रेबीज : अत्यन्तै घातक तर बेलैमा उपचार गरे रोकथाम गर्न सकिने रोग
हाम्रो दैनिक जीवनमा कुकुर, बिरालो, बाँदर, गाई–बस्तु जस्ता जनावरहरूसँगको सम्पर्क सामान्य कुरा हो । यीमध्ये धेरै जनावर हाम्रो घरपालुवा हुन्छन् र एक किसिमले परिवारकै सदस्य जस्ता हुन्छन्। तर प्रकृतिले दिएको एउटा यथार्थ के हो भने जनावरसँग नजिकिँदा केही रोगहरूको जोखिम पनि सँगै आउँछ। तीमध्ये सबैभन्दा गम्भीर, संसारभरि लाखौँ मानिसको ज्यान लिने रोग हो रेबीज (Rabies)। विश्व स्वास्थ्य संगठनको २०२४ को तथ्याङ्कअनुसार वर्षेनी रेबीजका कारण संसारभरि ५९००० जनाको मृत्यु हुने गर्छ । तीमध्ये पनि ४० प्रतिशत १५ वर्षमुनिका बालबालिकाहरु हुने गर्छन् ।
रेबीज त्यस्तो रोग हो जसको नाम सुन्दा नै धेरैलाई डर लाग्छ, तर यस रोगको वारेमा जान्नै पर्ने जानकारी भने धेरैलाई हुँदैन। यही जानकारीको कमीका कारण धेरै मानिसहरु उपचारका लागि ढिला अस्पताल पुग्छन् वा अनावश्यक जोखिम मोलेर बस्छन्।
रेबीज के हो?
रेबीज एक प्रकारको भाइरसजन्य रोग हो, जुन मानिससहित सबै तातो–रगत भएका स्तनधारी जनावरहरूमा लाग्छ। यो रोग Lyssavirus नामक भाइरसका कारण हुने गर्छ । एकपटक शरीरमा छिरेपछि यो भाइरस मस्तिष्क (brain) र स्नायु प्रणाली (nervous system)लाई आक्रमण गर्छ। यस रोगको लक्षण देखिएपछि करिब १००% मृत्यु हुने भएकाले यो रोग मानव इतिहासकै सबैभन्दा घातक रोगहरूमध्ये एक मानिन्छ।
रेबीज भाइरसको उत्पत्ति कहाँबाट भयो?
वैज्ञानिकहरूको शोधअनुसार, Lyssavirus को उत्पत्ति धेरै पुरानो समयदेखि चमेरा (bat) प्रजातिबाट भएको मानिन्छ। चमेरा धेरै किसिमका भाइरसका प्राकृतिक “reservoir hosts” हुने भएकाले रेबीज जस्ता स्नायु प्रणालीमा आक्रमण गर्ने भाइरसहरूको विकास त्यही समूहबाट भएको देखिन्छ।
कहिलेकाहीँ जनावरबाट जनावरमा, अनि विस्तारै मानिसमा सर्ने क्रममा यो भाइरसले नयाँ–नयाँ स्वरूप लिने गरेको पाइन्छ। आज पनि विश्वका धेरै देशमा जंगली जनावरमा यो भाइरस स्वाभाविक रूपमा पाइन्छ । यसले गर्दा यस रोगको पूर्ण उन्मूलन गर्ने कुरा निक्कै चुनौतीपूर्ण छ ।
रेबीज कसरी सर्छ?
रेबीज कुकुरको टोकाइबाट मात्र सर्छ भन्ने भ्रम धेरैमा छ। तर वास्तविकता यसभन्दा फरक छ। रेबीज कुकुरबाट मात्र होइन, बिरालो, बाँदर, गाई–बस्तु, बँदेल, चमेरा तथा अन्य जंगली जनावरहरुबाट पनि सर्न सक्छ । अर्थात् ती सबै रेबीज फैलाउने सम्भावित स्रोत हुन् । त्यसैगरी, अर्को भ्रम भनेको कुकुर वा जनावरहरुले टोक्दा मात्रै रेविज सर्छ । तर वास्तविकता त्यसको विपरीत रेविजको भाइरस बोकेको जनावरले नङ्ग्राले चिथोर्दा वा कुनै पनि तरिकाले त्यसको र्याल (saliva) हाम्रो छालाको चोटपटक लागेको हिस्साको सम्पर्कमा आयो भने पनि संक्रमण हुन सक्छ। घाउ सानो होस् या ठूलो, त्यस्ता जनावरको र्याल हाम्रो छालाबाट भित्र छिर्न सके संक्रमण सुरु हुन सक्छ। त्यसबाहेक अत्यन्तै दुर्लभ भए पनि संक्रमित जनावरको र्याल हाम्रो आँखा, नाक वा मुखमा पर्यो भने पनि संक्रमण हुन सक्छ ।
शरीरमा छिरेपछि रेबीज भाइरसले के गर्छ?
रेबीज भाइरसको विशेषता के हो भने, यो भाइरस रगतमार्ग भएर सिधै मस्तिष्कमा जाने रोग होइन। यसको यात्रा निकै सुक्ष्म तर खतरनाक हुन्छ।
जनावरले टोक्दा वा चिथोर्दा भाइरस छालाबाहिरबाट शरीरमा प्रवेश गर्छ। यसरी शरीरमा प्रवेश गरेको रेविजको भाइरस रगतमा बढी सक्रिय हुँदैन। बरु स्नायु (nerves) को भित्री सुरुङमार्ग प्रयोग गरेर मस्तिष्कतर्फ यात्रामा निस्कन्छ।
यो यात्रा केही दिनमै पूरा पनि हुन सक्छ, वा केही समयको अन्तरालमा मात्र असर देखाउन पनि सक्छ। यतिबेला शरीरले लक्षण देखाउँदैन, तर भाइरस चुपचाप यात्रा गरिरहेको हुन्छ।
सबैभन्दा खतरनाक कुरा, रेविज भाइरसले मस्तिष्कमा ठूलो क्षति गरेपछि कुनै औषधि, एन्टिबायोटिक वा भ्याक्सिनले काम गर्दैन। यही कारण रेविज संक्रमणको लक्षण देखिएपछि मृत्यु दर लगभग १००% हुन्छ।
मस्तिष्कमा पुगेपछि भने भाइरस द्रुतगतिले बढ्छ, यसले स्नायु प्रणालीलाई बिगार्छ, र मानसिक तथा शारीरिक नियन्त्रण कमजोर पार्छ।
सबैभन्दा खतरनाक कुरा, रेविज भाइरसले मस्तिष्कमा ठूलो क्षति गरेपछि कुनै औषधि, एन्टिबायोटिक वा भ्याक्सिनले काम गर्दैन। यही कारण रेविज संक्रमणको लक्षण देखिएपछि मृत्यु दर लगभग १००% हुन्छ।
लक्षण कहिले देखिन्छ?
रेबीजमा सबैभन्दा खतरनाक कुरा लक्षण देखिने समय निश्चित हुँदैन। यसले व्यक्तिअनुसार धेरै फरक–फरक समय लिन्छ। सामान्यत: भाइरस शरीरमा छिरेको ४–५ दिनमै पनि लक्षण देखिन सक्छ । तर तुरुन्तै लक्षण नदेखिन पनि सक्छ । लक्षण देखापर्ने समय ३–६ महिना औसत मानिन्छ । तर अति दुर्लभ अवस्थामा २०–२५ वर्षपछि पनि लक्षण देखिन सक्छ । त्यसकारण उपचारतिर लाग्नुको साटो लक्षणको पर्खाइ गर्नु नै ज्यानलाई जोखिममा राख्नु हो।
रेबीजका लक्षणहरू
रेबीजका प्रारम्भिक लक्षणहरुमा ज्वरो, टाउको दुखाइ, थकान, घाउ वरिपरि पोलाइ, चिलाइ, चसक्क दुखाइ देखापर्दछन् । त्यसको बेलैमा उपचार भएन भने पछि गम्भीर लक्षण देखापर्न थाल्छ । खासगरी, पानी देख्दा डर लाग्ने (Hydrophobia), हावा लाग्दा डर लाग्ने (Aerophobia), अत्यधिक चिच्याउने, झट्का लाग्ने, बेहोस हुने, अत्यधिक आक्रोश वा बेचैनी देखापर्ने तथा श्वासप्रश्वासमा समस्या जस्ता लक्षणहरु देखिन्छन् ।
गम्भीर लक्षणहरु देखापर्नु भनेको रेबीजले अत्यधिक आक्रान्त तुल्याएको अवस्था हो । यी यी लक्षण देखिएपछि कुनै पनि आधुनिक चिकित्सा सफल हुँदैन।किनभने यस अवस्थामा भाइरसले मस्तिष्क र स्नायु प्रणालीका महत्वपूर्ण भागहरू स्थायी रूपमा नष्ट गरिसकेको हुन्छ।
यी गम्भीर लक्षणहरु देखापर्नु भनेको रेबीजले अत्यधिक आक्रान्त तुल्याएको अवस्था हो । यी यी लक्षण देखिएपछि कुनै पनि आधुनिक चिकित्सा सफल हुँदैन।किनभने यस अवस्थामा भाइरसले मस्तिष्क र स्नायु प्रणालीका महत्वपूर्ण भागहरू स्थायी रूपमा नष्ट गरिसकेको हुन्छ।हालसम्म मस्तिष्कको क्षति पुनः सुधार्ने कुनै औषधि संसारमा पत्ता लागिसकेको छैन।त्यसैले रेबीजमा “Prevention is the only cure” भन्ने मान्यता स्थापना भएको हो।
कसरी बच्ने?
रेबीजको सबैभन्दा महत्वपूर्ण पक्ष भनेको नै आवश्यक सावधानी हो । बेलैमा सावधानी अपनाइयो भने यसबाट १००% बच्न सकिन्छ ।
जनावरले टोकेको, चिथोरेको तथा त्यसको र्याल परेको शरीरको भागलाई तुरुन्तै सफा गर्नु सबैभन्दा महत्त्वपूर्ण कुरा हो । जनावरले टोकेको वा चिथोरेको भागलाई
१५ मिनेटसम्म साबुनपानीले धुनेगर्नुपर्छ । यसले भाइरसको धेरै भाग नष्ट गर्छ वा शरीरभित्र प्रवेश गर्न पाउँदैन । यो सबैभन्दा महत्वपूर्ण पहिलो कदम हो।
दोस्रो महत्त्वपूर्ण कार्य भनेको उपचारका लागि तुरुन्तै अस्पताल वा स्वास्थ्य केन्द्रमा जानुपर्छ ।
धेरैले खोप लगाउनको लागि "जनावर मर्छ कि बच्छ" भनेर पर्खिन्छन्। यो अत्यन्त गलत व्यवहार हो।जनावरको अवस्था हेर्दा–हेर्दै भाइरस शरीरभित्र फैलिसकेको हुन सक्छ।
चिकित्सकले जनावरको प्रकार, घाउको गहिराइ, टोकाइको स्थान, जनावर पाल्तु हो कि जंगली लगायतको कुराहरुको आधारमा उपचार तय गर्छन् ।
रेबीजको उपचारको सबैभन्दा मुख्य कडी भ्याक्सिन (Anti-Rabies Vaccine (ARV)) हो । भ्याक्सिन समयमै लगाइयो भने रेबीजबाट पूर्णत: बँच्न सकिन्छ ।
सामान्यत: के भ्रम छ भने भ्याक्सिन २४ घन्टाभित्र लगाउनैपर्छ । यो गलत हो। कुनै कारणवश भ्याक्सिन लगाउन छुट्यो भने पनि सकेसम्म छिटो लगाउनु पर्छ । एक हप्ता, एक महिना, यहाँसम्म कि एक वर्ष ढिलो भए पनि भ्याक्सिन लगाउनु उपयुक्त हुन्छ ।
गहिरो घाउ वा जंगली जनावरको टोकाइमा चिकित्सकले इम्युनोग्लोबिन (Rabies Immunoglobulin (RIG)) पनि दिन सक्छन्।यसले भाइरसलाई एकैचोटि निष्क्रिय बनाउन मद्दत पुर्याउँछ।
धेरैले खोप लगाउनको लागि "जनावर मर्छ कि बच्छ" भनेर पर्खिन्छन्। यो अत्यन्त गलत व्यवहार हो।जनावरको अवस्था हेर्दा–हेर्दै भाइरस शरीरभित्र फैलिसकेको हुन सक्छ। त्यसैले सबैभन्दा जरुरी र महत्त्वपूर्ण कुरा, जनावरले टोक्ने वा चिथोर्ने बित्तिकै वा जनावरको र्याल हाम्रो शरीरको घाउ, चोटपटक लागेको स्थानमा पर्नेबित्तिकै चिकित्सकको सल्लाह लिनु सबैभन्दा राम्रो हुन्छ ।
|
रेबीजबारे फैलिएका सामान्य भ्रम र सत्यताहरू भ्रम: कुकुरले मात्र रेबीज फैलाउँछ सत्य: बिरालो, बाँदर, गाई–वस्तु, बँदेल, चमेरा सबैबाट संक्रमण हुन सक्छ। भ्रम: २४ घन्टाभित्र भ्याक्सिन नलगाए रेबीज रोक्न सकिन्न ! सत्य: ढिलो भए पनि सकेसम्म छिटो भ्याक्सिन सुरु गरे रोग रोक्न सकिन्छ। भ्रम: जनावरलाई केही भएन भने मलाई पनि हुँदैन सत्य: जनावर स्वस्थ देखिए पनि भाइरस बोकेको हुन सक्छ। भ्रम: जडीबुटी वा घरेलु उपचारले निको हुन्छ ! सत्य: रेबीजको कुनै वैकल्पिक उपचार छैन। आधुनिक चिकित्सा मात्र एक्लो उपाय हो। |
नेपाल तथा विश्वमा रेबीजको स्थिति
धेरै देशमा कुकुरबाट फैलिने रेबीज अझै ठूलो समस्या छ।
विशेषगरी एशिया, अफ्रिकाका विकासोन्मुख देशहरूमा यसको जोखिम उच्च छ।
नेपालमा पनि अव्यवस्थित सडक कुकुर, जनावरको भ्याक्सिनको कमी, मानिसमा यस रोगबारे समुचित जानकारी अभाव जस्ता कारणले वर्षेनी धेरै मानिस जोखिममा पर्छन्।
रेबीजबाट बच्ने दीर्घकालीन उपायहरू
पाल्तु जनावरलाई नियमित भ्याक्सिन सबैभन्दा जरुरी कुरा हो । यस अर्थमा पनि रेबीजको रोकथामका लागि पाल्तु कुकुर/बिरालोलाई वार्षिक रेबीज भ्याक्सिन अनिवार्य गरिनुपर्छ।
रेबीज फैलाउने सबैभन्दा प्रमुख माध्यम भुस्याहा कुकुरहरु देखिन्छन् । त्यसैले तिनको व्यवस्थापन गरिनु जरुरी छ । यसका लागि TNR (Trap–Neuter–Release) कार्यक्रम प्रभावकारी मानिन्छ।
त्यसबाहेक, रेबीज रोग कति घातक छ र त्यसबाट कसरी बच्ने भन्ने बुझाउन सकेमा धेरै ज्यान जोगाउन सकिन्छ।
विद्यालय स्तरबाट जनस्वास्थ्य शिक्षा रेबीजबाट बचाउने अर्को उपाय हो । त्यसले बच्चाहरूलाई जनावरहरु कसरी व्यवहार गर्ने भनेर सिकाउन सजिलो हुन्छ ।
समग्रमा भन्दा रेबीज शून्य लापरबाही र शतप्रतिशत सतर्कतामा आधारित रोग हो। समयमै सावधानी अपनाइयो भने यो रोगलाई पूर्ण रूपमा रोक्न सकिन्छ, तर ढिलासुस्ती भयो भने लक्षण देखिएपछि कुनै उपचार काम लाग्दैन। त्यसैले कुनै पनि जोखिमयुक्त जनावरसँग सम्पर्क भएपछि लक्षणको पर्खाइ नगरी तुरुन्त घाउ सफा गर्नु, नजिकको स्वास्थ्य केन्द्रमा पुग्नु, र भ्याक्सिन सुरु गर्नु नै सबैभन्दा ठूलो जीवनरक्षक कदम हो।
रूसी चरित्र
नेटो: क्षेत्रीय र विश्व शान्ति तथा स्थिरताका लागि खतरा
वार्सा प्याक्टको विघटनपछि नेटो किन जारी रह्यो ?
कार्ल मार्क्सको कालजयी कृति ‘राजनीतिक अर्थशास्त्रको आलोचनामा योगदान’
नेता नम्बर एक सय एक
विश्व जित्ने सिकन्दर, सिकन्दरलाई पनि जित्ने डायोजिनिज !
लोकरिझ्याँइको अपहरणमा परेको नेपाली राजनीति
प्रतिक्रिया