धर्म, राजनीति र महत्वाकांक्षा: पाकिस्तान र भारतको विभाजनको दु:खान्त

मुसलमानहरूको लागि अलग राष्ट्रको माग गर्दै भारत विभाजन गरी अलग देश पाकिस्तान बनाउने मोहम्मद अली जिन्ना आफैंमा कट्टर मुसलमान थिएनन्। वास्तवमा उनी इस्लाम धर्मलाई अभ्यास नगर्ने मुसलमान थिए। उनका हजुरबुवा हिन्दू थिए, तर उनका बुवा माछा व्यापारमा लागेपछि आफ्ना सगोत्री हिन्दूहरू, जो साकाहारी थिए, उनीहरूले गरेको अपमानका कारण मुसलमान बनेका थिए।

बेलायतमा पढेका जिन्ना एकदमै सफल वकिल थिए। उनले आफ्नो पेशाबाट पर्याप्त मात्रामा पैसा कमाएका थिए। उनको जीवनशैली बेलायती सम्भ्रान्तको जस्तै थियो। जिन्ना एक पटक लगाएको टाई फेरि लगाउँदैन थिए, उनीसँग करिब २०० वटा सिलाएका सुट थिए र उनका लुगा लन्डनको प्रख्यात टेलरकोमा सिलाइन्थ्यो।

इस्लाम धर्ममा सुंगुरको मासु खानु बर्जित (हराम) मानिन्छ तर जिन्नालाई पोर्क ससेज मन पर्थ्यो। एक पटक एउटा रेस्टुरामा बसेर जिन्ना कफी र ससेज खाइरहेका थिए। त्यही बेला एक जना वृद्ध मुसलमान आफ्नो नातिसँग जिन्ना बसेको टेबलमा आइपुगे र गफ गर्न थाले। उनको नातिले जिन्नाको प्लेटबाट ससेज निकालेर खान थाल्यो।

केही बेर कुरा गरेपछि ती वृद्ध आफ्नो बाटो लागे।

जिन्नाले आफ्ना निजि सचिवलाई भने, "तिमीले त्यो बच्चाले ससेज खाइरहँदा किन रोकेनौ?"

सचिवले जवाफ दिए, "मैले   चुनावमा तपाइको हार र बच्चाको नर्क यात्रा मध्य छान्न पर्दा तपाइको पक्ष लिए।" चरम महत्वाकांक्षी जिन्नाको लागि धर्म राजनीतिमा सफल हुने साधन मात्र थियो, साध्य होइन।

अर्का गुजराती नेता महात्मा गान्धीको जीवन भने जिन्नाको भन्दा ठीक विपरीत थियो। जिन्ना भन्दा केवल ७ वर्ष जेठा गान्धीले पनि बेलायतबाटै वकालत अध्ययन गरेका थिए। तर गान्धी धोती र बर्को ओडेर हिड्थे। उनी शुद्ध साकाहारी थिए र बाख्राको दूध पिउँथे। गान्धी वैष्णव धर्म मान्ने हिन्दू थिए र राजनीतिक कार्यक्रमको रूपमा प्रार्थना सभा, उपवास जस्ता औजारहरू प्रयोग गर्थे।

त्यस्तै, भारतका अर्का महत्वपूर्ण नेता थिए विनायक दामोदर सावरकर। सावरकर हिन्दुत्ववादी नेता थिए। उनी भारतलाई हिन्दू राष्ट्र बनाउन चाहन्थे। तर उनी व्यक्तिगत रूपमा कुनै कट्टर हिन्दू आस्तिक थिएनन्, बरु नास्तिक थिए। उनी गाईलाई बाच्छा-बाच्छीको मात्र माता मान्थे, हिन्दूको होइन।

एक पटक बेलायतमा गान्धी उनलाई भेट्न कोठामा आए। सावरकर खाना पकाइरहेका थिए। कुराकानीको क्रममा सावरकरले गान्धीलाई खाना खाएर जान आग्रह गरे। खान पस्किँदा थालमा झिङ्गे माछा देखेर साकाहारी गान्धी तर्सिए। सावरकरले व्यंग्य गर्दै भने, "यो त उसिनेको माछा मात्र हो, हामीलाई त त्यस्ता मान्छे चाहिएको छ जसले अंग्रेजलाई जिउँदै खान सकोस्।"

भारतको अफगानिस्तानसँग सिमाना जोडिएको ठाउँमा एक जना प्रख्यात पठान थिए, खान अब्दुल गफ्फार खान, जसलाई सिमान्त गान्धी भनेर पनि सम्बोधन गरिन्थ्यो। उनी गान्धीबाट प्रभावित थिए र शान्तिपूर्ण तरिकाले आन्दोलन गर्थे। जसको कारण उनलाई र उनको संगठनमाथि बेलायतले धेरै बर्बर दमन गरेको थियो। तर खान अब्दुल गफ्फार खान अहिंसात्मक आन्दोलनबाट टसमस भएनन्।

खान अब्दुल गफ्फार खान देश विभाजनको पक्षमा थिएनन्। उनी मुसलमानको लागि अलग राष्ट्र भन्ने मागका विरोधी थिए। तर जब भारत विभाजन भयो, उनले भारतीय कांग्रेसमाथि धोका दिएको आरोप लगाए र भने, "तिमीहरूले हामीलाई ब्वासोको बिचमा फ्याँकिदियौ।"

पाकिस्तान बनेपछि खान अब्दुल गफ्फार खानको पाकिस्तानी सरकारसँग मतभेद र झगडा चलिरह्यो। उनको धेरै समय पाकिस्तानी जेलमै बित्यो। जब उनी बिरामी परे, तत्कालीन प्रधानमन्त्री इन्दिरा गान्धीले उपचारको लागि भारत आउन अनुरोध गरिन्।

जब खान अब्दुल गफ्फार खान दिल्ली विमानस्थलमा आइपुगे, उनको स्वागत गर्न इन्दिरा गान्धी र जयप्रकाश नारायण त्यहाँ पुगेका थिए। खान अब्दुल गफ्फार खानले कपडाको एउटा सानो पोको बोकेका थिए, सो पोको बोक्न इन्दिरा गान्धीले खोजिन्। उनले भने, "यही त बचेको छ, यो पनि तिमी खोस्न चाहन्छौ?"

 उनको जवाफ सुनेर इन्दिरा गान्धी र जयप्रकाश नारायणले सिर झुकाए। जयप्रकाश नारायणले आफूलाई सम्हाल्न पनि सकेनन् र रुन थाले। भारत विभाजनको पुरै दुःख र वेदना खान अब्दुल गफ्फार खानको त्यही एक वाक्यले छर्लङ्ग पारेको थियो।

राजनीतिमा बाहिर जे देखिन्छ, त्यो सत्य हुँदैन। र जे सत्य हुन्छ, त्यो बाहिर देखिँदैन!!!

सन्दर्भ:- पाकिस्तान र भारतको स्वतन्त्रता दिवस