नुरजहाँ

थुप्रै थुप्रै नुरजहाँलाई

पागल बनायौ

उनकै आँखा अगाडि

उनका आफन्त जलायौ,

 

थुप्रै थुप्रै नुरजहाँलाई

बलात्कार गयौ

बाँच्ने इच्छा

जिउँदो लास बनायौ,

 

थुप्रै थुप्रै नुरजहाँलाई

नाङ्गो बनायौ

गल्ली गल्ली लखेटेर

उपहास उडायौ,

 

थुप्रै थुप्रै नुरजहाँलाई

ज्यूँदै जलायौ

तिनका गर्भास्थ बच्चाहरू

तरबारले चिरेर

आगोमा मिल्कायौ,

 

भन त

नुरजहाँहरूले के गल्ती गरे

क्षमाहीन पापी बनेर,

 

तिमी मन्दिर बनाऊ

या

मस्जिद

उनी मौन छिन्

फेरि उनको

मौनतामाथि बलात्कार किन ?

 

थाहा छ ?

तिमीलाई इतिहासले के भन्छ ?

भारतको गुजरातमा  सन् २००२ सालमा भएको गोदराकाण्डका नुरजहाँहरूलाई समर्पित ।

साभार: कालापानीको द्रोपदी