आर्थिक घेराबन्दीको बीच चीनको अर्थतन्त्रको शानदार प्रदर्शन : बाधाहरूलाई अवसरमा रूपान्तरण गर्ने रणनीति
मनोज अभिज्ञान
एक्काइसौँ शताब्दीको विश्व अर्थतन्त्रमा शक्ति अब केवल हतियार वा कूटनीतिक घोषणाबाट निर्धारित हुँदैन; यो कारखानाहरूको गति, सप्लाइ चेनको गहनता, र उत्पादनलाई सम्भव बनाउने सामाजिक–प्राविधिक संरचनाबाट निर्धारित हुन्छ। पछिल्ला केही वर्षमा चीनलाई घेर्ने आर्थिक भाषा झनै आक्रामक बन्दै गएपछि तब यो ठानिएको थियो कि सीमाना तोकिदिने, अवरोध बढाइने वा शुल्क बढाइदिने बित्तिकै कुनै देशको उत्पादन क्षमता स्वतः संकुचित हुन्छ।
तर अर्थतन्त्र त्यस्तो रैखिक ढाँचामा चल्दैन। यसले स्मरण राख्छ, अनुभवबाट सिक्छ, र दबाबको परिस्थितिमा प्रायः आफ्नै लागि नयाँ मार्गहरू सिर्जना गर्छ। चीनको समकालीन औद्योगिक अनुभव यही ऐतिहासिक सत्यतर्फ संकेत गर्छ । जब कुनै समाजले दीर्घ अवधिसम्म उत्पादनलाई आफ्नो सांस्कृतिक तथा संस्थागत प्राथमिकताको केन्द्रमा राखेको हुन्छ, तब बाह्य अवरोधहरूले उसलाई रोक्दैनन्; उल्टै, त्यसका भित्री निहित क्षमताहरूलाई चेतन र सक्रिय बनाइदिन सक्छन्।
यहाँ प्रश्न केवल निर्यात वा आम्दानीको मात्र होइन; प्रश्न यो हो कि आधुनिक विश्वमा उत्पादन कसरी राजनीतिक होहल्लाबाट अलग एक स्वतन्त्र तार्किता विकास गर्दै जान्छ।
चीनको हालको अनुभव त्यसैको प्रतिबिम्ब हो: जहाँ एकातिर अमेरिका–प्रेरित ट्यारिफ तथा कडा नियमहरू लागू भए, त्यही समय चीनले आफ्नो उत्पादनलाई केवल रोकेन मात्र, बरु त्यसलाई नयाँ ढङ्गले पुनर्गठित गर्यो। र यस वर्ष उसका वस्तु व्यापारबाट भएको अतिरिक्त आम्दानी (सरप्लस) पहिलो पटक इतिहासमै १ ट्रिलियन डलर नाघ्यो।
सबैभन्दा पहिले यो बुझ्न आवश्यक छ कि ट्यारिफ कुनै एकै प्रकारको छोटो उपाय होइन जसले सीधै निर्यातकर्तालाई अस्वीकार गरिदिन्छ । जब प्रविधि, अर्थतन्त्रको माप , र सस्ता तर दक्ष आपूर्तिकर्ताहरूको संजाल अस्तित्वमा हुन्छ, व्यापारिक प्रवाहले आफूअनुसार समायोजन गर्ने क्षमता राख्छ।
चीनले विगतका दशकहरूमा विशाल उत्पादन इकोसिस्टम, सघन उत्पादन क्लस्टरहरू र बलियो घरेलु सप्लाइ आधार निर्माण गर्यो। मेसिनरी, रसायन, इलेक्ट्रोनिक्स, सौर प्यानल तथा अब उच्च मूल्यका इलेक्ट्रिक सवारी र सेमीकन्डक्टर जस्ता क्षेत्रहरू अमेरिकी बजारको हिस्सेदारी घटेजस्तो देखिँदा पनि निर्यात समर्थ कै रूपमा रहे। यही कारण चीनका औद्योगिक उत्पादन सूचकहरूमा स्थिरता देखिरह्यो।
चीनले गम्भीरतापूर्वक अपनाएको दोस्रो ठूलो रणनीति बजार विविधीकरण थियो । अमेरिका–चीन तनाव गहिरिँदै जाँदा चीनले आफ्नो निर्यात रणनीति केही सीमित भूभागहरूबाट हटाएर एशिया, युरोप, ल्याटिन अमेरिका र अफ्रिकातर्फ मोडिदियो। नतिजा यस्तो भयो कि अमेरिकातर्फको प्रत्यक्ष निर्यात घटे पनि कुल निर्यात बढ्यो र नयाँ बजारहरूले त्यो अन्तर सहजै पूर्ति गरिदिए।
यो केवल मात्रामा सीमित रहेन; चीनले उच्च–मूल्य उत्पादनहरूको विश्वव्यापी आपूर्तिमा पनि आफ्नो स्थान मजबुत बनायो। पहिला चीनलाई केवल सस्ता उपभोक्ता सामग्रीको स्रोत मानिन्थ्यो, आज त्यही देश उत्पादन दायरा इलेक्ट्रिक सवारी, औद्योगिक मेसिन र प्रविधीय सामग्रीहरूसम्म फैलिएको छ।
ट्यारिफहरूको प्रत्यक्ष असर अवश्यै केही क्षेत्रहरूमा देखियो, विशेष गरी ती कम्पनीहरूमा जो पूर्ण रूपमा कम–मूल्यका अमेरिकी बजारमै निर्भर थिए। तर चीनको प्रतिक्रिया बहुआयामिक रह्यो: केही निर्माताहरूले मूल्य र गुणस्तर दुवैमा प्रतिस्पर्धा तीव्र पारे; केहीले आपूर्ति श्रृंखलालाई घरेलु वा तेस्रो मुलुकमा सारेर पुनर्संगठित गरे; र केहीले डिजिटल तथा प्लेटफर्म–आधारित व्यवसाय मोडेल अपनाएर उपभोक्तासम्म सीधा पहुँच कायम राखे।
उदाहरणका लागि, डिस्काउन्ट ई–कमर्स प्लेटफर्महरूले साना मूल्यका वस्तुहरू ठूलो मात्रामा पठाएर उपभोक्ता मागलाई स्थिर राखे, र जब अमेरिकी नीतिले ‘डी मिनिमिस’ छुट हटायो, ती प्लेटफर्महरूले स्थानीय आपूर्ति र नयाँ ढंगका शिपिङ मोडेल अपनाएर आफ्नो रणनीति फेर्न थाले। यसले प्रस्ट देखायो कि चीनका व्यवसायहरू अब केवल उत्पादनमै सीमित छैनन्; उनीहरू द्रुत गतिमा लॉजिस्टिक्स र व्यवसाय मोडेल दुवैलाई रूपान्तरण गर्दै अघि बढिरहेका छन्।
अर्को महत्वपूर्ण तथ्य ट्यारिफहरू मात्रले व्यापारका ढाँचाहरू निर्धारण गर्दैनन् भन्ने हो। विश्वव्यापी थोक–उपभोगमा हुने परिवर्तन, उपभोक्ता प्राथमिकताहरू, र नयाँ औद्योगिक क्लस्टरहरूको निर्माण यी सबै मिलेर कुन देशको आपूर्ति वैश्विक मागसँग मेल खान्छ भन्ने निर्णय गर्छन् ।
चीनले घरेलु उत्पादन–क्षमता बढाउनुका साथै अनुसन्धान तथा विकासमा लगातार लगानी गरिरहेको छ। यसको नतिजा स्वरूप, केही उच्च–प्रविधि क्षेत्रमा चीनको पकड अझ मजबुत बन्दै गइरहेको छ, र जब वैश्विक माग बढ्छ, चीनको आपूर्ति तात्कालिक र विश्वसनीय रूपमा उपलब्ध हुन्छ। यही कारण नयाँ विश्वव्यापी शिपिङ–मार्गहरूमा पनि चीनको उपस्थिति स्थिर छ।
आलोचकहरू प्रायः चीनको व्यापार–अधिशेष (surplus) लाई केवल “न्यायोचित” भन्दै पन्छाउँछन्; तर वास्तविकता यो हो कि यो विश्वव्यापी उत्पादन–जालका आपसी गतिशीलताहरूको परिणाम हो। चीनले आफ्नो आर्थिक नीतिमा निर्यातक राष्ट्रका लागि आवश्यक सबै तत्वहरू: ठूलो मात्राको उत्पादन, दक्ष श्रम–बजार, गहन उत्पादन संजाल, र विकास–अनुकूल नीतिगत संरचना समावेश गर्यो ।
जब अमेरिकी ट्यारिफहरूले चीनलाई निसाना बनाए, चीन केवल मूल्य–प्रतिस्पर्धामै सीमित रहेन; उसले गुणस्तर, नवप्रवर्तन, र ब्राण्ड–निर्माणमा पनि जोड दियो र यसरी आफूलाई उच्च–मूल्यका वस्तुहरूको वैश्विक सप्लायरका रूपमा स्थापित गर्यो। धेरै अर्थशास्त्रीहरूको धारणा छ कि ट्यारिफहरूले चीनलाई घरेलु माग र वैकल्पिक बजारहरू सबल बनाउन अवसर दिए।
केही आलोचनाहरूले चीनको यो वृद्धि असमान हुन सक्ने वा अत्यधिक संसाधन–खपतमा आधारित हुन सक्ने तर्क गर्छन्। यस्तो बहस आवश्यक छ र नीतिनिर्माताले सावधानी अपनाउनुपर्छ। तर चीनका हालका तथ्यांकले देखाउँछन् कि उत्पादन केवल मात्रा–केन्द्रित छैन; देश प्रविधि, स्वचालन, र मूल्य–संवर्धित उत्पादनतर्फ तीव्रतापूर्वक अघि बढिरहेको छ।
सरकारको नयाँ पञ्चवर्षीय लक्ष्यहरूमा उच्च–मूल्य उत्पादन र प्रविधिमा विशेष प्राथमिकता दिइएको छ, जसले भविष्यमा चीनको आपूर्ति झनै उन्नत र औद्योगिक बन्ने संकेत गर्छ। यसको वैश्विक अर्थ पहिले धेरै उद्योग चीनको सस्तो श्रममा निर्भर थिए; अब ती उद्योग चीनको नवप्रवर्तनशील उत्पादन–कुशलताका कारण र विशाल घरेलु बजारका कारण त्यहीं टिकिरहनेछन्।
राजनीतिक दबाब र रणनीतिक प्रतिस्पर्धाको अर्थ अनिवार्य रूपमा एउटा राष्ट्रको सफलतालाई अर्को राष्ट्रको हारका रूपमा हुदैन । चीनका हालैको व्यापार–परिणामहरूले विश्वव्यापी औद्योगिक संरचनामा बहुध्रुवीयतातर्फ बढ्दै गएको संकेत गर्दछ । जहाँ आपूर्ति श्रृंखलाहरू अझ लचिला, बजारहरू अझ विभाजित, र रणनीतिहरू क्षेत्रीय बन्दै गइरहेका छन्।
यसको अर्थ विकसित अर्थतन्त्रहरूले चीनमाथिको निर्भरता घटाउन नयाँ रणनीतिहरू तयार गर्नुपर्नेछ; तर अर्कोतर्फ चीनका लागि यो विश्वव्यापी मागअनुरूप उच्च–गुणस्तरीय उत्पादन तथा सहयोगात्मक लगानीमा केन्द्रित हुने अवसर हो ।
यदि हामीले निस्कर्ष निकाल्ने हो भने यो प्रस्ट हुन्छ कि, अमेरिकी ट्यारिफहरूले चीनलाई तानेर तल ल्याएनन्; बरु उच्च अनुकूलन, बजार विविधीकरण, र उच्च–मूल्य उत्पादनतर्फ धकेल्यो। चीनले घरेलु माग, प्राविधिक लगानी, र विश्वव्यापी वितरण–जालको सहायताले ट्यारिफको सामना मात्र गरेन, उसले वृद्धि पनि हासिल गर्यो जसका प्रमाण उसका व्यापारिक तथ्यांकहरू हुन्।
विश्व–अर्थतन्त्र अब पुराना अवधारणाभन्दा धेरै जटिल छ। जहाँ नीतिनिर्माताहरू सुरक्षा र विविधीकरण खोजिरहेका छन्, त्यहीं व्यवसायी तथा उपभोक्ताहरू लागत, गुणस्तर, र पहुँचमा सर्वोत्तम विकल्पहरू रोजिरहेका छन्। यस परिप्रेक्ष्यमा, चीनको हालैको प्रदर्शन केवल विनिर्माण क्षमताको उत्कृष्ट उदाहरण मात्र होइन; यसले देखाउँछ कि कसरी कुनै राष्ट्रको अर्थतन्त्र रणनीतिक दबाबबीच पनि नविन तरिकाले पुनर्जीवित हुन सक्छ।
आज, जब विश्व फेरि शिविरहरूमा विभाजित हुने भाषा बोलिरहेको छ, चीनको औद्योगिक अनुभवले सम्झाइदिन्छ कि इतिहास केवल इच्छाशक्ति होइन, संरचना र सक्षम उत्पादन प्रणालीहरूले बन्छ । उत्पादन संरचना, श्रम–कुशलता, प्रौद्योगिकीसँग समाजको सम्बन्ध, र बजार बुझ्ने सामूहिक क्षमताहरू यी सबै मिलेर यस्तो भौतिक शक्ति बनाउँछन् जसलाई घोषणाहरू वा प्रतिबन्धहरूले न त निलम्बित गर्न सक्छन्, न त पलभरमै उल्ट्याउन सक्छन्।
चीनको कथाले भविष्यको लागि कुनै मोडेल भएको दाबी गर्दैन, तर यसले के देखाउँछ भने अब वैश्विक अर्थतन्त्रमा टिकिरहन केवल नियम पालना गरेर होईन बरु नियम बदलिँदा पनि निरन्तर सिकिरहनु बाट सम्भव छ। यस अर्थमा चीनको उत्पादन अनुभव कुनै राष्ट्रको जित–हारभन्दा बढी, त्यो यथार्थको सूचक हो—जहाँ संसार एकपटक फेरि बुझ्न बाध्य भएको छ कि उत्पादनको शक्ति अन्ततः राजनीतिक होहल्लाभन्दा गहन र दीर्घकालीन हुन्छ।
स्रोत: https://janchowk.com/
ट्रम्प–सी जिनपिङ भेटवार्तापछि व्यापारिक तनावमा शिथिलता
पेन्सनको अन्त्य कि राज्यको पलायन?
बजेट २०८२/८३: समाजवादलाई लात, दलाल पूँजीवादलाई साथ
अमेरिकाले थालेको नयाँ व्यापार युद्ध: के हुन सक्छ असर ?
अर्थमन्त्रीको देश डुबाउने आश्वासन : सिएले नोट खारेज गराएर देश उकास्ने आवश्यकता
एशियाका अन्य ३० देशहरु जोड्दा पनि चीनको अर्थतन्त्र नै ठूलो !
के अमेरिकाले आफूले जति चाह्यो त्यति डलर छाप्न सक्छ ?
प्रतिक्रिया