अमेरिकी साम्राज्यवाद र नेपालका कथित जेनजी अगुवाहरू
यो स्पष्ट छ कि नेपालका पुराना राजनीतिक पार्टीहरू माओवादी, एमाले र काँग्रेस समेतले अमेरिकी साम्राज्यवाद परस्त नीति अपनाउँदै आएका थिए । उनीहरूले सांसदद्वारा एमसीसी पारित गरेको समेत कुराबाट त्यो कुरा प्रस्ट हुन्छ । तर उनीहरूको त्यस प्रकारको सेवा पनि अमेरिकी साम्राज्यवादको लागि पर्याप्त थिएन । उनीहरूले एमसीसीलाई पारित गरे पनि एसपीपीलाई पारित गरेका थिएनन् । उनीहरूले एक चीनको नीति अपनाएका थिए र त्यसले गर्दा ‘स्वतन्त्र तिब्बत’ को नीतिलाई पनि उनीहरूले समर्थन गरेका थिएनन् । उनीहरूले चीनप्रति पनि मैत्रीपूर्ण नीति नै अपनाएका थिए र त्यसप्रति पूरै शत्रुतापूर्ण नीति अपनाएका थिएनन् । ती कारणहरूले गर्दा अमेरिकाले पूरै नै उनीहरू माथि भर परेको थिएन । त्यसैले अमेरिकाले उनीहरूका ठाउँमा पूरै नै अमेरिकाको निर्देशन अनुसार चल्ने राजनीतिक शक्ति वा कठपुतली सरकारको निर्माण गर्न चाहन्थ्यो र त्यसका लागि योजनाबद्ध प्रकारले काम पनि गरिरहेको थियो ।
अमेरिकाले कुनै देशमा आफ्ना साम्राज्यवादी उद्देश्य पूरा गर्न सधैँ एउटै पार्टी वा शक्ति माथि विश्वास गर्दैन र त्यसले एकैसाथ बेग्लाबेग्लै शक्तिहरूलाई प्रयोग गरिरहेको हुन्छ र आवश्यकता अनुसार तासका पत्तिहरू झैँ त्यसले बेग्लाबेग्लै समयमा बेग्लाबेग्लै शक्तिहरूलाई प्रयोग गर्ने गर्दछ । त्यसको त्यही प्रक्रिया अनुसार त्यसले पहिले नेपालका कतिपय राजनीतिक पार्टीहरूलाई प्रयोग गरे पनि नयाँ–नयाँ शक्तिहरू निर्माण गर्ने र प्रयोग गर्ने काम गरिरह्यो । त्यो क्रममा नै त्यसले कथित स्वतन्त्र पार्टी वा घण्टी पार्टीको निर्माण गरेको थियो र हामीले सुरु देखि नै त्यो कुरा स्पष्ट गर्दै आएका छौँ ।
नेपालको जेनजी युवाहरूको आन्दोलन प्रकट रूपमा जेनजीहरूको स्वतःस्फूर्त आन्दोलन थियो । तर त्यसका पछाडि मुख्य रूपले अमेरिकी साम्राज्यवादको रणनीतिले नै काम गरेको थियो र नेपालका जेनजी युवाहरू थाहै नभईकन अमेरिकाको त्यो चक्रव्युमा फस्न पुगेका थिए । जेनजी युवाहरूलाई कुन हदसम्म प्रयोग गरिएको थियो, त्यो कुरा २४ गते देशव्यापी रूपमा भएका तोडफोड, आगलागी वा ध्वंसात्मक कार्यहरूबाट पनि प्रस्ट हुन्छ । ती सबै कार्यहरू जेनजी युवाहरूको योजनामा सामेल थिएनन् । तर जेनजी आन्दोलनको नाममा नै ती सबै कार्यहरू भएका थिए । उनीहरूलाई कसरी त्यस प्रकारका ध्वंसात्मक कार्यहरूमा सामेल गराइयो, त्यो अत्यन्त रहस्यपूर्ण विषय हो ।
जेनजी आन्दोलनसित जोडिएको कथित जेनजीहरूको भूमिकातिर पनि हाम्रो ध्यान जानुपर्ने आवश्यकता छ । जेनजी भन्दाखेरि २८ वर्ष सम्मका युवाहरू नै आउँछन् । तर त्यो आन्दोलनको सञ्चालन वा नेतृत्व गर्ने व्यक्तिहरू २८ वर्ष भन्दा माथिका व्यक्तिहरू नै थिए । त्यसरी यो कुरा स्पष्ट शब्दमा भन्न सकिन्छ कि उनीहरू जेनजी थिएनन् र, त्यसैले, उनीहरूलाई कथित जेनजीहरू भन्न सकिन्छ । यो कुरा अब स्पष्ट रूपले प्रकाशमा आइसकेको छ कि जेनजी आन्दोलनको नेतृत्व जेनजीहरूले होइन, कथित जेनजीहरूले नै गरेका थिए । यो कुरा पनि अब धेरै तिरबाट पुष्टि छ कि त्यस प्रकारका कथित जेनजीहरू अमेरिकाको साम्राज्यवादी रणनीति अनुसार नै सञ्चालित भएका थिए । उनीहरूको वास्तविक उद्देश्य अमेरिकी साम्राज्यवाद परस्त भए पनि अमेरिकी रणनीतिक आवश्यकताका लागि अयोग्य भइसकेका पुराना पार्टी वा नेताहरूलाई विस्थापित गरेर सिँधै अमेरिकाको पूरै निर्देशनमा चल्ने तत्त्वहरूलाई स्थापित गरेर वा सत्तामा ल्याएर नेपालमा अमेरिकाको रणनीतिलाई सशक्त आधार तयार पार्नु नै रहेको थियो र स्पष्ट शब्दमा भन्ने हो भने जेनजी आन्दोलनका पछाडिको अमेरिकाको उद्देश्य नेपालमा एउटा कठपुतली सरकारको निर्माण गर्ने नै रहेको छ । अब जेनजीहरू सायद कतै हराइसकेका छन् वा तितरबितर भएका छन् । उनीहरू कैयौँ ग्रुपहरूमा विभाजित भएर अस्तित्वविहीन पनि हुँदै गएका छन् । उनीहरू कुनै ग्रुपहरूमा बाँडिएको वा बेग्लाबेग्लै राजनीतिक दलमा सामेल हुँदै गएको वास्तविकता माथि विचार गर्दा अब नेपालमा जेनजी आन्दोलन जस्तो कुनै चिज अस्तित्वमा भएको कुरा छर्लङ्ग भएको छ । तर कथित जेनजीहरूले अहिले पनि आफूलाई जेनजीहरूको आन्दोलनको नेतृत्व बताएर नयाँ परिपेक्षमा अमेरिकी साम्राज्यवादको रणनीतिलाई पूरा गर्न प्रयत्न गरिरहेका छन् । त्यो कुरा दिनको उज्यालो झै झन पछि झन छर्लङ्ग हुँदै गएको छ ।
जस्तोकी माथि लेखियो, अमेरिकाले संसारका विभिन्न देशहरूमा र नेपालमा पनि कैयौँ एजेन्सी वा सञ्जाल बनाएर आफ्ना साम्राज्यवादी उद्देश्यहरू पूरा गर्ने प्रयत्न गर्दछ र त्यसले तासका पत्तिहरू फिटेझैँ कुनै बेला एउटालाई र कुनै बेला अर्कोलाई अगाडि ल्याउने गर्दछ । जेनजी आन्दोलनसित सम्बन्धित कथित जेनजीहरू जेनजी आन्दोलनको दौरामा अगाडि आएका अमेरिकाका प्रत्यक्ष गोटीहरू नै हुन् । अमेरिकाको रणनीति यो रहेको छकी आगामी चुनावमा त्यस प्रकारका तत्त्वहरू नै बहुमत प्राप्त गरेर सत्तामा आउन । त्यसैले, त्यसले बारम्बार उनीहरूलाई एकै ठाउँमा ल्याएर बहुमतको सरकार बनाउने प्रयत्न पनि गर्दछ । तर त्यसको त्यो प्रयत्न सधैँ सफल हुन्न र त्यस प्रकारका कैयौँ प्रयत्नहरू कैयौँ पल्ट असफल पनि हुने गर्दछन् ।
जेनजी आन्दोलनका दौरानमा जुन कथित जेनजीहरू अगाडि आएका छन्, त्यो बाहेक नेपालका विभिन्न राजनीतिक पार्टीहरूमा मात्र होइन, देशका विभिन्न सामाजिक, बौद्धिक, नागरिक, प्रशासनिक, न्यायिक वा सुरक्षाको क्षेत्रमा पनि अमेरिकाले लगातार घुसपैठ गर्ने र त्यसरी देशव्यापी रूपमा आफ्नो सञ्जाल तयार पार्ने प्रयत्न गरिरहन्छ । त्यो क्रममा अमेरिकी एम्बेसीको मातहतमा सञ्चालित युवा काउन्सिलको नाम पनि विशेष रूपले उल्लेखनीय छ । उनीहरूको माध्यमद्वारा त्यसले यो फोविया पनि फैलाएको छ कि देशमा राजनीति नेतृत्व वा सरकारको नेतृत्वको लागि पनि पुराना राजनीतिक नेताहरूको ठाउँमा पूरै नयाँ पुस्ताका युवाहरू नै आउनुपर्दछ र उनीहरूद्वारा नै देशमा भ्रष्टाचार र कुशासनको निवारण वा देशको दिगो विकास हुन सक्दछ । कुनै पनि देशको र नेपालको इतिहासमा पनि युवा विद्यार्थीहरूको महत्त्वपूर्ण भूमिका हुन्छ र देशको भविष्य पनि उनीहरू माथि नै निर्भर हुन्छ । तर उनीहरूमा सही राजनीतिक दृष्टिकोण, सही राजनीतिक समझदारी वा देशभक्तिको भावना भएमा नै उनीहरूले त्यस प्रकारको सकारात्मक भूमिका खेल्न सक्दछन् । अन्यथा, संसारभरिको र नेपालको पनि अनुभवले बत्ताउँछ, जेनजी उमेर समूहका युवाहरू कैयौँ प्रकारका असामाजिक, भ्रष्ट वा अपराधजन्य कार्यहरूमा पनि लागेका पाइन्छन् र तिनीहरूको सङ्ख्या पनि संसारमा वा नेपालमा पनि कम छैन ।
त्यस्तो अवस्थामा जेनजी मात्र भनेर हुँदैन, उनीहरूमा दृष्टिकोण र समझदारी वा उनीहरूमा देशभक्तिको भावना कति छ, त्यसले पनि उनीहरूको भूमिकाको प्रकृति र त्यस अनुसार देशको भविष्यलाई पनि निर्धारित गर्दछ । वास्तवमा प्रश्न कसको कति उमेर छ भन्ने होइन, प्रश्न कसको दृष्टिकोण, समझदारी वा देश र जनताप्रतिको कति इमानदार र सच्चा छ भन्ने कुरा हो । वृद्ध भइसकेपनि देश र जनताप्रति सच्चा, इमानदार भएका कैयौँ व्यक्तिहरू संसारमा वा नेपालमा पनि पाइन्छन् भने युवा भएर पनि कैयौँ असामाजिक भ्रष्ट वा अपराधजन्य काममा लागेका व्यक्तिहरू पनि ठुलो सङ्ख्यामा पाइन्छन् । त्यस कारण उमेरलाई नै मुख्य मापदण्ड बनाउने कुरा सिद्धान्त तः नै गलत हो र त्यो, साम्राज्यवादद्वारा फैलाइएको एउटा फोविया मात्र हो ।
अमेरिकी साम्राज्यवाद जेनजी आन्दोलनद्वारा आफ्ना उद्देश्यहरू पूरा गर्न धेरै नै सफल भएको छ । त्यस सिलसिलामा नै त्यसले पुराना सत्तारुढ पार्टीहरूलाई विस्थापित गर्यो र संसद्को समेत विघटन गर्यो । अहिले पूर्व प्रधान न्यायधिस सुसिला कार्किको नेतृत्वमा जुन सरकारको गठन भएको छ, त्यसको स्वरूप गैरदलीय मात्र छैन, त्यो मन्त्रिमण्डलका धेरै जसो सदस्यहरू एक वा अर्को प्रकारले विभिन्न एनजीओ, आइएनजीओ वा अमेरिकी साम्राज्यवादसित सम्बन्धित व्यक्तिहरू नै रहेका छन् । तर यदि त्यो मन्त्रिमण्डलले पनि अमेरिकी साम्राज्यवादको स्वार्थको पक्षमा पूरै काम गर्न नसकेमा त्यसलाई पनि विस्थापित गरिनेछ र त्यसका ठाउँमा अर्को मन्त्रिमण्डल कायम गर्ने प्रयत्न गरिनेछ ।
अहिले कथित जेनजीहरूले जनताद्वारा प्रत्यक्ष रूपले निर्वाचित कार्यकारी प्रमुखको चुनाव हुनुपर्ने कुरामा जोड दिइरहेका छन् । स्पष्ट छ, त्यस प्रकारको प्रणाली साम्राज्यवादी शक्तिहरूको हितमा नै हुनेछ, किनभने त्यो अवस्थामा संसद् र मन्त्रिमण्डललाई सहमत गराउनुपर्ने लामो प्रक्रियाको ठाउँमा एउटै व्यक्तिलाई उपयोग गरेर आफ्ना स्वार्थहरू पुरा गर्न उनीहरूलाई अपेक्षाकृत सजिलो हुनेछ । त्यसको अर्थ सांसदद्वारा प्रधानमन्त्री निर्वाचित गर्ने प्रणाली नै श्रेष्ठ हुन्छ भन्ने होइन । हामीले देशमा धेरै अनुभव गरिसकेका छौँ, त्यस अन्तर्गत पनि धेरै नै भ्रष्टाचार, कुशासन वा अधिनायकवादी प्रवृत्तिहरू देखा पर्ने गर्दछन् । तैपनि प्रत्यक्ष रूपले जनताद्वारा निर्वाचित एक जना व्यक्तिको शासन भन्दा मन्त्रिमण्डल प्रणाली बढी सही हुन्छ, किनभने त्यो प्रणाली अन्तर्गत सांसदद्वारा सरकार माथि बढी नियन्त्रणको सम्भावना रहन्छ ।
जस्तो कि माथि भनियो, अमेरिकी साम्राज्यवाद कुनै एउटै व्यक्ति वा पार्टी माथि मात्र भर पर्दैन र त्यसले बेग्लाबेग्लै एजेन्सी वा सञ्जालहरूलाई प्रयोग गर्ने गर्दछ । त्यसको त्यो कार्यशैली अन्तर्गत विभिन्न राजनीतिक पार्टीहरूमा पनि आफ्ना मान्छेहरूको घुसपैठ गर्ने र एउटै पार्टीभित्र पनि एउटा पक्षको तुलनामा अर्को पक्षलाई अगाडि ल्याएर सत्तामा कब्जा गर्ने पनि त्यसको नीति हुन्छ । त्यस अनुसार त्यसले नेपालका विभिन्न राजनीतिक पार्टीहरूमा कति घुसपैठ गरेको छ वा तिनीहरू मध्ये त्यसले कसलाई विस्थापित गर्ने वा अगाडि ल्याउने प्रयत्न गरेको छ, त्यो पनि एउटा गम्भीर प्रश्न हो । नेपालको राजनीतिको सूक्ष्म अध्ययन गरेर नै त्यसबारे जानकारी प्राप्त हुन सक्नेछ वा आउने दिनहरूका परिणामहरूबाट त्यो कुरा प्रस्ट हुँदै जानेछ ।
अन्तमा, विश्वको र नेपालको राजनीति माथि पनि सरसरी प्रकारले विचार गर्ने हो भने यो कुरा प्रस्ट हुन्छ कि कुनै देशको राजनीति विशुद्ध रूपले त्यो देशको मात्र राजनीति हुँदैन र त्यसमा अन्तर्राष्ट्रिय प्रभावले पनि धेरै नै काम गरेको हुन्छ । कतिपय अवस्थामा संसारमा चल्ने प्रगतिशील, क्रान्तिकारी वा साम्राज्यवाद विरोधी आन्दोलनहरूले पनि कुनै देशको राजनीतिमा धेरै असर पारेको हुन्छ । तर अहिलेको संसारमा त्यो पक्ष धेरै नै कमजोर भएको छ र विश्वको राजनीतिमा साम्राज्यवादी प्रभावले नै धेरै प्रभाव पारेको देखिन्छ । नेपालको विषयमा पनि त्यो कुरा सत्य हो । विश्वमा चल्ने प्रगतिशील, क्रान्तिकारी वा साम्राज्यवाद विरोधी विचार वा आन्दोलनको पनि नेपालमा अवश्य पनि केही न केही असर परेको छ तर त्यो पक्ष धेरै नै कमजोर छ र नेपाल एक प्रकारले संसारका विभिन्न साम्राज्यवाद शक्तिहरूको गतिविधिको क्रिडास्थल नै बनेको छ । नेपालका विभिन्न एनजीओ, आइएनजीओ वा विभिन्न राजनीतिक पार्टीहरूका साम्राज्यवादपरस्त चरित्रका कारणले उनीहरूको त्यस प्रकारको गतिविधिलाई धेरै मदत पुग्ने गरेको छ । जेनजी आन्दोलन वा कथित जेनजीहरूले नेतृत्व गरेको आन्दोलन त्यसको एउटा पक्ष हो । निश्चय नै, एउटा पक्ष मात्र । त्यो बाहेक अन्य कुन कुन रुपमा साम्राज्यवादले हाम्रो देशमा प्रवेश गरेको छ, देशको राजनीतिलाई प्रभावित पार्ने वा सत्ता माथि समेत नियन्त्रण गर्ने प्रयत्न गरेको छ, जनताको उच्च प्रकारको चेतना र सतर्कताद्वारा नै त्यो कुरा स्पष्ट हुन सक्नेछ र त्यसबारे हामीहरू कतिसम्म सचेत हुन सक्दछौँ ? त्यस माथि नै देशको राष्ट्रियता, सार्वभौमिकता र भविष्य पनि निर्भर गर्नेछ ।
अधिकारको चर्को आवाज: जिम्मेवारीको मौनता र हराउँदै गएको सम्मान
अवैध आक्रमणमार्फत अमेरिकाले भेनेजुएलामाथि आक्रमण गरी राष्ट्रपतिलाई नियन्त्रणमा …
युरोपको पतनतर्फको यात्रा
१३३ औं माओ दिवसको शुभकामना
पुनरावलोकन : मदन भण्डारी र जनताको वहुदलीय जनवाद
ओली र ओली जस्ता सबै नेताहरुले पाठ सिकुन्!
योगदानीहरुप्रति कृतज्ञताका लागि आवश्यक दायित्वबोध कसको ?
प्रतिक्रिया