हरिबोलजीको संश्लेषणबारे सैद्धान्तिक प्रश्न

भर्खरै हरिबोल गजुरेल (शितल) जीको टेलिभिजन अन्तर्वार्ता हेरियो। त्यसमा हरिबोलजीका निम्न भनाईले हाम्रो ध्यानाकर्षण गर्यो:

क. नेकपा माओवादी केन्द्र अहिले कम्युनिस्ट पार्टी होइन,

ख. स्थायी गुटबन्दीले पार्टीलाई समाप्त पार्छ,

ग. साथीहरु अन्तरसंघर्ष गर्दैछन्, तर उनीहरुसंग विचार छैन,

घ. समाजवादी क्रान्तिको ईलाका उपत्यका, मधेश र पूर्व हुन् र

ङ. म नेता थिएँ, तर वीचमा नेता रहिनँ। अब नेता बन्ने कोशिशमा छु।

उपरोक्तमध्ये गुटबन्दी र विचारहीनता तथा समाजवादी क्रान्तिवारे संश्लेषणले सैद्वान्तिक महत्व राख्दछ। त्यसर्थमा देशभक्त समाजवादीहरुको दृष्टिकोण स्पष्ट पार्न आवश्यक ठानेर यो आलेख लेखिएको हो।

सुरुमै भनिहालौं, गणतन्त्र नेपालका प्रथम प्रधानमन्त्री प्रचण्डसंग क्रान्तिको विराशत छ, तर नयाँ विचार छैन। २०६९ को हेटौंडा महाधिवेशनयता समाजवादी क्रान्ति भनिएको छ, तर त्यसको डेढ दशक बित्दै गर्दा पनि नेपालमा समाजवादी क्रान्तिको कार्यक्रम के हुनेवारे प्रचण्ड समूह मौनधारणामा देखिन्छ। समाजवादलाई सप्तकोशीको पेडा दोकान तुल्याउने अरु गुटको त कुरै नगरौ।

गणतन्त्र नेपालका प्रथम प्रधानमन्त्री प्रचण्डसंग क्रान्तिको विराशत छ, तर नयाँ विचार छैन। २०६९ को हेटौंडा महाधिवेशनयता समाजवादी क्रान्ति भनिएको छ, तर त्यसको डेढ दशक बित्दै गर्दा पनि नेपालमा समाजवादी क्रान्तिको कार्यक्रम के हुनेवारे प्रचण्ड समूह मौनधारणामा देखिन्छ।

गुटबन्दी र विचारहीनताको प्रश्न

उपरोक्त तथ्य प्रमाणित गर्न निम्न विवरणहरुबाट सहयोग लिन सकिन्छ:

पहिलो,  अहं प्रश्न कि कार्यक्रम बिना पनि कुनै क्रान्ति हुन्छ? समाजवादलाई प्रचण्डहरुले रणनीति बताउने गरेका छन्। नेकपा माओवादी केन्द्र निर्माणको तेह्र बुँदे आधारपत्रमा लेखिएको त्यसवारे साउन २०७४ को केन्द्रीय सचिवालयमा हामीले प्रश्न उठाएका थियौं,-"यो त ट्राटस्कीको अन्तर्राष्ट्रिय संशोधनवादी कार्यदिशा हो। जसलाई, चीनमा ल्यु शाओचीले खुब भट्याएका थिए।" पेरिसडाँडाको त्यस बैठकमा हाम्रो वैचारिक बहशवारे कोही नेता केही बोलेनन्।

जस्तो कि हेटौंडा महाधिवेशनले पुँजीवादी जनवादी क्रान्तिको आधारभूत कार्यभार सम्पन्न गरिएको भन्दै बाँकी कार्यभार उठान गर्दै समाजवादी क्रान्तिको रणनीतिमा अघि बढ्ने भनेको थियो। तर, गणतान्त्रिक संविधान जारी भएपछिको पृथक स्थितिमा रणनीतिमा समाजवाद स्वत: यथास्थितिवाद हुन पुग्दथ्यो र नै समाजवादलाई राजनीतिक कार्यनीतिमा ल्याइनु पर्छ, भन्ने हामीहरुको जोड थियो। अन्यथा नेपालमा समाजवाद वैज्ञानिक नभएर काल्पनिक, अझ पाखण्डी नारा ठहर्छ, भन्नेमा हामीहरु दृढ रह्यौं।

आठौं महाधिवेशनले पनि पुँजीवादको पर्याप्त विकास गरेर मात्र समाजवातर्फ नै भन्न खोज्यो। अर्थात समाजवादलाई राजनीतिक कार्यनीतिमा ल्याएन।

अदालती माओवादी केन्द्रले २०७८ मा आफ्नो आठौं महाधिवेशन गर्यो। कार्यदिशा सम्बन्धी उसले त्यही कायम राख्यो, जुन तेह्र बुँदे आधारपत्रको थियो। अर्थात आठौं महाधिवेशनले पनि पुँजीवादको पर्याप्त विकास गरेर मात्र समाजवातर्फ नै भन्न खोज्यो। अर्थात समाजवादलाई राजनीतिक कार्यनीतिमा ल्याएन। सम्भवतः कारण त्यही हुनुपर्छ, जसले गर्दा प्रचण्ड समुहलाई समाजवादी कार्यक्रमवारे सोंच्न जरुरी छैन। किनभने, राजनीतिक कार्यनीति नै समाजवादको नभएपछि समाजवादी कार्यक्रम सोंचिरहने झन्झट गर्नै परेन।

अर्को, सन १९५७ को आठौं महाधिवेशनबाट माओ त्सेतुङले समाजवादी कार्यनीतिमा जोड दिँदा ल्यु शाओचीहरुले पुँजीवादको पर्याप्त विकास गरेपछि मात्र समाजवाद भनी ट्राटस्की कार्यदिशामा अडान लिएकोवारे सांघाई राजनीतिक अर्थशास्त्र पढेका जो कोही अवगत छन्।

माओको निधनयता अन्तर्राष्ट्रिय रुपमै क्रान्ति गर्ने र प्रतिक्रान्ति रोक्ने नयाँ विचार र नयाँ विधि विकास प्रक्रिया अवरुद्व छ। त्यस अवरुद्वतालाई तोडेर क्रान्ति गर्ने र प्रतिक्रान्ति रोक्ने नयाँ विचार र नयाँ विधि विकास गर्नु नेपाली कम्युनिस्ट आन्दोलनको कार्यभार हो।

दोस्रो, तत्कालीन नेकपा माओवादीले २०६० मा उठान गरेको वैचारिक विकास कार्यभार ऐतिहासिक अपरिहार्यताको थियो। एक्काइशौं शताब्दीको जनवाद नाममा प्रचारित त्यस दस्तावेजमा भनिएको छ, माओको निधनयता अन्तर्राष्ट्रिय रुपमै क्रान्ति गर्ने र प्रतिक्रान्ति रोक्ने नयाँ विचार र नयाँ विधि विकास प्रक्रिया अवरुद्व छ। त्यस अवरुद्वतालाई तोडेर क्रान्ति गर्ने र प्रतिक्रान्ति रोक्ने नयाँ विचार र नयाँ विधि विकास गर्नु नेपाली कम्युनिस्ट आन्दोलनको कार्यभार हो।

वैचारिक विकासको त्यो ऐतिहासिक कार्यभार उठान गर्नलाई कुनै पहल प्रयत्न गरियो कि गरिएन? गरियो भने कहाँ, कसले, कसरी गरियो? त्यसको उपलब्धी के भयो र गरिएन भने कसको, के कारणले अनि किन गरिएन? यसको जवाफ मूलतः प्रचण्डवादीसंगै हुनुपर्छ।

जनयुद्वका बेला लगातार माओको संश्लेषण रट्ने गरिएको हो कि विचारधारा र राजनीतिक कार्यदिशा सही हुनु र नहुनुले सबै कुरा निर्धारण गर्छ।

गणतान्त्रिक संविधान जारी भइसकेको स्थितिमा समेत समाजवादलाई राजनीतिक कार्यनीतिमा ल्याउनुको सट्टा रणनीतिमै सीमित गर्दा प्रचण्डवादीहरु गुणात्मक परिवर्तनको संवाहक बन्न सकिरहेका छैनन् र सक्दैनन् पनि।

भन्नैपर्छ, हेटौंडा महाधिवेशनदेखि राजनीतिक रणनीतिको तहमा तत्कालीन एकीकृत माओवादीले मूलतः सही कदम उठाएको हो। तर, गणतान्त्रिक संविधान जारी भइसकेको स्थितिमा समेत समाजवादलाई राजनीतिक कार्यनीतिमा ल्याउनुको सट्टा रणनीतिमै सीमित गर्दा प्रचण्डवादीहरु गुणात्मक परिवर्तनको संवाहक बन्न सकिरहेका छैनन् र सक्दैनन् पनि।

विचारधाराको तहमा त कुरै नगरौं। जसलाई प्रचण्डहरु जडसुत्रीय संशोधनवादी भन्दै आउनु भएको छ, ती समुहले भन्ने मालेमा र प्रचण्डवादीले भन्ने मालेमावीच किञ्चित अन्तर छैन। त्यो भनेको मालेमा कि मालेमा भन्यो, सकियो। खासगरी, सर्वोच्च अदालतले माओवादी केन्द्र बोकाइदिए उप्रान्त प्रचण्डवादीहरुमा मार्क्सवाद-लेनिनवाद- माओवादको औपचारिक जडसुत्र बाहेक प्राणप्रतिष्ठित विचारसहित नैतिक हतियार उपलब्ध छैन। जुन, तरिकालाई लेनिनले कठोर भाषामा खारेज गरेका थिए।

तेस्रो, हरिबोलजीले आधारभूत सिद्वान्तको पनि कुरा उठाउनु भएको छ। उहाँले व्याख्या नगरेको भए पनि सार्वजानिक बहशमा मद्दत पुगोस्, भन्ने अपेक्षाबाट त्यसवारे हामी प्रष्ट गर्दछौं। मार्क्सवादका पाँच आधारभूत सिद्वान्त यस प्रकार छन्:

• वर्गसंघर्ष र बल प्रयोगको सिद्वान्त,

• सर्वहारावर्गको अधिनायकत्व अथवा नेतृत्वको सिद्वान्त,

• सर्वहारा अन्तर्राष्ट्रवादको सिद्वान्त,

• जनवादी केन्द्रीयताको सिद्वान्त र

• निरन्तर क्रान्तिको सिद्वान्त।

उल्लेखित आधारभूत सिद्वान्तमध्ये नेकपा माओवादी केन्द्रले कुन कुन सिद्वान्त अख्तियार गरेको छ वा छैन? हालसम्म पाँच आधारभूत सिद्वान्त मार्क्सवादको त्यो प्राण हो, जसले कम्युनिस्ट पार्टी हो कि होइन, भनी छुट्याउने मापदण्ड प्रदान गर्दछ। जसलाई, सिद्वान्त र व्यवहारमा अभ्यास गर्नेहरु मार्क्सवादी हुन् भने सिद्वान्तमा लेख्ने, तर व्यवहारमा अभ्यास नगर्नेहरु संशोधनवादी हुन्।

प्रश्न छ, नेपालमा गणतन्त्रयता मार्क्सवादको प्रयोगको स्थिति के छ? संसदवादका चाकरहरु ज्योति बसुपथमा बुर्कुसी मारिरहेका छन् भने संसदवाद विरोधी भनिएकाहरु जडसुत्रमा कुण्ठित छन्।

चौथो, त्यसो त मार्क्सवादसम्बन्धी समझदारीमै हरिबोल गजुरेलसहितका प्रचण्डवादीहरुमा अज्ञेयवादी भ्रम छ। उहाँहरु भन्दै हुनुहुन्छ; मार्क्सवादको रक्षा, प्रयोग र विकास। प्रश्न छ, नेपालमा गणतन्त्रयता मार्क्सवादको प्रयोगको स्थिति के छ? संसदवादका चाकरहरु ज्योति बसुपथमा बुर्कुसी मारिरहेका छन् भने संसदवाद विरोधी भनिएकाहरु जडसुत्रमा कुण्ठित छन्।

त्यसर्थ सर्वप्रथम मार्क्सवादको समझदारीमा क्रमभङग गर्न सक्नु पर्दछ। त्यो भनेको जब वैचारिक संकट उत्पन्न हुन्छ, तब मार्क्सवादको विकास गर्नै पर्छ। त्यसैले लेनिनले भनेका हुन्; मार्क्सवाद क्रान्तिको पथप्रदर्शक सिद्वान्त हो न कि जडसुत्र। जसले प्रमाणित गर्छ, मार्क्सवादको विकास नगरे प्रयोग हुँदैन। अत: मार्क्सवादको रक्षा, विकास र प्रयोगको नयाँ प्राथमिकता तोकिनु पर्छ। रक्षा आधारभूत दायित्व हो भने रक्षापछि विकास प्राथमिकताबाट मात्र मार्क्सवादको प्रयोग सम्भव हुनेछ। अन्यथा गणतन्त्रयताको भुत्ते मार्क्सवाद हरिबोलजी त के लेनिन र माओ त्सेतुङ नै उभिए पनि प्रयोग गर्न सक्ने छैनन्।

अत: परम्परागत रक्षा, प्रयोग र विकासमा हठात क्रमभङग गरी मार्क्सवादको रक्षा, विकास र प्रयोग प्राथमिकता स्वीकार गर्दै अघि बढ्नेहरु मात्र अबका मार्क्सवादी ठहर्छन। अरु त भनिरहनु परेन, दलाल तथा एकलजातीय पुँजीवादी मण्डलेहरु मात्र हुन।

पाँचौं, संविधानसभा मार्फत शक्तिसन्तुलनका आधारमा गणतन्त्रको संविधानसम्म प्रचण्ड र बाबुराम भट्टराईले सही प्रयत्न गरेका हुन्। त्यसको यथोचित सम्मानमा देशभक्त समाजवादी हिच्किचाउदैनन्। तर, संविधान जारी हुनासाथ पार्टी त्यागेर बाहिरिने बाबुरामलाई छाडौं, २०७४ मा आएर सम्पूर्ण पार्टी नै खड्गप्रसाद ओलीमा समर्पित गर्ने प्रचण्ड एण्ड कम्पनीका कारणले नै नेपालमा माओवादी आन्दोलनको सर्वनाश गरेको हो कि होइन? यो तथ्यलाई कुनै पनि ईमानदार क्रान्तिकारीले कहिल्यै नजरअन्दाज गर्न मिल्दैन। जसले नजरअन्दाज गर्ला, त्यो किमार्थ क्रान्तिकारी हुँदैन।

संविधान जारी हुनासाथ पार्टी त्यागेर बाहिरिने बाबुरामलाई छाडौं, २०७४ मा आएर सम्पूर्ण पार्टी नै खड्गप्रसाद ओलीमा समर्पित गर्ने प्रचण्ड एण्ड कम्पनीका कारणले नै नेपालमा माओवादी आन्दोलनको सर्वनाश गरेको हो कि होइन?

उराठ हास्य-व्यङग्य झैं लाग्छ, साथीहरु आफुलाई माओवादी भन्नू हुन्छ। प्रचण्ड नेतृत्वमा उहाँहरु त नेकपा माओवादी केन्द्रलाई विघटन गरेर नाम फेरिएको एमालेतर्फ विलय हुनु भएको होइन र? पार्टी अध्यक्ष र प्रधानमन्त्रीमध्ये एउटा छोड भन्ने पक्ष र दुईवटै पद छोड्दिनँ भन्ने पक्षवीच झैझगडा चल्दा सर्वोच्च अदालतले ओलीको भागमा एमाले अनि प्रचण्डको भागमा माओवादी केन्द्र पार्दिएको होइन र?

के अदालतले तोकिदिएको पार्टी नाम, केन्द्रीय समिति तथा पदाधिकारी, पथप्रदर्शक सिद्वान्त र कार्यदिशा बोकेर हिंड्ने झुण्ड पनि पाँच आधारभूत सिद्वान्त अभ्यास-सक्षम कम्युनिस्ट पार्टी हुन्छ त? किमार्थ हुँदैन। त्यसर्थमा माओवादी केन्द्र कम्युनिस्ट पार्टी होइन, भन्ने हरिबोलजीको अभिव्यक्ति यथार्थपरक छ।

छैठौं, स्थायी या अस्थायी जुनसुकै प्रकृतिको गुटबन्दी होस्, त्यसको निवारण विचार र विधिमा गुणात्मक विकासद्वारा मात्र गर्न सकिन्छ। साथसाथै, नैतिकवान नेतृत्व डप्फा पनि त्यत्तिकै अपरिहार्य छ। अन्यथा प्रश्न उठ्छ, विचारविहीनताको स्थितिमा एकता-संघर्ष- रुपान्तरण, मुख्यतः रुपान्तरण र नयाँ आधारमा नयाँ एकता कसरी गर्ने? कुन वैचारिक-नैतिक धरातलमा गर्ने?

अत: गुटबन्दी माने स्वार्थ समुहको जटिलता अवश्य होलान। परन्तु, कुनै व्यक्तिको मुढे बलले मात्र गुटबन्दी अन्त्य गर्न सक्दैन। त्यहाँ जनक्रान्तिको उच्चाईमा नयाँ विचार र सो अनुकुल विधिको विकास निर्णायक ठहर्छ। यसवारे हरिबोलजीले गम्भीर बन्नु पर्दछ। अन्यथा चाहे जसरी उहाँ नेता बन्न किमार्थ सक्नु हुने छैन।

समाजवादी क्रान्तिको आधारक्षेत्रबारे

हरिबोलजीको अन्तर्वार्ता अनुसार उहाँहरुले काठमाडौं उपत्यका, मधेश र पूर्वको प्रदेश १ लाई समाजवादी रणनीतिको आधारक्षेत्र बनाउन खोजेको देखिन्छ। सफलताको शुभकामना छ। समाजवादी विचार, समाजवादी राजनीतिक कार्यनीति र समाजवादी कार्यक्रम बिना दुनियाँमा समाजवाद सम्भव नै छैन। फेरि पनि उहाँहरुले खडा गर्ने समाजवादी नेपालको नागरिक बन्न सकौं। यस निमित्त उहाँलाई शुभकामना छ।

किनभने, दलाल तथा एकलजातीय पुँजीवादी दल प्रकोप तथा राज्यको दबदबामा जनयुद्वको झैं फलाना क्षेत्रलाई आधारक्षेत्र बनाउने भन्दा त्यसले प्रचारात्मक कामसम्म त गर्ला, तर गुणात्मक परिवर्तन चाहिँ पत्याउन मुश्किल पर्छ। त्यसैले देशका पाँच उत्पीडित जनसमुह, जो वर्ग, लिङग, जातजाति, क्षेत्र एवं देशभक्तहरु छन्, समग्रलाई जुरुक्कै संगठित पार्ने अर्थराजनीतिक कार्यक्रम यहाँ शख्त जरुरी छ। त्यो भनेको देशभक्त समाजवादी लोकतन्त्रको कार्यक्रम हो।

दलाल तथा एकलजातीय पुँजीवादी दल प्रकोप तथा राज्यको दबदबामा जनयुद्वको झैं फलाना क्षेत्रलाई आधारक्षेत्र बनाउने भन्दा त्यसले प्रचारात्मक कामसम्म त गर्ला, तर गुणात्मक परिवर्तन चाहिँ पत्याउन मुश्किल पर्छ।

समाजवादी लोकतन्त्रको विकास पुष्पलाल श्रेष्ठको राष्ट्रियता, जनतन्त्र र जनजीविका एवं बीपी कोइरालाको राष्ट्रियता, प्रजातन्त्र र समाजवादकावीच सामयिक एकीकरणद्वारा गरिएको हो। पुष्पलाल र बीपीका विचारले नेपाली समाजलाई गणतन्त्रसम्म डोर्यायो। अबोप्रान्त ती बेग्ला बेग्लैले समाजको गुणात्मक परिवर्तन हेतु नेतृत्व दिन सक्ने छैनन्। त्यसर्थमा नेपालमा बहुदलीय प्रजातन्त्र स्थापना र पुनर्स्थापना हुँदै गणतन्त्रसम्म डोर्याउने सामर्थ्य प्रदर्शन गरेकोमा उहाँहरु (दुई विचारक) प्रति सम्मान जाहेर गर्दै दुई विचार कार्यदिशावीच नयाँ संश्लेषण नेपाली जनक्रान्तिको ऐतिहासिक अपरिहार्यतामा स्वत: पर्दछ।

प्रश्न गर्नु होस्; के चाहिँ हो, समाजवादी लोकतन्त्र भनेको? बसेर छलफल गरौंला। हामी जवाफ गर्नेछौं, यो भनेको मुख्यतः नेपाल पढ्ने सिद्वान्तमा विकसित नेपाली अर्थराजनीतिक क्रान्तिको नवीन कार्यदिशा हो। जसलाई, हामीले देशभक्त समाजवादी लोकतन्त्रको कार्यदिशा र कार्यक्रम भनिआएका छौं। विध्यमान नेपाली समाजमा लेनिन र माओले झैं सर्वहारावर्गको एक दलीय समाजवाद सम्भव छैन र २०४६ देखि जारी दल प्राथमिकताको लोकतन्त्रले पनि अग्रगामी समाधान दिएको छैन र दिने पनि छैन। त्यसर्थ संविधानको धारा ४ मा व्यक्त समाजवाद उन्मुख राज्य अभ्यास केन्द्रित संघीय प्रतिनिधिसभाका निमित्त समाजवादी निर्वाचन प्रणाली अख्तियार गरौं।

हाल नेपाली राजनीतिको दु:खको प्रमुख कारण दलाल तथा एकलजातीय भ्रष्ट निर्वाचन प्रणाली हो। जसलाई, समूल खारेजगरी दल प्राथमिकताका साथ वर्ग प्राथमिकता, लिङग प्रथमिकता र जातजाति प्राथमिकताको लोकतन्त्र मुख्यतः नेपाल पढ्ने सिद्वान्तको निचोड हो। यसरी हामीद्वारा विकसित नवीन कार्यदिशाले मात्र यहाँ गणतान्त्रिक संविधानको समाजवादी कार्यान्वयन, नयाँ राष्ट्रिय एकीकरण र भ्रष्टाचारी शासन अन्त्य गर्न सकिन्छ।

अन्त्यमा,

१. हरिबोलजीले भनेको विचारहीनता अर्को सन्दर्भमा हो, उहाँहरुको आन्तरिक सन्दर्भमा हो। हामीले चाहिँ यहाँ समग्रतामा अभिव्यक्त गरेका छौं र यसो गर्न एक्दम् जरुरी पनि छ। कतिपयले भन्न सक्लान, पार्टी (माओवादी) छाडेर जानेको उपदेश! परन्तु, सच्चाई भने २०७४ मा माओवादी केन्द्र, माओवादको सिद्वान्त र पहिचान मुद्दा त्यागेर ओलीतिर जाने को हो? महोदयहरु, मार्क्सवादी दृष्टिकोणमा दुनियाँ बदल्ने कम्युनिस्ट पार्टी भनेको विचारधारा, राजनीतिक कार्यदिशा र संगठनको योग हो। संगठन लिएर तपाइँहरु ओलीतिर हाम्फाल्नु भयो, विचारधारात्मक राजनीतिक कार्यदिशा लिएर हामीहरु सडकमा रह्यौं। साथमा हामी डटेर भन्छौं, विचार र नैतिकताको राजनीति गर्नुपर्छ।

तपाईंहरु साँच्चै क्रान्ति चाहनु हुन्छ भने नेपाली क्रान्तिको कार्यक्रम, नेतृत्व र  आन्दोलनवारे जनस्तरमा देशव्यापी बहशको आँट गर्नु होस्।

२. आफुलाई माओवादी भन्ने, तर माओको तीन गर र तीन नगर मार्गदर्शनलाई कुल्चेर हिंडेका तथा राजनीतिक भिन्नताकावीच पनि हिजो एउटै फर्मेशनमा रक्तपातपूर्ण युद्व लडेका साथीहरुप्रति केही न केही सम्झना त हुने नै गर्छ। त्यसमध्ये हरिबोलजीको विचार प्रेरित अन्तर्वार्ताले ध्यानाकर्षण गर्यो, भनिसकिएकै छ। थप केही अघि dayitwabodha.com मा "प्रचण्डका संविधान संशोधन प्रस्तावको शल्यक्रिया" शीर्षक लेखेका छौं। त्यसर्थमा अदालती नै भए पनि नेकपा माओवादी केन्द्रका उपमहासचिव हरिबोल गजुरेल (शितल) जी मार्फत सुझाव छ, तपाईंहरु साँच्चै क्रान्ति चाहनु हुन्छ भने नेपाली क्रान्तिको कार्यक्रम, नेतृत्व र  आन्दोलनवारे जनस्तरमा देशव्यापी बहशको आँट गर्नु होस्। गुणात्मक परिवर्तनको विश्वसनीय झण्डा उठाउने कुरामा हामीहरु किञ्चित टाढा छैनौं।

गोपाल किराती

गोपाल किराती देशभक्त समाजवादी मोर्चाका अध्यक्ष हुन्।