जेम्स पेट्रासको अन्त्य: एक बौद्धिक मौनता
आफ्ना लेखनले कैयौँ महाद्वीपका पुस्तौपुस्ताका आलोचनात्मक चिन्तकहरूलाई प्रभावित तुल्याएका अमेरिकी समाजशास्त्री जेम्स पेट्रासको मृत्युपश्चात यो संसारबाट उनको बिदाई सुस्केरा जस्तै गरी भयो। । सत्ताको हिंसा, विश्वव्यापी पुँजीवादको असमानता र साम्राज्यका भ्रमहरूलाई उदाङ्गो पार्न आफ्नो जीवन अर्पण गर्ने यी विद्वानले आफ्ना केही सीमित पाठक र सहयोद्धाहरूको घेराभन्दा बाहिर खासै कोलाहल नगरी यो संसार छोडे। बौद्धिक उचाइलाई प्रायः चमकधमक र चर्चाका आधारमा मापन गरिने वर्तमान समयमा उनको बिदाइमा छाएको यो सन्नाटाले समकालीन सार्वजनिक जीवनमा विद्रोही आवाजहरूका लागि कस्तो स्थान सुरक्षित गरिएको छ भन्ने कुराको गहिरो सङ्केत गर्दछ।
पेट्रासको निधन ८९औँ जन्मदिनको बेला सन् २०२६ जनवरी १७ मा सियाटलमा भयो। उनको देहावसान अमेरिकी राजनीतिक विचारका अर्का प्रखर र क्रान्तिकारी व्यक्तित्व माइकल पेरेन्टीको मृत्युभन्दा केही दिनअघि मात्र भएको थियो। यद्यपि, पेरेन्टीको नाम जताततै चर्चामा रहँदा पेट्रासको प्रस्थान भने प्राज्ञिक र सञ्चार जगतमा लगभग कसैको नजरमा नपरी ओझेलमा पर्यो।
बौद्धिक उचाइलाई प्रायः चमकधमक र चर्चाका आधारमा मापन गरिने वर्तमान समयमा उनको बिदाइमा छाएको यो सन्नाटाले समकालीन सार्वजनिक जीवनमा विद्रोही आवाजहरूका लागि कस्तो स्थान सुरक्षित गरिएको छ भन्ने कुराको गहिरो सङ्केत गर्दछ।
सन् १९३७ मा म्यासाचुसेट्सको एक आप्रवासी श्रमिक परिवारमा जन्मिएका पेट्रासले आफ्नो प्राज्ञिक जीवनमा श्रम संघर्ष र सामाजिक अन्यायप्रति गहिरो संवेदनशीलता बोकेका थिए। बोस्टन र क्यालिफोर्निया विश्वविद्यालय (बर्कले) मा अध्ययन गरेपछि उनले आफ्नो करियरको लामो समय बिङ्घमटन विश्वविद्यालयमा समाजशास्त्र अध्यापन र ती विद्यार्थीहरूलाई मार्गदर्शन गर्नमा बिताए, जो पछि गएर स्वयं विद्वान, अभियन्ता र सार्वजनिक बौद्धिक बने। पाँच दशकभन्दा लामो समयको अन्तरालमा उनले ६० भन्दा बढी पुस्तक, सयौँ प्राज्ञिक लेख र विश्वभरका पत्रपत्रिकामा हजारौँ निबन्धहरू लेखेर एक असाधारण बौद्धिक भण्डार खडा गरे। उनको पुस्ताका विरलै विद्वानहरूले यति निरन्तरता र वैश्विक पहुँचका साथ कलम चलाएका होलान् ! अचम्म त यो लाग्छ कि, ट्रम्प प्रशासनको प्रतिशोधको डरका बीच कम्तीमा बिङ्घमटन विश्वविद्यालयले मात्रै भए पनि उनीप्रति श्रद्धाञ्जली अर्पण गर्यो कि गरेन?
पेट्राससँगको मेरो सामीप्य झण्डै सवा शताब्दीसम्म फैलियो। मैले सम्पादन गरेका तीनवटा प्राज्ञिक जर्नल्स– 'साउथ एशियन जर्नल अफ डिप्लोमेसी', 'इन्डियन जर्नल अफ पोलिटिक्स एण्ड इन्टरनेशनल रिलेसन्स' र 'जर्नल अफ पोलिटिकल इकोनोमी एण्ड फिकल फेडरलिज्म'मा उनका लेखहरू प्रकाशित भए। उनले यीमध्ये दुईवटा जर्नल्सको अन्तर्राष्ट्रिय सल्लाहकार बोर्डमा रहेर पनि सेवा गरे। हाम्रा संवादहरू सधैँ न्यानो र बौद्धिक रूपमा तिखा हुन्थे। उनले सन् २०२० को अप्रिलसम्म मलाई इमेलहरू पठाइरहे, जसमा प्रायः 'ग्लोबल साउथ'का विकासक्रमबारे जिज्ञासा र समकालीन राजनीतिमाथि उनका चिन्तनहरू हुन्थे। उनको अन्तिम इमेलमा उनले मैले सम्पादन गर्न लागेको त्यो पुस्तक पठाउन आग्रह गरेका थिए, जसमा 'उत्तर-मार्क्सवाद' (post-Marxism) बारे उनको निबन्ध समावेश थियो। त्यसपछि सन्नाटा छायो। उनको मृत्युको खबर ढिलो गरी म कहाँ आइपुग्दा मलाई यो कुनै आत्मीय विद्वानको देहावसान जस्तो मात्र लागेन, बरु एउटा चलिरहेको जीवन्त संवादको अचानक अन्त्य भएजस्तो महसुस भयो।
पेट्रासको जीवन बौद्धिकता र सक्रियताको एक दुर्लभ मिश्रण थियो। उनले प्राज्ञिक कार्यलाई कहिल्यै पनि समाजबाट अलगिएको पेसाका रूपमा हेरेनन्।
पेट्रासको जीवन बौद्धिकता र सक्रियताको एक दुर्लभ मिश्रण थियो। उनले प्राज्ञिक कार्यलाई कहिल्यै पनि समाजबाट अलगिएको पेसाका रूपमा हेरेनन्। उनले सामाजिक आन्दोलनहरूसँग सहकार्य गरे, ल्याटिन अमेरिकामा भइरहेका दमनहरूको जाँच गर्ने अन्तर्राष्ट्रिय न्यायाधिकरणहरूमा सहभागी भए, र प्राज्ञिक जर्नलदेखि जनसाधारणले पढ्ने पत्रपत्रिकासम्म आफ्ना विचारहरू पस्किए। बौद्धिक कार्यले समाजप्रति एउटा गम्भीर उत्तरदायित्व बोकेको हुन्छ भन्ने कुरामा उनको अटल विश्वास थियो र आफ्नो सम्पूर्ण कार्यकालभरि उनले त्यही विश्वासलाई व्यवहारमा उतारे। विश्वविद्यालयहरूले प्राविधिक विशिष्टीकरण र सुरक्षित निष्कर्षहरूलाई मात्रै पुरस्कृत गर्ने आजको समयमा पेट्रासले भने ' बौद्धिकताले अझै पनि ज्वलन्त राजनीतिक यथार्थहरूसँग संवाद गर्न सक्छ' भन्ने सन्देशका साथ आफूलाई पृथक् उभ्याए।
विधि, शक्ति र साम्राज्यको प्रश्न
पेट्रासको बौद्धिक कर्मले हामीलाई विश्वव्यापी असमानतालाई वर्ग सम्बन्ध, राज्य शक्ति र ठोस राजनीतिक संघर्षका माध्यमबाट मात्र बुझ्न सकिन्छ भन्ने निरन्तर सम्झाइरह्यो । विश्वव्यापीकरणका धेरै सिद्धान्तकारहरूले यसलाई बजार, सञ्जाल र अन्तर्राष्ट्रिय संस्थाहरूद्वारा प्रभावित विश्वका रूपमा व्याख्या गरे। तर पेट्रास भने त्यसलाई केही फरक ढङ्गले हेर्थे। उनी शक्तिशाली राज्यहरूले अझै पनि विश्वव्यापी पुँजीवादलाई व्यवस्थित गरिरहेका छन्, वित्तीय नियमहरू लादिरहेका छन् र कर्पोरेट स्वार्थको रक्षाका लागि सैन्य बल परिचालन गरिरहेका छन् भन्ने तर्क गर्थे । उनको बुझाइमा, साम्राज्यवाद कुनै अमूर्त धारणामा बिलिन भएको थिएन; बरु, यसले आफ्नो राजनीतिक जगलाई कायम राख्दै नयाँ आर्थिक स्वरूपहरूमा आफूलाई अनुकूल बनाएको मात्र थियो।
यही दृष्टिकोणले उनलाई इमानुएल वालरस्टाइन र समिर अमिन जस्ता 'विश्व-प्रणाली' (world-systems) का चिन्तकहरूसँगको संवादमा उभ्यायो। उनीहरूले केन्द्र र परिधिबीचको लामो ऐतिहासिक चक्र र संरचनात्मक श्रेणीक्रमको परीक्षण गरिरहँदा, पेट्रासले भने आफ्नो ध्यान प्रत्येक समाजभित्रको सामाजिक सम्बन्धतर्फ मोडे। शोषणको सुरुवात उत्पादनको थलोबाट हुन्छ र यसलाई ती आन्तरिक शासक वर्गहरूले निर्धारण गर्छन्, जसले आफ्नो शक्तिलाई अन्तर्राष्ट्रिय स्तरसम्म फैलाउन राज्यको प्रयोग गर्छन् भन्ने उनको तर्क थियो। त्यसैले, राष्ट्र-राज्य (nation-state) असान्दर्भिक भएको छैन, बरु यो अझै पनि केन्द्रमा छ भन्ने उनको मान्यता थियो। मानवीय सक्रियता र वर्ग संघर्षमाथिको यो जोडले गर्दा पेट्रासका कार्यहरू अन्य संरचनात्मक सिद्धान्तहरूभन्दा बढी प्रखर र राजनीतिक रूपमा प्रभावकारी बनेका छन्।
शोषणको सुरुवात उत्पादनको थलोबाट हुन्छ र यसलाई ती आन्तरिक शासक वर्गहरूले निर्धारण गर्छन्, जसले आफ्नो शक्तिलाई अन्तर्राष्ट्रिय स्तरसम्म फैलाउन राज्यको प्रयोग गर्छन् भन्ने उनको तर्क थियो। त्यसैले, राष्ट्र-राज्य (nation-state) असान्दर्भिक भएको छैन, बरु यो अझै पनि केन्द्रमा छ भन्ने उनको मान्यता थियो।
ल्याटिन अमेरिका उनको विश्लेषणको मुख्य प्रयोगशाला बन्यो। उनले उदारवादी सुधार, व्यापार सम्झौता र वित्तीय परनिर्भरताका बारेमा विस्तृत रूपमा लेख्दै यी प्रक्रियाहरूले कसरी श्रम आन्दोलन र राष्ट्रिय सार्वभौमसत्तालाई कमजोर बनाउँदै सम्पत्तिलाई माथिल्लो तप्कामा पुर्याउँछन् भन्ने कुरा देखाए। उनले साल्भाडोर एलेन्डे, ह्युगो चाभेज र एन्ड्रियास पापान्ड्रेउ जस्ता व्यक्तित्वहरूसँग निकट सम्बन्ध राखे र सुधारवादी सरकारहरूले विश्वव्यापी अवरोधहरू विरुद्ध कसरी संघर्ष गर्छन् भन्ने कुरा नजिकबाट नियाले। जनआन्दोलनहरूप्रतिको उनको समर्थनले उनलाई सम्झौतापरस्त नीति वा अधिनायकवादी प्रवृत्तिहरूको आलोचना गर्नबाट कहिल्यै रोकेन। ऐक्यबद्धता र संशयबीचको यही सन्तुलन उनको कार्यशैलीको एउटा चिनारी बन्यो।
समकालीन सिद्धान्तमाथिको उनको आलोचनाले पनि यही झुकावलाई प्रतिबिम्बित गर्दथ्यो। 'उत्तर-मार्क्सवाद' (post-Marxism) सम्बन्धी आफ्ना लेखहरूमा पेट्रासले वर्ग-राजनीतिबाट पछि हट्नु बौद्धिक प्रगति नभई राजनीतिक पराजयको उपज थियो भन्ने तर्क गरे। पहिचानमा आधारित संघर्षहरूले तब मात्र रूपान्तरण ल्याउन सक्छन्, जब तिनीहरू स्वामित्व, श्रम र आर्थिक नियन्त्रणका प्रश्नहरूसँग जोडिन्छन् भन्ने उनको ठम्याइ थियो। त्यसैगरी, हर्ट र नेग्रीको 'एम्पायर' (Empire) माथि टिप्पणी गर्दै उनले शक्ति सीमाहीन सञ्जालहरूमा छरिएको छ भन्ने धारणालाई अस्वीकार गरे। पेट्रासका लागि, बहुराष्ट्रिय कम्पनीहरू अझै पनि शक्तिशाली राज्यहरूमाथि नै निर्भर थिए र सैन्य गठबन्धनहरू प्रभुत्व जमाउने निर्णायक अस्त्रका रूपमा कायमै थिए।
उनले समाजशास्त्रका विभिन्न पाटाहरूलाई अलग-अलग विधाका रूपमा टुक्र्याउने प्रवृत्तिका विरुद्ध पनि चेतावनी दिएका थिए। उनको तर्क आधुनिक समाजलाई प्रभाव पार्ने शक्तिहरूलाई बुझ्नका लागि वास्तविक अन्तरविषयक (interdisciplinary) कार्यले राजनीतिक अर्थतन्त्र, समाजशास्त्र र इतिहासलाई पुनः एक ठाउँमा जोड्नुपर्छ भन्ने थियो । उनको विचारमा, बौद्धिकले केवल सामाजिक प्रवृत्तिहरूको वर्णन मात्र गर्ने होइन, बरु शक्तिले कसरी काम गर्छ भन्ने कुराको व्याख्या गर्नुपर्छ।
यही दृढ विश्वासले अमेरिकी विदेश नीति, पश्चिम एसियामा इजरायली रणनीति, र प्रारम्भिक ट्रम्प कालमा राष्ट्रवादी आर्थिक नीतिहरूको उदयबारे उनले गरेका विश्लेषणहरूलाई मार्गदर्शन गर्यो। आन्तरिक राजनीतिको चर्चा गर्दा समेत पेट्रासले देश भित्रको असमानता र विश्वव्यापी शक्ति प्रदर्शन बीचको कडीलाई मिहिन ढंगले पहिल्याउने गर्दथे।
बौद्धिक साहसको विरासत
जेम्स पेट्रासको नाममा दशकौँ लामो समय र विभिन्न महाद्वीपहरू ओगटेको विशाल लेखन भण्डार छ। 'अनमास्किङ ग्लोबलाइजेशन' (Unmasking Globalization), 'सिस्टम इन क्राइसिस' (System in Crisis), 'बियोन्ड नियोलिबरलिज्म' (Beyond Neoliberalism), र 'इम्पेरियलिज्म एण्ड क्यापिटलिज्म इन द ट्वान्टी-फर्स्ट सेन्चुरी' (Imperialism and Capitalism in the Twenty-First Century) जस्ता पुस्तकहरूले विश्वव्यापी पुँजीवादको विकास र यसले निम्त्याउने प्रतिरोधको जीवन्त व्याख्या गर्छन्। हेनरी भेल्टमेयरसँग मिलेर उनले ल्याटिन अमेरिकाबारे गरेका अध्ययनहरू विकास र सामाजिक आन्दोलनका अध्येताहरूका लागि अझै पनि अनिवार्य सन्दर्भ सामग्रीका रूपमा रहेका छन्। साथै, अन्तर्राष्ट्रिय पत्रपत्रिकाहरूमा छापिने उनका स्तम्भहरूले उनका विचारलाई प्राज्ञिक क्षेत्रभन्दा निकै परसम्म पुर्याउन मद्दत गरे।
पेट्रासको विरासतलाई खास बनाउने पक्ष उनको बौद्धिक प्रतिबद्धताको निरन्तरता हो। वर्ग संघर्ष इतिहासबाट हराइसक्यो वा साम्राज्यवादी राजनीतिले तटस्थ विश्वव्यापीकरणलाई ठाउँ दियो भन्ने दाबीलाई उनले कहिल्यै स्वीकार गरेनन्। उनले बौद्धिकहरूले आफ्नै सरकारका कदमहरूको सूक्ष्म परीक्षण गर्ने जिम्मेवारी वहन गर्नुपर्छ भन्ने कुरामा पनि जोड दिए । क्युबा, पश्चिम एसिया र विश्व व्यापारबारेका आफ्ना लेखहरूमा उनले शक्तिशाली देशका विद्वानहरूलाई टाढा बसेर कमजोर राष्ट्रहरूको न्याय गर्नुभन्दा पहिले आफ्नै राज्यको व्यवहारलाई सुक्ष्म रूपले नियाल्नुपर्छ भन्ने अर्ति दिए । बौद्धिक जवाफदेहिताप्रतिको यही आग्रहले उनको सार्वजनिक आवाजलाई परिभाषित गर्यो।
यी बहसहरूले उनले उजागर गर्न खोजेका तिनै तनावहरूलाई प्रकट गर्छन्– जुन प्राज्ञिक स्वतन्त्रता, राजनीतिक शक्ति र सार्वजनिक बहसबीचको एउटा असहज सम्बन्ध हो। पेट्रासले कहिल्यै पनि सहज र सर्वसम्मतिको बाटो रोजेनन्। उनले तर्कलाई नै बौद्धिक जीवनको प्राण माने र विमतिले प्रायः एक्लोपन निम्त्याउँछ भन्ने कुरालाई सहजै स्वीकार गरे।
उनको कार्यकाल विवादमुक्त भने रहेन। उनका कतिपय पछिल्ला, विशेषगरी जहाँ उनका विश्लेषणहरूले संवेदनशील राजनीतिक प्रश्नहरूलाई स्पर्श गरेका लेखहरूले कडा आलोचना पनि खेप्नुपर्यो । तर, यी बहसहरूले उनले उजागर गर्न खोजेका तिनै तनावहरूलाई प्रकट गर्छन्– जुन प्राज्ञिक स्वतन्त्रता, राजनीतिक शक्ति र सार्वजनिक बहसबीचको एउटा असहज सम्बन्ध हो। पेट्रासले कहिल्यै पनि सहज र सर्वसम्मतिको बाटो रोजेनन्। उनले तर्कलाई नै बौद्धिक जीवनको प्राण माने र विमतिले प्रायः एक्लोपन निम्त्याउँछ भन्ने कुरालाई सहजै स्वीकार गरे।
पाँच दशकको यात्रामा उनले विश्लेषणात्मक प्रखरतालाई नगुमाईकन पनि बौद्धिकतालाई सामाजिक संघर्षसँग जोड्न सकिन्छ भन्ने यो प्रमाणित गरिदिए। ग्रीसमा पापान्ड्रेउलाई सल्लाह दिनुदेखि ल्याटिन अमेरिकाका आन्दोलनहरूमा सहभागी हुनुसम्म, पेट्रासले विचार र कर्मबीच एक असाधारण निरन्तरता कायम राखे। बौद्धिक कार्यले एकातिर शक्तिको संरचनालाई छर्लङ्ग पार्नुपर्छ भने अर्कोतिर ती शक्तिविरुद्ध लड्नेहरूको आवाजलाई पनि ठाउँ दिनुपर्छ भन्ने उनको विश्वास थियो।
पेट्रासको मृत्युप्रति देखिएको यो मौन प्रतिक्रियाले वर्तमान बौद्धिक जगतको एउटा पाटोलाई उजागर गर्छ। यसले हाम्रो समयमा बौद्धिक दायरा कसरी खुम्चिँदै गइरहेको छ भन्ने कुरा स्पष्ट पार्छ। आज विश्वविद्यालयहरू नवप्रवर्तन (innovation) को उत्सव त मनाउँछन् तर 'असहमति' (dissent) लाई निरुत्साहित गर्छन्; प्राज्ञिक जर्नलहरू प्राविधिक शुद्धतालाई त पुरस्कृत गर्छन् तर संरचनात्मक आलोचनाबाट भने टाढिन्छन्। सार्वजनिक बहसहरूले पनि अप्रिय सत्यभन्दा शिष्ट टिप्पणीहरूलाई नै बढी रुचाउँछन्। यस्तो वातावरणमा, पेट्रास जस्ता आवाजहरूलाई केवल तिनले मात्र सम्झिनेछन् जो अझै पनि असमानता, साम्राज्य र शोषणको उत्तर खोजिरहेका छन्। उनका लेखहरू आज पनि कक्षाकोठा, आन्दोलन र अनौपचारिक सञ्जालहरूमा फैलिरहेका छन्, किनकि उनले कहिल्यै 'सुरक्षित निष्कर्ष' (safe conclusions) दिने बाटो रोजेनन्। उनका लेखहरूले सिद्धान्तले जीवित यथार्थको सामना गर्नुपर्छ, र जब पाण्डित्य प्राविधिक भाषा र व्यावसायिक सावधानीको घेराभित्र खुम्चिन्छ, तब यसले आफ्नो उद्देश्य नै गुमाउँछ भन्ने कुराको जब्बर जिकीर गर्छ।
जेम्स पेट्रास निश्चित रूपमा त्यस्तो पुस्ताका प्रतिनिधि थिए, जसले विचार र सिद्धान्तलाई प्राज्ञिक प्रतिष्ठा बढाउने 'गहना' मात्र ठान्नुको सट्टा ऐतिहासिक परिवर्तनको 'अस्त्र'का रूपमा ग्रहण गरे। यो संसारले उनको बिदाइको खबरलाई एउटा सामान्य सन्नाटाका बीच ग्रहण गरे तापनि उनले उठाएका प्रश्नहरू भने कत्ति पनि फिक्का भएका छैनन्।
स्रोत: https://thewire.in/
पश्चिमी वामपन्थीको संकटपूर्ण अवस्थाको व्याख्या
क्युबाली क्रान्ति अमेरिकी साम्राज्यवाद विरुद्ध अडिग छ
दोबाटोमा बाङ्लादेश : निर्वाचन र विश्वको आठौँ ठूलो देशको भविष्य
महान जनयुद्व: भ्रमपूर्ण आरोपहरुको खण्डन
वैश्विक शक्ति सङ्घर्ष र नेपालको रणनीतिक चुनौती
समकालीन वैश्विकृत साम्राज्यवादी युगमा प्रगतिशील लेखक तथा साहित्यकारहरूको जिम्म…
एप्सटीन फाइल्स: पुँजीवादको साइड इफेक्ट होइन, यसको अनिवार्य लक्षण
प्रतिक्रिया