अन्तिम नृत्य

“महान् विपत्तिहरूले मलाई त्यति धेरै छोएको छैन,” मानिसहरूले शङ्कालु भन्ने गरेका एकजना बुढो कुमार जॉन ब्रिडेलले भने । “मैले युद्धलाई नजिकैबाट देखेको छु; लाशमाथि हिँडेको छु तर दया जागेन। प्रकृति वा मानवताको ती विशाल र क्रूर सत्यहरूले भय वा आक्रोशका चीत्कार त निकाल्छन्, तर तिनले हाम्रो मुटु कस्ने त्यो वेदनापूर्ण गाँठो, र मेरुदण्डमा चिसो कम्पन पैदा गराउने ती स–सानो तर हृदयविदारक क्षणजस्ता अनुभूति जगाउँदैनन्।”

मलाई लाग्छ मानव जीवनको सबैभन्दा गहिरो पीडा आमाले सन्तान गुमाउँदा, वा सन्तानले आमालाई गुमाउँदा भोग्ने दुःख नै हो। त्यो पीडा असह्य हुन्छ, प्रचण्ड हुन्छ, हृदय च्यात्ने र मनलाई विचलित तुल्याउने हुन्छ। तर यस्ता प्रहारहरू पनि समयक्रममा ठूलो रगत बग्ने घाउ अन्तत: भरिए जस्तै  गरी निको हुन्छन् । तर कतिपय भेटघाटहरू, अस्पष्ट देखिएका वा अनुमानमा मात्र बाँकी रहेका दृश्यहरू, गोप्य पीडाहरू, भाग्यका सूक्ष्म व्यङ्ग्यात्मक खेलहरूले भने हाम्रो मनमा अनन्त दुखको संसार उघारिदिन्छन्। यस्ता घटनाले हामीलाई नैतिक पीडाको रहस्यमय ढोका खोलिदिन्छन् । त्यो अत्यन्तै जटिल, असाध्य, गहिरो हुन्छ ।  तिनीहरू बाहिरी रूपमा निर्दोष देखिन्छन्; झन् तीतो, किनकि तिनीहरूलाई छुन सकिँदैन; झन् अडिग, किनकि तिनीहरू लगभग काल्पनिक लाग्छन्। तिनले आत्मामा एउटा गहिरो उदासीको छाप छाड्छन् । त्यसले दिने तिक्तताको स्वाद, मोहभङ्गको अनुभूतिबाट छुटकारा पाउन धेरै समय लाग्छ।

मलाई लाग्छ मानव जीवनको सबैभन्दा गहिरो पीडा आमाले सन्तान गुमाउँदा, वा सन्तानले आमालाई गुमाउँदा भोग्ने दुःख नै हो।

मेरो मनमा सधैं दुई–तीन कुरा झल्झली बस्छन् । त्यसलाई सायद अरूले कहिल्यै ख्याल गर्लान। तर ती तीखो सुइँ जस्तै मेरा अस्तित्वमा सूक्ष्म तर असाध्य तीखो तर कहिल्यै निको नहुने गरी रोपिएर बसेका छन् ।

“तिमीहरूले सायद ती सानातिना प्रभावहरूले मेरो मनमा छोडेको भावुकतालाई बुझ्न सक्दैनौ । तर म तिमीलाई तिनमध्ये एक सुनाउँछु। ऊ धेरै बुढी तर चञ्चलतामा युवतीझैँ थिइन्। सायद मेरो भावुक कल्पनाले मात्र यसलाई असाध्यै बढाइदिएको हो।

म अहिले पचास पुगेको छु। त्यतिबेला भने म जवान थिएँ, कानून पढ्दै थिएँ। केही उदास, केही स्वप्निल, निस्सारवादी दर्शनले भरिएको, र कोलाहलपूर्ण क्याफे, हल्ला गर्ने साथीहरू, वा नीरस केटीहरूमा खासै रुचि राख्दिनथेँ। म बिहानै उठ्थें, र करिब आठ बजे लक्जेम्बर्गको नर्सरी बगैँचामा एक्लै हिंड्नु मेरो प्रमुख आनन्दमध्ये एक थियो।

म अहिले पचास पुगेको छु। त्यतिबेला भने म जवान थिएँ, कानून पढ्दै थिएँ। केही उदास, केही स्वप्निल, निस्सारवादी दर्शनले भरिएको, र कोलाहलपूर्ण क्याफे, हल्ला गर्ने साथीहरू, वा नीरस केटीहरूमा खासै रुचि राख्दिनथेँ।

तिमीहरूले त्यो नर्सरी बगैँचा देखेकै छैनौ होला। त्यो मानौँ अघिल्लो शताब्दीको बिर्सिएको एक वृद्ध स्त्रीको कोमल मुस्कानझैँ सुन्दर बगैँचा थियो । बाक्ला झाडीहरूले व्यवस्थित तर साँघुरा बाटाहरू छुट्याएका थिए । शान्त बाटाहरू, जसका दुवै किनारमा सावधानीपूर्वक काटछाँट गरिएका पातका भित्ताहरू ठडिएका थिए। मालीको ठूलो कैँची निरन्तर चलिरहन्थ्यो, ती हरिया पर्खालहरू छाँटिरहन्थ्यो। कतैकतै फूलका थुम्का भेटिन्थे, कतै मानौँ स्कुलका केटाकेटीहरू हिँडाइमा निस्किएका; कतै भव्य गुलाबका झुम्का, कतै फलफूलका रूखहरूको रेजिमेन्ट जस्तै लहरै ठडिएका साना रूखहरू भेटिन्थे ।

यस रमणीय बगैँचाको एउटा कुनो पूरै मौरीहरूको बासस्थान थियो। परालका मौरीघारहरू बोर्डहरूमा निश्चित दूरीमा सजाइएका, सुइको टुप्पो जति सानो द्वार सूर्यतर्फ फर्काइएका; र ती बाटाहरूमा सधैं सुनौला, भनभन गर्ने यी पखेटे कीराहरू भेटिन्थे । तिनीहरु यस शान्त स्थानका साँचिका स्वामीहरू, यी शान्त बाटाहरूका वास्तविक पदयात्री थिए ।

ढोका खुल्नेबित्तिकै यो बगैँचा धाउने म मात्रै होइन रहेछु भन्ने  चाँडै नै मैले महसुस गरेँ । कतैकतै बाटो मोडिँदा, मेरो सामना प्रायः एउटै अनौठो सानो बुढो मानिससँग हुन्थ्यो।

म लगभग हरेक बिहान त्यहाँ पुग्थेँ। एउटा बेञ्चमा बस्थेँ, किताब पढ्थेँ। कहिलेकाहीँ स्वप्निल हुँदै बस्न, वरिपरिको पेरिसको जीवन सुन्न, र ती पुरानो ढङ्गका झाडीहरूले दिने अनन्त शान्तिको आनन्द लिन किताब घुँडामा खस्न दिन्थे ।

तर ढोका खुल्नेबित्तिकै यो बगैँचा धाउने म मात्रै होइन रहेछु भन्ने  चाँडै नै मैले महसुस गरेँ । कतैकतै बाटो मोडिँदा, मेरो सामना प्रायः एउटै अनौठो सानो बुढो मानिससँग हुन्थ्यो।

उनले चाँदीको बकल भएका जुत्ता, घुँडासम्मका पाइन्ट, धूलो–खैरो कोट, लेसको फ्रिल, र अचम्मको फराकिलो छाता भएको पुरानो खालको खैरो टोप लगाएका हुन्थे  । त्यो देख्दा यस्तो लाग्थ्यो मानौँ उनी पुरानो जहाजबाट आएका हुन् ।

शुरुमा ती बृद्धले मलाई अचम्भित तुल्यायो, त्यसपछि भने गहिरो चासो जगायो।

उनको शरीर दुब्लो, अत्यन्तै दुब्लो, हड्डी–पसली देखिने, मुखमा निरन्तर विकृत हाँसो, झलक्क मुस्कान भरिएको हुन्थ्यो । उनका चम्किला आँखा निरन्तर झिम्किइरहेका हुन्थे। उनको हातमा सधैं  सम्भवत: उनको जीवनको कुनै गौरवशाली सम्झना गराउने सुनको टुप्पो भएको भव्य लठ्ठी हुन्थ्यो ।

शुरुमा ती बृद्धले मलाई अचम्भित तुल्यायो, त्यसपछि भने गहिरो चासो जगायो। म उनलाई पातका भित्तामार्फत नियाल्थेँ, झाडीको मोडमा रोकिँदै, आफू देखिनु नपरोस् भनेर टाढैबाट पछ्याउँथें ।

र एक बिहान, आफू एक्लो छु भन्ने महसूस गरेर उनले अचम्मका भंगिमा प्रदर्शन गर्न थाले। पहिले स–साना फड्काहरू मार्थे, अनि निहुरेर प्रणाम गर्थे। त्यसपछि ती दुब्ला खुट्टाले हाम फालेर दुवै पाइताला आपसमा ठोक्थे, चतुराईसाथ शरीर मोड्थे, चञ्चल बालकझैँ उफ्रन्थे, नाच्थे। उनको अनुहारमा मुस्कान थियो मानौँ दर्शकहरू सामु उनी खेल्दैछन्। त्यो सानो कठपुतलीजस्तो शरीर मर्किन्थ्यो, शून्यतर्फ निहुरेर हास्यास्पद र करुण अभिवादन गर्थ्यो। उनी नाचिरहेका थिए।

म स्तब्ध भएर उभिएँ, आफैलाई प्रश्न गरेँ–हामीमध्ये पागल को हो? ऊ कि म?

अचानक उनी रोकिए, अनि रंगमञ्चमा कलाकारको शैलीमा अघि बढे, निहुरे, फेरि पछि हटे, शालीन मुस्कानसहित एक कलाकारले गर्ने शैलीमा आफ्नै आफ्ना हातलाई चुमे काँपिरहेको हात चुम्दै दुई पंक्तिमा काटछाँट गरिएका बोटबिरुवातर्फ इशारा गर्‍यो।

म स्तब्ध भएर उभिएँ, आफैलाई प्रश्न गरेँ–हामीमध्ये पागल को हो? ऊ कि म?

त्यसपछि उनी फेरि गम्भीर मुद्रामा हिंड्न थाले।

त्यसपछि मैले उनलाई कहिल्यै उनलाई ओझेल हुन दिइनँ, र हरेक बिहान उनी आफ्ना ती अनौठा अभ्यासहरू पुनः सुरु गर्थे।

मलाई उनीसँग कुरा गर्न असह्य जिज्ञासा भयो। अन्ततः जोखिम मोल्ने निधो  गरें एक दिन, उनलाई अभिवादन गरेपछि भनेँ :“आजको दिन निकै सुन्दर छ, मेसिँयुर।”

उनी हल्का निहुरे।

“हो, सर, मौसम त पहिले जस्तै नै छ।”

एउटा हप्ता बित्न नपाउँदै हामी साथी बनिसकेका थियौं  र मैले उनको इतिवृत्तान्त थाहा पाइसकेका थिएँ । उनी लुई पन्ध्रौँको समयमा ओपेरामा नृत्य–गुरु रहेछन्। उनको त्यो सुन्दर लठ्ठी त क्लेर्मोन्तको काउन्टले दिएको उपहार रहेछ। अनि जब नृत्यको विषय आउँथ्यो, उनी कहिल्यै रोकिन्नथे।

यो बगैँचा, देख्नुहुन्छ नि! यही नै हाम्रो आनन्द, हाम्रो जीवन हो। विगतका दिनहरूलाई सम्झाउने यही त बाँकी छ। लाग्छ, यो नहुँदो हो त हामी बाँच्नै सक्दैनथ्यौँ। यो पुरानो छ, विशिष्ट छ । हैन र?

एउटा दिन उनले मलाई भने :“मैले नर्तिका ला कास्त्रिस सँग विवाह गरेको हुँ, मेसिँयुर (महाशय)। तपाईं चाहनु हुन्छ भने म  उनीसँग भेटाइदिन्छु, तर उनी ढिलो मात्र आउँछिन्। यो बगैँचा, देख्नुहुन्छ नि ! यही नै हाम्रो आनन्द, हाम्रो जीवन हो। विगतका दिनहरूलाई सम्झाउने यही त बाँकी छ। लाग्छ, यो नहुँदो हो त हामी बाँच्नै सक्दैनथ्यौँ। यो पुरानो छ, विशिष्ट छ । हैन र? मलाई लाग्छ, यहाँको हावा मैले जवान हुँदा श्वास फेरेको हावाजस्तै नै छ। मेरो श्रीमती र म हरेक दिउँसो यहीँ बिताउँछौँ, तर म बिहानै आउँछु, किनकि म चाँडै उठ्छु।”

म दिउँसोको भोजन सकेपछि तुरुन्तै लक्जेम्बर्ग फर्किएँ, र केहीबेरमै देखेँ मेरा मित्रले प्रणयपूर्वक आफ्नो हात एक वृद्ध नारीलाई अर्पण गर्दै थिए, कालो पोशाकमा सजिएकी ती सानी बुढीसँग उनले मलाई परिचय गराए। उनी थिइन् ला कास्त्रिस–महान् नृत्याङ्गना, राजकुमारहरूको प्रिय, राजाको प्रिय, र त्यो सम्पूर्ण शताब्दीको प्रिय, जसले संसारमा प्रेमको सुगन्धमय वायुमण्डल छोडेर गएको छ।

हामी एउटा बेञ्चमा बस्यौँ। त्यो मे महिनाको समय थियो। फूलहरूको सुगन्ध ती सफा बाटाहरूमा तैरिरहेको थियो; तातो घामका किरणहरू हाँगाबीच छिर्दै हामीमाथि उज्यालोको थोप्ला छर्दै थिए। ला कास्त्रिसको कालो पोशाक मानौँ सूर्यप्रकाशमै भिजिरहेको जस्तो देखिन्थ्यो।

“ल मनुए', मेसिँयुर, नृत्यहरूको रानी हो, र रानीहरूको नृत्य ! बुझ्नुभयो? अब राजतन्त्र छैन, त्यसैले ल मनुए पनि छैन।”

बगैँचा सुनसान थियो। टाढाबाट गाडी–गुडगुडको आवाज मात्र सुनिन्थ्यो। म ती वृद्ध नर्तिकालाई फर्केर भनें : “मलाई भन्नुहोस्, 'ल मनुए' के हो?”

उनी चकित भए।

“ल मनुए', मेसिँयुर, नृत्यहरूको रानी हो, र रानीहरूको नृत्य ! बुझ्नुभयो? अब राजतन्त्र छैन, त्यसैले ल मनुए पनि छैन।”

त्यसपछि उनले राजकीय शैलीमा लामो स्तुति–वर्णन सुरु गरे, जसको आधा मैले बुझ्न सकिनँ। म पाइलाहरू, चालहरू, अवस्थाहरू सबै प्रष्ट रूपमा थाह पाउन चाहन्थेँ । उनी झस्किए, आफूलाई स्पष्ट पार्न नसकेकोमा हैरान भए, अस्थिर र चिन्तित देखिन थाले।

अचानक उनले अहिलेसम्म मौन र गम्भीर आफ्नो पुरानो सहचारिणीतिर  फर्केर भने :

"एलिस, तिमी... हैन, तिमी त्यो के हो भन्ने कुरा यी सज्जनलाई देखाइदिन्छ्यौ ? त्यसो गर्न पाए धेरै राम्रो हुनेथियो।"

उनले असजिलोसँग चारैतिर नजर डुलाइन्, अनि कुनै शब्द उच्चारण नगरी उठिन्, र उसको विपरीत दिशामा आफ्नो स्थान ग्रहण गरिन्।

त्यसपछि मैले एक अद्भुत दृश्य देखें।

उनीहरू बालकझैँ हाँसोका भंगिमा पार्दै, मुस्कुराउँदै, एकअर्कालाई घुमाउँदै, निहुरिँदै, फड्किँदै अलि जीर्ण तर आफ्नो समयका निपुण कारिगरले बनाएका पुरानो मेकानिकल यन्त्रले चलाइरहेका दुई कठपुतलीहरू जस्तै अघि बढ्थे र पछि हट्थे ।

अचानक उनीहरू रोकिए। नृत्यका सबै भंगिमा समाप्त भएका थिए। केही क्षणसम्म उनीहरू एकअर्काका आमनेसामने अचम्म लाग्ने मुस्कानसहित उभिए । त्यसपछि उनीहरु सुक्सुकाउँदै एकअर्कोको अङ्गालोमा बाँधिए ।

मैले उनीहरूलाई नियालिरहेँ। मेरो हृदय असाधारण भावनाले भरियो, आत्मालाई भने अवर्णनीय उदासीले छोयो। मेरो सामु एकैसाथ करुण र हास्यास्पद आकृति प्रकट भएको जस्तो लाग्यो–एक अघिल्लो शताब्दीको विस्मृत प्रेत, समयको पुरानो भूत।

अचानक उनीहरू रोकिए। नृत्यका सबै भंगिमा समाप्त भएका थिए। केही क्षणसम्म उनीहरू एकअर्काका आमनेसामने अचम्म लाग्ने मुस्कानसहित उभिए । त्यसपछि उनीहरु सुक्सुकाउँदै एकअर्कोको अङ्गालोमा बाँधिए ।

के उनीहरू मरिसके? वा आधुनिक सडकहरूमा निराश निर्वासितझैँ भौँतारिँदै छन्? वा चन्द्रमाको उज्यालोमा, समाधि, बगैँचाका साइप्रसहरूबीच, चिहानले घेरिएका बाटाहरूमा उनीहरू अझै नाचिरहेका छन्

तीन दिनपछि म प्रान्ततर्फ गएँ। मैले उनीहरूलाई फेरि कहिल्यै देखिनँ। दुई वर्षपछि पेरिस फर्किंदा त्यो नर्सरी ध्वस्त भइसकेको थियो। अनि उनीहरू– के भए होलान्? विगतको सुगन्ध, अल्पविरामका गल्छीहरू, झाडीहरूको कोमल मोडहरूसहितको  त्यो प्रिय बगैँचा गुमाएर जीवनमा के उनीहरू टिक्न सके होलान्?

के उनीहरू मरिसके? वा आधुनिक सडकहरूमा निराश निर्वासितझैँ भौँतारिँदै छन्? वा चन्द्रमाको उज्यालोमा, समाधि, बगैँचाका साइप्रसहरूबीच, चिहानले घेरिएका बाटाहरूमा उनीहरू अझै नाचिरहेका छन्? हास्यास्पद प्रेतहरूझैँ, एक अद्भुत ल मनुए, अन्तिम नृत्य?

उनीहरुको सम्झनाले अझै मलाई पछ्याइरहन्छ, सताइरहन्छ, पीडित पारिरहन्छ–एक घाउझैँ। किन? म जान्दिनँ।

पक्कै पनि तपाईहरुलाई यो कुरा एकदम हास्यास्पद लाग्छ होला?

Delphi Classics: Complete works of Guy De Maupassant बाट नेपालीमा अनुदित ।
अनुवाद: हर्कबहादुर प्रधान