाम हो । हो, तिनै एडिसनले स्कूल–क्याम्पस र विश्वविद्यालयको शिक्षाबिना नै कसरी १३०० भन्दा बढी वैज्ञानिक आविष्कार गरे भन्ने कुरा यहाँ राख्दैछु ।

अमेरिकाको मिशिगन शहरमा ३ महिनामात्रै स्कूली शिक्षा पाएका एडिसन सानै उमेरदेखि धेरै नै जिज्ञासु थिए, अत्यन्त मेहनती थिए र अध्ययनशील थिए । बाल्यकालदेखि नै वैज्ञानिक प्रयोगहरु रुचाउने एडिसनले किशोर अवस्थामै रेलमा अखवार, चकलेट, बिस्कुट र साग–सब्जी बेच्ने गर्दथे । त्यसबाट उठेको पैसाबाट किताब, टेस्ट–ट्यूब, बोतल र बिजुलीका तारहरु किनेर उनी नयाँ नयाँ वैज्ञानिक प्रयोग गर्थे । पछि उनी आफैंले अखवार छापेर रेलमा बेच्ने काम पनि  गरे । यसरी पनि उनले बैज्ञानिक  प्रयोगका लागि चाहिने पैसा जुटाउन थाले ।

यसरी अखवार बेच्ने, चकलेट, सागसब्जी बेच्ने काम गर्दै, नयाँ नयाँ वैज्ञानिक प्रयोग गर्दै जाने क्रममा उनले टेलिग्राफ अपरेटरको जागिर खाए । विभिन्न अफिसमा जागिरे हुँदा हुँदै पनि उनले नयाँ आविष्कारहरु गरे । यसै क्रममा ग्रामोफोन लगायत १३ सयभन्दा बढी आविष्कार गरे । एडिसनले हलुका र मजबूत खालको ब्याट्री पनि बनाएका थिए । यसको निर्माणसम्बन्धी कथा हामी सबै युवाहरुलाई निकै प्रेरक हुनसक्छ ।

एडिसनको जमानामा प्रयोग हुने अविकसित ब्याट्री निकै ठूलो, भद्दा र भारी थियो । उठाउन र सार्नलाई निकै गाह्रो हुन्थ्यो । त्यसैले तुरुन्तै काम नलाग्ने हुन्थ्यो । त्यसैले उनले हलुका र मजबूत खालको ब्याट्री बनाउने उद्देश्यसहित प्रयोग गर्नथाले । आफ्नो कल्पनालाई साकार पार्न सयौं पटक होइन, हजारौं पटक प्रयोग गरे । हजारौं पटकको असफलताबाट पनि पटक्कै हार नखाई उनले आफ्नो प्रयोगलाई निरन्तर जारी राखे । उनले कमसेकम ५० हजार पटक प्रयोग गरे । र, अन्तमा गएर उनले आफ्नो कल्पना अनुसारको हलुका र मजबूत ब्याट्री बनाई छाडे ।

त्यसैले उनी भन्ने गर्थे– ‘तपाईं एक–दुई पटक असफल हुनुहोला, तर तपाईंले बारम्बार प्रयास गरिरहनु पर्दछ, सफलता प्राप्त भईहाल्छ ।’

के हामीले एडिसनको मिहेनत, अध्ययनशीलता र अथक प्रयासबाट अलिकति भए पनि पाठ सिक्ने हो कि, कसो ?

–नवयुवाबाट

 

राजेन्द्र महर्जन

वामबुद्धिजीवी एवं विश्लेषक