भेनेजुएलाका राष्ट्रपतिको टाउकोमा इनाम: अमेरिकाको ठाडो गुण्डागर्दी !

भू-राजनीति, कानूनी विवाद र शक्तिको खेलबीच एक गम्भीर प्रश्न

अमेरिकाले हालै भेनेजुएलाका राष्ट्रपति निकोलस मदुरोलाई पक्राउ गर्न सहयोग पुर्याउनेलाई ५० मिलियन अमेरिकी डलर को ‘इनाम’ घोषणा गरेको छ। पहिले त्यो ‘इनाम’ को राशी १५ मिलियन डलर थियो, अब दोब्बरभन्दा बढी।

यो कदमले अन्तर्राष्ट्रिय समुदायमा ठूलो हलचल पैदा गरेको छ, विशेषगरी भेनेजुएलाले यसलाई ‘राजनीतिक प्रचार’ र ‘अमेरिकी साम्राज्यवादी हस्तक्षेप’ को संज्ञा दिएको छ। अमेरिकाले मदुरोलाई लागूपदार्थ तस्करी र नार्को-आतंकवादको आरोप लगाएको छ, जसलाई आधार बनाएर यो पुरस्कार घोषणा गरिएको हो।

यो पुरस्कारको घोषणाले एउटा गम्भीर प्रश्न पनि खडा गरेको छ ।  के एउटा सार्वभौम राष्ट्रको कार्यरत राष्ट्रप्रमुखविरुद्ध यसरी इनामको घोषणा गर्नु  अन्तर्राष्ट्रिय कानूनी मान्यतासँग मेल खान्छ? र, अमेरिकाले भेनेजुएलामाथि बारम्बार किन यस्तो दबाब सिर्जना गर्छ?

अन्तर्राष्ट्रिय कानूनको कसीमा अमेरिकाको ‘इनाम नीति’

कुनै पनि देशले अर्को देशको राष्ट्रप्रमुखलाई लक्षित गरेर इनाम घोषणा गर्नु अन्तर्राष्ट्रिय कानूनको दृष्टिकोणबाट निकै संवेदनशील विषय हो।  एक राष्ट्रले अर्का राष्ट्रप्रमुखमाथि इनाम राख्ने कुरा सामान्य रूपमा अस्वभाविक र अनैतिक कुरा हो । संयुक्त राष्ट्रसंघको बडापत्र, अझ विशेषगरी धारा २(४) ले सबै राष्ट्रहरूलाई एकअर्काको सार्वभौमिकता र क्षेत्रीय अखण्डताको सम्मान गर्नुपर्ने दायित्व तोकेको छ। यस सन्दर्भमा, अमेरिकाले भेनेजुएलाका राष्ट्रपति मदुरोमाथि इनाम राख्नुले भेनेजुएलाको आन्तरिक मामिलामा सोझै हस्तक्षेप गरेको सिद्ध हुन्छ।यस अर्थमा कुनै देशले अर्का देशका कार्यरत राष्ट्रप्रमुखलाई बदनाम गर्ने, गिराउने, वा गिरफ्तार गर्न इनाम राख्छ भने - त्यो स्वाभाविक रूपमा ‘संप्रभुता उल्लंघन’को घटना हो ।

अमेरिकाले मदुरोमाथि इनामको घोषणा गर्नु  शक्ति राष्ट्रले निर्धा र कमजोर राष्ट्रहरुमाथि गर्ने दादागिरीको चरमोत्कर्ष हो ।

अन्तर्राष्ट्रिय कानून अनुसार, एक कार्यरत राष्ट्रप्रमुखलाई कानूनी रूपमा पूर्ण उन्मुक्ति (absolute immunity) प्राप्त हुन्छ। विशेष गरी, १९६१ को कूटनीतिक सम्बन्धसम्बन्धी भियना सन्धि (Vienna Convention on Diplomatic Relations) अनुसार, राष्ट्रप्रमुखलाई कुनै विदेशी अदालतले सजिलै अभियोग लगाउन वा पक्राउ गर्न सक्दैन।

त्यसैले अमेरिकाले मदुरोमाथि इनामको घोषणा गर्नु  शक्ति राष्ट्रले निर्धा र कमजोर राष्ट्रहरुमाथि गर्ने दादागिरीको चरमोत्कर्ष हो । यस्तो दादागिरी, जहाँ अन्तर्राष्ट्रिय कानून एवं मूल्य मान्यताहरुको खुलेआम धज्जी उडाइन्छ, मत्स्य न्यायको हुँकार सुनिन्छ तर त्यसको विरुद्ध अन्तर्राष्ट्रिय निकायहरु तथा अन्य राष्ट्रहरु यात मौन बस्छन् या मधुरो स्वरमा मात्रै विरोध गर्छन् ।

अमेरिकी लिडेढिपी

भेनेजुएलाको सरकारले अमेरिकाको यो कदमलाई ‘दयनीय’ र ‘राजनीतिक प्रचार’ को रूपमा व्याख्या गरेको छ। अन्तर्राष्ट्रिय आपराधिक कानूनअनुसार, लागूपदार्थ तस्करी र आतंकवादजस्ता गम्भीर अपराधका लागि व्यक्तिहरूलाई जवाफदेही बनाउन सकिन्छ, तर यो प्रक्रिया सामान्यतया अन्तर्राष्ट्रिय अदालतहरू, जस्तै अन्तर्राष्ट्रिय आपराधिक अदालत (आईसीसी) मार्फत हुने गर्छ।

अमेरिकाले यसरी मनमौजी ढङ्गले अर्को सार्वभौम मुलुकका राष्ट्रपतिमाथि मुद्दा लगाउने र इनामको घोषणा गर्नुलाई जायज मान्ने हो भने अरु कुनै देशले अमेरिकी राष्ट्रपतिमाथि पनि युद्ध अपराध वा यस्तै कुनै आरोप लगाउँदै यस्तै इनाम राख्यो भने त्यसलाई कसरी लिइन्थ्यो?

अमेरिकाले भने आफ्नो आन्तरिक कानून, विशेषगरी म्यानहट्टनको संघीय अदालतमा सन् २०२० मा लगाइएको नार्को-आतंकवाद र कोकीन तस्करीको आरोपलाई आधार बनाएर यो इनाम घोषणा गरेको छ। अमेरिकाले यो कदमलाई आफ्नो राष्ट्रिय सुरक्षा र विश्वव्यापी लागूपदार्थ तस्करीविरुद्धको लडाइँको हिस्साको रूपमा औचित्य ठहर्‍याउने प्रयास गरेको छ। अमेरिकी महान्यायाधिवक्ता पाम बोन्डीले दाबी गरेअनुसार, मदुरोसँग सम्बन्धित ७० करोड डलरभन्दा बढीको सम्पत्ति, जसमा दुई निजी जेट र ७० लाख टन कोकीन समावेश छ, जफत गरिएको छ। यस्ता कार्यहरूले अमेरिकाको दृष्टिकोणमा मदुरोलाई अपराधीको रूपमा चित्रण गर्न खोजिएको प्रष्ट हुन्छ । अमेरिकाले यसरी मनमौजी ढङ्गले अर्को सार्वभौम मुलुकका राष्ट्रपतिमाथि मुद्दा लगाउने र इनामको घोषणा गर्नुलाई जायज मान्ने हो भने अरु कुनै देशले अमेरिकी राष्ट्रपतिमाथि पनि युद्ध अपराध वा यस्तै कुनै आरोप लगाउँदै यस्तै इनाम राख्यो भने त्यसलाई कसरी लिइन्थ्यो?

‍अमेरिकाको आफ्नै लिडेढिपी छ । उससले निकोलस मुदुरोलाई  वैध राष्ट्रप्रमुख मान्दैन । उसको भाषामा मदुरो ‘सत्ता कब्जा गरेर बसेका गैरकानुनी तानाशाह’ हुन्।
सन् २०१९ मा अमेरिकी सरकारले हुआन ग्वाइदोलाई भेनेजुएलाको वैध अन्तरिम राष्ट्रपति भनेर मान्यता दिएको थियो। त्यसयता अमेरिकाले मुदुरोको सत्तालाई अस्वीकार गर्ने नीति लिएको छ। अमेरिकी तर्कअनुसार, मुदुरो कुनै पनि आधिकारिक पदमा छैनन्, त्यसैले उनलाई पक्राउ गर्न इनाम राख्नु "राष्ट्रप्रमुख विरुद्ध होइन, एक अपराधी विरुद्ध इनाम राखिएको कदम" हो।

अमेरिकाको बोलीमा लोली मिलाउँदै सन् २०१९ मा अमेरिका र युरोपेली युनियनसहितका केही ल्याटिन अमेरिकी देशहरूले मदुरोको सट्टा विपक्षी नेता हुआन ग्वाइदोलाई भेनेजुएलाको "वैधानिक राष्ट्रपति" को रूपमा मान्यता दिएका थिए। सन् २०२४ को राष्ट्रपति निर्वाचनमा मुदुरोको पुन: निर्वाचनलाई धाँधलीपूर्ण भन्दै अन्तर्राष्ट्रिय समुदायको एक हिस्साले अस्वीकार गरेको छ। तर  संयुक्त राष्ट्रसंघसहित विश्वका अधिकांश राष्ट्रहरूले अझै पनि मुदुरोलाई नै वैध राष्ट्रपति मानेका छन्। यसले अमेरिकाको तर्कलाई अन्तर्राष्ट्रिय स्तरमा न्यायोचित हैन, नाङ्गो गुण्डागर्दी बनाइदिन्छ ।

भेनेजुएलाले अमेरिकी आरोपहरूलाई आधारहीन र अमेरिकाको असफल विदेश नीतिलाई ढाकछोप गर्ने प्रयासको रूपमा खारेज गरेको छ। अन्तर्राष्ट्रिय कानूनको दृष्टिकोणबाट, कुनै पनि देशले अर्को देशको नेतामाथि यस्तो कदम चाल्नुपूर्व विश्वसनीय प्रमाण र अन्तर्राष्ट्रिय सहमति आवश्यक पर्छ, जुन यस अवस्थामा स्पष्ट रूपमा अभाव देखिन्छ।

भेनेजुएलाको विशाल तेल भण्डारमाथिको नियन्त्रण, त्यसको नीति निर्माण, र अमेरिकी बहुराष्ट्रिय कम्पनीहरूको सहभागिता रहँदै आएको थियो ।  भेनेजुएलामा सन् १९९० को दशकको अन्त्यतिर ह्युगो चाभेजको समाजवादी नेतृत्व उदाएपछि यी सबै कुरामा अमेरिकाको प्रभाव क्रमशः हराउँदै गयो।

तर यहाँ पनि अमेरिकाको कानूनी आधारभन्दा बढी राजनीतिक मान्यता र शक्ति प्रयोगको पुरानै रणनीतिक गुण्डागर्दी झल्कन्छ । अमेरिकी नीति खुलेआम जसको शक्ति उसैको भक्ति भन्ने नै हो।

अमेरिकाको भेनेजुएलाप्रति चासो किन?

भेनेजुएला समाजवादी देश भएकोले मात्रै उसमाथि अमेरिकाको बक्रदृष्टि परेको होइन। यो देश सन् २०२५ मा पनि विश्वको सबैभन्दा ठूलो कच्चा तेलको भण्डार भएको राष्ट्र हो - साउदी अरेबियाभन्दा पनि ठूलो। सन् २०२५ को तथ्याङ्कअनुसार भेनेजुएला विश्वको सबैभन्दा ठूलो कच्चा तेलको भण्डार हो । त्यहाँ करिब ३०४ विलियन व्यारल कच्चा तेल रहेको आँकडा छ ।

भेनेजुएलाको विशाल तेल भण्डारमाथिको नियन्त्रण, त्यसको नीति निर्माण, र अमेरिकी बहुराष्ट्रिय कम्पनीहरूको सहभागिता रहँदै आएको थियो ।  भेनेजुएलामा सन् १९९० को दशकको अन्त्यतिर ह्युगो चाभेजको समाजवादी नेतृत्व उदाएपछि यी सबै कुरामा अमेरिकाको प्रभाव क्रमशः हराउँदै गयो।

चाभेजको समाजवादी नीतिहरू, विशेषगरी तेल उद्योगको राष्ट्रियकरण र अमेरिकी प्रभावविरुद्धको उनको खरो अडानले वाशिङ्टनलाई असहज बनायो।  चाभेजले अङ्गीकार गरेको निजी उद्योगको राष्ट्रियकरण, अमेरिकी कम्पनीहरूको निष्कासन, र क्युबा,  निकारागुआ, चीन, रूससँग भेनेजुएलाको घनिष्ठ सम्बन्धको नीति - यी सबैले अमेरिकालाई क्रूद्ध बनाएको हो । मदुरोले पनि चाभेजकै नीतिको अनुशरण गर्दै आएका छन् ।  यो भनेको अमेरिकाले अपनाउँदै आएको "मोनरो सिद्धान्त" को ठाडो उल्लंघन हो । मोनरो सिद्धान्त अनुसार, अमेरिका आफ्नो "पश्चिमी गोलार्ध" मा कुनै विदेशी उपस्थिति स्वीकार्दैन । भेनेजुएलाले अमेरिकाको पक्ष छाडेर अमेरिकाले नरुचाउने साम्यवादी–समाजवादी खेमाका राष्ट्रहरुसँग सम्बन्ध विस्तार गर्नु अमेरिकी नजरमा ठूलो अपराध भयो ।

चाभेज । https://e3.365dm.com

चाभेजले अङ्गीकार गरेको निजी उद्योगको राष्ट्रियकरण, अमेरिकी कम्पनीहरूको निष्कासन, र क्युबा,  निकारागुआ, चीन, रूससँग भेनेजुएलाको घनिष्ठ सम्बन्धको नीति - यी सबैले अमेरिकालाई क्रूद्ध बनाएको हो ।

भेनेजुएलाको तेल अमेरिकी बजारका लागि लामो समयसम्म महत्वपूर्ण रहँदै आएको छ। तर, चाभेज र मदुरोको नेतृत्वमा भेनेजुएलाले रूस र चीनजस्ता देशहरूसँग सम्बन्ध विस्तार गरेपछि अमेरिकाले आफ्नो प्रभाव क्षेत्रमा चुनौती महसुस गरेको छ।अमेरिकाले मदुरोमाथि लागूपदार्थ तस्करीको आरोप लगाए पनि यो तनावको मूल कारण भूराजनीतिक र आर्थिक स्वार्थमा निहित छ।

'मानव अधिकारको' मुकुण्डो कि 'शासन परिवर्तन'को अभियान?

अमेरिकाले भन्छ - "हामी भेनेजुएलामा मानव अधिकार, लोकतन्त्र र स्वतन्त्र चुनावको पक्षमा उभिएका हौँ। मदुरो सरकार आफ्नै नागरिकहरूलाई दमन गरिरहेको छ।" त्यसका लागि अमेरिका भेनेजुएलामा पछिल्लो दशकमा गम्भीर आर्थिक संकट, मुद्रास्फीति, खाद्य अभाव, राजनीतिक हिंसा र हजारौं शरणार्थी पलायन देखिएको घटनालाई अघि सार्ने गर्छ ।

अमेरिकाले आफूले  चाहेको शासन परिवर्तन गर्नका लागि 'मानव अधिकार' को नाममा हस्तक्षेप गर्ने गर्छ ।  इराक, लिबिया, सिरिया र अफगानिस्तानका दृष्टान्तहरू अझै ताजा छन्।

तर आलोचकहरू त्यसलाई भेनेजुएलाको आन्तरिक मामिला भएकाले अमेरिकाले टाउको दुखाउनु जरुरी नरहेको ठान्छन् । उनीहरुको बुझाइमा  अमेरिकाले आफूले  चाहेको शासन परिवर्तन गर्नका लागि 'मानव अधिकार' को नाममा हस्तक्षेप गर्ने गर्छ ।  इराक, लिबिया, सिरिया र अफगानिस्तानका दृष्टान्तहरू अझै ताजा छन्।

त्यसैले अमेरिकी इनामको अन्तर्य भनेको  भेनेजुएलाभित्रको मानव अधिकारको पक्षमा होइन, बाहिरी राजनीतिक रणनीति अन्तर्गत आएको कदम हो भन्ने प्रष्टै छ । यस्तो अवस्थामा, अमेरिकाले मदुरोमाथिको दबाबलाई आफ्नो प्रभाव पुन: स्थापित गर्ने र भेनेजुएलाको तेल स्रोतमा पहुँच कायम गर्ने रणनीतिको हिस्साको रूपमा प्रयोग गरिरहेको देखिन्छ।

भूराजनीतिक खेल र आर्थिक संकट

भेनेजुएलाको आर्थिक संकटले पनि यो तनावलाई थप जटिल बनाएको छ। अमेरिकाले लगाएका कडा आर्थिक प्रतिबन्धहरूले भेनेजुएलाको तेल निर्यातमा असर पारेको छ, जसले देशको अर्थतन्त्रलाई धराशायी बनाएको छ। महामन्दी, खाद्य अभाव र जनताको व्यापक असन्तुष्टिका बावजुद मदुरोले आफ्नो सत्ता कायम राखेका छन् । यसलाई मदुरो पक्षधरहरुले "अमेरिकी साम्राज्यवादविरुद्धको विजय" को रूपमा प्रचार गर्छन्। यद्यपि, यो आर्थिक संकटले भेनेजुएलाको जनतामाथि ठूलो दबाब सिर्जना गरेको छ, र मदुरोको शासनलाई आन्तरिक रूपमा पनि चुनौती दिएको छ।

यो परिदृश्यले ल्याटिन अमेरिकामा नयाँ शीतयुद्धको अवस्था सिर्जना गरेको छ, जहाँ अमेरिका र गैर-पश्चिमी शक्तिहरूबीच प्रभावको लडाइँ चलिरहेको छ।

अमेरिकाको इनाम नीतिलाई भेनेजुएलाको आन्तरिक राजनीतिमा अस्थिरता सिर्जना गर्ने रणनीतिको हिस्साको रूपमा पनि हेरिएको छ। तर, मदुरोले रूस र चीनको समर्थनमा आफ्नो स्थिति बलियो बनाएका छन्। यी देशहरूले भेनेजुएलालाई आर्थिक र सैन्य सहयोग प्रदान गर्दै आएका छन्, जसले अमेरिकाको प्रभावलाई कमजोर बनाएको छ। यो परिदृश्यले ल्याटिन अमेरिकामा नयाँ शीतयुद्धको अवस्था सिर्जना गरेको छ, जहाँ अमेरिका र गैर-पश्चिमी शक्तिहरूबीच प्रभावको लडाइँ चलिरहेको छ।

शक्ति राजनीति बनाम अन्तर्राष्ट्रिय कानूनी व्यवस्था

निचोडमा भन्दा अमेरिकाले निकोलस मदुरोको गिरफ्तारीका लागि ५ करोड डलरको इनाम घोषणा गर्नु अन्तर्राष्ट्रिय कानूनको दृष्टिकोणबाट विवादास्पद छ। यद्यपि अमेरिकाले लागूपदार्थ तस्करी र आतंकवादको आरोपलाई आधार बनाएर यो कदमलाई औचित्य ठहर्‍याउने प्रयास गरेको छ, तर अन्तर्राष्ट्रिय सहमति र विश्वसनीय प्रमाणको अभावमा यो कदम भेनेजुएलाको सार्वभौमिकतामाथिको हस्तक्षेपको रूपमा देखिन्छ।

अमेरिका र भेनेजुएलाबीचको तनावको मूल जडमा तेल स्रोत, भूराजनीतिक स्वार्थ र वैचारिक मतभेदहरू छन्। यो तनावले ल्याटिन अमेरिकामा शक्ति सन्तुलन र विश्व मञ्चमा प्रभावको लडाइँलाई प्रतिबिम्बित गर्छ।यो कदमले मदुरोको सत्तालाई तत्कालै कमजोर पार्ने सम्भावना कम छ, तर यसले भेनेजुएलाको जनतामाथिको आर्थिक दबाब र अन्तर्राष्ट्रिय तनावलाई भने थप बढाउने निश्चित छ। अन्तर्राष्ट्रिय समुदायले यो मुद्दालाई कसरी हेर्छ र भविष्यमा कस्तो कदम चाल्छ, त्यसले यो तनावको दिशा निर्धारण गर्नेछ। तर, के कुरा प्रष्ट छ भने अमेरिका र भेनेजुएलाबीचको यो तनातानी केवल एक व्यक्तिको गिरफ्तारीको प्रश्नमा सीमित छैन, यो विश्व शक्ति सन्तुलनको मञ्चमा  राजनीतिक मान्यता, कूटनीतिक रणनीति, र शक्ति समीकरणबीचको द्वन्द्व हो। त्यसमाथि थप, भेनेजुएलाको अथाह कच्चा तेलमाथि प्रभुत्व जमाउनको लागि अमेरिकाले अन्तर्राष्ट्रिय कानूनहरुको समेत धज्जी उडाउँदै गरेको लिडेढिप्पी र सैनिक शक्तिको तुजुकमा एउटा सार्वभौम राष्ट्रमाथि लाद्न खोजेको मत्स्य न्यायको नमूना पनि हो ।

Image: https://img9.irna.ir/