एरिस्टोटल: विश्वविजेता अलेक्जेण्डर निर्माण गर्ने महागुरु

लोकशिक्षा र सामाजिक हितका संवाहक: महान् दार्शनिक एरिस्टोटल

अलेक्जेण्डरका गुरु भएको नाताले एरिस्टोटलको महत्ता बढेको हो । एकाथरि यो धारणा जब्बर रुपमा अघि सार्ने गर्छन् । तर यो धारणा प्रतिपादित गर्नेहरूले त्यसलाई बदल्नु जरुरी छ । अलेक्जेण्डर जस्तो शिष्य पाएर एरिस्टोटल महान् भएका होइनन्, बरु एरिस्टोटल जस्तो गुरु पाएरै अलेक्जेण्डर महान् बनेका हुन् । साधारण माटोबाट बनेका राजकुमार अलेक्जेण्डरलाई फौलादी बनाइदिएको पूरा श्रेय एरिस्टोटललाई जान्छ ।

लोकशिक्षा र राष्ट्रिय चरित्रमा प्रभाव

विद्वान् एरिस्टोटलको जीवन लक्ष्य लोकशिक्षा नै थियो । उनले जीवनमा जे–जे विद्या, विचार, बुद्धि अथवा सद्गुणहरूको आर्जन गरेका थिए, त्यो सबै उनले सामाजिक हितमा लगाइदिए । उनले आफ्नो महान् उपलब्धिहरूको उपयोग कहिल्यै व्यक्तिगत लाभका लागि गरेनन् । संसारमा अलेक्जेण्डरले जे–जे शक्ति, वैभव, यश अथवा महानता पाए, त्यसको पछाडि एरिस्टोटलको नै त्यो शिक्षा काम गरिरहेको थियो, जुन उनले एक–एक अलेक्जेण्डरलाई मात्र होइन पूरा राष्ट्रलाई दिएका थिए । अलेक्जेण्डरको सेनाको एउटा सैनिक अलेक्जेण्डरजस्तै वीर र बलशाली व्यक्ति थियो भन्ने भनाइ नै चलेको थियो । एउटा मात्र अलेक्जेण्डरमा त्यो शक्ति कसरी सम्भव हुन सक्थ्यो कि संसारलाई विजय गर्ने साहस गर्न सकोस् । अथवा कमजोर चरित्र र निर्बल हृदय भएका व्यक्तिहरूको सेना लिएर टाढा–टाढा देशसम्म पुगेर इतिहास निर्माण गर्न कहाँ सम्भव थियो र ! यो एरिस्टोटलका शिक्षाहरूको नै प्रभाव थियो कि मेसीडोनिया जस्तो सानो देशका मानिसहरू यति वीर, साहसी र कष्ट–सहिष्णु बन्न सके, जसले उनीहरूले आँधी–तूफानको बीचबाट बाटो बनाइ आफ्ना देशको यश र प्रभावको विस्तार गरे । अलेक्जेण्डर र उसको बल आफैंमा मात्रै पूर्ण थिएन । वास्तवमा अलेक्जेण्डर जे थिए, त्यो महान् विद्वान् एरिस्टोटलका शिक्षाहरूको परिणाम थियो ।

राजा फिलिपको अनुरोध र गुरुको चयन

मेसिडोनियाका राजा फिलिप आफ्ना पुत्रलाई सक्षम र महान बनाउन चाहन्थे । यसको लागि सबैभन्दा ठूलो आवश्यकता योग्य गुरुको थियो ।  धेरै खोजतलासपछि दार्शनिक एरिस्टोटलमा उनले खोजे जस्तै गुण फेला पारे। फिलिप विद्वान् र व्यक्तिनिर्माता गुरुको मूल्य बुझ्थे । उनले एरिस्टोटलका सामु आफ्नो सन्देशवाहकमार्फत् पत्र पठाए । पत्रमा लेखिएको थियो - "भगवानले मलाई एक पुत्र दिएका छन्, त्यसले मलाई खुशी दिएको छ, तर त्यसभन्दा पनि बढी खुशी ऊ तपाईं जस्ता व्यक्तिनिर्माता दार्शनिकहरू विद्यमान रहेको समयमा जन्मिएको कुराले दिएको छ । म उनलाई हाम्रो कुलको गरिमालाई बढाउने गरी तपाईंद्वारा शिक्षित र सुसंस्कृत बनाएको देख्न चाहन्छु ।"

एरिस्टोटलले राजा फिलिपको अनुरोधलाई स्वीकार गरे । उनकै योग्य शिक्षादिक्षाको आधारमा एक साधारण राजकुमार महान् र पराक्रमी अलेक्जेण्डर योद्धामा रुपान्तरित भए ।  

सघन रुखहरूको छायाँमा ढुंगाको शिलामा बसेर एरिस्टोटल शिक्षा दिन्थे, शिष्यहरू चारैतिरबाट उनलाई घेरेर बस्थे र जीवनका गूढ विषयहरूमा अनुसन्धान चलिरहन्थ्यो । गुरु कहिलेकाहीँ आफ्ना शिष्यहरूलाई लिएर घना रुख–कुञ्जहरूमा, वन–पर्वतहरूमा जान्थे र त्यहाँ नदी–सरोवरका किनारमा बसेर शिक्षण–क्रम चल्थ्यो ।

कृतज्ञ शिष्य र वास्तविक चरित्रका पिता

अलेक्जेण्डर जब शिक्षा प्राप्त गरेर फर्किएपछि उसका पिता फिलिप आफ्नो पुत्रका गुणहरू देखेर मुग्ध भए । उनले एरिस्टोटल प्रती सच्चा हृदयले कृतज्ञता प्रकट गर्दै अलेक्जेण्डरलाई भने - "तिम्रो गुरुको हामी अहिलेसम्म समुचित सम्मान गर्न सकेनौँ । उनी वस्तुतः उच्चतम सम्मानका पात्र छन् । तिम्रो व्यक्तित्व निर्माणको पूरा श्रेय उनैलाई जान्छ ।" अलेक्जेण्डरले पनि एक प्रसङ्गमा आफ्ना उद्गार प्रकट गर्दै भने - "पिताबाट मैले शरीर मात्र प्राप्त गरेको छु । वस्तुतः मेरा वास्तविक चरित्रका पिता त एरिस्टोटल हुन्, जसले मलाई अनुपम ज्ञान दिएर केहीबाट केही बनाइदिए ।"

अलेक्जेण्डरले जुन गुण, स्वभाव र चरित्र गुरुको निकट रहँदा प्राप्त गरेको थियो, त्यसकै बलमा उनले धेरै देशहरू जिते, विशाल साम्राज्य बनाए र ठूला–ठूला सफलताहरू प्राप्त गरे ।

लिसियम विद्यापीठ र गुरुदक्षिणा

शिक्षा प्राप्त गरेपछि अलेक्जेण्डरले आजकलका विद्यार्थीहरूले जस्तै गुरुलाई वेवास्ता गरेनन्, बरु उनका कार्यलाई प्रगति दिनका लागि भरपूर सहायता गरे । एरिस्टोटलले ऐथेन्स नगरमा लीसियम नामक एक विशाल सांस्कृतिक विद्यालयको स्थापना गरे । त्यसमा हजारौँ सङ्ख्यामा विद्यार्थीहरूले विद्याध्ययन गर्थे । त्यो ज्ञानपीठले एकसे एक योग्य शिष्य निकाल्न  सकेका कारणले यूनानमा मात्र हैन, सारा संसारमा प्रख्यात भयो ।

यस लिसियम विद्यापीठलाई अलेक्जेण्डरको सहायता प्राप्त थियो । एरिस्टोटल आफ्नो शोध कार्यमा लागेका थिए । उनी विभिन्न जीव–जनावरहरूको जीवन प्रणालीका सम्बन्धमा खोज गरिरहेका थिए । यस कार्यका लागि आवश्यक सामग्री तथा शोधकर्ताहरु जुटाउने खर्चको भार पनि अलेक्जेण्डरले आफैँले वहन गरेका थिए । एरिस्टोटलको जन्म स्टेगिर नामक गाउँमा भएको थियो । कुनै अत्याचारी शासकले उनको जन्मथलोलाई उजाडिदिएको थियो । त्यहाँका बासिन्दा अन्यत्र भागेका थिए । गुरुको सम्मानमा अलेक्जेण्डरले त्यो नगरलाई फेरि बसाले र बाहिर भागेका मानिसहरूलाई सबै प्रकारको सहायता दिएर फिर्ता ल्याई त्यहीँ बसाले । शिष्यले आफ्ना गुरुको उजाडिएको नगरलाई पुनर्स्थापित गरेर गुरु दक्षिणा प्रदान गरेका थिए ।

बौद्धिक शिखर र प्रयोगात्मक चरित्र शिक्षण

इटलीका प्रसिद्ध कवि दाँतेले एरिस्टोटललाई विद्वानहरुको अग्रतम नेता भने । उनी आफ्नो समयका बौद्धिकताका शिखरपुरुष थिए । उनका शब्दहरूसँगै उनको चरित्र पनि बोल्थ्यो । लगभग सवा दुई हजार वर्ष बितिसकेका छन् । तर पनि उनका ज्ञान र विचारहरुले आजसम्म मानव जीवनका विभिन्न विचार क्षेत्रमा प्रभाव पारिरहेछन् ।

एरिस्टोटल आफ्ना शिष्यहरुको  चरित्र गठनका लागि धेरै जोड दिएर आदेश दिन्थे । एक पटक अलेक्जेण्डरको कुनै स्त्रीसँग अनुचित सम्बन्ध भयो । एरिस्टोटल उनलाई सम्झाउँथे तर उनी मान्थेनन् । त्यस स्त्रीलाई थाहा भयो कि एरिस्टोटल उनको मार्गमा व्यवधान हुन् । त्यसैले एरिस्टोटललाई बदनाम गरेर अलेक्जेण्डरको नजरमा गिराइदिनुपर्छ । उनी एक दिन एरिस्टोटलसँग सामिप्यता बढाइन्  र एकान्तमा भेट्न प्रस्ताव गरिन् । एरिस्टोटलले स्वीकार गरे । ती स्त्रीले गोप्य रुपमा बोलाएको बगैंचामा उनी तोकिएको समयमा पुगे । एरिस्टोटलले आफ्ना शिष्यमार्फत अलेक्जेण्डरलाई पनि यो सूचना पहिल्यै पुर्‍याएका थिए, तर सूचना एरिस्टोटलले पठाएको हो भन्ने नबताउन आदेश दिएका थिए । अलेक्जेण्डर लुकेर चियोचर्चा गर्न बसेका थिए । ती युवती आइन् । उनले एरिस्टोटलको घाँटीमा अँगालो हालिन् र भनिन्– केही बेर खेल्न पाए कति राम्रो हुन्थ्यो । एरिस्टोटलले स्वीकृति दिए । युवतीले उनलाई घोडा बनाइन् र आफू उनकी पीठमा बसेर हिँडाउन थालिन् । बुढो घोडा बनेका बुढो एरिस्टोटल युवतीलाई पीठमा बोक्दै घुँडामा बल गरेर हिँडिरहेका थिए । अलेक्जेण्डर सामुन्ने आइपुगे । उनले क्रोधमा आएर भने– गुरुज्यू यो के चर्तिकला हो ?

एरिस्टोटलले अविचल भावले धैर्यपूर्वक भने– शिष्य, । देख्दैनौ, म जस्तो विद्वान् र बुढोलाई त जुन ‘प्रेम’ले यसरी घुँडामा बल गरी चल्न बाध्य पार्न सक्छ, त्यसले तिमीजस्ता अपरिपक्व बुद्धिका युवाहरूलाई त नाकमा नत्थी लगाएर मनपरी गर्न–गराउन सक्छौ। तिमीले यो अन्धप्रेमको मार्गबाट आफूलाई विमुख गराएनौ भने इतिहासमा नाम अंकित गराउन सक्दैनौ ।

 एरिस्टोटलको यस प्रत्यक्ष शिक्षणले अलेक्जेण्डरमा ठूलो प्रभाव पार्‍यो ।  त्यसबेला देखिनै उनले त्यो स्त्रीसँगको अनुचित सम्बन्ध तोडिदिए ।

कृतित्व र सामाजिक जीवनको दर्शन

केही विद्वानहरुको भनाइमा एरिस्टोटलले चार सय जति ग्रन्थ लेखे ।केही–केहीले त्यो संख्या एक हजार बताउँछन् । उनका सबै ग्रन्थ आज उपलब्ध त छैनन्, पर उपलब्ध भएका ग्रन्थहरूबाट थाहा हुन्छ कि उनलाई तर्कशास्त्र, खगोल विद्या, भौतिकी, विकास, काम–शास्त्र, वायु विज्ञान, प्रकृति विद्या, जन्तु–शास्त्र, काव्य, अलंकार, मनोविज्ञान, राजनीति, आचार–शास्त्र, दर्शन, अध्यात्म आदि अनेक विषयहरूको अगाध ज्ञान थियो ।

एरिस्टोटल आत्मोन्नतिका लागि सामाजिक र सामूहिक जीवनलाई आवश्यक मान्थे र एकाकी जीवन वा एकान्तवास का विरुद्ध थिए । उनले लेखेका छन्– एकाकी जीवन व्यतीत गर्नका लागि या त मनुष्यलाई पशु बन्नु पर्छ या देवता ।