उमेर बढ्दै जाँदा महिलाको भन्दा पुरुषको मस्तिष्क छिटो सुक्छ !

मानव मस्तिष्क जीवनभर बदलिँदै जान्छ। तर नर्वेको ओस्लो विश्वविद्यालयका वैज्ञानिकहरूले पत्ता लगाएअनुसार यो परिवर्तन पुरुष र महिलामा समान हुँदैन। उनीहरूको भनाइमा, उमेर बढ्दै जाँदा पुरुषको मस्तिष्क महिलाको भन्दा छिटो सुक्छ।
यो निष्कर्ष सानो नमुनाबाट होइन—साढे चार हजारभन्दा बढी स्वस्थ व्यक्तिको करिब १२,६०० वटा MRI स्क्यानको विश्लेषणबाट आएको हो। अध्ययनमा १७ देखि ९५ वर्ष उमेर समूहका मानिस सहभागी थिए।
वैज्ञानिकहरूले पत्ता लगाएअनुसार उमेर बढ्दै जाँदा महिलाहरुको तुलनामा पुरुषहरूमा मस्तिष्कको आयतन (brain volume) धेरै क्षेत्रमा र तीव्र गतिमा घट्छ। खासगरी स्मरणशक्ति, स्पर्श र दृष्टिसँग सम्बन्धित भागहरूमा यो कमी बढी देखियो। उदाहरणका लागि, स्पर्शसँग सम्बन्धित एउटा क्षेत्र पुरुषमा हरेक वर्ष करिब ०.२ प्रतिशतले घट्दै जान्छ भने महिलामा त्यो दर ०.१२ प्रतिशत मात्र रहन्छ। यो सानो अंकजस्तो लागे पनि, दशकौंको अन्तरमा यसको असर ठूलो हुन्छ।
अनुसन्धानले देखाएअनुसार यी परिवर्तनहरू वयस्क अवस्थाभर बिस्तारै भइरहन्छन्, तर ६० वर्षपछि यो प्रक्रिया झन तीव्र हुन्छ। वैज्ञानिकहरूले शिक्षा, जीवनशैली, र टाउकोको आकारजस्ता सम्भावित प्रभावहरू हटाएर गणना गर्दा पनि नतिजा त्यही रह्यो—पुरुषको मस्तिष्क छिटो सुक्छ।
तर यहाँ एउटा रोचक विरोधाभास छ। अल्जाइमर रोग (स्मृतिभ्रंशसँग सम्बन्धित दीर्घ रोग) भने महिलामा झन्डै दुई गुणा बढी देखिन्छ। त्यसैले सुरुमा धेरै वैज्ञानिकहरूलाई लाग्थ्यो—शायद महिलाको मस्तिष्क नै छिटो बुढ्यौलीमा पुग्ने हो। तर यो नयाँ तथ्यांकले त्यो सोच उल्ट्याइदिएको छ।
अब वैज्ञानिकहरू अन्य कारणहरूतर्फ फर्किएका छन्। जस्तै रजोनिवृत्तिपछि हुने हर्मोनल परिवर्तन, अल्जाइमरको जोखिम बढाउने APOE ε4 नामक जीन वा महिलाको आयु औसतमा लामो हुनु, जसले रोग देखिने सम्भावना पछिल्लो उमेरमा बढाउँछ।
केही अध्ययनहरूले त देखाएका छन् कि सोही APOE ε4 जीन महिलामा फरक ढंगले काम गर्न सक्छ । सम्भवत: महिलाको मस्तिष्कमा tau प्रोटिन बढी जम्मा हुन्छ। यी tau प्रोटिनहरू सामान्य अवस्थामा हानिरहित हुन्छन्, तर जब त्यो सक्रिय हुन्छ वा अरु अवयवहरुसँग प्रतिक्रिया गर्न थाल्छ, त्यसले मस्तिष्कका कोषहरूबीचको सन्देश प्रणाली नै बिगारिदिन्छन्। यही प्रक्रियाबाट अल्जाइमर रोग सुरु हुन्छ।
यो अनुसन्धानले महिलामा अल्जाइमर बढी हुनुको कारण उनीहरूको मस्तिष्क छिटो बुढ्यौलीतिर जानु होइन भन्ने पनि देखाएको छ । अल्जाइमर हुनुको कारण गहिरो जैविक र हर्मोनल तहमा लुकेको छ, जुन अझै पूर्ण रूपमा बुझिन बाँकी छ।
तर यति भने निश्चिन्त भनिहाल्न सकिन्छ—मस्तिष्कको उमेर बुढ्यौलीसँगै घट्ने कुरा स्वाभाविक हो, तर त्यसको गति र प्रभाव हाम्रा जीन, जीवनशैली र हर्मोनले निर्धारण गर्छन्। त्यसैले नियमित मानसिक व्यायाम, सन्तुलित आहार, र सामाजिक सक्रियता—यी कुरा मस्तिष्कलाई दीर्घकालसम्म ताजा राख्ने सबैभन्दा सरल तर प्रभावकारी उपाय हुन् ।
प्रतिकात्मक तस्विर: https://www.shortform.com

किन कफी चिया खाँदा तरोताजापन महसूस हुन्छ ?

विगतका सबै कुरा सम्झन सक्ने अनौठो क्षमता !

अढाइ लाख वर्षदेखि सुतेको ‘जोम्बी ज्वालामुखी’ उतुरुनकुमा जीवनको हलचल

र्यालले घाउ निको पार्ने काम पनि गर्छ !

क्युमुलस बादल: आकाशको रूइ झैँ देखिने तर झुक्याउने बादल

पुरुषको भन्दा महिलाको मुटु किन बढी धड्कन्छ?

शङ्खेकीरा र मानव मस्तिष्कको तुलना

प्रतिक्रिया