पानीको रंग किन नीलो हुन्छ ?

जिज्ञासाले चन्द्रशेखर वेंकटरमनलाई वैज्ञानिक बनायो !

भारतको मद्रासस्थित प्रेसिडेन्सी कलेजमा बी.ए.को कक्षामा एकदिन अचम्म भयो । भर्खर १३/१४ वर्षको किशोरलाई कलेजको कोठामा देखेर प्राध्यापक स्वयं आश्चर्यचकित भए ।

कुरो करीब सयवर्ष अगाडिको हो । प्रेसिडेन्सी कलेजमा अंग्रेजीका प्राध्यापक इलियट कक्षामा पसे । उनले विद्यार्थीहरुको हाजिरी लिन थाले । हाजिरी लिने क्रममा उनले विद्यार्थीहरुतिर सर्सती नजर दौडाए । तर कस्तो अचम्म– कलेजमा एउटा १३/१४ वर्षको फुच्चे पनि बेञ्चमा बसिरहेको रहेछ ।

प्रा. इलियटलाई लाग्यो– यो फुच्चे पक्कै पनि स्कूलको विद्यार्थी होला । फुच्चेलाई स्कूलकै केटा सम्झेर उनले सोधे– ‘तिमी यहाँ किन हँ ?’

‘सर ! म यही कक्षाको विद्यार्थी हुँ !’– फुच्चेले नडराइकन जवाफ दियो ।

प्रा. इलिइटलाई फुच्चेको कुरोमा विश्वास भइरहेको थिएन । त्यसैले उनले अर्को प्रश्न सोधे– ‘के आई.ए. पास गर्‍यौ त ?’

‘गरिसकें सर, मैले यही वर्ष आई.ए. पास गरेको हुँ !’

‘तिम्रो नाम के हो नि ?’

चन्द्रशेखर वेंकटरमन ।’

चन्द्रशेखर वेंकटरमन नामक सोही फुच्चे पछि भारतको प्रसिद्ध वैज्ञानिक प्रोफेसर सी.वी. रमनको नामले चर्चित भए । नोबेल पुरस्कार पाएपछि उनी विश्वभरि प्रख्यात भएका थिए । सानै उमेरमा विद्यार्थी जीवनकाल पार गरेका प्रो. रमनले लामो अवधिसम्म वैज्ञानिक अध्ययन–अनुसन्धान गरेका थिए । उनले प्रकाशका रंगहरु फैलने प्रक्रियामाथि सफल अनुसन्धान गरेका थिए। उनको अनुसन्धान कार्यलाई ‘रमन प्रभाव’ भनिन्छ ।

पक्कै पनि तपाईहरुले ‘रमन प्रभाव’को नामले विश्वविख्यात अनुसन्धान कार्यको कथा सुन्नु भएको छ ? त्यो कथा सबैका लागि उत्साहप्रद हुनसक्छ ।

प्रो. रमन सन् १९२१ मा भारतबाट विदेशतिर पानीजहाजमा यात्रा गरिरहेका थिए । उनी सानैदेखि नै अति नै जिज्ञासु प्रवृत्तिका थिए । यस्तो जिज्ञासु  प्रवृत्तिका प्रो. रमन भूमध्यसागरमा हुँइकिंदै गइरहेको पानीजहाजको डेकमा बसेर कहिले आकाशतिर त कहिले समुन्द्रतिर नियाल्दै थिए । त्यसको रंगले उनलाई निकै आकर्षित गरिरहेको थियो । डेकबाट तल देखिएको समुन्द्रको पानीले उनलाई निकै आकर्षित गर्‍यो । उनी सबैभन्दा बेसी पानीको गहिरो नीलो रंग देखेर आश्चर्यचकित भए ।

जिज्ञासु स्वभाव नभएका मानिसहरुलाई लाग्ला– ‘समुन्द्रको पानीको रंग र आकाशको रंग त नीलै हुन्छ नि, त्यसमा आश्चर्य मान्नुपर्ने कुरै के छ र ?’

तर प्रो. रमनमा जिज्ञासु स्वभाव थियो, हरेक कुरा किन र कसरी भयो भनेर सोच्ने, बुझ्ने र खोज्ने बानी थियो । समुद्रको पानीको नीलो रंग देखेर आश्चर्यचकित हुँदै उनले आफैंलाई सोधे– ‘आखिर पानीको रंग नीलो नै किन हुन्छ, हरियो, रातो किन हुँदैन ?’

यो जिज्ञासाले उनलाई समुद्रको रंगको नीलोपनाको कारण खोज्न उक्स्यायो । र, उनी सात–सात वर्षसम्म यही खोजीमा तल्लीन भए । अन्त्यमा गएर उनले प्रकाशका रंगहरु फैलने प्रकृति पत्तालगाई छाडे, जसलाई ‘रमन प्रभाव’ भनियो । उनको यो अनुसन्धान अहिले ‘रमन प्रभाव’को नामले विश्वविख्यात छ ।

समुद्रको पानीको नीलोपनाको कारण खोतल्न सफल भएपछि प्रो. रमनलाई सन् १९३०मा नोबेल पुरस्कारले सम्मनित गरिएको थियो । प्रो. रमनको यो स्मरणीय घटनाले देखाइरहेको छ– जिज्ञाासाले ठूला–ठूला अध्ययन, अनुसन्धान र वैज्ञानिक कार्यको ढोका खोल्दोरहेछ ।

के हामीसँग जिज्ञासा बाँकी छ ? के हामीमा हरेक वस्तु र घटना किन र कसरी भयो भनेर सोध्ने–खोज्ने बानी छ ? हामीसँग जिज्ञासा मरिसकेको छैन भने हामीमा पनि वैज्ञानिक हुने भ्रुण रहेछ भनेर किन नभन्ने ?

नवयुवामा प्रकाशित

 

राजेन्द्र महर्जन

वामबुद्धिजीवी एवं विश्लेषक