वर्षामापनको विज्ञान

यतिखेर मुलुकका धेरै भूभागहरुमा पानी परिरहेका छन् । कतै दर्कै झरी छन् भने कतै सिमसिमे । यो अवस्थालाई जनाउँदै हामीले रेडियो, टिभी, अखबार तथा अनलाइनहरु तिर सुन्ने–पढ्ने गरेका छौं– आज फलाना ठाउँमा  हल्का वर्षा, मध्यम वर्षा र भारी वर्षा भयो । वास्तवमा वर्षालाई जनाउने यो  "हल्का", "मध्यम" र "भारी" भन्ने कुरा केवल अनुभवमा मात्रै होइन, वैज्ञानिक हिसाब–किताबमा पनि वर्गीकृत गरिएको हुन्छ। वर्षाको मापन मिलिमिटर प्रति घण्टा (mm/hr) मा गरिन्छ, र यही दरलाई आधार बनाएर वर्षाको प्रकृति छुट्याइन्छ।

सबैभन्दा पहिले कुरा गरौं हल्का वर्षाको । प्रतिघण्टा २.५ मिलिमिटर भन्दा कम पानी परिरहेको छ भने त्यसलाई हल्का वर्षा भनिन्छ। यस्तो पानीमा छाता नभए पनि केही मिनेट हिँड्दा शरीर अलि चिसिन्छ तर लत्ताकपडाले खासै भिजेको महसुस गर्दैन। सडकमा धुलो चपक्क बस्छ, हावामा सुँगधिलो गन्ध आउँछ, तर दैनिक जीवनलाई खासै असर गर्दैन।

तर जब वर्षा २.५ देखि ७.५ मिलिमिटर प्रति घण्टाको दरमा पर्न थाल्छ, त्यसलाई मध्यम वर्षा भनिन्छ। यस्तो पानी पर्दा त्यत्तिकै हिँड्न सकिन्न । शरीर वा मालमत्ता भिज्नबाट जोगाउनका लागि छाता आवश्यक हुन्छ । सडक र गल्लीहरू चिप्ला हुन्छन्, गाडी चलाउँदा हेडलाइट बाल्नुपर्ने हुन सक्छ। निरन्तर यस्तै दरमा पानी परे भने खेतबारीका लागि फाइदा हुन्छ, तर सहरमा भने सडकमा बग्ने–जम्ने पनीको कारण ट्राफिकमा गत्यारोध आउने, पोखरी बन्ने र दैनिकी अलि असहज हुने गर्छ।

७.६ मिलिमिटर भन्दा बढी पानी एक घण्टामा झरिरहेको छ भने त्यो भारी वर्षा हो। यस्तो समयमा पानीको आवाजै फरक हुन्छ—छाना, टिन वा ढुङ्गामा टपक्क परेका बूँदले सतह ढाकिदिन्छन्। केही मिनेटमै सडकमा खोल्साजस्तो पानी बग्न थाल्छ, नालाहरू भरिन्छन्, अनि नदी–नाला एक्कासी बढ्न सक्छन्। यसले केवल असुविधा मात्र होइन, खोला नदीनालाहरुको बहाव क्षेत्र मिचेर बस्ती बसाइएका शहरी क्षेत्रमा वितण्डा निम्त्याउने  जोखिम पनि बोकेको हुन्छ।

त्योभन्दा माथि अझ एक स्तर छ—अति भारी वर्षा। जब पानी ५० मिलिमिटर भन्दा बढी दरमा पर्छ, त्यसलाई प्रायः विपत्तिजनक स्तर मानिन्छ। यस्तो वर्षाले केही घण्टामै पहिरो खसाल्न सक्छ, बाढी ल्याउन सक्छ, गाउँ–सहरलाई ठप्प पार्न सक्छ। यही कारण मौसम विज्ञहरूले चेतावनी दिँदा प्रायः “२४ घण्टामा १०० मिलिमिटर भन्दा बढी पानी पर्न सक्ने” जस्ता वाक्य प्रयोग गर्छन्, जसले आपत्कालीन तयारी गर्न सन्देश दिन्छ।

यसरी हेर्दा हामीले सामान्यतया प्रयोग गर्ने “हल्का पानी”, “मध्यम पानी” र “भारी पानी” भन्ने शब्दहरू केवल भाषिक रूपक मात्र होइनन्, त्यसको वैज्ञानिक परिभाषा पनि हुन्छ। विश्व मौसम संगठन (World Meteorological Organization) र नेपाल–भारतका मौसम विभागहरूले यही वर्गीकरणलाई आधार मानेर वर्षाको विवरण दिने गर्छन्।

वर्षाको दर (Rainfall Intensity)

वर्गीकरण

दर (mm प्रति घण्टा)

सामान्य अनुभव

हल्का (Light)

< 2.5 mm/hr

छाता नभए पनि केही मिनेट सहन सकिने, लत्ताकपडा खासै नभिज्ने

मध्यम (Moderate)

2.5 – 7.5 mm/hr

सडक र गल्ली चिप्ला हुने, छाता आवश्यक पर्ने

भारी (Heavy)

> 7.6 mm/hr

छोटो समयमा सडकमा पानी जम्ने, नदी–नाला बढ्ने

अति भारी (Very Heavy)

> 50 mm/hr

बाढी, पहिरो, फ्ल्यास फ्लडको उच्च जोखिम

यो तालिका हेर्दा सजिलै बुझिन्छ कि “हल्का पानी” भन्नाले कस्तो परिमाणलाई जनाइन्छ र “भारी पानी” भन्नासाथ किन सावधान हुनुपर्ने हुन्छ।