म एक्काइसौँ शताब्दीकी महिला

आस्था मानेर या अन्धविश्वासमा जकडिएर

स्वतःस्फूर्त या बाध्यतावश

अहँ नसोध

केही थाह छैन मलाई

यो आस्था हो या शोषणको पराकाष्ठा ?

यत्ति थाह  छ

जान अनजान जे जसरी भए पनि

महाभारतमा द्रौपदीको चीरहरण जस्तै

यो युगमा पनि

स्वयं दुर्योधन बनेर दुःशासन  बनेर

म उतारिरहेकी छु

आफ्नै अस्तित्वको हुर्मत

म एक्काइसौँ शताब्दीकी महिला  !

 

कहिलेकाहीँ म निकै बेर मजाक गर्छु

आफ्नै अस्तित्वसँग

उपहासले खित्का छोड्दै अट्टहास हाँस्छु

अस्तित्वको उपेक्षा बोकेर

कहिले श्री स्वस्थानी उभिन्छ मेरो अघि

कहिले साउने व्रत

ऋतुहरू नाघ्दै नाघ्दै

आइ पुग्छ ऋषिपञ्चमी पनि

 अस्तित्व सम्झाउन

 

म किंकर्तव्यविमूढ हुन्छु

हैरानी देखाउनु या अनुगृहीत बन्नु ?

मलाइ थाह छैन

अफसोस गर्नु या अहोभाग्य सम्झनु ?

जे -जसरी भए पनि

चुपचाप-चुपचाप त्यसलाई अनुसरण गर्छु !

म एक्काइसौँ शताब्दीकी महिला !

 

मलाइ के को लाज के को घिन ?

यो त परम्परा हो धान्नु छ मैले पनि

आखिर के फरक पर्छ शताब्दी बद्लिनुले ?

के असर देखाउँछ युग घटित हुनुले ?

 

देखेकी छु त्यो दृश्य -

हजुर आमा हुँदै मेरी आमासम्म

आफ्नो पतिको चरणमा लम्पसार

गर्दै गरेको पैतालाको जलपान

मानौँ त्यो जल पानी होइन अमृत हो

जसलाई पिएर उनले अमरत्व प्राप्त गर्छिन् ।

 

यो त संस्कार हो, परम्परा हो

धान्नु छ मलाइ पनि गर्नु छ यही

बन्नु छ पुरुष मात्रकी सेवक !

म एक्काइसौं शताब्दीकी महिला !

 

शास्त्र भन्छ -

ए आइमाई !

तँ जन्मनु नै अभिशाप हो

महिनावारी कुनै शारीरिक प्रक्रिया होइन

यो त महापाप हो

हजार कर्म गरेर तैँले पखाल्नु पर्छ

 

आखिर के नै फरक पर्छ ?

म अशुद्ध बाट जन्मिएको छ यो शुद्ध सृष्टि

मबाट धानिएको छ

म छु र चलेको छ यो विशाल संसार

 

कहिलेकाहीँ म आफ्नै पहिचानमा भ्रमित हुन्छु

सोध्छु समाजसँग

आखिर के फरक छ ?

नारी हुनु र दासी हुनुमा ?

पत्नी हुनु र भक्त हुनुमा ?

सेवक हुनु र आइमाई हुनुमा ?

आखिर के फरक छ ?

 

खैर ... अनुत्तरित प्रश्नहरू

 

मलाइ यत्ति थाह  छ

जान अनजान जे जसरी भए पनि

महाभारतमा द्रौपदीको चीरहरण जस्तै

यो युगमा पनि

स्वयं दुर्योधन बनेर दुःशासन बनेर

म उतारिरहेकी छु आफ्नै अस्तित्वको हुर्मत !

म एक्काइसौँ शताब्दीकी महिला  !!